३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सन् २०२१ मा खाना र खेतीपाती

पत्रु खाना र निष्क्रिय जीवनशैलीका कारण व्यापक बन्दै गएको नसर्ने दीर्घरोग, जलवायु परिवर्तनले गर्दा तहसनहस हुँदै गएको पर्यावरण अनि सबैतिर एकै पटक फैलिएको कोभिड–१९ संयोग मात्र हैनन्, विनाशकारी विकासे सोचले निम्त्याएको सम्भावित दुर्घटनाका पूर्वसंकेत मात्र हुन् ।

खाना र प्रकृतिमा भएको समानान्तर विघटन अघिल्ला वर्षहरूकै अक्षमताका प्रतिफल हुन्, जसबाट मानिससहित समग्र प्रकृतिमा दिनदिनै संकट थपिने क्रम जारी छ । सन् २०२१ कसरी अपवाद हुन्थ्यो र ? खास गरी, नसर्ने दीर्घरोगले मानव स्वास्थ्य झनै संकटग्रस्त भयो भने जीवनका प्राथमिक आधार हावा, पानी र समग्र प्रकृतिको स्वास्थ्य अकल्पनीय रूपमा बिग्रेको थाहा भयो । सतहमा देखिएका यी केही संकट मानव सभ्यताका लागि नै आसन्न विपद् भएको ठहर गरी दिगो विकासको परिकल्पना गरेको समेत तीन दशक पूरा भएको छ । आपसी स्वार्थ बाझिएर बेलाबेला ओझेल पारिएका यी सवाल फेरि विश्वव्यापी चर्चामा आए । विश्व खाद्य प्रणाली सम्मेलन, जलवायु सम्मेलन र कोभिड–१९ को चर्चा गर्ने औपचारिक भेला–मेलासमेत भए तर कृत्रिम रसायन, विषादी, खनिज ऊर्जा र प्रकृतिदोहन सच्याउने कुनै सार्थक पहल भने भएन ।

सन् २०२१ मा खाना र खेतीपाती

यसले देखाउँछ, थप विघटित पर्यावरण, प्रदूषित हावापानी र वातावरणको अप्रत्याशित उपहार पाएर हामीमाथि संकट अझै थपिनेछ । त्यसमाथि दुई वर्षअघि मानव जातिमा संक्रमण भएको भाइरसजस्तो सूक्ष्मजीवको अस्तित्वबाट आतंकित भई नाकमुख थुनेर डर भगाउन गरिएको कोसिस जारी नै छ । प्रकृति विघटनले निम्त्याएको भाइरस र अन्य सूक्ष्मजीवको संक्रमणको विगत हेर्दा यसले कस्तो रूप लिन्छ, यसै भन्न कठिन छ । यसरी व्यापक रूपमा फैलिँदै गएको नसर्ने दीर्घरोग, जलवायु परिवर्तन र कोभिड–१९ को मानव जातिमा संक्रमण यसका केही उदाहरण मात्र हुन् ।

तथाकथित विकासले थोपरेका विसंगति र अन्य संरचनागत असफलतासँगै हामी सबैको स्वास्थ्य जटिलता र खाद्य सुरक्षाका धेरै सवाल सन् २०२१ मा थप उजागर भए । पत्रु खाना र निष्क्रिय जीवनशैलीका कारण व्यापक बन्दै गएको नसर्ने दीर्घरोग, जलवायु परिवर्तनले गर्दा तहसनहस हुँदै गएको प्रकृति र पर्यावरण अनि सबैतिर एकै पटक फैलिएको कोभिड–१९ संयोग मात्र हैनन्, यी त क्रमिक रूपले समग्र प्रकृति–विनाशको सर्तमा मानिस मात्रको वैभव भित्र्याउने लालसा पालेको विनाशकारी विकासे सोचले निम्त्याएको सम्भावित दुर्घटनाका पूर्वसंकेत मात्र हुन् । यी विश्वव्यापी साझा संकटको सामना गर्ने हाम्रो सामूहिक जिम्मेवारी त छँदै छ । त्यसमाथि खाना र खेतीपातीसँग जोडिएका हाम्रा आफ्नै राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यावरणीय प्राथमिक समस्याहरूको चाङ झनै कहालीलाग्दो भएको छ ।

