१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

चन्द्रागिरिको हिउँ र सकिना तेलीहरू !

के मौजुदा लोकतान्त्रिक व्यवस्था राज्य पुनःसंरचनासँग जोडिएका हिजोका सवालहरूलाई यथास्थितिमा छोडेर सबल होला ? ठूलो संख्या सडकमा उतार्न नसक्नेको प्रतिरोधी बोली बेवास्तामा परिरहँदा मौजुदा व्यवस्थाबाट न्याय र समता सम्भव छ कसरी भन्न सकिएला ?
उज्ज्वल प्रसाई

सकिना तेली र नन्कुन्नी धोबी
सलिमुन निशा बहना र निर्मला कुर्मी
खातुना निशा बहना र शाहिदा खातुना दर्जी
वानी चमार र रुबी खान ।

चन्द्रागिरिको हिउँ र सकिना तेलीहरू !

पर्वते नेपाली भाषा र हिन्दु नाम–थरको बाहुल्य रहने नेपाली आमसञ्चारमा यी ध्वनिहरू अनौठा सुनिन्छन् । राणा र पाण्डे, बस्नेत र ओली, प्रसाई र श्रेष्ठ — यसरी सजिलै उच्चरित भएनन् होला यी नामहरू ! ‘नेपाली राष्ट्रिय पहिचान’ प्रति सधैं चनाखो रहने काठमाडौंका प्रभुत्वशाली एवं वाचाल समूहका लागि यी नामले सञ्चार गर्ने ध्वनि खतराका सूचक हुन सक्छन् । अद्यापि काठमाडौंबाटै अनवरत प्रसारण भइरहेको राष्ट्रिय मूल ध्वनिमा शाहिदा र खातुना, वानी र सलिमुन मिसिन सकेनन् । सेताम्मे चन्द्रागिरिको मोहक चित्रमा केन्द्रित काठमाडौंका आँखा वानी चमारहरूले ओढेका प्लास्टिकका बोरामा अडिन सकेनन् ।

राष्ट्रवादी नेता खड्गप्रसाद ओलीले सहरमाझ ठूलो उत्साहसाथ फहराएको यामानको राष्ट्रिय झन्डामुनि एक महिनादेखि कराइरहेका शाहिदा र खातुनाहरू अनसुना भइरहे । माथि उल्लिखित नाममध्ये दुई जनाले अनाहकमा ज्यान गुमाए, तिनलाई मार्ने अपराधीहरू मुक्त घुमिरहेका छन् । बादशाह कुर्मीजस्ता शक्तिशाली पार्टीका नेता मुछिएकाले निसाफ अप्ठ्यारो बनेको सबैलाई थाहा छ । नेपालगन्जबाट दोस्रो पटक माइतीघर मण्डला आइपुगेका बाह्र जना महिला न्यायको माग गर्दै धर्ना बसेको आज सैंतीसौं दिन हो । यसअघि उनीहरू बीस दिन पैदल हिँडेर काठमाडौं आएका थिए । यस पटक पनि न्याय नपाई नेपालगन्ज फर्कनुपरे आफैं मारिन सक्ने जोखिम रहेको उनीहरूले बताइरहेका छन् ।

