एकीकरणको बहस- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
पञ्चायती

एकीकरणको बहस

बहुसंख्यक जनताको स्वीकृतिमा र उनीहरूको फाइदाका निम्ति नभएका सबै युद्ध गलत थिए, फरक सभ्यतामाथिका बलात् हस्तक्षेपहरू जतिसुकै राम्रो नियतका साथ भए पनि ती अन्यायपूर्ण थिए भन्ने भाष्य अब निर्माण गरिनुपर्छ रसमग्र मानव इतिहासलाई यही दृष्टिले हेर्नु आवश्यक छ ।
आहुति

पुस २७ नजिकिएपछि पृथ्वीनारायण शाह एकीकरणकर्ता हुन् किहोइनन् भन्ने बहस हरेक वर्ष चल्ने गर्छ जुन स्वाभाविक हो ।

हुन त यस विषयको बहसले आजको नेपाल र नेपालीको जीवनमा तात्त्विक फेरबदल केही ल्याउँदैनतर पनि इतिहासलाई हेर्ने सही दृष्टिकोण बन्न सकेन भने भविष्यलाई ठीक दिशा पनि दिन सकिन्न भन्ने सन्दर्भमा यसलाई आवश्यक नै ठान्नुपर्छ । पृथ्वीनारायण शाहको कदम एकीकरण नै थियो भन्ने जिकिरहरू यस्ता छन्—

सबैतिर बलप्रयोगबाट राज्य विस्तार : त्यसैले एकीकरण !

संसारको इतिहासमा सबै एकीकरण बलप्रयोगबाटै भएको भन्नु सही होइन । जस्तो, हजरत मोहम्मदले आजभन्दा पन्ध्र सय वर्षपहिले इस्लामको एकीकरण बर्बर युद्धमा होमिएका सयौं कबिलाबीच छलफल र एकताद्वारा हासिल गरेका थिए । आजको संयुक्तराज्य अमेरिका र विघटित सोभियत संघ दुवै नै मूलत: छलफल र एकताद्वारा एकीकृत भएका थिए । अर्को कुरा, बलप्रयोगबाट राज्य र त्यस राज्यले शासन गर्ने देशको सीमा बनेको थियो भन्नु र एकीकरण भन्नु एउटै कुरा होइन । संसारको हरेक राष्ट्र र देशनिर्माणका आफ्नै विशेषता र परिघटनाहरू छन् । तर्क गर्ने गरिएजस्तो सबैतिर बलप्रयोगबाट राज्यविस्तार गरिएको र त्यसलाई नै एकीकरण भन्ने गरिएको भन्नु सही होइन ।

एउटै भाषा, एउटै संस्कृति र एउटै जाति समग्रमा एउटै सभ्यताका फरक-फरक राज्यहरूलाई एउटै बनाउन गरिने अनि फरक भाषा, फरक संस्कृति र फरक जाति समग्रमा भन्दा फरक सभ्यतालाई एउटै राज्यको अधीनमा ल्याउन गरिने बलप्रयोग एउटै कुरा होइन । एउटै जाति वा सभ्यताभित्रको बलप्रयोग केवल राजनीतिक सत्ताप्राप्तिका लागि मात्र हुन्छ र त्यसद्वारा बन्ने ठूलो देशले एउटै भाषा, संस्कृति र जाति, समग्रमा त्यस सभ्यताको विकासमा ठोस योगदान गर्छ । तर फरक भाषा, फरक संस्कृति र फरक जाति, समग्रमा फरक सभ्यतामाथि बलप्रयोगद्वारा राज्यविस्तार गर्नु भनेको खास सभ्यताका मानवनिर्मित सबै सांस्कृतिक सम्पदालाई नाश पार्दै जानु हो । एउटा सभ्यता र अर्को सभ्यताबीच छलफल, सहकार्य, सहमति र एकताद्वारा एकीकरण सम्भव छ तर बलप्रयोग गरेर एउटा सभ्यताले अर्को सभ्यतालाई शासित बनाई एकता वा एकीकरण सम्भव नै छैन । त्यस्तो बेला त विजित सभ्यताका मानवीय सबै सांस्कृतिक आर्जनलाई ध्वस्त पार्दै लगेर मात्र राज्य सञ्चालन सम्भव हुन्छ ।

बलप्रयोग गरेर भए पनि एउटै राज्यअन्तर्गत धेरै भूभाग र जनतालाई ल्याउनु नै एकीकरण हो भने इतिहासमा राज्यनिर्माणका निम्ति भएका सबै बलप्रयोग र युद्धलाई जायज मान्नुपर्ने हुन्छ । उपनिवेशवादी कालमा एसिया, ल्याटिन अमेरिका र अफ्रिकामा बेलायत, पोर्चुगल, स्पेन, फ्रान्स आदिको शासनमुनि ल्याउन अन्धाधुन्ध गरिएका बलप्रयोगहरूलाई जायज मान्नुपर्ने हुन्छ । वास्तवमा यो कुरा मान्ने हो भने वर्तमान भारतको राष्ट्रनिर्माता बेलायतकी महारानीलाई मान्नुपर्ने हुन्छ । के यसो गर्न मिल्छ? त्यसैगरी जितेको हुनाले त्यो विजेताले गरेको ठीक मान्ने दृष्टिकोण स्थापित गर्ने हो भने इतिहासमा हार्नेहरू सबै बेठीक थिए भनी मान्नुपर्ने हुन्छ । हार्नु र जित्नु नै ठीक वा बेठीकको सिद्धान्त हुन सक्तैन ।

देश ठूलो र हामी नेपाली भयौं : त्यसैले एकीकरण !