हाम्रो खाना र खेतीपातीसँग जोडिएका कतिपय संरचनागत विभेदका समस्या अझैसम्म सम्बोधन भएका छैनन् । खास गरी खानाका लागि खेतीपाती गर्ने सामाजिक उद्यमी किसानको पहुँच जमिनमा छैन । २५ प्रतिशतभन्दा बढी खेतीयोग्य जमिन बाँझो छ भने उत्तिकै संख्यामा किसान भूमिहीन छन् । भूमि सुधारका लागि भन्दै बनेका आयोगहरू राजनीतिक पार्टीका प्युसा साबित भएका छन् । सरकारसँगै फेरिने यस्ता आयोगहरू कार्यकर्ता भर्तीकेन्द्र र आफ्ना मान्छेलाई आश्वासन बाँड्ने मतियार भएका छन् । तीन दशकदेखि यिनले भूमिको यो समस्या सल्टाउनेभन्दा झनै गिजोल्ने गरेको तीतो अनुभवका साक्षी हामी सबै छौं । नयाँ दुई आयोग यसका प्रमाण हुन् ।

निर्वाहका लागि गरिँदै आएको मूलतः पहाडी खेतीपाती प्रणालीमा मैदानी कृषि ढाँचा र आयातित खाद्य तथा कृषि प्रणालीको प्रभावले हाम्रो कृषि क्षेत्र पाँच दशकदेखि ओरालो लाग्दै पलायनको संघारमा पुगेको छ । नेपालको कृषि सपार्ने भन्दै दाताको २० करोड खर्चेर ६ वर्षअघि २० वर्षे कृषि विकास रणनीति बनाइएको थियो । यो केवल किसान आयोगका नाममा केही पार्टी कार्यकर्तालाई जागिर दिने र दाताका विकासे परियोजनाका आधारपत्र बनाउने सहयोगी दस्तावेजमा सीमित हुन पुगेको छ । तथाकथित कृषि विकास रणनीति लागू भएसँगै नेपालको समग्र कृषि क्षेत्र थप आयातमुखी हुँदै अधोगतिको अविरल यात्रामा हिँडिरहेको छ । यसलाई प्रमाणित गर्ने अकाट्य विषय कृषिउपज आयात, युवा किसानको निर्यात र बढ्दो बाँझो खेतीयोग्य जमिनबाहेक अर्को के होला र ? अरू क्षेत्रको त कुरै छाडौं, कर्णाली क्षेत्रमा समेत एकचौथाइभन्दा बढी खेतीयोग्य जमिन बाँझै छ ।

कृषि विकासका लागि भन्दै ल्याइएका दान, अनुदान, बिमा र सहुलियत ऋणका कार्यक्रमहरू नेता, बिचौलिया र सरकारी तथा गैरसरकारी उच्च कर्मचारीको अपचलन र चलखेलमा सीमित भएका छन् । खेतीकिसानीका नाममा बिचौलियाको झोले खेतीपाती झनै मौलाएको छ । सँगै, नपुंसक बीउको जोखिम र मलको हाहाकार मात्र हैन, यसलाई देखाएर उन्नत बीउ र मल कारखानाका नाममा किसानी तहसनहस बनाउने तानाबाना बुनिएको छ । किसानका उपजमाथि बिचौलिया बजारको रजाइँ योभन्दा कम कहालीलाग्दो छैन । किसानले सदाझैं आफ्ना उपज सडकमा फाले भने अन्य मुलुकबाट अन्नपात, तरकारी र फलफूल निर्बाध आइरहे । कृषि विकासका लागि संरचनागत तथा संस्थागत सुधार गर्नेÙ अनुसन्धान, शिक्षा र प्रविधिलाई उन्नत बनाउन आवश्यक ठोस नीतिगत प्रस्ताव र कार्यक्रम ल्याउने समन्वयकारी जिम्मेवारी बोकेको मन्त्रालय कृषिक्षेत्र उन्नत बनाउन सबै तहमा गरिनुपर्ने सहकार्य र समन्वयको नेतृत्व गर्न सन् २०२१ मा पनि पूर्णतः असफल भयो । कृषिमा नीतिगत सुधारको प्रयत्न भन्दै मन्त्रालयका कर्मचारीहरूले बोकेका फाइलहरूका गाता फाटे तर यस्तो केही भएन ।

आम नेपालीको खानेकुरा मात्र हैन, आम्दानी र रोजगारीको मुख्य क्षेत्र कृषिसमेत पूर्ण रूपमा आयातमुखी छ । यस्तो आयातमुखी कृषिको रूपान्तरणको मार्गचित्र तयार गर्नुको साटो वैदेशिक प्रत्यक्ष लगानी, रासायनिक मल कारखाना र तथाकथित उन्नत बीउ आयात गर्नेजस्ता उरेन्ठ्यौला कुरा गरेर यसको नेतृत्वले आफ्नो अक्षमता र नालायकि थप पुष्टि गर्‍यो । कृषि शिक्षा र अनुसन्धानको जिम्मेवारी लिएका संस्थाहरूको हालत योभन्दा झनै दुरूह छ । यस्तो दुरवस्थाप्रति जिम्मेवार हुनुपर्ने राजनीतिक र सरकारको नेतृत्व केही नदेखेझैं गर्दै बरालिएको छ ।

