१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

श्रमिक समुदाय र मुक्तिको प्रश्न

अब दलित समुदायले ऐतिहासिक श्रमिक, वैज्ञानिक, सर्जक, संसारको निर्माता, राज्यको एउटा हिस्सेदार र सञ्चालकका रूपमा आफ्नो पहिचान र नाम स्थापित गर्न सक्नुपर्छ ।

श्रमिक समुदायलाई प्रतिनिधित्व गर्ने नेतृत्वदायी संगठनको नाम राख्ने सम्बन्धमा बहस व्यापक छ, यसको नाम ‘दलित’ शब्दसँग जोडेर राख्ने कि छुट्टै राख्ने भन्ने चर्चा छ, यद्यपि यो नयाँ भने होइन । नेपाल र भारतमा पनि यसबारे लामो समयदेखि बहस चल्दै आइरहेको इतिहास छ । यो संगठनको नाम राख्दा दलित शब्दको अर्थ, महत्त्व र घनत्वबारे स्पष्ट हुन जरुरी छ ।

श्रमिक समुदाय र मुक्तिको प्रश्न

दलित शब्दको पहिलो प्रयोग भारतको महाराष्ट्रका समाजसुधारक ज्योतिराव फुलेले गरेको मानिन्छ । नेपालमा २०२४ सालमा नेपाल राष्ट्रिय दलित जनविकास परिषद् गठन भएको थियो, जहाँ दलित शब्द कथित अछुत समुदायकै साझा परिचयका रूपमा प्रयोग गरिएको थियो । भारतमा पहिले कथित तल्लो जात वा अछुत भनी सम्बोधन गरिने दलित समुदायका लागि अंग्रेजको शासनकालमा सन् १९३० पश्चात् राज्यले ‘अप्रेस्ड क्लासेज’ भन्ने शब्दावली प्रयोग गरेको थियो, जसको अर्थ हुन्छ— उत्पीडित वर्ग । डा. भीमराव अम्बेडकरले अछुत, अप्रेस्ड र दलित आदि सबैजसो शब्दको प्रयोग गरे । सन् १९७० को दशकमा भारतमा चलेको ‘दलित प्यान्थर मुभमेन्ट’ ले दलित शब्दलाई बढी प्रचार र स्थापित गर्न सहयोग पुर्‍यायो ।

दलित शब्दलाई हेर्ने दृष्टिकोण

अहिले तीन कोणबाट दलित शब्द हटाउने कुरा उठिरहेको छ । एक, नकारात्मक कोणबाट । यो पक्ष दलित एकता भाँड्ने मनसायसहित यो शब्द हटाउन र दलित समुदायलाई शक्तिहीन बनाउन चाहन्छ । दुई, ज्ञानको कमजोरीका कारण । उनीहरू आफूले आफैंलाई किन दलित भन्ने, दलित भनिरहँदासम्म त दलित अवस्था रहिरहने भयो भन्ने सोच्छन् । तीन, कुनै पनि वस्तु वा शब्द समयानुकूल फेरिन्छ र फेरिनुपर्छ भन्ने दृष्टिकोण । अहिलेसम्म वर्णाश्रम जातव्यवस्थाभित्र सबैभन्दा पीँधमा पारिएकाÙ वर्गीय रूपमा श्रमजीवी, सांस्कृतिक रूपमा बहिष्कृत र पानी–अचलसमेत बनाइएका जातहरूको साझा परिचयका रूपमा दलित शब्द प्रयोग हुँदै आएको हो । दलित कुनै एउटा जात (कास्ट) वा जाति (राष्ट्र) नभएर ती पानी–अचल बनाइएका जातहरूको राजनीतिक, आर्थिक र सांस्कृतिक अवस्था हो ।

कुनै पनि विषयवस्तु आफैंमा गतिशील र परिवर्तनशील हुन्छ । जुन कुरा पहिले ठीक थियो, त्यो अहिले नहुन सक्छ । जुन पहिले ठीक थिएन, अहिले पनि उस्तै रहेको हुन सक्छ । दलित शब्द कुनै समयमा ठीक थियो तर आजको समयमा यसले दलितको एउटा पाटोलाई मात्र सम्बोधन गरेको छ । यो समुदाय उत्पीडित र असंगठित रहेको अवस्थामा यसको उत्पीडनको पाटोलाई सम्बोधन गर्ने सन्दर्भमा ‘दलित’ पदावली सही र सान्दर्भिक थियो । तर आज यो समुदायको परिभाषा अलि फराकिलो ढंगले गर्नुपर्ने भएको छ ।

