१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

राष्ट्रिय मेलमिलाप र बीपीका आखिरी वर्षहरू

सन् १९७० को दशकमा भियतनामबाट अमेरिकी सेना फिर्ता भएपछि एसियामा शीतयुद्धको केन्द्र दक्षिणपूर्वी एसियाबाट दक्षिण एसिया बन्न पुगेको थियो । भारतमा सिक्किमको विलय र पाकिस्तानबाट बंगलादेश टुक्रिएर नयाँ राज्य बन्नुको परिणामलाई त्यही परिप्रेक्ष्यमा हेर्नुपर्छ । बीपीले यही परिप्रेक्ष्यमा नेपालमा राष्ट्रियताको संकट देखेका थिए ।
शंकर तिवारी

विनाकुनै इजलास राजाले अभियुक्त बनाएर राखेको आठ वर्ष लामो काराबासबाट मुक्तिपश्चात् बीपी कोइरालाले अप्रिय निर्णय गर्नुपर्‍यो, भारत निर्वासनको । अनिश्चितता र अन्योलका बीच गरिएको निर्णय थियो त्यो । ती आठ वर्षमा राजा महेन्द्रको ठाउँमा उनका छोरा वीरेन्द्र गद्दीनसीन भएका मात्र थिएनन्, घरेलु र अन्तर्राष्ट्रिय राजनीतिमा व्यापक बदलावसमेत आएको थियो ।

राष्ट्रिय मेलमिलाप र बीपीका आखिरी वर्षहरू

बीपीले त्यही तथ्यलाई हृदयंगम गरी २०३३ पुस १६ गते राष्ट्रिय मेलमिलापको आह्वान गर्दै स्वदेश फर्कने निर्णय गरेका थिए । बीपीले जुन कारणले जोसँग मेलमिलापका लागि आह्वान गरेका थिए, त्यसपछि उनी बाँचुन्जेल अर्थात् २०३९ सालसम्म राष्ट्रिय मेलमिलापका छ वर्षमा केके भयो र उनले राष्ट्रिय मेलमिलापलाई कसरी हेरेका थिए भन्ने सन्दर्भमा यो आलेख केन्द्रित रहनेछ ।

राष्ट्रिय मेलमिलापको आह्वानलाई बुझ्नका लागि बीपीले पार्टी कार्यकर्ताहरूलाई पठाएको अडियो टेपको उतार ‘हामीले स्वदेश फर्कने निर्णय किन गर्‍यौं’ शीर्षक लेख र बीपीले अदालतमा दिएको बयानलाई मनन गर्नु जरुरी छ । त्यस्तै उनको महत्त्वपूर्ण पुस्तक ‘राजा, राष्ट्रियता र राजनीति’ मा संगृहीत ‘राष्ट्रिय मेलमिलापका पाँच वर्ष’ शीर्षक लेख पनि पढ्न जरुरी छ ।

बीपीका अनुसार, कुनै पनि राष्ट्रनिर्माणका तीनवटा चरण हुन्छन् । पहिलो, राष्ट्रिय एकीकरण; दोस्रो, प्रजातान्त्रिक अधिकारहरूको विस्तार, र तेस्रो, आर्थिक विकास । २००७ सालको जनक्रान्तिले प्रजातान्त्रिक अधिकारको विस्तार र आर्थिक विकासका लागि मार्गप्रशस्त गरेको थियो । तर २०१७ सालमा राजा महेन्द्रले जुन कदम चाले, त्यसले राष्ट्रिय एकताको भावनामा खलल पुर्‍याउँदै बाँकी दुई पक्षमा पनि गम्भीर आघात पुर्‍याएको थियो । आजपर्यन्त पनि नेपाली राजनीति ती समस्यासँग जुझिरहेको छ । पहिचानको मुद्दा भावनात्मक एकीकरणसँग जोडिएको छ । प्रजातान्त्रिक अधिकारको विस्तारलाई संविधान संशोधनसँग जोडेर हेर्न सकिन्छ । आर्थिक विकासको कुरा यसै पनि स्पष्ट छ ।