राजनीतिक नेतृत्वले हाँगा हल्लाएर पात झार्नेबाहेक केही गरेको छैन । वैकल्पिक उपाय खोज्न स्थानीय प्रयत्नहरू, संकटको सामना गर्न समुदायले गरेका विवेकसम्मत अभ्यासहरू र आलोचनात्मक चेत भएका अभियन्ता र बौद्धिक जमातका तिखा प्रश्नहरू भने चर्कैसँग उठे तर सत्तासीन नेतृत्वले यस्ता प्रयत्नबाट सिक्ने त कुरै छोडौं, समकक्षीका प्रश्नहरूमा जिज्ञासा राख्ने लेठोसम्म गरेन । सरकारको नेतृत्व पुरानै ढर्राबाट टसमस भएन । पार्टीहरूका महाधिवेशनमा समेत उठेका यस्ता प्रश्नले कसैको कानमा बतास लागेको देखिएन । अर्कै ग्रहबाट आएका जस्ता नेता–कार्यकर्ताले यस ग्रहका भुइँमान्छेका कुरा कसरी गर्थे र ? यस्ता आधारभूत प्रश्नको जवाफ नखोजी अहिले देखिएका समस्या समाधान पनि हुँदैनन् र नेपाली समाजको उन्नतिको ढोका पनि खुल्दैन । राजनीतिक नेतृत्व, योजनाकार र कार्यान्वयनको जिम्मेवारी बोकेको कर्मचारीतन्त्रलगायत धेरै सरोकारवालाले थाहा नपाएको विषय भने हैन यो, सबैले बुझ पचाइरहेका छन् ।

अन्त्यमा, अहिले प्रकृति र मानवमा देखिएको संकटको सामना गर्न कृषि क्षेत्र रूपान्तरणको विकल्प छैन । दिगो कृषि विकासका मापदण्डका आधारमा खाद्यमा आत्मनिर्भर र तुलनात्मक लाभका कृषिउपजहरूबाट रोजगारी र आम्दानी बढाउन पर्यावरणीय कृषि विकासको ढाँचामा आधारित कृषि पद्धति अपनाउनु र सोहीअनुरूपका कार्यक्रमको प्रभावकारी कार्यान्वयन ढाँचा बनाउनु अब कृषि रूपान्तरणको एक मात्र विकल्प हो । नेपाल जस्तो विविधतापूर्ण प्रकृति र समाज भएको देशमा स्थानीय विशेषतामा आधारित कृषि प्रणालीका ढाँचाहरू अवलम्बन गर्नुको विकल्प हुँदैन । यही यथार्थ आत्मसात् गर्न नसकेर किसानीमा आधारित खेतीपाती पलायन भएको कदापि बिर्सनु हुँदैन । यसका लागि कृषि विकासमा सम्बद्ध निकायहरूको संरचनागत समीक्षा गरी तीनै तहका संरचना पुनर्गठन र कार्यादेश परिमार्जन गर्ने प्रबन्ध मिलाउन नसकेकै कारण कृषि रूपान्तरण नेता र अगुवाका भाषणमा मात्र सीमित भएको छ । यसमा अर्थपूर्ण सुधार नगरे अब पनि हुने त्यही नै हो । यस सन्दर्भमा, तीन वर्षअघि मन्त्रालयको नेतृत्वमा गठित कार्यदलले कृषि रूपान्तरणको खाका कोर्न महत्त्वपूर्ण उपायहरू सुझाएको थियो । तर विभागीय मन्त्री फेरिएसँगै ती सुझाव कार्यान्वयन गर्नेतर्फ कसैको ध्यान गएन । नेपाल कृषि अनुसन्धान परिषद्को तीन दशकको समीक्षा गर्ने प्रस्ताव त कुनै प्रगतिबिनै तुहिएको छ । यी त केही उदाहरण मात्र हुन्, जसलाई सम्बोधन नगरी खानाका लागि गरिने खेतीपाती सम्भव हुँदैन । सार्वजनिक बहस र दबाब सृजना नगरे अहिलेको नेतृत्व विवेकी हुने छाँट देखिएन । सन् २०२२ मा हामी सबैको चेत फर्केला कि ?

प्रकाशित : पुस २२, २०७८ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?