१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

लयहीन प्रश्नहरू

कुनै पनि व्यक्ति म गणतन्त्रवादी पनि हुँ, म राजावादी पनि हुँ वा म पुँजीवादी पनि हुँ र म साम्यवादी पनि हुँ भन्छ भने वास्तवमा ऊ केही पनि होइन ।
केशव दाहाल

एकै छिन प्रश्नहरूको जंगलमा विचरण गरौं । जस्तो— राजनीति, विचार र विकासबीच के सम्बन्ध हुन्छ ? के राजनीति गर्न विचार अनिवार्य छ ? अथवा, के विकास गर्नलाई विचार चाहिन्छ ? प्रश्नहरू अरू पनि छन् । जस्तो— के देशप्रेमीहरूले अनेक विचारका पछाडि कुद्न आवश्यक छ ? देशलाई अगाध प्रेम गर्ने हो, अरू के चाहिन्छ ?

लयहीन प्रश्नहरू

राष्ट्रवादको आँधी चलेका बेला मान्छेका मनमा अनेक प्रश्न आउँछन् । जस्तो— नेपालीका लागि माओ नजिक कि राजा महेन्द्र ? अथवा, कार्ल मार्क्स मान्न हुने, जंगबहादुर मान्न किन नहुने ? केही मान्छेहरू एकै दिन बिहान गणतन्त्रवादी हुन्छन् र राति राजावादी । कोही गणतन्त्रवादी र राजावादी दुवै हुँदैनन्, बरु हुन्छन् घनघोर विकासवादी । राजतन्त्र, गणतन्त्र वा लोकतन्त्रका विषयमा निरपेक्ष बसेर के कोही मात्र विकासवादी हुन सक्छ ? राजनीतिमा यस्ता प्रश्नहरू अनेक छन् । यद्यपि यी अनुत्तरित प्रश्नहरू होइनन् । तर ज्ञानको सीमाका कारण कहिलेकाहीँ प्रश्नहरू दोहोरिन्छन्, त्यसैले विमर्श पनि दोहोरिन्छ । आजलाई यी र यस्तै प्रश्नहरूमाथि थोरै कुरा गरौं ।

प्रश्नहरू जोडौं

सुरुमा तीनवटा प्रश्नलाई जोडौं । पहिलो, राजनीति भनेको के हो ? दोस्रो, विचार भनेको के हो ? र तेस्रो, विकास भनेको के हो ? बृहत्तर अर्थमा राजनीति भनेको जीवन र जगत्लाई बुझ्ने र बदल्ने महाभियान हो । अर्थात्, राजनीति संसारलाई हेर्ने, बुझ्ने, केलाउने, विश्लेषण गर्ने र अझ राम्रो बनाउने महाभियान हो । देशभित्रबाट हेर्दा राजनीति भनेको देशलाई बुझ्ने र बदल्ने कुरा हो । त्यही महाभियानको मानौं कम्पास हो— विचार । विचारले परिवर्तनको बाटो निर्दिष्ट गर्दछ । जस्तो— कसरी देशलाई बदल्ने ? मुद्दाहरू के छन् ? चुनौती र अन्तरविरोधहरू कहाँ छन् ? संकट कहाँ छ ? अवसरहरू कहाँ छन् ? र, रणनीति के हुन्छ ? यावत् प्रश्नहरूको लेखाजोखा गर्न राजनीतिलाई सचेत दृष्टि चाहिन्छ । ज्ञान, विज्ञान र विचारले त्यो सचेत दृष्टि प्रदान गर्दछन् । अन्यथा राजनीतिले बाटो भेट्दैन र गन्तव्य हराउँछ । यसर्थ, राजनीतिमा विचार प्रधान पक्ष हो ।

