एजेन्डा कि भागबन्डा ?

आफ्नो गुटमा देउवा सर्वाधिकारसम्पन्न नेता हुन् र उनको निर्णय शिरोपर गर्ने पंक्ति यथावत् नै छ भन्ने सिद्ध भएको छ । आफ्नो गुटबाट अझै केही खतरा नभएपछि उनले गुटइतरका नेताहरूलाई तिनीहरूले इच्छाएको पद दिएर रिझाउने ठाउँ राखेको देखिन्छ ।
शंकर तिवारी

नेपाली कांग्रेसको चौधौं महाधिवेशन अनेक अन्योल, आशंका र संशयबीच भएको छ । पार्टीहरूको आवधिक महाधिवेशन लोकतान्त्रिक व्यवस्थामा सामान्य कुरा हो तर केही महाधिवेशनले असामान्य महत्त्व बोक्ने सामर्थ्य राख्छन् । विक्रमाब्दको २०७८ को मंसिरमा भएका महाधिवेशनहरू भने नयाँ तरंगभन्दा नेतृत्वमा यथास्थितिको निरन्तरतालाई कायम राखेर सकिने सम्भावना बढ्दो छ ।

एजेन्डा कि भागबन्डा ?

राप्रपाले कमल थापालाई विस्थापित गर्दै राजेन्द्र लिङदेनलाई नयाँ नेतृत्वमा चयन गरेको र नेकपा एमालेले केपी ओलीलाई निरन्तरता दिएका सन्दर्भमा कांग्रेसको महाधिवेशनले शेरबहादुर देउवालाई निरन्तरता दिन्छ कि नयाँ नेतृत्व चयन गर्छ भन्ने खुलदुली र कौतूहल कार्यकर्ता पंक्तिबाहिर पनि थियो । तर, नेपाली कांग्रेसको महाधिवेशनले सभापतिमा देउवालाई नै पुनः निर्वाचित गरेको छ । तेह्रौं अधिवेशनमा जस्तै देउवालाई सभापतिमा जित्न दोस्रो चरणको निर्वाचनमा जानुपर्‍यो । यसले के देखायो भने, लम्बिएर साढे पाँच वर्ष पुगेको कार्यकालमा उनले बहुमत कार्यकर्ताहरूको मन जित्न सकेका रहेनछन् । तर जसै दोस्रो चरणको निर्वाचनका लागि मञ्च तयार हुँदै थियो, देउवाले बन्दकोठामा आफ्ना प्रतिस्पर्धी साथीहरूलाई मिलाए र मतदान हुनुपहिले नै मनोवैज्ञानिक जित हासिल गरे ।

पार्टी पंक्तिबाहिर अलोकप्रिय देखिएका भए पनि उनले पार्टीभित्र आफ्नो व्यवस्थापनको कौशल र स्वीकार्यताको दायरा अरूको भन्दा फराकिलो भएको सिद्ध गरे । देउवालाई पुरानो सुवर्ण/किसुनजी गुटमा भित्र्याउने विमलेन्द्र निधिले नै गुटमा विद्रोह गर्दासमेत त्यो खाडल पुर्न कृष्ण सिटौलालाई आफ्नो समूहमा विलय गराएनन् मात्रै, उनले दुई घण्टाको अन्तरमा सभापतिका प्रतिस्पर्धी प्रकाशमान सिंह र विमलेन्द्र निधिको परिवर्तनको एजेन्डालाई बिर्साउँदै उनीसँगै एउटै लाममा बसेर आफ्ना लागि भोट माग्ने वातावरण बनाए ।

देउवा पार्टीभित्र भागबन्डा मिलाएर आफ्नो हात माथि पार्न निपुण छन् भन्ने स्पष्ट भएको छ । आफ्नो गुटमा उनी सर्वाधिकारसम्पन्न नेता हुन् र उनको निर्णय शिरोपर गर्ने पंक्ति यथावत् नै छ भन्ने पनि सिद्ध भएको छ । आफ्नो गुटबाट अझै केही खतरा नभएपछि उनले गुटइतरका नेताहरूलाई तिनीहरूले इच्छाएको पद दिएर रिझाउने ठाउँ राखेको देखिन्छ । यसरी पार्टी पुरानो भागबन्डाकै शैलीमा चलाउने उनको इच्छा हुन सक्छ, तर कुरा त्यतिमै रोकिँदैन ।

अब पार्टीभित्रको आधिकारिक प्रतिपक्षका रूपमा शेखर कोइराला, गगन थापाहरू देखिएका छन् । उनीहरूलाई भागबन्डाले होइन, एजेन्डाले डोर्‍याउने भएकाले देउवालाई उनीहरूको एजेन्डा स्वीकार गर्दै अगाडि बढ्नेबाहेक अर्को विकल्प बाँकी रहनेछैन । आम मानिसले कांग्रेसको असल आत्मा कांग्रेसभित्रको युवा पंक्ति र बदलावको आवाजको नेतृत्व गरेका शेखर र गगनसँग रहेको सत्यलाई यस निर्वाचनबाट महसुस गरिसकेका छन् ।

