कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

कांग्रेसमा लोकप्रिय नेतृत्वको उदय

गगन र विश्वप्रकाश महामन्त्री बन्दैमा र उस्तै सोच भएका अरू केही पदाधिकारी निर्वाचित हुँदैमा के कांग्रेसमा अपेक्षाकृत परिवर्तन हुन्छ ? उनीहरूको सीमा र सम्भावना के हो ? यी केही गम्भीर प्रश्नमा विमर्श अपेक्षित छ ।
कृष्ण खनाल

नेपाली कांग्रेसको महामन्त्री पदमा गगन थापा र विश्वप्रकाश शर्माको विजयलाई मैले लोकप्रिय नेतृत्वको उदय भन्न रुचाएको छु । धेरैले यसलाई नेतृत्व पुस्तान्तरणको प्रारम्भ भनेका छन्, त्यो गलत टिप्पणी त होइन, तर मेरो भनाइ अलि फरक छ । पुस्तान्तरणमा उमेर समूहको भिन्नतामात्रै पनि हुन्छ । गिरिजाप्रसादपछि सुशील कोइराला र सुशीलपछि शेरबहादुर देउवा आउँदा पुस्तान्तरण नै भएको थियो ।

कांग्रेसमा लोकप्रिय नेतृत्वको उदय

तर त्यसमा लोकप्रियताको तत्त्व न्यून थियो । चुनाव जित्नुमात्रै लोकप्रियता होइन । केही साताअघि एमालेमा केपी ओली झन्डै प्रतिस्पर्धारहित हिसाबले अध्यक्षमा निर्वाचित भएका थिए । कांग्रेसमा प्रतिस्पर्धा राम्रै भयो, देउवाले जिते । तर त्यो प्रक्रिया र प्राविधिकतामासीमित जित हो । ओली र देउवा दुवै अहिले नेपालको राजनीतिमा लोकप्रिय नेता होइनन् ।

लोकप्रियताको आधार हो— जनमत र जनसमर्थन । लोकप्रिय नेतृत्वले यी दुवै कुरालाई पार्टीभित्र र बाहिर प्रतिविम्बित गरेको हुन्छ । सभापतिका उम्मेदवारहरूले आ–आफ्नातर्फबाट केन्द्रीय पदाधिकारीहरू उम्मेदवार सूचीसहित समूहगत प्रतिस्पर्धा गरेका थिए । समूहको मात्र भोट भए देउवा समूहकाबाहेक अरू कसैको विजयको सम्भावना हुँदैनथ्यो । गगनले भोटमा सबैलाई उछिने, झन्डै दुईतिहाइको प्रतिनिधित्व गर्छ उनले पाएको मतले । यस्तै विश्वप्रकाश आफू उम्मेदवार भएको सभापति समूहलाई धेरै उछिनेर विजयी भए । उनीहरू दुवैको विजय कुनै गुट र समूहमा सीमित रहेन । पार्टीभित्र लोकप्रियताको आधार यही हो । देउवालाई प्रतिस्पर्धाबाट बाहिरिएका प्रकाशमान सिंह र विमलेन्द्र निधिले समर्थन गरे, भोट हाल्न अपिल गरे । तसर्थ देउवाको विजय समूह गठबन्धनमा सीमित भयो, त्यसप्रति अनुगृहीत मानसिकताबाट उनी मुक्त हुन सक्तैनन् । यद्यपि दोस्रो चरणमा प्रकाशमान र विमलेन्द्रको घोषित समर्थनबिना पनि उनले जित्ने सम्भावना प्रस्टै देखिन्थ्यो ।