यहाँ देशलाई बुझ्नु भनेको के हो ? देशलाई बुझ्नु भनेको इतिहास बुझ्नु हो । भूगोल बुझ्नु हो । जाति, भाषा, धर्म र संस्कृति बुझ्नु हो । देश बुझ्नु भनेको जनजीवन, यसको एकता र संघर्षका पक्षहरू बुझ्नु हो । सामाजिक, आर्थिक सम्बन्धका तन्तुहरू बुझ्नु हो । इतिहास र वर्तमानको समीक्षाबाट मात्र राजनीतिले भविष्यको सपना देख्न सक्छ । अर्थात्, समयको समीक्षा गर्न ज्ञान, सीप र विचार चाहिन्छ । मानौं राजनीति देश चियाउने आँखीझ्याल हो । ज्ञान, विज्ञान, विवेक, विचार र साधनाको आँखीझ्याल । अर्थात्, राजनीतिले संसारलाई अंशअंशमा मात्र हेर्दैन, बरु अंशअंशलाई जोड्छ । जस्तो— रङहरू देख्नु र त्यसलाई जोडेर इन्द्रेणी बनाउनु । अर्थात्, रङहरूको थुप्रो लगाउनु मात्र राजनीति होइन । बरु रङहरू जोडेर रंगोली बनाउनु राजनीति हो । रंगोली बनाउन चेतना र विचार चाहिन्छ । त्यसैले मुसाहरूले कहिल्यै रंगोली बनाउँदैनन् ।

केही मान्छेहरू भन्छन्— दल खोल्ने हो, विकास गर्ने हो । केको विचार ? उनीहरू अर्ती दिन्छन्— भो, गणतन्त्र र राजतन्त्रको कुरा नगरौं । अथवा, गणतन्त्र भए पनि हुन्छ, राजतन्त्र भए पनि हुन्छ । मात्र विकास गर्ने हो । अर्थात्, उनीहरू विकासलाई एकलकाँटे धारणाबाट बुझ्छन् । उनीहरू ठान्छन्, विकास भनेको सडक हो । ठूलठूला घर हुन् । मान्छे धनी भए विकास हुन्छ । वस्तुतः यसरी उनीहरू विकासमा मानवीय पक्षहरूलाई छुटाउँछन् । तर विकास भनेको पूर्वाधार मात्र हैन, बरु हो समग्र जीवनको उन्नयन । जीवनमूल्य र सार्वभौमिकताको उन्नयन, जसलाई सबल बनाउँछ र समृद्ध गराउँछ राजनीतिले ।

यसर्थ, विकास आफैंमा भयंकर राजनीति हो । जस्तो— बाटो कहाँ बनाउने ? बाटामा कुद्ने गाडीहरू कस्ता हुन्छन् ? ती गाडीले बोक्ने सामान के हुन्छन् ? आयात, निर्यातको कुरा के हो ? मान्छेहरू कहाँ जान्छन् ? विकासको स्वामित्व जनतामा कसरी वितरण हुन्छ ? लोकतन्त्र कस्तो हुन्छ ? यी विकासका अहम् प्रश्न हुन् । र हुन्, भयंकर राजनीतिक प्रश्नहरू । यो अर्थमा विकास देशको राजनीति, अर्थनीति, सामाजिक व्यवस्था, शासकीय प्रबन्धन र लोकतन्त्रबाट भिन्न हुँदैन । त्यसैले विकास न राजनीतिबाट निरपेक्ष हुन्छ न त विचारबाट । कहीँकतै कसैले निरपेक्ष विकासको कुरा गर्छ भने त्यो मात्र अज्ञानता वा भ्रम हो ।