मण्डलाको फेरो मारेर आफ्ना सवारीमा कुदिरहने र आफ्नै सुबिस्तामा पैदल हिँडिरहने काठमाडौंवासीले उनीहरूलाई बेवास्ता गर्नुमा आफ्नो भलाइ ठाने । नाम मात्रै अनौठा होइनन्, हाउभाउ अर्कै छन्, लवज नबुझिने छन्, धर्ना र आन्दोलनका शैली सेल्फीअनुकूल छैनन् । वास्ता गर्नुले झिँझ्याट थप्न सक्छ, जोखिमको सम्भावना पनि कम हुँदैन । त्यसैले राजनीतिको मूलधार सम्हालेका सामाजिक लोकतन्त्रवादी वा समाजवादी दलहरू उनीहरूसँग छैनन् । दलाधीशको आदेशमा परिचालित हुने विद्यार्थी संगठनहरू शाहिदा र खातुनाभन्दा परै बसे । सामाजिक आन्दोलनलाई व्यक्तिगत उन्नयन र पहिचानको स्रोत बनाएका व्यक्तित्वहरू नजिक हुन चाहेनन् । व्यक्तिगत स्वतन्त्रता नै लोकतन्त्रको प्राण हो भन्दै पुँजीवादको पैरवीमा तैनाथहरूले उनीहरूको भाषा र आशय बुझ्न चाहेनन् । देशको समृद्धि नै मूल एजेन्डा भएकाले यस्ता ‘पेरिफरल इस्यु’ मा अलमलिनु समयको बर्बादी हो भन्नेमा उनीहरू अडिग रहे ।

त्रिभुवन र अन्य विश्वविद्यालयमा दशकौंदेखि गायत्री चक्रवर्ती स्पिभाकको ‘क्यान सबाल्टर्न स्पिक ?’ पढाइरहेका सयौं शिक्षक, पढिरहेका हजारौं विद्यार्थी र त्यसैमा शोध लेखिरहेका कैयौं बुद्धिजीवीका कानमा समेत वानी र नन्कुन्नीजस्ता ध्वनिको सौन्दर्य सञ्चारित हुन सकेन । स्नातकोत्तर तहमा मानवमुक्तिको दर्शन पढिरहेको सबैभन्दा चनाखो विद्यार्थी घोर अलमलमा परेर कक्षाकोठामा भनिरहेको छ, ‘माइतीघरमा सडक जाम गर्न कस्ताकस्ता मान्छे आएर केके भन्छन्–भन्छन्, केही बुझिन्न १’ जेन्डर स्टडिजमा विद्यावारिधि गर्ने घच्चीको विषय फेला नपरेकामा द्विविधाग्रस्त बनेको विद्वान्लाई सलिमुनले गरेको ‘लङ मार्च’ र महिनौंसम्म दिएको धर्ना शोधलायक विषय होइन । सामाजिक आन्दोलनको भविष्यमा चिन्तातुर अनुसन्धाताका लागि हिउँदको वर्षामा बोरा ओढेर धर्नारत वानी चमारहरूको मण्डला कुनै ‘रिसर्च फिल्ड’ नै होइन ।

यी कसैका पनि प्राथमिक चासोमा नपरेको आन्दोलन अखबारका लागि ‘फिलर’ समाचार मात्र हो । बिकाउ खबर बन्नका लागि न कुनै रमाइला गतिविधि भए, न उत्तेजक भाषण र प्रदर्शनका कार्यक्रम १ फोटोजेनिक समर्थकका अनुहारमा रंगीन चित्र कोरिएनन्, स्वादिला नारा कोरिएका टिसर्ट लगाएर कोही झुल्किएनन् १ चर्चित व्यक्तित्वका लालित्यपूर्ण विचारोत्तेजक मन्तव्यका शृंखला पनि चलेनन् । सञ्चारमाध्यमको ध्यानाकर्षण हुने गरी र उनीहरूले यस आन्दोलनलाई आफ्नो एजेन्डा बनाउने गरी कुनै घटना भएन । परिणाम, काठमाडौंको समग्र ध्यान चन्द्रागिरिमा हिउँ खेलिरहेका पुजारी र सेताम्मे हुन पुगेका पहेंला पृथ्वीनारायण शाहको मूर्तिमा केन्द्रित भयो ।

