वित्तीय क्षेत्रमा ‘न्यु नर्मल’- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वित्तीय क्षेत्रमा ‘न्यु नर्मल’

दुर्गा कँडेल छत्कुली

न्यु नर्मलमा परिचितभन्दा फरक अवस्था भएकाले भिन्न ढंग तथा तरिकाबाट परिस्थितिको सामना गर्नुपर्ने हुन्छ । यस्तो परिस्थिति घरपरिवार, समाज तथा राष्ट्रहरूमा ठूला विपद्पछि आउने गर्छ । जब ठूला विपद्हरू आउँछन् तब तिनलाई व्यवस्थापन गर्न नयाँ तथा फरक प्रक्रियाबाट काम गर्नुपर्ने हुन्छ ।

पहिलो र दोस्रो विश्वयुद्ध, सन् २००७–२००८ को वित्तीय संकट, २००८–२०१२ को विश्व मन्दी, कोभिड–१९ महामारी आदिपछिका समय न्यु नर्मल हुन् ।

न्यु नर्मलमा वित्तीय क्षेत्रले मुख्यतः व्यावसायिक मोडललाई नयाँ ढंगबाट अघि बढाइरहेको छ । वित्तीय नेतृत्वले आफूलाई डिजिटल रणनीतिमा केन्द्रित गरी ग्राहकहरूलाई नयाँ तरिकाबाट सेवा दिने र कर्मचारीहरूलाई नयाँ सीप र क्षमताका लागि सशक्तीकरण गरिरहेको छ ।

वित्तीय क्षेत्रका प्रमुख खेलाडी बैंक तथा वित्तीय संस्थाहरू हुन् । वित्तीय बजारको विकासका लागि बेलायत, स्विट्जरल्यान्डजस्ता देशका बैंक तथा वित्तीय संस्थाहरू ग्राहकका इच्छा–आवश्यकतालाई नयाँ ढंगबाट पूरा गर्न अहिले संघर्ष गरिरहेका छन् । न्यु नर्मलमा विकसित देशहरूलाई गाह्रो भइरहेको छ भने नेपालजस्ता कम विकसित देशहरूले यस्तो परिस्थितिको सामना गर्न अझ संघर्ष गर्नुपर्ने हुन्छ ।

हरेक परिवर्तनपछि अवसर र चुनौती सँगसँगै आइपुग्छन् । फेरिएको परिस्थितिका चुनौतीलाई सामना गर्दै अवसरमा बदल्न सबल रणनीति बनाएर ग्राहकहरूका मागअनुसार सेवा दिन यहाँका बैंक तथा वित्तीय संस्थाहरू अग्रसर भइरहेका छन् । कोभिड–१९ पछिका अर्थात् न्यु नर्मलपछि वित्तीय क्षेत्रमा देखा परेका केही नौला अभ्यास हुन्—

डिजिटल उपकरणको प्रयोग : लामो लकडाउनमा पनि वित्तीय कारोबार बन्द नभएको हामीले अनुभव गर्‍यौं । मोबाइल बैंकिङ, एटीएम, ई–सेवा, कनेक्ट आईपीएस, क्रेडिट कार्डजस्ता माध्यम अझ बढी प्रयोगमा आए । कोभिडको तेस्रो लहरको चर्चा चलिरहँदा यस्ता डिजिटल माध्यमको महत्त्व अझ बढेर जानेछ ।

सेवा सुविधाको लागतमा कटौती : कार्यालयमै पुगेर गर्नुपर्ने कतिपय काम घरबाटै गर्न सकिँदो रहेछ भन्ने कोभिडकालमा थाहा भयो । जुम तथा अन्य भर्चुअल माध्यमले तालिम तथा छलफल घरबाटै हुने देखायो । यसले भौतिक उपस्थितिका लागि चाहिने समय र अर्थलाई पनि बचत गरिदियो, जसले गर्दा वित्तीय संस्थाहरूको सञ्चालन खर्च कम भएको छ ।

प्रविधिको ज्ञान : बैंक तथा वित्तीय संस्थाका कर्मचारी होऊन् वा सेवाग्राहीहरू, प्रविधिसँग नजिकिएका छन् । कर्मचारीहरूमा सीप, ज्ञान र क्षमताको विकास भएको छ भने ग्राहकहरूमा प्रविधिको प्रयोग गर्ने बानीको विकास ।

ई–बैंकिङ : नगद बोकेर टाढाटाढासम्म जानुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य भएको छ । डिजिटल माध्यमहरूले नगद बोकेर हिँड्नुपर्ने झन्झटको अन्त्य भएको छ, जसले कागजी नोटको सुरक्षा भएको छ भने नोटहरू छाप्ने लागतमा पनि बचत हुने देखिन्छ ।