दलित समुदाय उत्पीडित त हो नै, यसको अर्कै गौरवमय र ऐतिहासिक परिचय, पहिचान र अर्थ पनि छ । दलितभित्र विज्ञान–प्रविधिका क्षेत्रमा काम गर्नेमा कामी, चमार, सार्की, दमाईलगायत छन्, जो वैज्ञानिक–प्राविधिक हुन् । संगीतका क्षेत्रमा काम गर्नेमा गन्धर्व, वादी, दमाईलगायत छन्, जुन सर्जक जाति हुन् । बस्तीमा चौकीदारी गर्ने परम्परागत पेसाका दुसाध, खेतीयोग्य भूमिको निर्माण गर्ने मुसहर छन्, जो सेवा र उत्पादनकार्यसँग सम्बन्धित छन् । त्यस्तै, डोम, हलखोर, च्यामे, पोडेजस्ता जात छन्, जो मूलतः सेवा क्षेत्रमा आबद्ध छन् । सारमा भन्नुपर्दा, दलित समुदाय भनेका वैज्ञानिक, प्राविधिक, स्वास्थ्य प्राविधिक, औषधिशास्त्री आदि हुन् । यस अर्थमा वर्णाश्रम हिन्दु समाजका वास्तविक बहुसंख्यक श्रमिक भनेका शूद्र र दलित हुन् । उपर्युक्त सन्दर्भबाट दलित समुदाय समाजको सबैभन्दा गौरवशाली श्रमिक मानव समुदाय हो भन्ने निष्कर्ष निकाल्न सकिन्छ । यसर्थ अब दलितलाई उत्पीडनमा परेको, हेपिएको, थिचिएको तथा विभेद र छुवाछुतमा परेको समुदायका रूपमा मात्रै नामकरण गर्दा अपुरो हुन जान्छ । अब यो समुदायले ऐतिहासिक श्रमिक, वैज्ञानिक, सर्जक, संसारको निर्माता, राज्यको एउटा हिस्सेदार र सञ्चालकका रूपमा आफ्नो पहिचान र नाम स्थापित गर्न सक्नुपर्छ ।

मूलतः चार कारणले दलित समुदायको नामकरण नयाँ ढंगले गर्न जरुरी छ । एक, अहिलेको विकसित वस्तुस्थिति एवं यो समुदायको चाहना र मनोविज्ञानलाई सम्बोधन गर्न वा विशेष गरी युवायुवतीको माग भएकाले । दुई, यो जाति नभएर उत्पीडित समुदाय भएकालेÙ पहिचानको मुद्दा नभई राजनीतिक, आर्थिक र सामाजिक–सांस्कृतिक अवस्था भएकाले । तीन, यो समुदायको पहिचान उत्पीडित र हेपिएको नभई संसारको निर्माता, सर्जक, वैज्ञानिक तथा श्रमिक समुदाय भएकाले । चार, यो समुदाय एक्लैले समस्या समाधान गर्न नसक्ने भएकाले । यसका लागि सम्पूर्ण उत्पीडित जाति, जनजाति र समुदाय नयाँ तरिकाले एकताबद्ध भएर अघि बढ्न आवश्यक छ । तसर्थ, यस समुदायलाई ‘श्रमिक समुदाय’ भन्नु उपयुक्त देखिन्छ ।

वर्ग र जातिको विकास

यो संसारमा पहिले वर्गको जन्म भयो कि जातिको भन्ने सन्दर्भमा विचार गर्दा, सुरुमा वर्गको जन्म भएको देखिन्छ । आदिम साम्यवाद, दास युग, सामन्ती युग र पुँजीवादजस्ता चार युगहरूको चर्चा गर्ने हो भने, आदिम साम्यवादमा कुनै वर्ग, जाति, धनी र गरिब भन्ने थिएन । सानो र ठूलो भन्ने थिएन अनि स्वाभाविक रूपमा विभेद, असमानता, उत्पीडन र छुवाछुत पनि थिएन । मानवसमाजको विकासका क्रममा पहिला निजी सम्पत्तिको सुरुआतसँगै समाजमा वर्ग र निजी सम्पत्तिको रक्षाका लागि वर्गीय राज्यसत्ताको स्थापना गरियो एवं समाजमा शासक र शासित, शोषक र शोषित, बसिखाने र काम गरी खाने वर्ग बन्न पुग्यो । सत्तासंघर्षका क्रममा शोषक र बसिखाने वर्गले आफ्नो शक्ति, निजी सम्पत्ति, वैभव र लुटको स्वर्ग बचाइराख्न आदर्शवादी दर्शन र धर्मका नाममा विभिन्न प्रपञ्च रचेर पहिले वर्णव्यवस्था र जातजातिमा विभाजनका साथै उच–नीच, विभेद, छुवाछुतजस्ता विभेदकारी नीति निर्माण गरे ।

