कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

पहिले छोरीमैत्री परिवार

मधु राई

चिनजानकी एक बहिनीले केही दिनअघि मात्र आफ्नी सानी छोरीलाई घर नजिकैको निजी विद्यालयमा भर्ना गरेकी थिइन् । एउटी छोरी पढाउन पनि उनको परिवारलाई आर्थिक सकस थियो । यसबीच त उनी पुनः गर्भवती भइछन्, श्रीमान् र सासूको दबाबमा । मैले उनका श्रीमान्लाई सोधें, ‘एउटै छोरीलाई राम्ररी हुर्काउन नसकिरहेको अवस्थामा किन अर्को बच्चा चाहियो ?’ उनले फ्याट्ट जवाफ दिए, ‘एउटा छोरा चाहिन्छ नि म्याम ।’

पहिले छोरीमैत्री परिवार

जवाफ सुनेर एक छिन त मेरो पारो तात्यो, तर केही भनिनँ, बरु मनमनै सोचें, ‘तिमीहरू छोरा भए पनि के नै गतिलो काम गरेका छौ त, एउटा परिवारसम्म पनि राम्ररी पाल्न सकेका छैनौ ?’ अझ यस पटक त श्रीमतीले छोरा नै जन्माउँछिन् भनेर ढुक्क भएको देख्दा अर्को उदेक लाग्यो । फेरि पनि छोरी नै जन्मिए छोराका लागि पुनः बच्चा जन्माउन श्रीमतीलाई बाध्य पारिनेछ भन्ने लाग्यो ।

सबै समुदायमा छोराको पर्खाइमा छोरीहरूको पल्टन बनाउने अभिभावक बग्रेल्ती भेटिन्छन् । हालै एक बहिनीले दुई छोरीपछि तेस्रो सन्तान छोरा जन्माउनुपरेको पीडा पोखेकी थिइन्, सामाजिक सञ्जालमा । ‘यस्तै छ हाम्रो समाज जहाँ छोराका लागि हामी महिलाले पटक–पटक प्रसव पीडा सहनुपर्छ,’ भनेकी थिइन् । के सहर, के गाउँ आज पनि छोरीलाई छोरासरह सन्तान नमान्नेको कमी छैन । घरपरिवार नै छोरीमैत्री भैसकेको छैन । छोरीमा भएको अथाह शक्तिलाई अवमूल्यन गरी विभेदको सुरुआत सबैभन्दा पहिले अभिभावकबाटै हुन्छ ।

जुन परिवारमा बुवाले छोरा–छोरीप्रति समान व्यवहार गर्दैनन्, त्यो घरमा दाजुभाइमा पनि दिदीबहिनीप्रतिको सोच यस्तै हुन्छ । यस अर्थमा महिला हिंसाको प्रमुख कारक आफ्नै बुबा र दाजुभाइ हुने गरेका छन् । कतिपय यिनै दाजुभाइले कालान्तरमा आफ्ना श्रीमतीलाई पनि दुर्व्यवहार–घरेलु हिंसा गर्छन्, समाजशास्त्रीहरूको अध्ययनको ठम्याइ यही छ । हिजो अशिक्षित समाजमा जस्तो छोरीलाई सन्तान नमान्ने पुरातन प्रवृत्ति आज शिक्षित पुस्ताले पनि पछ्याइरहनु लैंगिग विभेदलाई पक्षपोषण गर्नु हो । यसरी जानी–नजानी अभिभावकहरूले छोराछोरीबीच विभेद गर्नु लैंगिक हिंसा हो । घरभित्र हुने हिंसाको डरलाग्दो पक्ष भनेकै विभेदको पुस्तान्तरण हुने खतरा हो । बाल्यकाल र किशोरावस्थामा बुबाले आमालाई दिने गरेको शारीरिक तथा मानसिक यातना हेर्दै हुर्केका छोराहरू पछि आफू पनि त्यसरी नै पीडक बन्ने गरेका उदाहरण छन् ।

सदाझैं यसपालि पनि नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म ‘घरैबाट सुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने नारासहित महिला हिंसाविरुद्धको १६ दिने अभियान सम्पन्न भयो । तथापि नाराले दिने गरेको सन्देश जनस्तरसम्म पुग्छ–पुग्दैन, यसबारे अभियानकर्ताहरूले चासो राखेको पाइँंदैन । अधिकांश महिलाविरुद्धका हिंसा घरैबाट हुन्छन्, जसलाई रोक्न यस्ता अभियानहरू खासै प्रभावकारी देखिएका छैनन् । यस्ता अभियानमा पुरुष सहभागिता विरलै हुने गरेको छ । पुरुषहरूको पुरातन सोचमा परिवर्तन गर्न उनीहरूलाई पनि यस्ता अभियानमा सहभागी गराइनुपर्छ ।

