लोडसेडिङको आभास दिलाउने समस्या

सम्पादकीय

अहिले घोषित रूपमा देशभर कहीँकतै विद्युतीय ‘लोडसेडिङ’ छैन । तर जाडोयाम सुरु भएसँगै सहरी क्षेत्र र विशेष गरी काठमाडौं उपत्यकामा बिजुली झ्याप्प–झ्याप्प जान थालेको छ, त्यो पनि बिनाजानकारी र कैयौं घण्टासम्म । लोडसेडिङ हटे पनि विद्युत् प्रणाली भरपर्दो र सुरक्षित हुन नसकेको भनेर जनगुनासाहरू बढ्न थालेका छन् ।

लोडसेडिङको आभास दिलाउने समस्या

कुनै समय दैनिक १८ घण्टासम्म लोडसेडिङ भोगेको देशले अहिले मागभन्दा बढी बिजुली उत्पादन गरिरहेको छ । एउटै आयोजना माथिल्लो तामाकोसी जलविद्युत्बाट उत्पादित बिजुलीले काठमाडौं उपत्यकाको माग धान्न सक्छ । तर गुणस्तरीय विद्युत् आपूर्तिका सन्दर्भमा भने नेपाल विद्युत् प्राधिकरणले सर्वसाधारणलाई आश्वस्त पार्न सकिरहेको छैन ।

खासगरी सहरी क्षेत्र र काठमाडौं उपत्यकाको बिजुली व्यवस्थापन प्राधिकरणका लागि निकै ठूलो समस्याको विषय बनिरहेको छ । यसको एउटा प्रमुख कारण हो— जीर्ण र न्यून गुणस्तरको विद्युत् वितरण पूर्वाधार । विगतमा विस्तार गरिएको कमजोर पूर्वाधारमाथि छानबिन त गर्नैपर्छ तर फेरि लोडसेडिङको आभास दिलाउने वितरण प्रणाली तत्कालै सुधार्न पनि आवश्यक छ ।

गत हप्ता काठमाडौं उपत्यकाको बिजुली खपत ४७० मेगावाटसम्म पुग्यो । उपत्यकामा यो माग धान्न अहिले उत्पादन पर्याप्त छ । तर विद्यमान कमजोर वितरण प्रणाली, खासगरी ट्रान्सफर्मरहरूले भार धान्न नसकेर अहिले कुनै न कुनै ठाउँमा बिजुली आपूर्तिमा अवरोध देखिइरहेको छ । भार धान्न नसकेर तीन दिनमै पाँच दर्जनजति ट्रान्सफर्मर पड्किए, जले । सिंहदरबारभित्र प्राधिकरणको एउटा फिडरमा आगलागीसमेत भयो । गत वर्षको तुलनामा यस वर्ष उपत्यकाको विद्युत् माग ८० देखि १०० मेगावाटसम्म बढेको छ । उपत्यकाभित्रको वितरण प्रणालीले साढे ४०० मेगावाटभन्दा बढी बिजुलीको भार धान्दैन ।

उपत्यकाको विद्युत् वितरण प्रणाली करिब ३ हजार ८ सय ट्रान्सफर्मरले धानिरहेका छन् । एउटा ट्रान्सफर्मर बिग्रँदा दर्जनौं घरमा बिजुली जान्छ । अझ फिडर नै बिग्रिँदा कैयौं ट्रान्सफर्मर बिजुलीविहीन हुन्छन् । हिउँदको समय उपत्यकामा बिजुली खपत बढ्ने भएकाले हरेक वर्ष प्राधिकरणलाई भार व्यवस्थापनको सकस पर्छ । तर वितरण प्रणाली सुधारका लागि प्राधिकरणले गरिरहेका प्रयासहरू पर्याप्त छैनन् । उपत्यकाको बढ्दो बिजुली खपतलाई धान्न प्राधिकरणले जीर्ण र न्यून क्षमताको प्रसारण प्रणाली सुधार गर्नुपर्छ र त्यसका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्य आवश्यक छ । अल्पकालका लागि चाँडोभन्दा चाँडो जीर्ण फिडर तथा ट्रान्सफर्मरहरू परिवर्तन गर्ने, मध्यकालका लागि नयाँ ट्रान्सफर्मरहरू थप्ने र दीर्घकालका लागि भूमिगत वितरण प्रणालीलाई प्रभावकारी बनाउने नीति लिनुपर्छ ।