बीपीले राष्ट्रिय मेलमिलापको आह्वान गर्दा यी तीनै पक्षलाई प्रधानता दिएका थिए । उनले प्रजातन्त्र, राष्ट्रियता र समाजवाद अर्थात् आर्थिक विकासलाई ‘तीनपाटे सिसा’ मानेका थिए र तत्कालीन कार्यक्रमलाई, ज्यामितीय रूपमा भन्नुपर्दा, ‘त्रिकोणात्मक संघर्ष’ का रूपमा लिएका थिए ।

बीपीले भनेका थिए— बेलायतमा राजनीति गर्नेले चुनाव हार्ने जोखिम लिनुपर्छ । भारतमा लागेको संकटकालतर्फ इंगित गर्दै उनले भनेका थिए— भारतमा राजनीति गर्नेले जेलको जोखिम लिनुपर्छ । र, नेपालमा रहेको तानाशाहीतर्फ संकेत गर्दै उनले भनेका थिए— नेपालमा राजनीति गर्नेले ज्यानको जोखिम लिनुपर्छ र त्यो उनलाई बिनासर्त मन्जुर थियो । सात सालको क्रान्तिमा विराटनगरको मोर्चामा अग्रभागमा लडेका बीपीका लागि आफ्नो जीवन दाउमा लगाउनु असामान्य थिएन । उनले सहजतापूर्वक आँट गरेर नेपालमा आफूविरुद्ध राजद्रोहका सातवटा मुद्दाको सामना गर्न तयार हुँदै नेपाल फर्कने निर्णय गरेका थिए । सात सालको क्रान्तिमा बडाहाकिमको निवास कब्जा गर्ने क्रममा कसरी मृत्युको मुखबाट बीपी बचेका थिए भन्ने कुरा भोला चटर्जीको पुस्तक ‘अ स्टडी अफ रिसेन्ट नेपलिज पोलिटिक्स’ मा समेत पढ्न सकिन्छ ।

नेपालजस्तो सामरिक अवस्थितिमा रहेको देशलाई विश्वको सामरिक सन्तुलनमा देखा पर्ने बदलावले प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव पार्छ नै । सन् १९७० को दशकमा भियतनामबाट अमेरिकी सेना फिर्ता भएपछि एसियामा शीतयुद्धको केन्द्र दक्षिणपूर्वी एसियाबाट दक्षिण एसिया बन्न पुगेको थियो । भारतमा सिक्किमको विलय र पाकिस्तानबाट बंगलादेश टुक्रिएर नयाँ राज्य बन्नुको परिणामलाई त्यही परिप्रेक्ष्यमा हेर्नुपर्छ । बीपीले यही परिप्रेक्ष्यमा नेपालमा राष्ट्रियताको संकट देखेका थिए । बीपीलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय परिचय दिएको नेपाल राष्ट्रको जीवनमा आइपरेको राष्ट्रियताको संकट र त्यो संकट निवारणका लागि एउटा व्यक्तिका रूपमा उनले गर्न सक्ने बलिदान उनको दैहिक जीवनको अस्तित्वभन्दा ठूलो विषय थियो ।

ग्रिक दार्शनिक सुकरातलाई राजद्रोहको अभियोग लाग्यो । उनले सफाइको मौका त पाए तर तत्कालीन कानुनअनुसार दण्डित हुनबाट जोगिन सकेनन् । शुभचिन्तकहरूले उनलाई एथेन्स राज्यबाट भाग्ने सल्लाहसमेत दिए । भागेमा ज्यान बच्न सक्थ्यो तर सुकरातले जुन राज्यले उनलाई त्यति ठूलो मान र सम्मान दियो, जुन राज्यको कानुन अन्तर्गत उनले प्रतिष्ठा कमाए, त्यही राज्यले उनलाई अभियुक्त घोषणा गर्दा सहर्ष त्यो अभियोगउपरको कानुनी फैसलालाई शिरोपर गरे । त्यसैले आज पनि सुकरातको बलिदानको दुनियाँभर चर्चा भइराख्छ । सुकरात भागेका भए केही वर्ष बढी अवश्य बाँच्ने थिए होलान् तर राज्यप्रतिको उनको विश्वास सम्झनायोग्य रहने थिएन ।