यसका सथै श्रमिक वर्ग र समुदायलाई फुटाएर शासनसत्तालाई दीर्घजीवी बनाए । वर्णव्यवस्थामा आधारित जातविभाजन र छुवाछुतको मूल कारण निजी सम्पत्ति, शारीरिक श्रमप्रतिको घृणा, जनतालाई फुटाएर शासन गर्ने चिन्तन र राज्य–व्यवस्थासँग सम्बन्धित छ । भारत र नेपालमा अछुत बनाइएका श्रमिक समुदाय अरू कोही नभएर मूलतः राज्यसत्तासँग संघर्षका क्रममा पराजित भई दास बनाइएका र सत्ताधारीका विरोधीहरू हुन् । जेसुकै कारण र बहानामा उनीहरूलाई शूद्र, अछुत वा पछि आएर दलित समुदायका रूपमा नामकरण गरिए पनि यसको मुख्य कारण भनेको राजनीतिक व्यवस्था नै हो । भारत र नेपालमा शूद्र र अछुत निर्माणको पृष्ठभूमि र प्रक्रिया फरक छ । भारतमा यो प्रक्रिया मानव समाज विकासको प्रारम्भिक चरणमा भएको थियो भने नेपालमा यो भारतबाट ल्याएर थोपरिएको थियो ।

नेपालका दलित कुनै जाति नभएर पहाडका आर्य जाति, मधेसका अष्ट्रो–द्रविड र उपत्यकाका नेवाःअन्तर्गत अछुत बनाइएका उत्पीडित श्रमिक समुदाय हुन् । त्यसैले यो समुदायलाई उत्पीडित श्रमिक समुदाय भनेर नामकरण गर्नु र स्थापित गर्न उपयुक्त देखिन्छ । जब निजी सम्पत्तिको रक्षाका लागि शक्ति आर्जन गर्ने क्रममा राज्यसत्ताको उत्पत्ति भयो, त्यसपछि वर्ग निर्माणका साथै विभेदको पनि सुरुआत भयो । मानव समाजको प्रारम्भिक समूह परिवार हो । त्यसपछि गोत्र (कुल), कबिला, प्रजाति (जनजाति) हुँदै जातिको विकास भएको हो । स्टालिनका अनुसार, जाति भनेको एउटा साझा भाषा, इलाका, आर्थिक जीवन र साझा संस्कृतिमा अभिव्यक्त हुने मनोवैज्ञानिक स्वरूपका आधारमा निर्मित ऐतिहासिक रूपले स्थापित र स्थिर एक जनसमुदाय हो । समाजको विकास नियमित प्रक्रिया हो । यो प्राकृतिक र वैज्ञानिक ढंगले अघि बढ्छ । जहाँ समाज विकासको प्रक्रिया स्वाभाविक तरिकाले आफ्नै नियममा अघि बढ्यो, त्यहाँ समाज र राष्ट्रराज्यले विकास गर्‍यो, कुनै किसिमको सामाजिक विभेद भएन । तर, जहाँ स्वाभाविक समाज विकासको नियमविपरीत केही टाठा–बाठा, बसिखाने शोषक–सामन्त र शासकवर्गले निहित स्वार्थ र सनकमा अर्कै नियम र व्यवस्था निर्माण गरे, त्यहाँ गत्यावरोध, अशान्ति, द्वन्द्व र विभेद पैदा भयो । कथित शूद्र र अछुत निर्माणको पृष्ठभूमि र प्रक्रिया पनि यस्तै छ । यो मानव समाज विकासको स्वाभाविक र प्राकृतिक नियम अनुसार भएको होइनÙ केही मानिसहरूको कल्पना, सनक र स्वार्थमा पछि थोपरिएको हो ।

