हुलाकी

कांग्रेसको पराधीन अन्तरात्मा 

समाज रूपान्तरणका निम्ति बनेका राजनीतिक दल, ती दल खडा भएका वैचारिक जग, सोअनुसार तिनले सञ्चालन गर्ने अनेक गतिविधि, त्यसबीच देखा पर्ने पेचिला अन्तरविरोधले दलका सदस्यहरूको अन्तरात्मा निर्माणमा पक्कै ठूलो भूमिका खेल्छन् ।
अरू धेरै दलजस्तै कांग्रेस पनि समाज रूपान्तरण गर्ने अभियान, आन्दोलन र जमर्को नभई केवल दोहनतन्त्रको दाँती मात्र हो ।
उज्ज्वल प्रसाई

अध्यात्मवादमा भौतिक देहलाई छुट्याएर व्याख्या गरिने अस्पृश्य आत्मा र सोसँग सम्बन्धित कुनै मीमांसा गर्ने चेष्टा होइन यो । पूर्णतया भौतिक दुनियाँको राजनीतिक रस्साकस्सीका दौरान प्रयोग भएको शब्द र व्यक्त भएको आशयमा केन्द्रित हुन सहज बाटोको खोजी मात्र हो । थप व्याख्या गर्नुअघि नै एउटा सपाट र बिलकुल भौतिक सत्य यहाँ पेस गरूँ— नेपाली कांग्रेसको अन्तरात्मा मौजुदा शक्ति संरचनाको जालोमा छिटै मुक्त नहुने गरी कैद छ भन्ने प्रमाणित भएको छ ।   

कांग्रेसको पराधीन अन्तरात्मा 

केही दिनदेखि जारी नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा सभापति चयनका लागि दोस्रो पटक मतदान भयो । पहिलो पटकको परिणाममा सबैभन्दा बढी मत पाएका उम्मेदवारले पचास प्रतिशत कटाउन नसकेपछि दोस्रो चरणको मतदान भएको थियो । दोस्रो चरणमा एकाएक माहोल परिवर्तन भयो, केही घण्टा पहिलेसम्म नेतृत्व बदल्ने उत्साह सञ्चार गरिरहेका नेताहरू, जो स्वयं नेतृत्वका आकांक्षी थिए, ती सबै पुरानै नेतृत्वको निरन्तरतामा दृढ देखिए । सो दृढताको उपादेयता पुष्टि गर्न उत्तिकै उत्साहपूर्वक तल्लीन पनि । नेतृत्व बदल्ने अवसर गुम्न नदिने उद्देश्यले प्रत्याशी शेखर कोइराला पंक्तिले मतदानमा सहभागीकांग्रेस प्रतिनिधिहरूलाई बारम्बार करजोरी आह्वान गर्‍यो— अन्तरात्मालाई सुनेर मतदान गर्नुहोस् !

यहाँ अन्तरात्मा भनेको व्यक्तिको स्वत्व हो, स्वतन्त्र चयनको सामथ्र्य हो, कुनै बाहिरी भय र मोहबिना आफ्ना लागि आफैंले सोचीगुनी लिइने निर्णय हो, र आफू स्वतन्त्र भएको प्रमाण स्वयंलाई पेस गर्ने साहस पनि हो । हाम्रो समग्र जीवनपद्धति, हुर्काइ, सांस्कृतिक चेतना र शिक्षाले त्यो अन्तरात्माको निर्माण गरेको हुन्छ । समाज रूपान्तरणका निम्ति बनेका राजनीतिक दल, ती दल खडा भएका वैचारिक जग, सोअनुसार तिनले सञ्चालन गर्ने अनेक गतिविधि, त्यसबीच देखापर्ने पेचिला अन्तरविरोधले दलका सदस्यहरूको अन्तरात्मा निर्माणमा पक्कै ठूलो भूमिका खेल्छन् । अपेक्षा त अक्सर ठूलै हुनेगर्छ कि दलीय गतिविधिले व्यक्तिको अन्तरात्मालाई रूपान्तरण गरी मानवीय, न्यायी र असल बनाओस् । यिनै दलीय ऊहापोहको कसीमा कांग्रेस प्रतिनिधिका अन्तरात्माको परख गर्ने कोसिस रोचक हुनेछ ।

नेपाली कांग्रेसले बीपी कोइरालाको जतिसुकै स्मरण गरेपनि र अद्यापि सानो संख्याका कांग्रेस सदस्यले ‘समाजवाद’ शब्दको उच्चारण गरिरहे पनि, ठूलो पंक्तिले ‘उदारवाद’ एवं ‘व्यक्तिको निजी स्वतन्त्रता’लाई महत्त्वपूर्ण ठान्छ । कम्युनिस्ट वा समाजवादी भनिने राजनीतिक समूहहरूभन्दा आफू पृथक् हौं भन्नका लागि पनि कांग्रेसको जोड यी अवधारणामा ज्यादा केन्द्रित भएको हुनसक्छ । सत्तामा हुँदा आफूले लागू गरेका कार्यक्रम र अख्तियार गरेका नीति पनि उदारवाद र व्यक्तिगत स्वतन्त्रतालाई केन्द्रमा राखेर गरिएको कांग्रेसको दाबी हुनेगर्छ ।