२०७४ को पुसमा राष्ट्रिय मेलमिलाप दिवसका दिन ‘हामी बदलिन्छौं, कांग्रेस बदल्छौं’ भन्दै सात युवा नेताले वक्तव्य प्रसारित गरेर कांग्रेसको नवजीवनका लागि नयाँ तरंग पैदा गरेका थिए । योङ तुर्कजस्तै आफ्नो अन्तर्मनको आवाज सुनेर पार्टी नेतृत्वको खराब आचरण र कार्यशैलीको आलोचना गर्ने कांग्रेसभित्रका सप्तर्षिको संज्ञा पाएका ती नेताहरूले देउवाको पार्टी चलाउने शैलीविरुद्ध वक्तव्य निकालेका थिए । तीमध्येका प्रबल हस्तीहरू विश्वप्रकाश शर्मा र प्रदीप पौडेलहरू देउवाको खेमामा एकै पटक विलीन भएपश्चात् उनीहरूमा रहेको प्रगतिशीलता र सडकका मुद्दाहरूसँग जोडिने रुचिमा गिरावट आउने खतरा पनि बढ्दै छ । आजसम्म कमाएको निष्ठा उनीहरूले सभापतिको निर्वाचनका क्रममा एक टेकमै गुमाएका छन् ।

चुनाव जित्नु वा हार्नु ठूलो कुरा होइन, तर राजनीतिको लामो क्यारिअरमा कसैले कमाएको विश्वसनीयतामा कुनै एजेन्डामा सम्झौता गरेपछि वा बाटो बिराएपछि दाग लाग्नु स्वाभाविक हो । त्यो दाग धोईपखाली गर्न निकै लामो समय लाग्नेछ । नेताको कद पदले होइन, उसले लिएका एजेन्डा, अडान र चालेका पाइलाले निर्धारण गर्छन् । एजेन्डा बिर्सेर पदलोलुप हुने नेता बनावटी हुन्छ, प्राकृतिक रहँदैन ।

प्रकाशमान र विमलेन्द्रले जुन अडान र अठोटका साथ परिवर्तनको कुरा गरेका थिए, दोस्रो चरणमा शेरबहादुर देउवालाई समर्थन गरेलगत्तै उनीहरूको त्यो अडान परालको खुट्टा साबित भएको छ । विशेष गरी प्रकाशमानले जुन दृढताका साथ देउवाको विरोधमा निरन्तर एक किसिमको सन्देश दिएका थिए, त्यसमा एकाएक लगाम लागेको छ । त्यो अस्वाभाविक विरामलाई परिवर्तनका पक्षमा उभिएका कार्यकर्ताहरूले भने निको मानेका छैनन् । संस्थापनइतर समूहमा पहिलो चरणमा सबैले प्रतिस्पर्धा गर्ने तर दोस्रो चरणमा पहिलो हुनेलाई समर्थन गर्ने प्रकाशमानकै अडान थियो । पार्टीको महामन्त्री, उपसभापति एवं सरकारको उपप्रधानमन्त्री भइसकेका प्रकाशमानसँग रामचन्द्र पौडेल र शशांक कोइरालाले मैदान छाडिसकेपछि संस्थापनतर्फका दुई दर्जनभन्दा बेसी जिल्ला सभापतिमध्ये काठमाडौंका सभापति मात्र साथ हुनु संगठनमा उनको पकड मजबुत नभएको यथार्थको प्रमाण हो । पार्टीको नेतृत्व बदल्छौं भनेकाहरू यसरी रातारात आफैं बदलिएका छन् र आफूहरूले बदलिनुको भरपर्दो कारण उनीहरूले कार्यकर्ताहरूलाई दिन सकेका छैनन् ।

नेपाली कांग्रेसमा देउवाइतर खेमामा विश्वासिलो र सबैको भरोसायोग्य नेतृत्व नभएकाले यो समूहले विजय हासिल गर्न नसकेको हो । देउवाको कार्यकालभरि पार्टीभित्रको विपक्षका रूपमा काम गर्ने जिम्मेवारी पाएका रामचन्द्र र शशांकको जिम्मेवारी नेतृत्वको प्रतिस्पर्धाबाट बाहिर रहेर मात्रै पूरा हुने थिएन । तर उनीहरूले नेतृत्वको प्रतिस्पर्धाबाट बाहिर रहनुलाई मात्रै जिम्मेवारी ठाने र त्यसमै रमाएर बसे । रामचन्द्रले आयोजना गरेको चियापानमा भएको हुटिङले अर्कैतर्फ संकेत गरिरहेको थियो ।