अर्को कुरा, बहालवाला नेताले पार्टीभित्र आफ्ना सम्भावित प्रतिद्वन्द्वीलाई ताछेर एकछत्र नेतृत्व स्थापना गर्ने सम्भावना पनि हुन्छ । स्टालिनले त्यही गरेका थिए । ओली नेतृत्वको शैली पनि झन्डैझन्डै त्यस्तै थियो । राजनीतिक नेताको लोकप्रियता लोकतान्त्रिक शासन प्रणाली कायम रहेको अवस्थामा आवधिक चुनावबाट अभिव्यक्त हुन्छ भने प्रणाली बिथोलिएका बेलामा उसले सडकमा निस्केर जनपरिचालन गर्दा देखिन्छ । गगन थापाको लोकप्रियता २०६२/६३ आन्दोलनको पूर्वसन्ध्यामा नेविसंघको महामन्त्री छँदै ज्ञानेन्द्रको निरंकुश शासनविरुद्ध सडक विरोधदेखि नै देखिन थालेको हो । उनी त्यो आन्दोलनले निर्माण गरेका जुझारु युवा नेता हुन् । उनको त्यो लोकप्रियता पार्टीमा पनि केन्द्रीय सदस्य निर्वाचित हुँदा देखिएको थियो, तर अघिल्लो महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी दिँदा भने गडबड प्यानलका कारण मुखरित हुन सकेन ।

गगन र विश्वप्रकाश दुवै कुनै पारिवारिक विरासतबिना कांग्रेसको नेतृत्व पंक्तिमा पुग्न सफल भएका युवा हुन् । कांग्रेसका लागि प्रतिकूल समयमा पनि प्रतिनिधिसभामा निर्वाचित भएका थिए गगन । विश्वप्रकाशले पार्टी प्रवक्ताको जिम्मेवारी लिएर सभापति देउवाको कमीकमजोरीलाई राम्रैसँग ढाकछोप गरिदिएका थिए । जनतासामु पार्टीको शिष्ट र चुस्त प्रस्तुति दिन सफल भएका थिए । सभापतिका अलगअलग प्यानलबाट महामन्त्रीका उम्मेदवार बनेका यी दुई युवाले जितेहुन्थ्यो भनेर चाहना राख्ने ठूलो जमात थियो, पार्टी वृत्तबाहिर पनि । तीमध्ये कतिपय कांग्रेसको राजनीतिभन्दा फरक धारका पनि थिए । सामाजिक सञ्जालहरूमा त्यो प्रकट भइरहेको देखिन्थ्यो । यी दुईले पाएको मतले पनि उनीहरू पार्टीमा साँच्चै लोकप्रिय रहेछन् भन्ने पुन: पुष्टि भएको छ । प्यानलकै भरमा त गगनलाई पनि गाह्रै हुन्थ्यो होला, विश्वप्रकाशको त सम्भावना नै थिएन । उपसभापतिमा धनराज गुरुङको विजय पनि एउटा राम्रो संकेत हो । गुरुङले स्पष्टवादी, सफा राजनीतिका पक्षधर र भद्र व्यक्तित्वको पहिचान बनाएका छन् । यो विजयले कांग्रेसको लोकप्रियता बढेको छ, साथै उनीहरूको नेतृत्व परीक्षा पनि प्रारम्भ भएको छ ।

यो अधिवेशन कांग्रेसमा नेतृत्व परिवर्तनको एउटा नयाँ प्रारम्भ हुन सक्थ्यो, यदि वर्तमान सभापति देउवाको विकल्पमा प्रतिस्पर्धीहरूबीच एकता हुन सकेको भए । यसपटक सभापतिमा रामचन्द्र पौडेलको दाबीमा वरिष्ठताको आधारबाहेक अर्को कुरा थिएन । उनको पक्षमा मानिसहरूको व्यक्तिगत सहानुभूति त थियो, तर पार्टीभित्र र बाहिर लोकप्रिय समर्थन थिएन । यसपटकको नेतृत्व प्रतिस्पर्धामा उनी सुरुदेखि नै एक्लिएका थिए । सञ्चार माध्यमले पौडेल समूह भनेर प्रचार गरिदिए पनि यथार्थमा पौडेल समूह अस्तित्वमा थिएन । सायद यो बुझेर नै उनी अन्त्यमा आद्र्र र आहत महसुसगर्दै बाहिरिन बाध्य भए । उनले अलि चाँडै यो बुझेर विवेकी भूमिका खेल्न सकेका भए सभापतिको चुनाव परिणाम पनि फरक हुनसक्थो । प्रकाशमान र विमलेन्द्रको उम्मेदवारी प्रारम्भदेखि नै गम्भीर थिएन, सिवाय व्यक्तिगत प्रतिष्ठाको तुष्टि । वरिष्ठता र विरासतको अहंकारले शेखर कोइरालालाई हराउन त सजिलो भयो, तर देउवासँग उनीहरूको प्रतिद्वन्द्विता फोस्रो नाटक साबित भयो ।

