१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११
लसकुस

प्रचण्डको विकल्प दाहाल !

आफ्ना आसेपासे नेता–कार्यकर्ताको कृपाकांक्षी मनोविज्ञान बुझेरै प्रचण्डले दयालु र परोपकारी नेताको भाकामा भनेका हुन्, ‘रिटायर्ड हुने मन छ, साथीहरूले दिँदैनन् ।... आवश्यकता हेर्दा अझ केही वर्ष नेतृत्व गर्नुपर्ने बाध्यता देख्छु ।’

अर्को प्रचण्ड
आफूले खनेको गोरेटो भुलेर
अरूले बनाएको राजमार्गमा
विजय जुलुस निकाल्दा निकाल्दै
अघाएकाहरूको हूलमा कतै छुट्यो
मेरो प्रिय मगर दाजै
रुकुमका जंगली पातहरूमा
प्रचण्डको नाममा चिठी लेखेर
अब कुनै ठेगानामा नपठाऊ
–राजु स्याङ्तान / छुटेको प्रचण्ड

प्रचण्डको विकल्प दाहाल !

ठूला–साना राजनीतिक दलले महाधिवेशनको नाममा रमिता देखाएपछि तेस्रो ठूलो दलको पनि पालो आएको छ । एमाले, राप्रपा र कांग्रेसको महाधिवेशनपछि नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सम्मेलन आयोजना गर्ने उद्घोष गरेको थियो । ‘प्रथम ऐतिहासिक राष्ट्रिय सम्मेलन’ रातारात ‘आठौं राष्ट्रिय महाधिवेशन’ मा फेरिएपछि माकेको रमिता पनि ऐतिहासिक हुने कुरामा शंका छैन । सम्पन्न हुनुअघि नै राष्ट्रिय सम्मेलनले राष्ट्रिय महाधिवेशनमा ‘ऐतिहासिक छलाङ’ मारेको छ, धेरैजसो माओवादी नेता नै छक्क पर्ने गरी । राष्ट्रिय सम्मेलन सम्पन्न गर्न बसेको स्थायी कमिटीको बैठकले हठात् रूपमा ‘प्रथम ऐतिहासिक राष्ट्रिय सम्मेलन’ लाई महाधिवेशनमा कायान्तरण गरेको छ ।

राष्ट्रिय महाधिवेशनको मुख्य नारा छ : नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि आठौं राष्ट्रिय महाधिवेशन ! प्रचण्डको निर्विकल्प अध्यक्षता र अध्यक्षकै प्रभुत्व–वर्चस्वका कारण न नेतृत्वमा क्रमभंग हुनेछ, न त विचार, नीति र पार्टीमै छलाङ मारिनेछ । नारामा बाहेक, नीति र व्यवहारमा क्रमभंग गर्ने वा गर्न थाल्ने कुनै छेकछन्द नदेखाए पनि पार्टी नेतृत्वले अधिवेशनको नाम फेर्नमा भने क्रमभंग गरेकै छ । त्यसो त तीन दशकमा छ पटक नाम फेरिसकेको वर्तमान माओवादी केन्द्रमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वबाहेक अरू सबथोकमा क्रमभंग हुन सक्छ । जसरी पुष्पकमल दाहाल कल्याण, विश्वास, निर्माण र अन्तत: प्रचण्डको नाममा जनमानसमा रूढ (स्थापित) भए, त्यसरी नै पार्टी–सत्तामा आरूढ उनको एकल नेतृत्वबाहेक विचार, पार्टीसँगै पदाधिकारी पनि फेरिन सक्छ, चाहे त्यो माओवाद नामक विचार होस् या माओवादी नामक ट्रेडमार्क ।

प्रचण्ड इतिहासको पुनरावृत्ति

हरेक कामलाई ‘ऐतिहासिक’ ठान्ने माओवादी नेताहरूले आफ्नो गौरवमय पार्टीको आठौं महाधिवेशन अवधिभरि केही कुरामा क्रमभंग गर्दै छन् भने धेरै विषयमा इतिहास दोहोर्‍याउँदै छन् । पहिलो दोहोरिने इतिहास हो— ३२ वर्ष महामन्त्री र अध्यक्ष बनेको प्रचण्ड नेतृत्वलाई नै फेरि पनि दोहोर्‍याउने–तेहोर्‍याउने काम हुँदै छ । अर्काे दोहोरिने विगत हो– अध्यक्ष पुष्पकमल दाहालले टीका लगाएअनुसारका पदाधिकारीको चयन पनि हुँदै छ । आकांक्षीहरूको चाप र मागअनुसार पदाधिकारी संख्या थपघट हुनु कुनै अस्वाभाविक कुरा भएन । पदाधिकारीहरूको संख्यामा क्रमभंग गर्दागर्दै पनि टीकेप्रथाले निरन्तरता पाउनेछ । अर्काे दोहोरिने काम हुँदै छ— अध्यक्ष कमरेडबाट एघारौं घण्टामा प्रस्तुत ऐतिहासिक प्रतिवेदनमाथि ताली बजाउने र पारित गर्ने अभ्यास ।