प्राधिकरणले भूमिगत वितरण प्रणाली निर्माणको काम सुरु गरेकै एक वर्ष हुन लागिसक्यो तर यो परियोजना प्रभावकारी रूपमा अघि बढ्न सकेको छैन । एसियाली विकास बैंकको ऋण सहयोगमा बनिरहेको उपत्यका अन्डरग्राउन्ड केबलिङ प्रोजेक्ट सडक र खानेपानी कार्यालयका कारण सुस्त बन्दै गइरहेको छ । अन्तरनिकाय समन्वयको अभावमा भूमिगत वितरण प्रणालीको कामले गति लिन सकेको छैन । यो ढिलासुस्तीको हेक्का राखी कामलाई तीव्रता दिएर विद्युत् अनियमितताको अवस्था अन्त्य गर्नुपर्छ । अन्यथा दैनिकजसो दर्जनौं ट्रान्सफर्मर जल्ने र ओभरलोड भएर ट्रिपिङ हुने समस्या देखा परी नै रहनेछ ।

उपत्यकाको माग व्यवस्थापनकै लागि भनेर प्राधिकरणले अहिले चक्रपथबाहिरका विभिन्न नौ स्थानमा सबस्टेसनहरू बनाइरहेको छ । यी सबै सबस्टेसन बनिसक्दा उपत्यकाको प्रसारण र वितरण प्रणालीमा १ हजार मेगावाटसम्मको भार धान्ने क्षमता थपिन्छ । उपत्यकाका भित्री सडकमा पनि १२० केभी क्षमताका प्रसारण लाइन बिछ्याउनुपर्ने अवस्था सृजना भइसकेको छ । चक्रपथको बाहिरी क्षेत्रमा २२० र ४०० केभी क्षमताका हाई भोल्टेज प्रसारण लाइन बनाइनुपर्छ ।

चार वर्षअघिसम्म विद्युत् माग धान्न नसक्ने अवस्थामा रहेको प्राधिकरणका लागि अहिले उत्पादित विद्युत्‌को खपत सबैभन्दा ठूलो चुनौती बनेको छ । कार्यकारी निर्देशकका रूपमा दोस्रो कार्यकालका लागि आएलगत्तै कुलमान घिसिङले ऊर्जा खपतका लागि ‘उज्यालो र सफा सहर अभियान’ लागू गर्ने घोषणा गरे । सहरका सार्वजनिक स्थलहरूलाई उज्यालो बनाउने योजना कार्यान्वयनका लागि हालसम्म २० नगरपालिकासँग सम्झौता भइसकेको छ । अर्कातर्फ सबै औद्योगिक क्षेत्रमा चाहिएजति बिजुलीको सुविधा दिने भनेर प्राधिकरणले उद्योगी–व्यवसायीहरूलाई आश्वस्त तुल्याइरहे पनि त्यसमा सफलता भने पाएको छैन ।

सुक्खायाममा वितरण प्रणालीमा अझ बढी समस्या देखिन्छन् । प्राधिकरणले पोल सार्ने, ट्रान्समिटर बदल्ने लगायतका काम यही बेला बढी गर्छ । हिउँदयाममा हावाहुरीका कारण प्रसारण र वितरण प्रणालीमा हुने ट्रिपिङ अर्को समस्या हो । विद्युत्‌को माग पनि वर्षातमा भन्दा सुक्खायाममा बढ्छ । प्राधिकरणका अनुसार, पिक आवर साँझ ५ बजेदेखि ८ बजेसम्म र बिहान ५ बजेदेखि ९ बजेसम्म विद्युत्‌को माग अत्यधिक बढ्छ । हिटर, वासिङ मेसिन, आइरन, पानी तान्ने पम्प, राइसकुकर, टेलिभिजनजस्ता घरायसी विद्युतीय सामग्री यही बेला बढी प्रयोग हुन्छन् ।

ल्यापटप, मोबाइल फोनको चार्ज यही बेलामा हुन्छ । बर्सेनि उत्पादन र माग बढिरहेको विद्युत् वितरणलाई व्यवस्थित, भरपर्दो र गुणस्तरीय बनाउन सकिएन भने फेरि अघोषित लोडसेडिङकै अवस्था आउन सक्छ, जुन लोडसेडिङ अन्त्यको जस लिन होडबाजी गर्नेदेखि समग्र मुलुककै लागि प्रत्युत्पादक हुनेछ । यसकारण पनि लोडसेडिङको आभास दिलाउने वितरण प्रणालीमा तत्कालै सुधार ल्याउन जरुरी छ ।

प्रकाशित : पुस २०, २०७८ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?