पछिल्ला तीन दशकको कांग्रेसबारे अध्ययन गर्नेले नेता प्रदीप गिरिले हालसालै निकालेको निष्कर्षलाई अमान्य घोषणा गर्न सक्दैन । कांग्रेस आफैं कुनै नयाँ विचार, सोअनुसारको नयाँ कार्यक्रम र समाज रूपान्तरणको नयाँ खाका सार्ने उद्यममा सामेल नभएको दशकौं भइसक्यो । गिरिका अनुसार नेपालका अन्य पार्टी पनि यस मामिलामा कांग्रेसभन्दा धेरै उन्नत अवस्थामा छैनन् । त्यसो त विचारक, प्राज्ञिक कर्म गरिरहेका मानिस र बौद्धिकहरूले पनि यथेष्ट काम नगरेको आशय गिरिले व्यक्त गरेका छन् । हो, कांग्रेस प्रतिक्रियात्मक जरुर छ, समयको मागअनुसार कहिले आन्दोलित बन्ने र कहिले यथास्थिति पक्रेर बस्ने उसको थिति कायम छ । त्यसैले अर्थतन्त्रको वैश्विक बहावको छेउकुना समातेर उसले सधैं ‘आर्थिक वृद्धि, सुशासन, विकास र समृद्धि’ जस्ता सजिला नाराको रट लगाइरहन्छ । नयाँ अवधारणा र विचारले कांग्रेस रन्थनिने गरेको त राज्य पुन:संरचना र धर्मनिरपेक्षताजस्ता सवालमा ऊ बलियोसँग उभिन नसकेकैले पुष्टि हुन्छ । यति सबै भइरहँदा पनि कांग्रेसको ठूलो पंक्तिले अटुट लगाव देखाइरहने विषय भने व्यक्तिको निजी स्वतन्त्रता नै हो ।

व्यक्ति कसरी स्वतन्त्र हुन्छ ? उसको अन्तरात्मा कसरी निर्माण हुन्छ ? जीवनका अप्ठ्यारा घुम्तीमा लिनुपर्ने जोखिमका लागि ऊ कति र कसरी तयार भएको हुन्छ ? उदार व्यवस्था एवं व्यक्तिको निजी स्वतन्त्रतामा निरन्तर लगाव राखेको पार्टी स्वयंले अरू दर्जनौं महत्त्वपूर्ण विषयमा प्रवेश नगरेझैं यी प्रश्नमा पनि कहिल्यै गम्भीरतापूर्वक विमर्श गरेको छैन । त्यसो गर्ने आवश्यकता बोध पनि कहिल्यै कसैलाई नभएको हुनसक्छ । तर अब कांग्रेस बदलिनुपर्छ भन्ने मतमा दृढतापूर्वक उभिएका केही बौद्धिक नेताले एकैपटक चौधौं महाधिवेशनमा आइपुगेर सभापतिका लागि भएको दोस्रो चरणको मतदानमा मात्र ती ‘अन्तरात्मा’लाई उकेरा लगाउन खोजे जो स्वतन्त्र नहुनुमा सहज र सुरक्षित महसुस गरिरहेका थिए । त्यस्ता ‘अन्तरात्मा’ जागृत गराउन कोसिस गरे जसले स्वार्थ समूहका साँघुरा कैदखानामा स्वयंलाई समर्पण गरेका थिए ।

चौधौं महाधिवेशनबाट बदलिन नसकेको नेपाली कांग्रेसले यस समाजका प्रत्येक व्यक्तिलाई साँचो अर्थमा स्वतन्त्र बनाउन कसरी सहयोग गर्ला भनेर सोच्नु फजुल हुनेछ । आफैं बहुविध संकटको घनचक्करमा फसेको ‘उदारवाद’को जपनाले केही लछारपाटो लगाउन सक्नेछैन । त्यसभन्दा फरक सोच्नेहरूको अल्पसंख्या नै समस्या हुनेगर्छ । त्यो सानो संख्यामध्ये केहीले पार्टीको चुनाव जितेपनि, तिनका विचारले हम्मेसि जित्दैनन् । त्यसो भए, पार्टी सदस्यहरूलाई अन्तरात्मामा आफ्नै स्वतन्त्र आवाज सृजना गर्न सक्ने र सो आवाज सुन्न सक्ने बनाउन कांग्रेसले के गर्ला ? मौजुदा अवस्थामा यो सवाल पनि उत्तिकै अर्थहीन हुनसक्छ ।