वर्तमान माकेमा दलपति प्रचण्डको दिमागमा बाहेक अरू कसैको मस्तिष्कमा नयाँ क्रान्तिकारी विचार फुर्ने सम्भावनै छैन । र, क्रान्तिकारी पार्टी निर्माणको खाकादेखि समाजवाद जाने मार्गचित्र बनाउने काम पनि अरू कुनै नेताको बुताभन्दा बाहिरको कुरा हो । चालीस–पचासको दशकमा प्रचण्डले, सिर्फ प्रचण्डले नौलो जनवादमा पुर्‍याउने गरी गौरवमय पार्टी र महान् जनयुद्ध हाँकेका थिए भने संविधानसभाबाट संविधान लेखन, लोकतान्त्रिक गणतन्त्रको स्थापना, संघीयता, समावेशिता, धर्मनिरपेक्षताको पक्षपोषण पनि उनले मात्रै गरेका थिए, नपत्याए प्रधानमन्त्री शेरबहादुर देउवालाई सोध्नुहोस् । उनै प्रचण्डले सत्तरीको दशकमा पुष्पकमल दाहालमा कायान्तरण भएर आठौं महाधिवेशनमा पेस गर्ने गरी ‘समाजवादमै ठ्याक्कै पुगिने मार्गचित्र’ बनाएका छन् । समयअनुसार बाटो बनाउन सिपालु रहेका अध्यक्ष दाहालले शारदाप्रसाद अधिकारीको खुमल्टारस्थित महलदेखि समाजवादसम्म पुगिने फास्टट्र्याक बनाएपछि अरू नेता–कार्यकर्ताले क्रमभंगता रोज्ने कुरै भएन । आठौं महाधिवेशनका क्रममा प्रज्ञा भवनमा प्रचण्डको प्रस्तावलाई दुई हातले मज्जाले ताली बजाएर पारित गरिसकेपछि उनीहरूको बाँकी काम भनेकै ‘समाजवादी फास्टट्रयाक’ मा आँखा चिम्लेर कुद्ने न हो !

निर्विकल्प अध्यक्ष र तर्कको जाल

माओवादी केन्द्र त्यस्तो पार्टी हो, जहाँ अध्यक्ष कमरेडको विकल्प नै छैन, जहाँ अध्यक्षका वैकल्पिक दाबेदारसमेत छैन । माकेका सीएम कमरेड त एमालेका ‘केपी बा’ं भन्दा बेसी निर्विकल्प अध्यक्ष हुन्, कांग्रेसका ‘देउवा दाइ’ भन्दा त कता हो कता † युवावस्थामै नेकपा (मशाल) का महामन्त्री बनेका दाहाल नेकपा एकताकेन्द्रका महामन्त्रीबाट नेकपाका सहअध्यक्ष र माकेका एकल अध्यक्ष पनि भइसके । तर पनि उनका अनेक नामधारी पार्टीमा उनको जोडाको नेतृत्व स्थापित नहुनु वा सबैजसो प्रतिस्पर्धी नेता पनि बाहिरिनु कसरी सम्भव भयो, यो उनी आफैंले आफैंलाई सोध्नुपर्ने प्रश्न हो । अरू नेताले कदाचित यस्तो सवाल गर्ने हिम्मत गरेमा नेतृत्वका लागि पनि उनीसँग प्रतिस्पर्धा गर्ने साहस गर्न सक्छन् ।

माकेका निर्विकल्प अध्यक्ष प्रचण्डलाई राम्ररी थाहा छ, आफ्नो दलका नेताहरू यस्ता प्रश्न गर्ने साहस गर्दैनन्, बरु उनकै मुखबाट तम्तयार जवाफको मुखापेक्षी भई बस्छन् । आफ्ना आसेपासे नेता–कार्यकर्ताको कृपाकांक्षी मनोविज्ञान बुझेरै उनले दयालु र परोपकारी नेताको भाकामा भनेका हुन्, ‘रिटायर्ड हुने मन छ, साथीहरूले दिँदैनन् । देशको आवश्यकता, लोकतन्त्रको अवस्था हेर्दा र पार्टीमा उत्तराधिकारीहरू तयार पार्ने आवश्यकता हेर्दा अझ केही वर्ष नेतृत्व गर्नुपर्ने बाध्यता देख्छु ।’