देशप्रेमको भाष्य

आजकल केही मान्छेहरूमा उल्काले देशप्रेम जागृत भएको छ । यो नराम्रो होइन । तर ती मान्छेहरू यसरी आफ्नो स्वरलाई चर्को बनाइरहेका छन् मानौं यो देशमा उनीहरू मात्र सच्चा देशभक्त हुन् । उनीहरू ठान्दछन्, पछिल्ला तीस वर्षमा देशको विकास नहुनु मुख्यतः देशप्रेम नभएर हो । अन्यथा हिजो देश स्वर्ग थियो । उनीहरूलाई लाग्छ, अहिले मान्छेले राष्ट्रिय गीत गाउँदैनन् । ‘श्रीमान् गम्भीर’ बिर्सिसके । मान्छेमा श्रीपेच र सिंहदरबारप्रति कुनै प्रेम छैन । आज पृथ्वीनारायण शाहको जन्मदिन मनाइँदैन । देशमा माओको कुरा हुन्छ, महेन्द्रको हुँदैन । जब काठमाडौंको अधिकार सुर्खेत वा जनकपुरमा पुग्छ, ती मान्छेहरू अतालिँदै भन्छन्— लौ, देश बरबाद भयो । जब कुनै दलित वा मधेसी वा महिला आफ्नो सार्वभौम अधिकारको कुरा गर्छन्, ती मान्छेहरू उफ्रन्छन्— लौ, यसरी कसरी देश बच्छ ? उनीहरू ठान्दछन्— अहिलेका राजनीतिक उपलब्धिहरू आयातित हुन् । आन्दोलनमा बगेको रगत भ्रम हो । हिजो राजा देशप्रेमी थिए । हिजो एक भाषा, एक वेश थियो ! त्यसैले देश एक थियो । हिजो काठमाडौंले देश जोगाएको थियो । तर आज जब राजाको गाथगादी हरण भयो, तब सच्चा देशभक्तहरू सकिए । अहिलेका राजनीतिक दलहरू सबै चोर हुन्, जो हरदम देश बेच्न तम्तयार छन् । त्यसैले उनीहरूको आह्वान छ— देश बचाऔं । अर्थात्, राजा आऊ, देश बचाऊ ।

यहाँ उनीहरूले भनेको देश के हो ? उनीहरू ठान्दछन्, देश भनेको उनीहरूले पढेको इतिहास हो । उनीहरूले गाएको गीत हो । उनीहरूले भोगेको रजगज हो । उनीहरूले बोल्ने भाषा हो । उनीहरूले लगाउने लुगा हो । उनीहरूका लागि देश भनेको दरबार हो । दरबारमा एउटा नायक बस्छ । र, त्यो नायकले आर्ज्याको माटो नै देश हो । कुनै बेला पञ्चहरू भन्थे— देश भनेको राजा हो । देशमा दरबार हुन्छ, राजा हुन्छन् र हुन्छ निरन्तर शासन गर्ने अविच्छिन्न वंशवृक्ष । पञ्चायतले यस्तै कथ्यहरू स्थापित गर्दै तीस वर्ष शासन गर्‍यो । तर वस्तुतः पञ्चहरूका लागि देश फगत सत्ता थियो । भोगविलास थियो । पदवी र पुरस्कार थियो । उनीहरू स्वयं कानुन लेख्थे र त्यसलाई मेट्थे । पञ्चहरूका लागि देश ख्वामितको पाउको धूलो थियो । के नयाँ देशभक्तहरूका लागि देश त्यही हो ?

देश भनेको जनता हो । देश भनेका मजदुर, किसान, गोठाला र खेतालाहरू हुन् । देश भनेको काठमाडौं मात्र होइन । धनगढी हो, सुर्खेत हो, जनकपुर हो । कुनै एक भाषाको कविता, गीत र कथा मात्र देश होइन । देश भनेका हाम्रो बहुजाति, बहुभाषा, बहुसभ्यता, अनेक धर्म, संस्कृति र सम्पदाहरू हुन् । जनताका लागि देश खेतमा झरेको पसिनाको ब्याड हो । आन्दोलनहरूमा सडकमा पोखिएको रगत हो । देश भनेको साझा ‘गुँड’ हो, जसले सबैलाई आड दिन्छ । अर्थात्, शासकहरूले कोर्ने कुनै भूगोलको चित्र, कविता र कथाहरूको तस्बिर मात्र देश होइन । देश भनेको नागरिक अधिकारको सर्वोच्च अभिव्यक्ति हो ।