रुबी र सकिनाको टोली कलंकीको एउटा लजमा बास बसेको छ । बर्दियातिरका लजधनी उनीहरूले चिनेकै मान्छे भएकाले अग्रिम पैसा नतिरी बस्न दिएका छन् । तथापि कोठा भाडा दैनिक पन्ध्र सय तिर्नुपर्नेछ । यतिका पैसा कहाँबाट आउँछ, कसैलाई थाहा छैन । बेलुकाको खाना होटलमा खाई लजका तीन कोठामा बाँडिएर सुतेका उनीहरू सबेरै मण्डलामा धर्ना दिन आइपुग्छन् । दिउँसोको खाना र चियाको कुनै टुंगो हुँदैन । सघाउन पुगेका कोही मनकारीले जोहो गरिदिए खाना खान पाउँछन् । बिरामी परेका धर्नाकारीहरू आफैं निको हुने आशामा बस्नुबाहेक अर्को उपाय छैन । कहिलेकाहीँ अखबारमा छापिने उनीहरूका तस्बिर र खबरले अलिकति उत्साह थप्छन् । सहयोगीका हौसला र सानोतिनो उत्साहले कुनै दिन न्याय पाइएला भनेर उनीहरू संघर्षरत छन् ।

यसैबीच, नेकपा एमालेका केही महिला सांसदको पहलमा उनीहरूलाई पार्टीको संसदीय कार्यालयमा निम्ता दिइयो । सहयोगको अपेक्षा लिएर बानेश्वर पुगेका उनीहरूले थाहा पाए, अधिकांश पार्टी नेता उनीहरूका आन्दोलन र मागबारे अनभिज्ञ छन्, तिनलाई नन्कुन्नीहरूबारे केही थाहा छैन । सांसदहरूसमेतले चासो दिएर यस आन्दोलनबारे कहिल्यै बुझ्न खोजेका रहेनछन् भन्ने प्रमाणित भयो । रुबी खानहरूले स्वयं उपस्थित भएर आफ्ना मुद्दाबारे बताएबापत आश्वासनका दुई–चार हरफ सुन्न पाए । जुन तहको ऐक्यबद्धता र सहयोगको अपेक्षा थियो, त्यो अझै सम्भव छैन भन्ने पनि उनीहरूले बुझे ।

को छन् त रुबी र सकिनाहरूसँग ? कसरी चलिरहेको छ सैंतीसौं दिनसम्म काठमाडौंको धर्ना ? आन्दोलनमा ऐक्यबद्धता जनाउने र प्रत्यक्ष सहयोग गर्ने औंलामा गन्न सकिने मानिसहरू छन् । दुई खाले समूहले उनीहरूलाई सघाएका छन् । एक, पूर्वप्रधानमन्त्री खड्गप्रसाद ओलीले संसद् भंग गरेपछि लोकतन्त्र रक्षाका खातिर सुरु भएको बृहत् नागरिक आन्दोलनका केही सक्रिय आन्दोलनकारी छन् । दोस्रो, त्यस्ता केही युवा छन् जसलाई मौजुदा व्यवस्था नै अपूर्ण र त्याज्य भएकाले सकिनाहरूले दुःख पाएका हुन् भन्ने लाग्छ । यद्यपि पछिल्लो समूहका युवामध्ये केही नागरिक आन्दोलनमा पनि उत्तिकै सक्रिय थिए ।

सकिना र रुबीहरू धर्ना बस्न माइतीघर आएपछि आन्दोलनमा सक्रिय भएका अनिता पण्डित र अप्सरा केसीले कापी र कलमको व्यवस्था गरे । धर्ना लम्बिँदै जाँदा, अक्षर चिन्ने मौका कहिल्यै नपाएका वानी चमारहरूलाई अक्षर चिनाउन र लेख्न सिकाउन थाले । कम्युनिस्ट पार्टीका विद्यार्थी संगठनहरूमा आबद्ध भएर पार्टीकै सीमितता बुझ्न पाएका निर्ग नवीनजस्ता केही युवा पनि धर्नाकारीका साथमा छन् । नवीन सधैं धर्नास्थल पुगेर अक्षर चिनाउने र लेख्न सिकाउने काममा सक्रिय हुन्छन् । साथै, मनकारी खोजेर खाना र चियाको बन्दोबस्त गराउन पनि सहयोग गर्छन् ।