माके र माके नेता–कार्यकर्ताका लागि प्रचण्डको आवश्यकता–बोध हुने अनेक जायज–नाजायज कारण होलान् । अनेक तथ्य र तर्क दिएर उनको अध्यक्षताको निरन्तरतालाई उचित ठहर्‍याउन पनि कुनै मुस्किल नहोला । सबैजसो माकेका नेता–कार्यकर्ताले भट्याउने भाका हो— जनयुद्धदेखि संविधान निर्माणमा समेत अगुवाइ गरेका प्रचण्डको एक मात्र विकल्प भनेको प्रचण्ड मात्रै हुन्, उनको नेतृत्वमा रहँदारहँदै माओवादी पार्टी अनेक दलमा विभाजित भएकै किन नहोस् † पार्टी विभाजनसमेत प्रचण्ड नेतृत्वको विकल्पहीनताको बलियो आधार बनाइएको छ । उनकै भाषामा भन्दा, सात–सातवटा टुक्रामा बाँडिएका माओवादी समूहहरूलाई एक ठाउँमा ल्याउन पनि उनी नै नभई हुँदैन । यसरी नै मायावी तर्कजाल बुन्दै जाँदा एकीकृत माओवादी दलको अगुवाइमा समाजवाद मात्रै होइन, साम्यवादसम्मको स्थापना र त्यसको स्थायित्वका लागि त्यस्ता प्रचण्ड अपरिहार्य हुन्छ † शतायु मात्रै होइन, सहस्राब्दीसम्म बाँच्न सक्ने प्रचण्डको अध्यक्षताबिना यस्तो महान् कार्य कसरी सम्भव होला र ?

प्रचण्डले स्वयंलाई सोध्नुपर्ने प्रश्न

यस्तो एकल नेताको मोह र स्वकेन्द्री मायाजालबाट मुक्त भएर प्रचण्डले स्वयंलाई सोध्नुपर्ने निर्मम सवाल हो— तीस–तीस वर्ष सहकार्य गरेका समकालीन नेताहरू उनीबाट किन अलग्गिए ? किन आन्तरिक प्रतिस्पर्धाबाट चुनौती र विकल्प खडा गर्न सक्ने खालको सक्षम र सबल नेतृत्व–पंक्ति निर्माण भएन ? युद्ध र संघर्षमा अगुवाइ गरेका दलित, जनजाति, मधेसी र महिला नेता–नेतृहरू उच्च पार्टी–नेतृत्वमा आउन नसक्नुको कारण के हो ? मुख्य नेतृत्वको आशीर्वाद र कृपासँगै खुद्रा मसिना गुटको लेनदेन र षड्यन्त्रबिना माथिल्लो नेतृत्वको खुड्किला पार गर्नै नसक्ने संरचना र संस्कृति कसरी तोडिन्छन् ?

पार्टी मुख्यालयदेखि चिहानघाटसम्म नै अध्यक्षता गर्दै अमरत्व प्राप्त गर्ने आकांक्षाबाट धेरैजसो कम्युनिस्ट नेता र शासक मुक्त छैनन् । अमेरिकी पत्रकार–लेखक अन्ना लुई स्ट्रङका अनुसार, आफ्ना महान् नेताहरूलाई मृत्युपर्यन्त पनि जीवित राख्न भक्तिमार्गमा लागेका नेता–कार्यकर्ताले गरेको धार्मिक कर्मकाण्ड हो— लेनिन, स्तालिन र माओका लासलाई समाधि बनाइराख्ने काम । महान् नेताको लासको सार्वजनिक प्रदर्शनमार्फत धर्मभीरु जनताका आस्था र भक्तिलाई भजाइराख्ने र द्वन्द्वात्मक भौतिकवादी भनाउँदाले पनि भक्तिमार्ग नै अँगाल्ने संस्कार–संस्कृतिबाट कोही पनि अछुतो छैन । विशाल मूर्ति बुद्धको बनाइयोस् या रामको, ‘कटआउट’ पनि प्रचण्डको राखियोस् या खड्गप्रसाद शर्मा ओलीको, त्यो देवत्वकरणकै अभ्यास र आसक्ति नै हो । ओली वा प्रचण्ड वा अरू कोहीलाई देवता बनाई पूजाआजा र आरती गर्न थालिएपछि सक्षम र प्रतिस्पर्धी नेतृत्व निर्माण हुने सम्भावनै हुँदैन ।