देशको आकार ठूलो र सानो अनि जनसंख्या धेरै र थोरैसँग मानिसको प्रगति र समृद्धि मूल रूपमा जोडिएको छैन, बरु वैचारिक तथा अर्थ–राजनीतिक दिशा र संरचनाले नै निर्णायक भूमिका खेलेका छन् । हामी आजका नेपाली हुन पायौं भन्ने जहाँसम्मको कुरा छ, यो एउटा अवधारणा मात्रै हो । के नेपाली हुनमा गर्व गर्नु भनेको भारतीय वा मंगोलियावासीभन्दा उच्चकोटिको हुनु हो र ? कदापि होइन । जंगबहादुर राणाले लखनउ विद्रोह दमन नगरेका भए आजका बाँके, बर्दिया, कैलाली, कञ्चनपुर आजको भारतमै रहन्थे होलान् । अनि त्यहाँ बसोबास गर्नेले भारतीय हुनुमा गर्व गर्थे होलान्, जसरी आज नेपाली हुनुमा गर्व गर्छन् । यो राष्ट्रिय गर्व त त्यस भूमिसँगको निरन्तरको उठबस र त्यसमाथि आफ्नो स्वामित्वबाट पैदा हुने कुरा हो । त्यो एक सापेक्षिक भावना हो, निरपेक्ष विषय होइन ।

अंग्रेजले नेपाललाई खान्थ्यो : त्यसैले एकीकरण !

पृथ्वीनारायण शाहले राज्यविस्तार नगरेका भए अंग्रेजले सिंगै नेपाल खान्थ्यो भन्ने जुन तर्क छ, त्यसो हुन पनि सक्थ्यो, नहुन पनिसक्थ्यो ।सुरुमा प्रतिरोध नगर्ने भारतीय जनताले त अन्तत: उपनिवेशवादलाई धपाए भने नेपाली जनताचाहिँ साम्राज्यवादसँग लड्दै लड्दैनथे त, कुनै हालतमा भन्न सकिने कुरा होइन । यस सन्दर्भमा अर्को दु:खदायी यथार्थतिर पनि ध्यान खिचौं । पृथ्वीनारायण शाहका आँखाबाट नहेरी नेपालका जनजाति, मधेसी, दलित र कर्णालीपारिका जनताका आँखाबाट हेरियो भने पृथ्वीनारायणको तत्कालीन राज्य र अंग्रेजमा केकति फरक देखिन्छ ?पृथ्वीनारायण शाहको काठमाडौंकेन्द्रित हिन्दु राज्यको अधीनस्थ भएपछि नेपालका दलित, जनजाति, मधेसी र कर्णालीपारिले अंग्रेजी उपनिवेशवादले गर्ने अत्याचारभन्दा कम के भोगे त ? पृथ्वीनारायणको राज्य दूरीका हिसाबले अलि नजिकबाट आएको, छालाको रंग अलि बढी मिल्ने तर अंग्रेज धेरै टाढाबाट आएको, छालाको रंग धेरै नमिल्ने । यहाँभन्दा बढी फरक के भयो त यथार्थमा ? गुणात्मक रूपमा केही पनि फरक भएन । त्यसकारण नेपाल भनेको दलित, जनजाति, मधेसी र कर्णालीपारिका जनताको पनि हो भनेर बुझ्नेबित्तिकै त्यो एकीकरण थियो या राज्यविस्तार भन्ने कुराको एउटा बन्द झ्याल खुलिहाल्छ ।

हिन्दु धर्म सिद्धिन्थ्यो : त्यसैले एकीकरण !

कुनै पनि विचार वा धर्म मूलत: आफूभित्रको वैचारिक कमजोरी वा त्यस विचार या धर्म अनुसरण गर्ने समुदायको कमजोरीका कारण कमजोर हुन्छ, सिद्धिन्छ पनि । इसा मसिह जन्मिएको देश इजरायल जहाँपहिलो चर्च छ तर इसाईहरू कम छन् ।त्यहीँ एघार सय वर्षअगाडि बनेको मस्जिद छ तर मुस्लिम कम छन् । त्यसैले कुनै पनि धर्मको विस्तार र संकुचनकाबहुआयाम छन् ।‘हिन्दु धर्म मासिन्थ्यो, त्यसैले पृथ्वीनारायणको राज्यविस्तार एकीकरण नै थियो’ भन्ने हो भने हिन्दुबाहेकका नेपालभित्रका बौद्ध, इस्लाम, किरात र अन्य धर्ममाथि दमन गर्नु ठीक हो भन्नुपर्ने हुन्छ । एउटा किरातीका लागि हिन्दु वा इस्लाम वा इसाई जुन धर्मले दमन गरे पनि के फरक पर्छ ? अझ तर्कै गर्ने हो भने, इस्लाम र इसाईले त गाई काटेर खान एवं गाईको छालाले छत्तीस ताल निस्कने च्याब्रुङ बाजा बनाउन स्वीकृति दिन्छ, हिन्दुले चाहिँ गाई मार्दा जेल हाल्छ । त्यसैले ‘असिल् हिन्दुस्थाना’ बनाउने राज्यविस्तारको यात्रा कसरी गैरहिन्दुका लागि एकीकरण हुन्छ ?