व्यक्तिगत स्वतन्त्रताको थोरै अभ्यास गर्दै, आफ्नै अन्तरात्मामा उब्जेको र चलिरहेको थितिभन्दा किञ्चित् फरक धुन सृजना गर्दै नेता गगन थापाले लेखेको दस्तावेजले कांग्रेसभित्र कुन स्तर र कति व्यापक विमर्श सुरु गर्न सक्ला ? महाधिवेशनका सबै प्रक्रिया हेर्दा यति अपेक्षा गर्ने आधार भेटिन्न । कुनै काकतालीले भविष्यमा पार्टीको उल्लेख्य पंक्तिले कम्तीमा यही दस्तावेज मात्रलाई पनि विमर्शको विन्दु बनाउन सक्यो भने अर्को महाधिवेशनमा गरिएको ‘अन्तरात्मालाई सुन्ने’ आह्वान बढी अर्थपूर्ण र कामयाब होला । त्यस्तो अभ्यास सुरु हुने सामान्य अपेक्षा मात्र राख्न सक्नुले पनि पार्टी कार्यकर्ता स्वयं र संस्थाको समेत रूपान्तरणको अनुमान गर्न सकिन्थ्यो ।

यहाँ अर्को पेचिलो सवाल छ—कांग्रेसमा आबद्ध युवाहरूको । कांग्रेस महाधिवेशनको प्रक्रिया चल्दैगर्दा नेपाली सञ्चारमाध्यमले करिब फुर्केको भावमा भने—कांग्रेसका विभिन्न समितिका नेतृत्व तहमा युवाहरू आए, यी आशाका केन्द्र हुन्, अब केही हुन्छ । मूलत: उमेरलाई विषय बनाएर एकपछि अर्को कथा प्रकाशन र प्रसारण गरे । ‘यो पुगेन’ र ‘त्यो भएन’ जस्ता गनगनका शृंखला चलेका बेला यस्ता खबरहरूले कर्ण शाक्यमार्काकै भए पनि ‘सकारात्मक सोच’को मात्रा वृद्धिमा केही भूमिका अवश्य खेले । तन्नेरी वयमा हुने जाँगर, उत्साह र विद्रोहको तेवर समाज रूपान्तरणका ऊर्जा पक्कै हुन् । तर, सोधिनैपर्ने सवाल गर्न भने सबै चुके ।

के अहिले कांग्रेस बनेका वा कांग्रेस पार्टीलाई तल्ला समितिहरूमार्फत हाँक्ने अभिभारा पाएका युवा स्वयंको रूपान्तरणमा यो पार्टी सहयोगी बन्न सक्छ ? अहिलेकै अवस्थामा त्यस्तो सम्भावना देखिँदैन । एउटा उदाहरणबाट यसबारे अझ प्रस्ट हुने कोसिस गरौं । अहिले क्रियाशील सदस्यका रूपमा पार्टीमा आबद्ध भएको तीस वर्ष नपुगेको एक मध्यमवर्गीय पहाडी बाहुन पुरुष युवाको कल्पना गरौं न । उदाहरणार्थ प्रस्तुत यी नवकांग्रेसी तन्नेरी जातलाई नेपाली समाज व्यवस्थापनको कडी मान्छन्, पितृसत्तालाई प्राकृतिक थिति मानेकाले कहिल्यै प्रश्न गरेका छैनन्, फरक धर्म र नस्लप्रति उदारसम्म पनि छैनन्, र विकासको तीव्र आकांक्षामा केवल उपभोगको असीम तृष्णा पालेका छन् । पहिलो प्रश्न, यस्तो जातवादी, नस्लवादी र दोहनकारी बजारबाट वशीभूत युवालाई कांग्रेसले कसरी रूपान्तरण गर्न सहयोग पुर्‍याउँछ वा उनका जेजस्ता जब्बर खराबी छन्, तिनैलाई मलजल गर्ने काममा सिंगो पार्टी संरचना लाग्छ ? दोस्रो प्रश्न, यी युवासँग भएको उमेरजन्य जोस, जाँगर, शारीरिक र मानसिक ऊर्जालाई पार्टीले आफ्नो र साथै समाजको रूपान्तरणमा कसरी उपयोग गर्छ ?

महाधिवेशनले यस्ता प्रश्नमा घोत्लिने वातावरण सृजना गरेन । पार्टीका अन्य कार्यक्रम, भेला, सम्मेलन, गोष्ठी इत्यादिमा पनि यी विषय प्रश्न नै बनेका छैनन् । कारण, अरू धेरै दलजस्तै कांग्रेस पनि समाज रूपान्तरण गर्ने अभियान, आन्दोलन र जमर्को नभई केवल दोहनतन्त्रको दाँती मात्र हो । सिंगो कांग्रेसको अन्तरात्मा नै दलाल अर्थतन्त्रको कलपुर्जामा परिणत भएको छ; त्यहाँ नौलो चिन्तन, सृजनात्मकता र नयाँ सपना केही छैन । नेपाली कांग्रेसमा सो पार्टीका नेताले सधैं ‘प्रधान’ भनिरहने निजत्व र स्वत्वसहितको ‘व्यक्ति’ स्वयं विलुप्त छ ।


प्रकाशित : पुस १, २०७८ २२:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?