प्रकाशमान र विमलेन्द्रको उम्मेदवारी अन्तत: देउवाका लागि बाजीमार्न सजिलो भर्‍याङ बन्यो । दोस्रो चरणमा पुग्दा उनीहरू देउवाकै पक्षमा खुलेर लागे । भोलि फेरि उम्मेदवार त बन्लान्, तर उनीहरूले पार्टीको नेतृत्वगर्ने सम्भावना पनि तुरियो । यो महाधिवेशनमा आइपुग्दा कांग्रेसमा पारिवारिक विरासतको दाबी नै अस्वीकृत भयो । यो राम्रो कुरा हो । परिवारको विरासत लोकतन्त्रविपरीत चरित्र पनि हो । कोइराला परिवारको विरासतलाई विजयमा पुर्‍याउन नसके पनि शेखरले आफ्नो भद्र राजनीतिक उचाइ स्थापित गरेका छन् । पारिवारिक विरासतभन्दा पनि यो उनकै मिहिनेतको फल प्रमाणित भएको छ । विरासत त उनलाई न बीपीको परिवारबाट मिल्यो, न गिरिजाबाट नै । परिवारको विरासत जोगाउन नसक्नुमा शेखर होइन, शशांक र सुजाता बढी कारक बन्नपुगे । कांग्रेस नेतृत्वमा कोइराला परिवारको राजनीतिक विरासत पनि सकियो । अब शेखरको जिम्मेवारी भनेको गगन र विश्वप्रकाशको नेतृत्वलाई संवद्र्धन गर्नु हो । त्यसमै उनको सम्मान र योगदान हुन्छ ।

अब के कांग्रेसमा नेतृत्व परिवर्तनका साथै नयाँ रूपान्तरण, जिम्मेवारी बोधको अपेक्षा गर्न सकिन्छ ? नेतृत्व त पुरानै छ, सभापति देउवा नै छन् । गगन र विश्वप्रकाश महामन्त्री बन्दैमा र उस्तै सोच भएका अरू केही पदाधिकारी निर्वाचित हुँदैमा के कांग्रेसमा अपेक्षाकृत परिवर्तन हुन्छ ? उनीहरूको सीमा र सम्भावना के हो ? यी केही गम्भीर प्रश्नमा विमर्श अपेक्षित छ ।

कांग्रेस केन्द्रीय समिति चुनावको समग्र परिणाम आउन बाँकी नै छ । केन्द्रीय समितिमा देउवा समूहबाहेकका कतिपय सदस्य पनि निर्वाचित होलान्, तथापि कांग्रेसको शक्ति समीकरणमा देउवाको पकड संख्याका हिसाबले चुनौतीरहित हुने कुरालाई नकार्न सकिन्न । फेरि, पार्टीको आधिकारिक प्रतिनिधित्व सभापतिले गर्नेहुँदा देउवाको बोली, व्यवहार र काममा कांग्रेसको पहिचान मुखरित हुने हो । अरू त सहयोगी पात्र हुन् । नयाँ सोच र रूपान्तरणको प्रतिविम्ब गगन र विश्वप्रकाशको वचनमा त कायम हुने नै छ, तर यो कुरा पार्टीको काम र व्यवहारमा कसरी देखिनेछ, यो नै उनीहरूका लागि सबैभन्दा ठूलो चुनौती हुनेछ । बहालवाला नेताले त्यसकै वरीयतामा आफूअनुकूल उत्तराधिकारी आउने वातावरण बनाउँछ । गिरिजाप्रसादले कार्यवाहक सभापति दिएर सुशीललाई आफूपछि आउन बाटो सजिलो गरिदिएका थिए । अर्को अधिवेशनमा देउवा पार्टी नेतृत्वबाट बाहिरिँदा उनका प्राथमिकताहरूबाट कांग्रेस अलग रहन पनि त कठिन होला । त्यसैले यस अवधिमा कांग्रेसलाई सदस्यता वितरणदेखि पार्टीका समग्र गतिविधिलाई गुटगत बाँडफाँटबाट जोगाउनु आवश्यक छ । शेखर, सिटौला, प्रकाशमान वा विमलेन्द्र गुटका नाममा भागबन्डा अब सदाका लागि बन्द हुनुपर्छ । ४० प्रतिशतको भाग खोज्ने, मोलमोलाइ गर्ने प्रवृत्तिको पनि अन्त्य हुनुपर्छ । सभापतिले विवेक गुमाएर पक्षपात गर्न थाले तत्काल केन्द्रीय समितिबाट सशक्त प्रतिरोध हुनुपर्छ ।