आजभन्दा सोह्र वर्षअघि प्रचण्डले जनआन्दोलनको पूर्वसन्ध्यामा पार्टीको कार्यकारी नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएर पुराना नेताहरूका सधैं अतृप्त रहने सत्ताकांक्षा र पदीय लालसाबाट उन्मुक्ति खोजेको संकेत गरेका थिए । ‘कान्तिपुर’ का लागि नारायण वाग्ले र प्रतीक प्रधानद्वारा २०६२ माघ २५ मा लिइएको चर्चित अन्तर्वार्तामा उनले बाबुराम भट्टराईलाई साक्षी राख्दै सार्वजनिक गरेका थिए, ‘केन्द्रीय समितिमा हामीले प्रस्तावित गरेका छौं— काठमाडौं (सत्ता) मा पुग्नेबित्तिकै हामी नेतृत्व छोडिदिन्छौं, राष्ट्रपति, प्रधानमन्त्री हुनेतिर हामी लाग्दैनौं ।’

अन्तर्वार्तामा उनले भनेका थिए, ‘स्तालिन अन्तिमसम्म पार्टी प्रमुख र सरकार प्रमुख भए, माओ पनि ३५ वर्षदेखि पार्टी नेतृत्वमा रहे, ८३ वर्षको उमेरमा नमर्दासम्म सरकार प्रमुख रहे । बाँच्दासम्म स्थापित नेतृत्वले सबै शक्ति हत्याए, मर्नेबित्तिकै गल्र्यामगुर्लुम्म ढल्यो, बिग्य्रो । मरेको भोलिदेखि नेतृत्वको अन्योल बढ्यो । यो ठूलो वैचारिक र लोकतान्त्रिक विषय हो । अब आन्दोलनको नेताको रूपमा स्थापित टिम सत्ता–शक्तिको अभ्यासमा लाग्दैनौं । हामी स्टेट्सम्यानसिपमा जान्छौं र नयाँ कमरेडहरूलाई पठाउँछौं ।’

पार्टी हाँक्ने र सरकारमा नबस्ने मात्रै होइन, पार्टी नै छाड्ने हदसम्मको अर्थ लाग्ने विचार पोख्दै प्रचण्ड र बाबुरामले भावावेशमा आएर ‘गान्धी हुने’ र ‘गणेशमान बन्ने’ उद्घोष गरेका थिए । विडम्बनाको कुरा, सांगठनिक नेता होइन, वैचारिक नेतृत्व मात्रै गर्ने उनीहरूको उद्घोष एकाध वर्ष पनि टिकेन, सत्ता–सुख र पदीय लाभको लाभासामु हिउँजस्तै पग्लियो । उनीहरूले पार्टीबाहिरका सत्ता–प्रतिष्ठानका प्रमुख पद ओगट्न कुनै कन्जुस्याइँ गरेनन् नै, पाटीभित्रका पद र सत्ता छाड्न वा नयाँ नेतृत्वलाई सुम्पन पनि कुनै पहल गरेनन् । यसको अर्थ कार्यकारी पदमा नबस्ने र वैचारिक अगुुवाइ गर्ने उनीहरूको उद्घोषमा कि त पाखण्डपन थियो, कि त कच्चापन । कच्चापन मात्रै भएको भए पद हस्तान्तरणको प्रक्रिया थाल्न नसकेकोमा क्षमा माग्न सकिन्छ । तर, पाखण्डपनमा अनेक तर्क बुन्दै आफ्नो शक्ति–लिप्सा, सत्ता–सुख र पदकेन्द्री आचरणलाई जारी राखिन्छ ।

प्रचण्डको लोकतन्त्रीकरण र मानवीयकरण

उनीहरूले २०६० जेठमा सम्पन्न माओवादीको केन्द्रीय समितिबाट पारित प्रस्ताव ‘इतिहासका पाठ र एक्काइसौं शताब्दमा जनवादको विकासबारे’ को एक अंश मात्रै लागू गरेका भए पनि नेतृत्व निर्माणमा फरकपन आउँथ्यो । ‘कान्तिपुर’ मा गरेको उद्घोषलाई अलिकति मात्रै क्रियान्वयन गरेको भए पनि नेतृत्वको जनवादीकरण (लोकतन्त्रीकरण) हुँदै वैकल्पिक नेतृत्व निर्माण भइसक्थ्यो । माकेको बिजोग कस्तो देखिएको छ भने पार्टीमा भुइँफुट्टे नेता नै नेताहरूको त भीडभाड नै छ, जो प्रचण्डका विकल्प बन्न सक्दैनन्, सरकारबाहेक न पार्टीको, नत कुनै आन्दोलनको नेतृत्व गर्न सक्षम छन् । अहिले उनीहरूमध्ये अधिकांशलाई प्रचण्डमुनिको पद मात्रै चाहिएको छ, प्रचण्डको कृपावश पाइने ओहोदा मात्रै चाहिएको छ । र त प्रचण्ड स्वयं पनि उत्तराधिकारी निर्माणको गफ गर्दै छन् भने उत्तराधिकारका आकांक्षीहरू उनको देवत्वकरण गर्दै प्रचण्डपथलाई फराकिलो बनाउँदै छन् ।