अरू राजालाई प्रगतिको वास्ता थिएन : त्यसैले एकीकरण !

यो तर्क पनि खासै तथ्यमा आधारित देखिएको छैन किनभने तत्कालीन गोरखा राज्यमा एउटा गतिलो दरबारसम्म थिएन तर वाग्मती उपत्यकामा भव्य सभ्यता भइसकेको थियो । त्यति बेलाका कर्णालीपारि र भेरी आसपासका राज्यहरू अनि पूरै लिम्बूवानसम्म शासन चलाउने सेन राज्य गोरखा राज्यभन्दा विकासमा पछि थिए भन्ने प्रमाण अहिलेसम्म भेटिएको छैन । तब विकास र प्रगतिको चिन्ता अरूलाई थिएन भन्ने तर्कको पुष्टि कसरी हुन्छ ? आफ्नो प्रगतिको वास्तै थिएन भने आफू मर्न तयार भएर पृथ्वीनारायणको सेनासँग किन लडेका त विजित राज्यका जनता ? यदि त्यति बेलाका फरक सभ्यताका राज्यका राजा र जनता प्रगति नै चाहँदैनथे भनी मान्ने हो भने पनि जबर्जस्ती मान्छे मार्दै प्रगति गराइदिन जाने अधिकार पृथ्वीनारायणलाई कहाँबाट प्राप्त हुन्छ ? आजका राउटेलाई जबर्जस्ती गाउँ बनाएर राख्ने, नमान्नेलाई नाक–कान काटिदिन मिल्छ ? कतिपयले ‘त्यति बेला त्यस्तै चलन थियो’ भन्ने तर्क पनि गर्छन् ।त्यस्तै चलन थियो भन्नुको मतलब त्यो ठीक थियो ? सती पठाउने दिन थिए भन्नुको अर्थ सती प्रथा ठीक थियो ? कदापि थिएन ।

एकीकरण नभए नेपाल अब टुक्र्याउनु त : त्यसैले एकीकरण !

एकीकरण थिएन भने अब के नेपाललाई पुरानै टुक्राटुक्रामा फर्काउने त ? यस्तो प्रश्नले त बलात्कारबाट बच्चा जन्मियो भने बलात्कार भन्न हुँदैन भन्ने ठाउँसम्म पुर्‍याउँछ । बालविवाह ठीक थिएन भन्नुको मतलब बालविवाहपछि दाम्पत्यजीवन जेनतेन चलाइरहेको जोडीलाई सम्बन्धविच्छेद नै गराउनुपर्छ भनेको हो ? चरम गरिबीमा पनि गीत गाइन्छ, नाचिन्छ तर त्यो चरम गरिबी ठीक हो ? यस्तो तर्कले त जेजे भए, ती सबै ठीक थिए भन्ने ठाउँमा पुर्‍याउँछ, जुन गलत अवधारणा हो ।

करिब अढाई सय वर्षको एकात्मक केन्द्रीकृत हिन्दु पहाडे खस–आर्य अहंकारवादमा आधारित शासनले नेपालका विभिन्न भाषा, संस्कृति, क्षेत्र र जातीय मनोविज्ञानका मानिसहरूलाई उनीहरूका मौलिक भाषिक, सांस्कृतिक, मनोवैज्ञानिक समग्रमा अलग सभ्यताकृत सम्पदालाई छियाछिया पार्दै प्रताडना दिँदै एकै राज्यमुनि बस्न बाध्य पार्‍यो । त्यस बाध्यताले स्वाभाविक रूपमा जनताबीच आपसी न्यानो, एकअर्काको आवश्यकता अनि सँगै मिलेर प्रगति गर्न सकिने सम्भावना पनि जन्माउँदै लग्यो । अब छुट्टिएरभन्दा पनि एकताबद्ध भएरप्रगति गर्न सकिने अनि साझा परिचय नेपाली भन्नुमा बेग्लै आनन्दको अनुभूति थपिँदै गयो । यसरी आजसम्म पुग्दा बहुराष्ट्रिय राष्ट्रियता निर्माणको सम्भावना प्रकट हुन पुग्यो । यो बेग्लै पक्ष हो ।

निष्कर्षमा पृथ्वीनारायण र ‘एकीकरण’

पृथ्वीनारायण शाह त्यति बेलाका एक सक्षम हिन्दु पहाडे खस–आर्य अहंकारवादी राजा थिए । हरेक सामन्तवादी राजालाई जस्तै धेरै भूभाग र जनतामाथि शासन गर्ने, आफूभन्दा विकसित राज्य पनि हात पार्ने सपना उनमा थियो । आफ्नो नेतृत्वमा विजय हासिल गरिएको राज्यका प्रत्येक राजाले सामन्ती राष्ट्रवादलाई बढावा दिन्थे । उनको ‘दिव्य उपदेश’ भनी चर्चा गरिने गरिएका देशभक्तिका बखानहरूवास्तवमा सामन्तवादकालीन सामन्ती राष्ट्रवादभन्दा माथिल्लो स्तरकाहोइनन् । पृथ्वीनारायण शाह कुनै युद्धसरदार वा लुटाहा योद्धा पनि होइनन्, उनी प्रस्ट रूपमा एक राजाहुन् ।