नेपाली कांग्रेससहित हाम्रा पार्टीहरूमा पदाधिकारीको जुन संरचना छ, त्यो नेतृत्व उत्तराधिकारीको प्रक्षेपण पनि हो । महामन्त्रीमा गगनको लोकप्रियता देखेर अहिले नै एउटा मत बनेको छ, पन्ध्रौं महाधिवेशनमा पुग्दा गगन सभापति बन्नुपर्छ भन्ने । यो एउटा सम्भावनाको प्रक्षेपणमात्र हो, आधार होइन । त्यसका लागि गगनहरूले थप परीक्षा पार गर्नुपर्ने हुन्छ । पहिलो परीक्षा निकट आइरहेको चुनावमै हुनेछ । झट्टहेर्दा, आगामी चुनाव कांग्रेसका लागि अनुकूल हुनेछ, प्रतिस्पर्धीहरू फुटेका छन्, कम्युनिस्ट एकताको नारा न कायम रहन सक्यो न त मतदाताको सम्मान नै रह्यो । तसर्थ मतदातालाई आकर्षित गर्न कम्युनिस्टहरूलाई भन्दा कांग्रेसलाई सजिलो छ । तर सरकारको नेतृत्व र सत्ता गठबन्धनका कमजोरीबाट नेपाली कांग्रेस मुक्त हुन सक्तैन, पाउँदैन पनि । विगत ६ महिनामा सरकार र गठबन्धनका कमीकमजोरी छताछुल्ल भएका छन्, हिजो ओलीविरुद्ध लगाइएका आरोपहरू आज आफैंतिर फर्किने अवस्थामा छन् । ओलीको ग्राफ माथि जाँदैछ । यसको जिम्मेवारी सभापति एवं प्रधानमन्त्री देउवाले नै लिनुपर्छ, पहिलेजस्तो समग्र केन्द्रीय समितिलाई नै नालायक बनाउने होइन ।

अर्को पार्टीसँगको प्रतिस्पर्धा सजिलो हुन्छ, तर आफ्नै पार्टीभित्र अनेक सीमा हुन्छन् । पार्टीलाई आन्तरिक विभाजन र विचलनबाट पनि जोगाउनुपर्ने हुन्छ । महाधिवेशन र आन्तरिक चुनावपछि कांग्रेसलगायत हाम्रा पार्टीहरूमा गुट विभाजनको स्थायी रेखा कोरिने परम्परा बसेको छ । सञ्चारमाध्यमहरूले एउटै पार्टीभित्र पनि संस्थापन र इतर समूह भनेर नामकरण गरिदिन्छन् । एउटै पार्टी भए पनि प्रतिस्पर्धी समूह हुन्छन्, दृष्टिकोण र नीतिगत प्राथमिकताहरू फरक हुन सक्छन् । यी त बहुदलीय प्रणालीमा अन्तर्पार्टी लोकतन्त्रका विशेषता हुन्, संस्थापन र इतरको विभाजन होइन । यसको स्वस्थ व्यवस्थापन गर्न सक्नुपर्छ । असहमति र फरक दृष्टिकोण राख्नुको अर्थ इतरसमूह अस्तित्वमा आउनु होइन । वैकल्पिक दृष्टिकोण, नीति र नेतृत्वको बहस नहुने हो भने त्यो पार्टी कित फासीवादी हुन्छ, कि कुनै अमुक नेताको चाकरी–चाप्लुसीमा मस्तराम अवसरवादी झुन्ड बन्छ । कांग्रेसमा अवसरवादी झुन्डको प्रवृत्ति ज्यादा छ ।