छोरीमैत्री घरपरिवार बनाउन अभिभावकले छोरीलाई छोरासरह शिक्षा र अवसरहरू प्रदान गर्नुपर्छ । यसका निम्ति सरकारले बालिका शिक्षालाई प्रोत्साहन गर्नुपर्छ । बालिका शिक्षाका लागि सरकारले गर्ने प्रोत्साहनले महत्त्वपूर्ण अर्थ राख्छ । सन् ’६० को दशकमा भारतकी तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले ‘बालिका शिक्षा’ कार्यक्रम सुरु गरिन् । जसअन्तर्गत छात्राहरूलाई विद्यालयले स्कुले पोसाक र छ–छ महिनामा छात्रवृत्ति वितरण गर्थ्यो । तिनताक भारतमा अध्ययन गर्दा मैले पनि यस्तो सुविधा पाएकी थिएँ । सरकारले दिने गरेको यस्तो सुविधाले छोरीलाई पढाउनुपर्छ भन्ने चेतना जनस्तरसम्म पुग्छ । भारत सरकारको यही दूरदृष्टिकै परिणाम आज त्यहाँको हरक्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता छ । शिक्षित र सचेत महिलाले आफ्ना घरपरिवारलाई छोरीमैत्री बनाउन हरसम्भव प्रयास गर्छन् ।

भारतका कतिपय प्रान्तले अहिले पनि कक्षा आठदेखि छात्राहरूलाई साइकल प्रदान गर्ने गरेका छन् भने माध्यमिक र उच्चमाध्यमिक परीक्षा उत्तीर्ण गर्नेहरूलाई नगद पुरस्कार । पाँच दशकअघि सुरु बालिका शिक्षा कार्यक्रमकै विभिन्न स्वरूपमा निरन्तरताका कारण हाल कतिपय संकायमा छात्रको तुलना छात्राहरूको संख्या बढ्न थालेको त्यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन् । यस अर्थमा यस्तो कार्यक्रम अरुका लागि पनि उत्तिकै अनुकरणीय छ ।

नेपालमा पनि विगतमा ‘बालिका शिक्षामा लगानी, ल्याउँछ सुनौलो बिहानी’ जस्ता नाराहरू घन्काइएका थिए । प्रदेश २ सरकारले त ‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियान नै थालेको छ । देशभर विगतको तुलनामा शिक्षित बालिका र महिलाको संख्या बढ्दै छ । चिन्तालाग्दो चाहिँ, शिक्षित परिवारमा पनि विभेद र लैंगिक हिंसाका घटना भैरहेका छन् । यसको अर्थ, वर्तमान शिक्षाले छोरीमैत्री वा महिलामैत्री घरपरिवार बनाउनुपर्छ भनेर समाजलाई शिक्षा दिन सकेको रहेनछ भन्ने बुझिन्छ ।

नगण्य नै सही, अहिले पनि कति अभिभावकले छोरीमैत्री घरपरिवार बनाउने प्रयास गरेका छन् । यस्ता घरपरिवारमा हुर्केका छोरीहरूले छोरासरह उच्चशिक्षा हासिल गरेका छन् । पहिलो सन्तान छोरी भएपछि अरू नपाउनेको संख्या पनि बढिरहेको छ, यस्तो घरपरिवारमा विभेद देखिन्न । अब छोरीमैत्री समाज निर्माण गर्न सरकारका विभिन्न निकाय र लैंगिक समतासम्बन्धी अभियानहरू पनि उत्तिकै सक्रिय हुन आवश्यक छ ।

यस्तै बालिकालाई शिक्षालाई पनि उत्तिकै प्रोत्साहन दिनुपर्छ । आजका बालिका नै भोलिका शिक्षित महिला हुने भएकाले उनीहरूको शिक्षामा विशेष ध्यान दिनुपर्छ । घर, स्कुल सबैतिर लैंगिक विभेदप्रति सजग रहनुपर्छ । अनि मात्र ‘घरैबाट सुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्नेजस्ता नारा सार्थक बन्न सक्छन् ।

प्रकाशित : पुस २, २०७८ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?