उनलाई देशनिर्माता भन्न सकिन्छ तर राष्ट्रनिर्माता होइन,एकताको प्रतीक होइन । किनभने, नेपालका फरकफरक राष्ट्रियतालाई दमन गरेर वास्तविक बहुराष्ट्रिय राज्य बन्नै सक्दैनथ्यो र बनेन । उनले त झन् बहुराष्ट्रियतामाथि दमनको योजनाबद्ध अभियान सुरु गरे, जसका कारण नेपालको आन्तरिक राष्ट्रियताको मुद्दा दिन–प्रतिदिन कचल्टिन गयो र आजसम्म समाधान भएको छैन । नेपालमा देश र राष्ट्रको अन्तरलाई हेरिएन भने नेपाल एउटै सभ्यताको देशका रूपमा मात्रै बुझिन्छ‚ जुन कुरा सत्य होइन ।

देश हुनका निम्ति राज्यसत्ता, जनता र भूभाग भए पुग्छ तर राष्ट्र हुनका निम्ति त्यहाँका मानिसहरूबीचको सांस्कृतिक सम्बन्ध मुख्य भएर आउँछ । उनले देशनिर्माण गरे तर नेपालमा बहुसभ्यताबीचबाट वास्तविक नेपाली राष्ट्रियता निर्माणको प्रवेशद्वारमै ताला मारिदिए । त्यसकारण उनको बहुसभ्यताविरोधी अभियान एकता र एकीकरण थिएन, बरु बहुसभ्यता ध्वंसीकरण अभियान थियो ।

वास्तवमा पृथ्वीनारायण शाहको राज्यविस्तारको कदमलाई सही रूपमा अर्थ्याउन प्रचलित एकीकरणको भाष्यमाथि नै प्रश्न उठाउनु र त्यस भाष्यलाई परिवर्तन गर्नु जरुरी छ । सामन्तवादी युगका विजेताहरूले जसरी पनि एउटै राज्यमातहत ल्याउनुलाई एकीकरण अथवा एकता भनी भाष्य निर्माण गरे, त्यही भाष्यलाई पुँजीवादले पनि ग्रहण गर्‍यो र त्यो भाष्यबाट मार्क्सवादीहरूसमेत प्रभावित हुन पुगे, मूल वैचारिक समस्या यहीँनेर छ । बहुसंख्यक जनताको स्वीकृतिमा र उनीहरूको फाइदाका निम्ति नभएका सबै युद्ध गलत थिए, त्यसैगरी फरक सभ्यतामाथिका बलात् हस्तक्षेपहरू जतिसुकै राम्रो नियतका साथ भएपनि ती अन्यायपूर्ण थिए भन्ने भाष्य अब निर्माण गरिनुपर्छ र विगतको समग्र मानव इतिहासलाई यही दृष्टिले हेर्नु आवश्यक छ । यदि यसो नगर्ने हो भने त इतिहासमा हारेकाहरू सबै गलत थिए भन्ने निष्कर्षमा पुगिन्छ अनि हजारौं वर्षमा निर्मित बौद्धिक एवं भौतिक सम्पदाहरू जुन विजेताहरूले ध्वंस गरे, त्यस ध्वंसको प्रक्रियालाई पनि एकता मान्नुपर्ने पो हुन जान्छ!

प्रकाशित : पुस २४, २०७८ २१:०८
प्रतिक्रिया
पठाउनुहोस्

माओवादी महाधिवेशनमा सोधिनुपर्ने सात प्रश्न

माओवादी केन्द्रको प्रचण्ड टिमले आफ्नो विशाल कार्यकर्ता भीडलाई नयाँ चक्मा दिनैपर्ने भएको छ, किनभने एमालेसँग गरिएको एकता कति असैद्धान्तिक र अनैतिक पनि थियो भन्ने सत्यलाई छोप्नुपर्ने बाध्यता छ ।
‘जे आउँछ प्रचण्डको दिमागबाट आउँछ, र जस्तो आए पनि कार्यकर्ताले हजम गर्ने हो’ भन्ने माहोल बनाइएको छ । यो त निकृष्ट भक्तिवाद हो ।
आहुति

नेकपा (माओवादी केन्द्र)को महाधिवेशन सुरु हुँदैछ। जनयुद्ध र जनआन्दोलनको भीषण समय गुजारेर आइपुगेका नेता–कार्यकर्ताको एउटा ठूलो पंक्ति त्यस पार्टीमा छ। शान्ति–प्रक्रियादेखि यहाँसम्म आइपुग्दा भोगेका थुप्रै फुटहरूले थिलोथिलो भएको परिवेशबीच त्यो पार्टी छ ।