पार्टी व्यवस्थापनमा हाम्रो समस्या भनेको स्वस्थ प्रतिस्पर्धाका लागि आवश्यक खेल नियमको पालना नगर्नु हो । खेल नियम केवल आन्तरिक चुनाव र त्यसमा हारजितमात्र होइन, त्यो त प्राविधिक कुरा हो; कुन बेला र कसरी नेतृत्वको निरन्तरता रहन्छ र बाहिरिन्छ भन्ने कुरा महत्त्वपूर्ण हो । यो नियम नबस्दा पार्टीहरूमा कहिले उमेरको हद, कहिले अवधिको सीमा तोकेर नेतृत्व बहिर्गमनका लागि दबाबको स्थिति बन्छ । नेतृत्वमा एकै व्यक्ति सधैं हावी हुने प्रवृत्तिको स्वाभाविक परिणाम हो— पार्टीहरूमा तीव्र गुटबन्दी, किचलो र विभाजन । सामान्य नियम के हो भने, आवधिक चुनावमा पार्टीले अपेक्षित परिणाम ल्याउन नसके वा पहिलेको भन्दा कम विजय हासिल गरे बहालवाला नेतृत्वले हारको जिम्मेवारी स्विकारेर नेतृत्व छोड्नुपर्छ । ‘मैले काम गर्नै पाएको छैन, मेरो पालो पुगेको छैन, अर्को चुनावमा राम्रोगरेर देखाउँछु’ भनेर पदमा बसिरहने होइन । यो कुनै प्रतिष्ठाको विषय होइन, उसले छाड्नुपर्छ । यसबाटै पार्टीमा लोकप्रिय नेतृत्वको परम्परा बस्छ, गुटगत आधारमा विभाजनको सम्भावना पनि रोक्न सकिन्छ ।

सत्ता गठबन्धनको नेतृत्व गरेकाले आगामी चुनावमा कांग्रेसलाई फाइदा–बेफाइदा दुवै छ । गठबन्धनका सहयात्रीहरूले पनि अपजसजति सरकारको नेतृत्व गर्नेलाई, जसको भागीदारचाहिँ सबै भन्ने रणनीति लिनु कुनै अस्वाभाविक होइन । अहिले उदाहरणका लागि एमसीसी अनुमोदनकै कुरा गरौं । यो विषय अब यसको गुण–दोषमा सीमित छैन, राजनीतिक आस्थाको विषयजस्तो गरेर मत विभाजित भएको छ । संसद्बाट अनुमोदन गराउनसके कांग्रेसलाई जस मिल्छ भन्ने कुनै आधार छैन । अमेरिका खुसी होला, नेपालका लागि निर्धारित सहयोग निर्विघ्न प्रवाह होला । तर यसको चुनावी लाभ कांग्रेसलाई खासै हुनेछैन । पारित गर्न नसके घाटा भने कांग्रेसलाई मात्रै छ । चुनावको मुखमा यो प्रस्तावमा अलमलिनुको कुनै तुक छैन । नेपालको आन्तरिक राजनीतिमा भारत र चीन प्रत्यक्ष र अमेरिका अलि परबाट संलग्न छन् । संलग्नमात्र होइन उनीहरूबीच तीव्र प्रतिस्पर्धासमेत छ । विज्ञताको नाममा नेपालको बौद्धिक–व्यावसायिक मत पनि यसमै रंगिएको छ । आउने चुनावमा हाम्रा पार्टीहरू र नेता विदेशी खेलको प्रोक्सीमात्र बन्लान् कि भन्ने भय छ । चुनावमा बाहिरी चासोबाट हामी पूरै मुक्त त हुन सक्तैनौं, तर त्यसबाट कति सकिन्छ जोगिएर मतदाताले स्वतन्त्र निर्णय गर्न सक्ने वातावरण बनाउनु दलहरू र नेताको न्यूनतम धर्म हो । यतिखेर यसका लागि कांग्रेसको जिम्मेवारी अझ बढी छ ।

प्रकाशित : पुस ३, २०७८ २२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?