२०६२–६३ सालको जनआन्दोलनपश्चात् भएका नेपाली कांग्रेसका तीनवटा महाधिवेशनमा उदाएको पुस्ता पार्टीमा आफ्नो पक्षलाई बढाउँदै लगेर झन्डै बहुमत हाराहारीमा पुग्दै छ । यो पुस्ताले महामन्त्रीमा आए नेपाली कांग्रेसको राजनीतिलाई सदाका लागि बदल्ने पक्कापक्की छ । बाह्रौं महाधिवेशनमा केन्द्रीय सदस्यमा गगनले लोकप्रिय मत पाएर निर्वाचित भएपछि नेपाली कांग्रेसमा परिवर्तनको त्यो संकेत गडगडाएर अगाडि बढिरहेको थियो । उनले त्यो आवाजलाई तेह्रौं महाधिवेशनमा महामन्त्री पदमा प्रतिस्पर्धा गरेर निरन्तरता दिएका थिए । अहिले त्यसैले गर्दा गगन, प्रदीप र विश्वप्रकाशहरूले एकै पटक महामन्त्रीमा प्रतिस्पर्धा गर्ने अवस्था बन्न पुगेको हो ।

पञ्चायतको सुरु र मध्यमा उदाएको पुस्ता पार्टीको शीर्ष नेतृत्वबाट एकै पटक विस्थापित हुने कुरा झट्ट हेर्दा असामान्य लागे पनि युवा पंक्ति प्रभावकारी हस्तक्षेपसँगै सामान्य भएको छ । आज त्यसैले गर्दा कांग्रेसको देशभरको नेतृत्व पंक्तिमा, चाहे क्षेत्रीय सभापतिमा होस् वा पालिका सभापतिमा, २०६२–६३ मा आन्दोलनमा होमिएको पुस्ताको बहुमत पुगिसकेको छ । नेपाली कांग्रेसको आन्तरिक जीवनमा आएको यो भारी बदलावले नवनिर्वाचित सभापतिलाई पुरानै शैलीबाट चल्ने छुट भने दिनेछैन ।

नेपाली कांग्रेसको इतिहासमा पार्टी सभापति र प्रधानमन्त्री एउटै व्यक्ति हुने वा अलग–अलग भन्ने द्वन्द्व आजसम्म निरूपण हुन सकेको छैन । त्यसको व्यवस्थापन सहज तरिकाले भएको नजिर छैन । २००८ सालमा बीपी कोइराला र मातृका कोइरालाबीचको द्वन्द्व एवं २०४६ सालपछि कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाबीचको द्वन्द्व एवं गिरिजाप्रसाद र देउवाबीचको द्वन्द्वले सहज निकास पाएको थिएन । पार्टी दुई पटक टुक्रिएको थियो । पार्टी एकताको भविष्य सोचेका कार्यकर्ताका लागि देउवाले एकाएक प्रधानमन्त्रीका रूपमा पार्टी सभापतिमा प्रतिस्पर्धा गरेको क्षण गम्भीर बनिदिएको थियो । अधिवेशनको उद्घाटन सत्रमा देउवाले त्यतातर्फ प्रस्ट संकेत गरेका थिए । देउवाइतरका नेताहरूले आगामी निर्वाचनसम्म उनकै नेतृत्वमा कांग्रेस सरकारमा रहने कुरा गर्दा पनि उनी विश्वस्त हुन सकिरहेका थिएनन् । पार्टी सभापतिमा देउवाको जितसँगै नेपाली कांग्रेस एउटा गम्भीर संकटबाट भने बचेको छ ।

त्यसै गरी पार्टी सभापति देउवाले आफूसँगै निर्वाचित हुने महामन्त्रीहरूलाई कति स्पेस र काम गर्ने वातावरण दिन्छन्, त्यसले समेत उनको कार्यकाल मूल्यांकन गर्न सहज हुनेछ । झट्ट हेर्दा देउवाको प्रधानमन्त्रीको कुर्सी सुरक्षित देखिएको छ, सभापतिको ताज थप चार वर्षका लागि पक्का भएको छ तर त्यतिमै नेपाली कांग्रेसको पार्टी सभापतिको भूमिका सकिँदैन । नेपालको सबैभन्दा बूढो पार्टीलाई सबैभन्दा जवान पार्टी कसरी बनाउने, समसामयिक र सडकमा उठेका आन्दोलन कसरी सम्बोधन गर्ने र पार्टीभित्र क्रियाशील सदस्यताको कहिल्यै नटुंगिने विवादलाई कसरी सुल्झाउने भन्ने कुराले सभापतिका रूपमा देउवाको दोस्रो कार्यकालको परख हुनेछ ।

२०७४ सालको आम निर्वाचनमा क्रियाशील सदस्यहरूले नै रूख चिह्नमा मतदान नगरी अन्यत्र मतदान गरेको कुरा अरू कसैले नभई देउवाले नै बोलेका थिए । उनले त्यो समस्याबाट पार्टीलाई बाहिर निकाल्न सक्छन् ? यी यावत् चुनौतीका चाङबीच सभापतिको ताज दोस्रो पटक पहिरिँदै गर्दा उनको विजयमा कुनै उज्यालो नदेख्नेहरूलाई उनले असल कार्यहरूमार्फत जवाफ फर्काउन सकून् । उनका पाइलाहरू पार्टीको आन्तरिक जीवनको गतिहीनता रोक्न सक्षम बन्न सकून् । अहिलेलाई देउवालाई बधाई तथा शुभकामना !

प्रकाशित : पुस १, २०७८ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?