चार वर्षअगाडि समृद्धिको सपना बाँड्दै एमालेसँग गरिएको सिद्धान्तहीन एकताबाट पार लाग्नुको सट्टा घाइते हुनेगरी पछारिएर फेरि पुरानै पार्टी वल्टाइ–पल्टाइ गर्नुपर्ने टीठलाग्दो सन्दर्भ त्यस पार्टीका कार्यकर्ताहरूका अगाडि आलो छ। निकै छोटो समयमा बहुराष्ट्रिय कम्पनीहरू र दलाल पुँजीपति घरानाका प्यारा बन्दै अनि भौतिकवादी मूल्यमान्यता र संस्कृतिबाट तीव्र रूपमा स्खलित हुँदै गएका नेताहरूका साना–साना गुटहरूको जालोमा झन् पछि झन् जेलिँदै त्यो पार्टी चलिरहेको छ। यस्तो स्थितिबाट गुज्रिरहेको पार्टीको लामो समयपछि गर्न लागिएको महाधिवेशनको आसपासमा स्वाभाविक रूपमा विगतको सिंहावलोकन र भविष्यको कार्यदिशाबारे फरक–फरक कोणबाट गम्भीर बहस हुनुपर्ने हो, तर अचम्म सब कुरा शान्त छ † साँचो अर्थमा भन्दा विचार–संघर्ष अन्त्य भइसकेको एमाले र कांग्रेसको महाधिवेशनमा जति पनि कुनै पनि विषयमा बहस नचल्नु वैचारिक हिसाबले त्यस पार्टीको डरलाग्दो स्थिति हो। महाधिवेशन हलभित्र पुगेर मात्र सुरु हुने बहस त एकप्रकारको सकस मात्रै हो, किनभने नयाँ कार्यदिशा निर्माणका निम्ति चाहिने सन्दर्भ सामग्री र आवश्यक व्यापक बौद्धिक विमर्श हलभित्र सीमित भएपछि सम्भव नै हुँदैन। माओवादी केन्द्रका हालका प्रचण्ड, नारायणकाजी लगायतका नेता पहिलो संविधानसभाको विघटनपछि लगातार असफल नेता हुन्। उनीहरूले पार्टीलाई एकताबद्ध राख्न सकेनन्, नयाँ समयको क्रान्तिकारी कार्यदिशा निर्माण गर्न सकेनन्, वर्गीय हिसाबले आफूलाई विवर्गीय जीवन शैलीमा पतन हुनबाट रोक्न सकेनन्,फगत एउटा चुनावी पार्टी पनि आफैं ठिंग उभिने गरी बनाउन सकेनन् अनि दु:खकष्ट बेहोरेर हायलकायल भएका हजारौं कार्यकर्ताको वैज्ञानिक व्यवस्थापनको कार्ययोजना ल्याउन सकेनन्। सङ्लो यथार्थ त यही हो, हिङ बाँधेको टालोको बखानबाट काम चलाउनु त राजनीतिमा खेलोफड्को मात्र हो। यस्तो असफल नेतृत्वको डफ्फामुनि किचिएका दोस्रो–तेस्रो लहरका नेता कार्यकर्ताले नयाँ प्रश्नहरूसहित बहसको झिल्को पार्न पनि रुचि नराख्नु भनेको अत्यासलाग्दो अवस्था हो।

त्यस पार्टीका नेताहरू आफ्ना अध्यक्ष प्रचण्डले नयाँ विचार समेटेर दस्तावेज लेख्दै हुनुहुन्छ भन्नेबाहेक वैचारिक कुरा केही पनि गरिरहेका छैनन्। के यो हाँसोलाग्दो विषय होइन? दस्तावेज लेखनको समूह नै बनेको भए पनि एउटा कुरा † असफलता छ चोमोलोङ्मा जति अग्लो, निश्चिन्त भरपराइचाहिँ एक व्यक्तिमाथि † यदि अन्य नेतासँग खुसुक्क सुझाव दिए पुग्ने खालका विचार मात्र छन् भने ती सुझाव मात्र हुन्, गम्भीर विचारहरू होइनन्। त्यस्तो अवस्थामा त्यो पार्टी पुग्नु भनेको साँचो अर्थमा विचारको बहस अन्त्य भएको अवस्थामा ओर्लिनुबाहेक अरू केही हुनै सक्तैन। एमाले र कांग्रेसमा जस्तै अब त्यो पार्टीमा महासचिव को बन्नेजस्ता विषय सुरु भएका छन्। महाधिवेशनको हलमा प्रवेशसँगै छताछुल्ल रूपमा पद प्राप्तिमै मात्र विषय संकुचित हुने निश्चित देखिन्छ। विचारमा बहस नहुनुको अर्थ हो, त्यस पार्टीको समग्र पंक्ति नयाँ विचार निर्माणमा केन्द्रित नै छैन वा अहिले लिएको मूल दिशामा सहमत छ। माओवादी केन्द्रले अहिले लिएको कार्यदिशा भनेको यही दलाल पुँजीवादी संसदीय व्यवस्था लागू गर्दै गएर समाजवादको आधार तयार पार्ने। आधार तयार पार्नका निम्ति जसरी हुन्छ चुनाव जित्ने। सारमा चुनाव जितेर समाजवादको आधार तयार पार्ने। यही नै त हो मदन भण्डारीको जनताको बहुदलीय जनवादको कार्यक्रमको गुदी पनि। बहुदलीय जनवादबारे सानासाना पुस्तिका नै लेखेका प्रचण्ड र नारायणकाजीलाई यो विषयमा थाहा नहुने कुरा भएन, ती पुस्तिका पढ्न नभ्याएकाहरूले खोजेर पढे थाहा भइहाल्छ। पुँजीपति वर्गले जस्तैगरी पुँजीपति वर्गसँग प्रतिस्पर्धा गरेर चुनाव जितेर समाजवादतिर जाने संसद्वादी कार्यदिशा नै त त्यो मुख्य विषय हो जसले माओवादी केन्द्रका नेता–कार्यकर्तालाई विचारको बहसबाट टाढा लग्यो। त्यस पार्टीका अधिकांश नेता–कार्यकर्ताको दिमागमा पार्टीको सकेसम्म माथिल्लो पदमा कसरी पुग्ने र चुनावमा विजयी कसरी हुने भन्ने विषय मात्र भरिने स्थिति बन्नुको कारण नेताहरूले बनाएको त्यही गलत कार्यदिशाले गर्दा नै हो। चुनाव जितेर नै समाजवादको आधार तयार हुने, त्यो चुनावमा उठ्न पार्टीको शक्तिशाली ठाउँमा पुगे मात्र सम्भव हुने भएपछि निम्छरो कार्यकर्ता क्रान्तिको नयाँ विचार खोज्न थालोस् कि जसरी पनि शक्तिमा पुग्ने प्रपञ्चमा सामेल होस् ? आज माओवादी केन्द्रको महाधिवेशन वरपर गम्भीर वैचारिक बहस शून्यताको वास्तविक जग यही हो।