नेपालको राष्ट्रियता संकटमा पर्दा बीपी निर्वासनमा थिए, उनको भौतिक शरीर सुरक्षित थियो, तर उनलाई त्यो असहज परिस्थिति स्वीकार थिएन । उनले आफ्ना साथीहरूसँग सल्लाह गरे र तत्काल दुस्साहसी निर्णय गर्दै नेपाल फर्किए । फाँसीमा चढ्नु नपरे पनि बीपीको नेपाल आगमन नेपाली इतिहासको ‘सुकरात क्षण’ अवश्य हो । राजाको फाँसीमा चढ्न आएका बीपीले उल्टो राजसंस्थालाई इतिहासको इजलासमा खडा गर्न सक्षम भएर सफाइ पाएका थिए ।

बीपीको निर्वासनसँगै नेपालमा पनि जनताको पक्ष, प्रजातन्त्रको पक्ष निर्वासनमा पुगेको थियो । राजनीतिक दलहरू प्रतिबन्धित भइसकेपछि दुईतिहाइ मतप्राप्त राजनीतिक दलका कार्यकर्ताहरू निर्वासनमा जान बाध्य भएका थिए । जब राष्ट्रको जीवनमा अस्तित्वको खतरा आयो, त्यति बेला प्रजातन्त्रको लडाइँ गौण हो भनेर बीपीले नेपाल फर्कने निर्णय गरेका थिए । लगत्तै नेपाल आएका बीपीलाई हवाई अड्डाबाटै गिरफ्तार गरेर सुन्दरीजलको कारागारमा लगियो, जहाँबाट आठ वर्षअगाडि रिहा गरिएको थियो । त्यसपछि मात्र बीपीले न्यायालयमा उभिने मौका पाए । स्मरण रहोस्, बीपीले २०१७ सालको ‘कु’ पश्चात् पहिलो पटक अदालतको सामना गर्दै थिए ।

इजलासबाट उनले त्यो अवसरलाई सातसाले क्रान्तिको महिमा स्थापित गर्न एवं प्रजातन्त्र, राष्ट्रियता, जनाधिकार र प्रजातान्त्रिक समाजवादको महत्त्व उजागर गर्न उपयोग गरे । बीपी कायर आतंकवादी थिएनन्, शुद्ध राजनीतिक विद्रोही थिए र राजनीतिमा सम्पूर्ण क्रान्तिका पक्षमा थिए । त्यसैले उनले अदालतमा दिएको बयान पढ्नेको मथिंगल अहिले पनि हल्लिने गर्छ । उनले जनअधिकारको विराटता पहिल्याउँदै दार्शनिक आधार किटेर बयान दिएका थिए । एक पटक दान गरेको वस्तु त्यो पाएको व्यक्तिबाट अपहरण गरेर, छिनेर लिन नमिलेझैं राजाले दानपूर्वक दिएको संविधान र प्रजातान्त्रिक व्यवस्थालाई छिनेर लिन मिल्दैन भन्दै उनले प्रजातान्त्रिक व्यवस्थाको बचाउ गरेका छन् । उनले राजसंस्थासँग समर्पण गर्ने कुरा गरेका छैनन् । उनले प्रस्ट भनेका थिए, ‘मैले प्रजातान्त्रिक राजा मान्दछु अर्थात् कानुन अधीनस्थ राजा मान्दछु । कानुनभन्दा माथि रहने राजा मलाई स्वीकार छैन ।’