प्रचण्ड नेकपा माकेका एक मात्र सर्वेसर्वा दल–पति हुन् भने उत्तराधिकारी निर्माणको गफ उचित नै हुन्छ । कुनै व्यक्तिको निधनपछि वा उसको हक छुटेपछि निजको वंश, अंश, अधिकार र पद पाउने हक हो– उत्तराधिकार भनेको त । प्रचण्डले निर्माण गर्न खोजेका उत्तराधिकारीहरू यस्तै हकवाला हुन् भने पार्टीभित्र अन्तर्राष्ट्रिय (इन्टरनेसनल) गान होइन, ‘श्रीमान् गम्भीर माओवादी प्रचण्ड प्रतापी भूपति’ नामक राष्ट्रगान गाउनु सर्वथा उचित हुन्छ । आखिर, माकेको सांस्कृतिक कर्ममा माक्र्स, लेनिन, माओसँग प्रचण्डको तुलना गर्दै ‘जनम भयो जनम भयो जनम भयो नेपालमा प्रचण्डको जनम भयो’ जस्ता भक्तिगान प्रचलित छँदै थियो । यस भक्तिगानबारे ‘इतर विचार’ मा खगेन्द्र संग्रौला लेख्छन्, ‘माओवादी नेतृत्व पंक्तिको कोही एक जना कमरेडलाई प्रायोजित र संगठित काइदाले माक्र्स, लेनिन र माओको उचाइमा उठेको उद्घोष गर्नु नेतृत्व पंक्तिका समकक्षी कमरेडहरू र बलिदानको लाममा उभिएका असंख्य कार्यकर्ताहरूको पहिचान र गरिमाको शिरोच्छेदन गर्नु हो ।’ कुनै जमानामा भए–नभएका विचार जोडेर प्रचण्डपथको निर्माणदेखि सामन्ती राजा–महाराजाहरूको शैलीमा प्रचण्डको भक्तिगानद्वारा सबैजसो माओवादी नेता–कार्यकर्ताका विचार, अनुभव, हैसियत र कदको तेजोवध गरिसकेपछि उत्तराधिकारीका रूपमा त पुत्री–पुत्री–बुहारी–नाति–नातिना वा सोसरहका नेता–कार्यकर्ता नै खोजिने त हो ।

माके नामक पार्टी सबै नेता–कार्यकर्ताले बनाएको, जनयुद्ध र जनआन्दोलनबाट स्थापित तथा जनमतबाट अनुमोदित दल हो भने प्रचण्डका उत्तराधिकारी होइनन्, अध्यक्षका दाबेदारहरू देखिने वातावरण बनाउनु जरुरी हुन्छ । र, प्रचण्डलाई वैचारिक नेतृत्वको काम गर्ने वा आत्मकथा लेखनका लागि फुर्सद दिने गरी अरू नेताले पार्टीको नेतृत्व गर्न सक्ने उम्मेदवार हुने साहस जुटाउनु आवश्यक हुन्छ । उनको बुद्धिमानीपूर्ण नेतृत्व र स्टेट्सम्यानसिप पनि कार्यकारी अध्यक्षको भूमिकामा रहेर प्रचण्डपथलाई विस्तार गर्नुमा भन्दा मानार्थ अध्यक्षमा फड्को मार्नुमा वा अध्यक्ष–मण्डल निर्माण गर्नुमा देखिनेछ । र, समतावादी पार्टीभित्रसमेत अनेक तह, पद, प्रतिष्ठासँगै सत्ताको सोपान (हायरार्की) बनाउने स्तालिनकालीन अभ्यासको सट्टा कमसे कम श्रेणी, कमभन्दा कम दूरी, कम असमान संरक्षक–संरक्षित सम्बन्ध (प्याट्रोन क्लाइन्ट रिलेसससिप) तिर एक पाइला मात्रै बढ्न सके पनि देवत्वकृत प्रचण्डको समेत लोकतन्त्रीकरण र मानवीयकरणतिर क्रमभंग हुन सक्छ ।

प्रकाशित : पुस १२, २०७८ २०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?