पुरानो कम्युनिस्ट आन्दोलनले पुँजीवादको सैन्य केन्द्रीकरणविरुद्ध विचारको केन्द्रीकरणको हतियार बनायो । तर त्यो एक नेतामा सम्पूर्ण शक्ति केन्द्रीकरणको दुर्दशासम्म तन्कियो। विचारको केन्द्रीकरण जब व्यक्तिमा शक्तिको केन्द्रीकरणका रूपमा विकृत भयो, त्यसपछि पार्टीको मुख्य नेताको देवत्वकरण हुने दूरगामी भाँडभैलो सुरु भयो। जब नेताको देवत्वकरण हुन्छ, नेतालाई आफू सर्वज्ञानी लाग्न थाल्छ। त्यस नेताका वरपर भक्तहरू जन्मिन थाल्छन् । जो भक्त पनि बन्न पाउँदैनन्, उनीहरू चाकरमा रूपान्तरण हुन्छन्। कुनै पनि सभ्यताका देवताका आलोचनात्मक साथी कोही थिए र? थिएनन्। देवताका साथी हुँदैनन्, भक्त हुन्छन् र चाकर हुन्छन्। यो नेपाली कम्युनिस्ट आन्दोलनले जन्माएको रोग होइन, बरु विश्व कम्युनिस्ट आन्दोलनमा देखा परेर नेपालमा सरी आएको हो। अकल्पनीय जस्तै लाग्ने जनयुद्धका सूत्रधार पात्र प्रचण्डको पनि देवत्वकरण हुनपुग्यो; जताततै आफ्नै हुँकार र जयकार सुन्दा प्रचण्ड आफूलाई पनि सबै सही चीज मेरै दिमागबाट मात्र निस्कन सक्छ भन्ने विभ्रम उत्पन्न हुनु अस्वाभाविक होइन। तेत्तीस कोटी देवताले कैले गल्ती गरेको नदेख्ने संस्कारमा बढेका कार्यकर्ताले पनि प्रचण्डको गल्ती देख्न कष्ट नगर्ने वातावरण धेरै हदसम्म बन्दै गयो। नेतृत्वप्रति अन्धभक्तिको रोग लागेपछि यस्तो हुने रहेछ। एउटा दार्शनिकले महिलाको दाँत बाइसवटा हुन्छ भनेपछि सयौं वर्षसम्म महिलाको दाँत गन्नतिर नलागी सिंगै समाज त्यसैमा विश्वास गर्दै बाँचेको त संसारमा इतिहास नै छ।एक पटक नेतालाई देवत्वकरण गरेपछि हुने यस्तै रहेछ। माओवादी केन्द्रमा भक्त बन्न कोसिस गरिरहेका तर चाकरको अवस्थामा रहेकाहरू प्रचण्डको विचारको आलोचना मात्र सुन्दा पनि कम्तीमा फेसबुकमा धम्की दिन तम्सिने चेतनामा छन्, तिनीहरूको कुरा छाडौं। भक्तका रूपमा भविष्य सोच्नेहरूको आफ्नै ब्यथा होलान् । भौतिक विज्ञानमा विकास भयो तर समाज विज्ञानमा विकास भएन भनेर लगातार मीठो भाषण गर्ने राम कार्कीहरू समाज विज्ञानमा के नौलो विकास हुने भो भन्ने ठानेर प्रचण्डको दस्तावेजमा ढुक्क रहेका होलान् ? ती आम युवाहरू जोसँग केही गर्ने उमेर बाँकी छ, उनीहरू किन चालु भाँडभैलोकै वैचारिक समाधान खोज्न नसल्बलाएका होलान् ? लेनिनको कैयन विचारमाथि रोजाले प्रश्न उठाइन्। स्तालिनमाथि माओले प्रश्न उठाए। जबकि लेनिन र स्तालिन मूलत: सफल नेता थिए। अत:, क्रान्तिमा असफल प्रचण्डका विचार र व्यवहारमाथि प्रश्न उठाउनु र नयाँ खोजमा लाग्नु स्वाभाविक एवं अनिवार्य क्रान्तिकारी कदम हो भन्ने कुरा स्वीकार नगर्ने हो भने हँसिया हथौडाको झन्डा बोक्नुको कुनै औचित्य र सार्थकता हुने छैन। जति नमीठो लागे पनि माओवादी केन्द्रका युवाहरूले यो यथार्थलाई हजम गर्न सक्नैपर्छ, किनकि यो क्रान्तिको सवाल, फगत कुनै व्यक्तिको सवाल होइन।