आजका कथित राजावादीहरूले यी कुराको हेक्का राख्नुपर्छ । सात सालको क्रान्तिका क्रममा नेपालमा दुई राजा रहेको उदाहरण दिँदै उनले भनेका थिए, ‘राजा ज्ञानेन्द्रसँग सबै कुरा थियो तर जनताको समर्थन थिएन । राजा त्रिभुवनसँग केही पनि थिएन, उनी निर्वासनमा थिए तर उनीसँग जनताको समर्थन थियो, त्यसैले भगुवा राजाको महत्त्व भयो । राणाहरूले गद्दीमा राखेको राजा ज्ञानेन्द्रको कुनै औचित्य साबित हुन सकेन ।’ राजा जनसमर्थनको कसीमा उत्रनुपर्छ र त्यो प्रजातान्त्रिक विधिमा अडिएको हुनुपर्छ । संवैधानिक राजा बारबार तानाशाहीमा उत्रेपछि जनताको पक्ष गणतन्त्रमा जान्छ–जान्छ । यो प्रकृतिको नियम हो, राजनीतिशास्त्रको सामान्य व्याकरण हो । बीपीले अदालतबाट सफाइ पाइहालिन्छ कि भनेर आफ्नो सिद्धान्त विचार र निष्ठाको सौदाबाजी गरेनन् । त्यसको ठीक उल्टो, तिनलाई अझै दृढ अठोटका साथ बचाउ गरे ।

बीपीले राजासँग आफ्नो घाँटी जोडिएको छ भनेको सन्दर्भको ज्यादा चर्चा पनि भयो तर उनले घाँटी जोड्न चाहेको राजा संवैधानिक थियो, तानाशाही राजा किमार्थ थिएन । राजालाई देखाएर राज्यशक्तिको दोहन गर्दै विदेशी शक्तिको इसारामा चल्नेहरूले बीपीले बिनासर्त राजा मान्छन् भनेर गलत व्याख्या गरे । बीपीले प्रस्टसँग भनेका थिए, ‘राजाले जुन उद्देश्यका साथ २०१७ सालको कदम चालेका थिए, त्यसबाट उनको हात अलग परेको छ, राजा पंगु भएका छन् ।’ राष्ट्रिय मेलको आह्वान गरेर राजासँग मिलाप गर्न खोज्दा बीपीलाई जहाँजहाँ जसले अवरोध गरे, ती चाहिँ अराष्ट्रिय तत्त्व थिए ।

बीपीको स्वमूल्यांकनमा राष्ट्रिय मेलमिलापका पाँच वर्ष अर्ध–सफलताका वर्षहरू थिए । दरबार अझै त्यो स्वार्थी तत्त्वको घेराबाट मुक्त भएको थिएन तर जनताले बीपीले संकेत गरेको राजनीतिक पाठ हृदयंगम गर्न थालिसकेका थिए । जनमतसंग्रहले जनअधिकारका लागि बाटो प्रशस्त गरेको थियो तर त्यसको परिणामपश्चात् संविधान संशोधनका नाममा थप कडाइका साथ जनअधिकार निमोठ्ने कोसिस गरियो । नेपाललाई अन्तर्राष्ट्रिय गोटी बनाउन उद्यत तत्त्व बीपीको नेपाल आगमनसँगै प्रजातन्त्र र जनअधिकारको लडाइँमा छायामा पर्न पुग्यो र नेपाली राष्ट्रियतामा आँच आउन पाएन । राष्ट्रिय राजनीतिको संकथन नै बदलियो । राजाको आड लागेर विदेशीको सेवा गर्ने त्यो जनविरोधी तत्त्व बिस्तारै निस्तेज भएर गयो ।

राष्ट्रिय मेलमिलापको नीति, मदनमणि दीक्षितले ‘समीक्षा’ साप्ताहिकमा आरोप लगाएको जस्तो, अमेरिकी वा देशी–विदेशी षड्यन्त्र थिएन; यो त नेपाली माटो र सुगन्धबाट निःसृत, राजनेताले देशवासीका नाममा गरेको हृदयदेखिको संवाद थियो । राष्ट्रिय मेलमिलापको अपिल अझै पनि राष्ट्रवादी तत्त्वहरूलाई गोलबद्ध गराएर देशलाई विकास र समृद्धिको युगमा पुर्‍याउने सन्देश जनजनमा झंकृत गराउन सफल छ । भावनात्मकभन्दा व्यावहारिक एकता वा एकीकरण, संविधान संशोधन र समुन्नत नेपाल चाहने जोकोहीका लागि राष्ट्रिय मेलमिलाप एउटा प्रस्थानविन्दु बन्न पुगेको छ । ४५ औं मेलमिलाप दिवसको सबैलाई शुभकामना !

प्रकाशित : पुस १५, २०७८ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?