त्यसो भए देशप्रेम के हो ? जब हामी देशलाई बृहत्तर अर्थमा हेर्छौं, देशप्रेमको अर्थ पनि बृहत्तर हुन जान्छ । जस्तो— नागरिकको सुख, समृद्धि, विकास र न्याय नै देशप्रेमको सर्वोच्च अभिव्यक्ति हो । त्यसो भए के यो राजनीतिभन्दा पृथक् हुन्छ ? हुँदैन, बरु यो राजनीतिक, आर्थिक, सामाजिक विषयसँग अविभाज्य हुन्छ । देशमा कस्तो राजनीतिक व्यवस्था चाहिन्छ ? कस्तो राजनीतिले जनतालाई समुन्नत भविष्य दिन्छ ? नागरिक सर्वोच्चता स्थापित गर्न गणतन्त्र चाहिन्छ कि राजतन्त्र ? धर्म, भाषा, संस्कृति र सभ्यताका तन्तुहरूलाई कसरी न्याय दिने ? यावत् प्रश्नहरूमा निरपेक्ष बस्नेहरू देशप्रेमी हुँदैनन् । अझ यसो भनौं, आधुनिक राज्यव्यवस्थामा पूर्ण लोकतन्त्रका आधारभूत सिद्धान्तहरूलाई संकुचित गर्नेहरू कोही पनि देशप्रेमी हुँदैनन् ।

केही मान्छेहरू देशप्रेमले असाध्यै ओतप्रोत भएका बेला प्रश्न गर्दछन्— हामीले माओ किन मान्ने ? लेनिन किन मान्ने ? अथवा, प्रश्न यो पनि हुन सक्छ— कसैले मार्क्स मान्छन् भने हामीले जंगबहादुर किन नमान्ने ? निश्चय नै कसैले हिटलर मान्दा हुन्छ, कसैले मुसोलिनी मान्दा हुन्छ र कसैले महेन्द्र । महेन्द्र पूर्वराजा हुन् । हाम्रा आफ्ना नागरिक हुन् । उनलाई माया गर्न पनि पाइन्छ । तर आफ्ना हुँदैमा राजनीतिमा उनको स्थान महत्त्वपूर्ण हुँदैन । विशेषतः अनुसन्धान, आविष्कार, ज्ञान, विज्ञान, दर्शन, कला, साहित्य, विचार, मानवता र मानवीय मूल्यको कुनै देश हुँदैन । यी साझा विषय हुन् ।

यो अर्थमा लोकतन्त्रको प्रश्न हो भने महेन्द्रलाई नमान्ने । मान्छेको उन्नत चेतना र आविष्कारको कुरा छ भने महेन्द्रलाई नमान्ने । खुला समाजको कुरा हो भने जंगबहादुरलाई नमान्ने । किनभने, उनीहरूले जे गरे त्यो सही थिएन । यदि सही लाग्दैन भने माओ, लेनिन र मार्क्सलाई पनि नमान्ने । तर मानव सभ्यतामा जोसुकैले कुनै बहुमूल्य योगदान गरेको छ भने उसलाई मान्ने । जुनसुकै देशको भए पनि मान्ने । अन्यथा कट्टर राष्ट्रवादी हुने नाममा संसारका ज्ञान, विज्ञान र आविष्कारलाई तिरस्कार गरेर हामी कहाँ पुगौंला ? त्यसैले खास सन्दर्भहरूलाई अलग गरेर महेन्द्र कि माओ वा जंगबहादुर कि मार्क्सजस्ता प्रश्नहरू गर्नु मान्छे भड्काउनु मात्र हो ।

राजनीति भावनात्मक विषय मात्र हैन । यो ठोस विषय हो । अतः देश, जनता, समृद्धि र न्यायको कुरा गर्दा लोकतन्त्र, जनताको आन्दोलन र त्यसका उपलब्धिहरूलाई कसैले निरपेक्ष भावमा हेर्छ भने त्यो वस्तुतः विकासवादी होइन । कुनै पनि व्यक्ति म गणतन्त्रवादी पनि हुँ, म राजावादी पनि हुँ वा म पुँजीवादी पनि हुँ र म साम्यवादी पनि हुँ भन्छ भने वास्तवमा ऊ केही पनि होइन । आज केही नहुनेहरू भोलि जे पनि हुन सक्छन् । जो जुनसुकै बेला जे पनि हुन सक्छन्, ती निकै खतरनाक हुन्छन् ।

प्रकाशित : पुस ५, २०७८ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?