प्रचण्डले धेरै मञ्चबाट पटक पटक उनीसँग सम्बन्धविच्छेद गरेर नयाँ अभियान थालेका क्रान्तिकारीहरूलाई एकताबद्ध हुन अपिल गरेका छन् । एकताबद्ध हुने विचारका आधारमा हो । महाधिवेशनको वरपर नयाँ विचार ल्याउने सानो हल्ला मच्चाइएको छ। यदि प्रचण्ड नयाँ विचार, कार्यदिशा र कार्यक्रम विकास गर्न प्रतिबद्ध भएका हुन्थे र त्यो ल्याकत राख्थे भने उनले आफ्नो विचारलाई असफल घोषित गरेका पार्टी र समूहहरूसँग कम्तीमा एकसरो वैचारिक छलफल र बहस अवश्य गर्थे ।त्यसैगरी नेपालमा पार्टीभक्त नभई बहस चलाइरहेका बौद्धिकहरूसँग छलफल पनि अनिवार्य रूपमा चलाउँथे र आफूले गर्न खोजेको विचारको विकासलाई हाक्काहाक्की अगाडि राख्थे। प्रचण्डको टिम लाज लाग्ने गरी दलाल पुँजीपतिहरूसँग उठबस गरिरहेका बखत बलिदानको बाटो खोज्नेहरूसँग थोरै भए पनि क्रान्तिलाई काम लाग्ने विचार नहुन सम्भव छ? राज्यको सेवा सुविधा अनि कमिसनको भागशान्तिको र्‍यालसिंगानमा प्रचण्ड टिम चुर्लुम्म डुबेका बेला, त्यो सब छाडेर क्रान्तिको योजना बनाउन हिँड्नेहरू वैचारिक रूपमा रित्तै होलान् ? कुनै नियुक्ति नखोजी कम्युनिस्ट आन्दोलनबारे सोच्ने बौद्धिकहरू केही पनि होइनन् ? तर प्रचण्डको टिमले कसैसँग कुनै बहस चलाएको छैन। ‘जे आउँछ प्रचण्डको दिमागबाट आउँछ, जस्तो आउला कार्यकर्ताले हजम गर्ने हो’ भन्ने माहोल बनाइएको छ। यो त निकृष्ट भक्तिवाद हो। क्रान्तिको गम्भीर यात्रा र बौद्धिक कर्ममा लागेकाहरूसँग बहसमा न्यूनतम मुखामुख पनि गर्न नचाहनेले क्रान्तिको नयाँ विचार निर्माण गर्न सम्भव छ? प्रचण्ड आफंै धेरै पढ्ने मानिस बहुलाउँछ भन्छन्, तब उनले नयाँ समयको कति धेरै अनुसन्धानहरू पढिभ्याउन रुचि देखाए होलान् ? त्यसैले उनले एकताबद्ध हुन गर्ने गरेको अपिल दलाल पुँजीवादी संसदीय व्यवस्थालाई निरन्तरता दिन गरेको हारगुहार मात्र हो, वास्तविक क्रान्तिका निम्ति अपिल होइन भन्ने प्रस्ट छ । अर्को कुरा, देवत्वकरण भएको नेताले आफ्नो असफलता र गलत दिशालाई सही ठहर्‍याउन जहिले पनि नयाँ विकासको ढ्वाङ फुक्छ। वैचारिक बहसबाट कटाइएका कार्यकर्ता ती कुरालाई नयाँ र महान् ठान्न बाध्य हुन्छन्। गोबरले पनि बिहान र सुकेपछि साँझ फरक फरक गन्ध दिन्छ तर के बिहान र साँझको त्यही गोबर गुणात्मक रूपमा फरक वस्तु हुन्छ? कदापि हुँदैन। माओवादी केन्द्रको प्रचण्ड टिमले आफ्नो विशाल कार्यकर्ता भीडलाई नयाँ चक्मा दिनैपर्ने भएको छ, किनभने एमालेसँग गरिएको एकता कति असैद्धान्तिक र अनैतिक पनि थियो भन्ने सत्यलाई छोप्नुपर्ने बाध्यता छ। बितेको चार वर्ष विशाल पार्टी बनाएर समाजवादतिर जाने भनेर एउटा मायाजाल रचियो तर त्यो ध्वस्त भयो। अब एमालेले जस्तै समृद्धिको पुरानै कुरा गरेर कार्यकर्ताको विशाल पंक्तिले पत्याउनेवाला छैन, त्यसैले अब साम्राज्यवादसँग लड्ने कुरा गरिँदैछ। नयाँ ढंगले समाजवादको आधार तयार पार्ने कुरा गरिँदैछ। यो अर्को वैचारिक प्रपञ्चबाहेक केही होइन। माओवादी केन्द्रको महाधिवेशनमा नयाँ विचार प्रस्तुत हुने नै छ। त्यो विचारले समाजवादी क्रान्ति र साम्राज्यवादसँग लड्ने नयाँ तरिकाको बेलिविस्तार पनि लगाउला। तर अन्त्यमा त्यसले भन्ने छ— यो दलाल पुँजीवादी संसदीय व्यवस्थाभित्रै चुनाव जित्न ठूलो पार्टी बनाऊँ † भयानक वर्गसंघर्षतिर होइन, समाजवादको आधार तयार पार्न चुनाव जित्ने तयारी गरौं † चुरो कुराचाहिँ दस्तावेजमा यही हुनेछ।