छुवाछुत र विभेदबाट मुक्तिको सवाल

छुवाछुत प्रथा वर्णव्यवस्था र हिन्दुधर्मीय समाजको सामाजिक विकृति हो । यो समस्या समाधानका लागि हामीले समाज विकासको नियमलाई समात्नुपर्छ । समाज विकासको नियमविपरीत थोपरिएको समस्या भएकाले यो पहिचानको मुद्दा होइन । उत्पीडन र वञ्चितीकरणमा परेको अवस्था हो यो । राजनीतिक–आर्थिक अधिकारप्राप्ति र सामाजिक–सांस्कृतिक रूपान्तरणसहितको अन्तरघुलनपछि यो समस्या रहँदैन । त्यसपछि सम्बन्धित जाति र समुदायमा अन्तरघुलित हुने भएका कारण अल्पकालका लागि यो पहिचान र अस्तित्वको सवाल भए पनि दीर्घकालमा रूपान्तरण, अन्तरघुलन र उन्मूलनको मुद्दा हो । दलित समुदायको जातिगत विशेषता पहाडमा खस–आर्य, मधेसमा अष्ट्रो–द्रविड र उपत्यकामा नेवाः समुदायसँग सम्बन्धित रहेकोÙ निश्चित भूगोलमा नभई देशैभरि छरिएर रहेका कारण पनि यो समुदाय छुट्टै पहिचानसहितको अस्तित्वमा रहिरहनुमा वैज्ञानिकता देखिँदैन । मधेसमा कतिपय राजनीतिक–आर्थिक सुविधाका लागि दलित बन्न चाहने र नेवाःभित्र दलित बन्न नचाहने बरु त्यही जातिमा अन्तरघुलित हुन चाहने यथार्थले पनि यो मुद्दा पहिचान वा छुट्टै अस्तित्वको विषय होइन भन्ने पुष्टि हुन्छ । भारतमा अम्बेडकरले यो समुदायलाई गाउँबाट स्थानान्तरण गरेर सहरमा बसाल्नेजस्ता थुप्रै विकल्पमा विचार गरे पनि अन्ततः उनी अन्तरघुलनकै विधिमा पुगेका थिए । तर राज्यव्यवस्था र आर्थिक प्रणाली परिवर्तनसहितको सामाजिक–सांस्कृतिक अन्तरघुलनको बाटो छाडेर धर्मपरिवर्तनको भ्रमपूर्ण बाटामा लाग्दा उनी असफल हुन पुगे ।

वर्णव्यवस्थामा आधारित रहेर प्रारम्भमा शूद्र, अछुत हुँदै हाल आएर दलित समुदायका रूपमा परिचित ऐतिहासिक सर्वहारा वर्गको पूर्ण मुक्ति वर्णव्यवस्थामा आधारित जातव्यवस्थाको उन्मूलन र निजी सम्पत्तिको अन्त्य एवं राज्यको सामूहिक सम्पत्तिको निर्माणसँग सम्बन्धित छ । राज्यव्यवस्था र आर्थिक प्रणाली परिवर्तनसहितको समृद्धिसँगसँगै सामाजिक–सांस्कृतिक रूपान्तरण, अन्तरघुलन र विभेद उन्मूलन नै यो समस्याको सही समाधान हो । सामाजिक–सांस्कृतिक रूपान्तरणको विषय तीनवटा प्रक्रियाबाट अघि बढाउनुपर्छ । पहिलो, यो समुदाय थर र गोत्रमा फर्किनुपर्छ । दोस्रो, पहाडमा खस–आर्यसँग, मधेसमा अष्ट्रो–द्रविडसँग र उपत्यकामा नेवाःभित्र अन्तरघुलित हुनुपर्छ । तर, अन्तरघुलित खस–आर्य, अष्ट्रो–द्रविड र नेवाःलगायत अन्य जनजाति पनि पुरानै पहिचान र अस्तित्वमा सदासर्वदा रहनु प्रकृति र मानव समाज विकासको नियमविपरीत हुन्छ । सामूहिकतामा निरन्तर गतिशील र रूपान्तरण भइरहनु नै कुनै पनि वस्तु, समाज र विज्ञानको नियम हो । तसर्थ, सबै जाति पुरानो पहिचान र अस्तित्वबाट माथि उठेर नयाँ अन्तर्राष्ट्रिय मानव जातिमा विकास वा परिवर्तन हुनुपर्छ । र त्यसको साझा आधार श्रम हुन सक्छ । श्रम गर्नेहरूको नयाँ मानव जाति १

विश्वकर्मा राष्ट्रिय दलित आयोगका पूर्वअध्यक्ष हुन् ।

प्रकाशित : पुस १८, २०७८ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?