एक–दुई जनाबाहेक यी दुवै समूहका सबै सक्रिय सदस्यहरू दिनहुँ धर्नास्थल जान सक्दैनन् । लोकतन्त्रलाई सबल एवं साँचो अर्थमा न्यायपूर्ण बनाउनुपर्छ भन्ने मत राख्नेहरूको सक्रियतामा सञ्चालित नागरिक आन्दोलनको सानो समूहलाई देशमा शृंखलाबद्ध रूपमा भइरहेका एकपछि अर्को घटनामा ध्यानकेन्द्रित गर्ने र परिचालित हुनुपर्नेछ । कहिले चन्द्र कामीका लागि मानव अधिकार आयोग गुहार्नुपर्छ त कहिले प्रधान न्यायाधीश स्वयंले बिगारेको न्यायालयको सुधारका लागि जुलुसमा सहभागी बन्नुपर्छ । आम नागरिकका तहबाट आवश्यक प्रश्न सोध्न एवं प्रतिरोध दर्ज गर्न जरुरी छ भनेर स्वस्फूर्त रूपमा सडकमा आइपुगेको यस आन्दोलनले गर्न सक्ने गतिविधिका आफ्नै सीमा छन् ।

स्वतन्त्र ढंगले रुबीहरूसँग नजिक पुगेका युवाहरूले आफैं तय गरेका अन्य प्राथमिकता पनि छन् । माथि नै भनियो, उनीहरू यो व्यवस्थालाई लोकतन्त्रको आवरणमा लादिएको पुँजीवादी व्यवस्था ठान्छन् र यसलाई जतिसक्दो चाँडो बदल्नुपर्छ भन्ने मान्यता राख्छन् । उनीहरूका लागि एमसीसीको विरोध गर्नु व्यवस्था फेर्ने उपक्रममा सहयोगी काम गर्नु हो । त्यसैले एमसीसीविरुद्ध आयोजित धर्ना र जुलुसमा प्रहरीसँग मुठभेड गर्न पुग्छन् । निशा र शाहिदालाई अक्षर सिकाइरहेका निर्ग नवीन धर्ना चलिरहेकै बेला एक दिन एमसीसीविरोधी अभियानमा जुटे र दिनभरि प्रहरी कस्टडीमा थुनिए ।

माइतीघर मण्डलामा धर्नारत शाहिदा र वानीहरूले लोकतन्त्रका पक्षधर हौं भन्नेहरूका अघिल्तिर केही ज्वलन्त प्रश्न उठाएका छन् । के मौजुदा लोकतान्त्रिक व्यवस्था राज्य पुनःसंरचनासँग जोडिएका हिजोका सवालहरूलाई यथास्थितिमा छाडेर सबल होला ? ठूलो संख्या सडकमा उतार्न नसक्नेको प्रतिरोधी बोली बेवास्तामा परिरहँदा मौजुदा व्यवस्थाबाट न्याय र समता सम्भव छ कसरी भन्न सकिएला ? एकातिर सकिना र रुबीहरूलाई सकेसम्म बेवास्ता गर्ने वा सहयोग गरेको भान पारेर परबाट च्वच्व मात्र गर्ने र अर्कातिर उनीहरूलाई सहयोग गरिरहेका बृहत् नागरिक आन्दोलनजस्तो सानो समूहको खिसिट्युरी मात्रै गरेर लोकतन्त्र मजबुत होला ? अनि, ती युवा जसले इमानदारीपूर्वक यस्ता सीमान्तका आन्दोलनलाई सघाइरहेका छन्, तिनले गरेको पुँजीवादको आलोचनालाई पूर्णतया अनदेखा गरिरहन कहिलेसम्म सम्भव होला ?

प्रकाशित : पुस १६, २०७८ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?