यस्तै सडेगलेका विचार नयाँ नाममा आउनेछ। आफू वा आफ्नो गुटको व्यक्ति केन्द्रीय समिति वा खास पदमा कसरी पुग्ने भन्ने एकसूत्रीय ध्याउन्नकाबीच दस्तावेजमा हतारहतार ताली ठोक्ने वातावरण बन्नेछ। यस्तो भएछ भने माओवादी केन्द्रलाई कार्यकर्ताको बलमा क्रान्तिकारी बनाउने झिनो अन्तिम सम्भावनाको सन्दर्भमा महाधिवेशन अवश्य पनि एउटा चिहान साबित हुनेछ। त्यस्तो कदापि नहोस्, अझै क्रान्ति नै चाहने कार्यकर्ताहरूले कम्तीमा सातवटा प्रश्नको उत्तर महाधिवेशनमा खोजून्। एक, लेनिनले व्याख्या गरेको युग अब छैन किनकि पुँजीपतिहरू बहुराष्ट्रिय कम्पनीमार्फत एकताबद्ध भए। त्यसैले बितेको पचहत्तर वर्षसम्म तेस्रो विश्वयुद्ध टार्न सफल भए। पुँजीवादको यो नयाँ चौथो चरण हो, तब क्रान्तिको नयाँ रणनीति के? दुई, पुँजीवादको विकास गर्दै समाजवाद कतै पनि आएन, नेपालमा कसरी आउँछ? दलाल पुँजीपति वर्गको आजको व्यवस्थामा त्यही वर्गसँगै सहकार्य गरेर त्यो वर्गको राज्यसत्ता नष्ट हुने आधार कसरी बन्छ? तीन, संसारमा शान्तिपूर्ण संसदीय राजनीतिमा एकपल्ट गएका कम्युनिस्ट पार्टी कहिले पनि क्रान्तिका निम्ति फर्किएनन्, तब माओवादी केन्द्र फर्किन्छ कसरी? चार, साम्राज्यवादलाई प्राकृतिक स्रोत कब्जा गर्न नदिन केन्द्रीय स्तरबाट कसरी रोक्ने? एनसेलजस्ता बहुराष्ट्रिय कम्पनी र बैंकिङ पुँजीमा साम्राज्यवादी साझेदारीलाई प्रतिरोध संघर्ष नगरी कसरी रोक्न सम्भव हुन्छ? पाँच, केही उत्पादन गर्नै नदिने दलाल पुँजीवादविरुद्ध उत्पादन गर्न थाले पनि दलाल पुँजीवादी चक्रभित्र ध्वस्त भइन्छ। आज उत्पादक किसानको बिजोग भएको यही कारण हो। तब दलाल पुँजीवादसँग लड्ने उत्पादन पद्धति नयाँ के? पर्यावरण विनाशलाई रोक्न विकासको समाजवादी नयाँ मोडेल जरुरी छ, नाराले मात्रै हुनेवाला छैन, तब साम्राज्यवादी मोडेलबाट अलग विकास समृद्धिको नयाँ मोडेल के? छ, माओवादी केन्द्रका मूल नेतृत्व तहको जीवन एमाले–कांग्रेसका नेताको भन्दा तात्त्विक रूपमा भिन्न छैन, वर्गीय रूपमै विवर्गीय भइसकेको छ। त्यसलाई सर्वहारा–श्रमिक वर्गीय बनाउने कार्यसूची के ? सात, जति क्रान्तिको कुरा गरे पनि अरू पार्टीजस्तै माओवादी केन्द्र जात व्यवस्था र पितृसत्तावादी संरचनामा तलदेखि माथिसम्म ढालिएको छ। पार्टीलाई जात व्यवस्था र पितृसत्तावादबाट मुक्त गर्ने नयाँ कार्यदिशा के? यी र यस्ता गम्भीर प्रश्नहरूमा प्रतिनिधिहरूको रुचि जागोस्। महाधिवेशन सफलताको शुभकामना !

प्रकाशित : पुस १०, २०७८ २२:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×