पुनर्कर्जा सुविधा : कोभिड–१९ बाट थालिएको अर्थतन्त्र उकास्न सरकारले पुनर्कर्जा सुविधा अघि सारेको छ, जसले व्यवसायीहरूलाई राहत दिइरहेको छ ।

कोभिड–१९ पछिको परिवर्तित समयले ल्याएका चुनौतीहरू पनि उत्तिकै छन्, जसलाई बुँदागत रूपमा यसरी हेर्न सकिन्छ—

बढ्दो प्रतिस्पर्धा : प्रविधिको बढ्दो विकासले गर्दा, अब खरो प्रतिस्पर्धामा उत्रन सक्ने बैंक तथा वित्तीय संस्थाहरू मात्र सफल हुने निश्चितप्रायः छ । जसले आधुनिक तथा समयानुकूल प्रविधिमैत्री सेवासुविधा दिन्छन्, त्यस्ता संस्थाहरू नै बजारमा टिकिरहन्छन् ।

प्रविधिलगायत अन्य क्षेत्रमा लागत : प्रविधिको उपयोग गर्दै ग्राहकमैत्री सेवा दिनु बैंक तथा वित्तीय संस्थालाई अर्को चुनौती भएको छ । स्वास्थ्य मापदण्डहरू पूरा गर्दै अर्थात् लागत बढाउँदै सेवा दिन झनै गाह्रो छ ।

परिवर्तनको व्यवस्थापन : कोभिड–१९ पछिको परिस्थतिमा कर्मचारीहरूलाई अभ्यस्त तुल्याउनमा कठिनाइ भइरहेको छ । प्रविधिमैत्री कर्मचारीहरूबाट सेवाग्राहीले मागअनुसारको सेवा लिन सक्छन् भने परिवर्तनलाई सहजै नस्विकार्ने कर्मचारीहरूबाट सेवा लिन कठिन हुन्छ । यस्ता कर्मचारीहरूको व्यवस्थापन गम्भीर पक्ष हो । उनीहरूलाई प्रविधिमैत्री बनाउनु चुनौतीपूर्ण छ ।

कार्यालयको क्षेत्र तथा संरचनामा परिवर्तन : हिजो ठाउँठाउँमा धेरैभन्दा धेरै शाखा खोलेर, ठूल्ठूला व्यावसायिक भवनबाट सञ्चालित वित्तीय व्यवसायको संरचनामा ठूलो परिवर्तन गर्नुपर्ने भएको छ । अबको समयमा चुस्तदुरुस्त सेवा पाउने ग्राहकहरूको अपेक्षा, आशा तथा आवश्यकतालाई वित्तीय संस्थाहरूले पूरा गर्न योजनाबद्ध तयारी चाहिन्छ ।

कर्मचारीको शारीरिक क्रियाकलापमा कमी : शारीरिक क्रियाकलापमा कम भएकाले कर्मचारीहरूमा नसा च्यापिने, ढाड दुख्ने, हड्डी खिइने, भिटामिन ‘डी’ कम हुने, ब्लड प्रेसर बढ्नेजस्ता समस्या देखा परे । कति कर्मचारी डिप्रेसनमै पनि गए । उत्पादकत्व बढाउन, उत्प्रेरणा जगाउन तथा सेवासुविधा बढाउनमा वित्तीय संस्थाहरूले ध्यान दिनुपर्छ ।

तरलताको अभाव : कोभिड महामारी, डिजिटल उपकरणमा बढ्दो खर्चका कारण ब्यालेन्स अफ पेमेन्ट ऋणात्मक रूपमा बढेको छ । अर्कातिर निर्यातभन्दा आयात बढी हुनु, रेमिट्यान्समा कमी हुनु, सरकारी खर्च आकलन गरेभन्दा कम हुनु, विदेशी लगानीको आम्दानी फिर्ता जानु, अनुत्पादक क्षेत्रमा लगानी अत्यधिक हुनु आदि कारणले बैंक तथा वित्तीय संस्थामा तरलता अभाव भएको छ । अहिले यसकै चपेटामा पारिहेका छन् वित्तीय संस्थाहरू ।

परिवर्तनले ल्याउने विभिन्न अवसर र चुनौतीको सामना गर्दै आफूलाई समयानुकूल बनाउने वित्तीय संस्थाले सफलता पाउँछ । अवसरहरूलाई समयमै आफूअनुकूल बनाई त्यसको फाइदा लिन बैंक तथा वित्तीय संस्थाहरूले उचित योजनासहित यसको सामना गर्नुपर्छ । क्षति न्यूनीकरण गर्दै, संस्थागत उद्देश्य हासिल गर्नेतर्फ वित्तीय व्यवस्थापक सधैं सतर्क रहनुपर्ने न्यु नर्मलको आवश्यकता हो ।

प्रकाशित : मंसिर २९, २०७८ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्

कोभिडविरुद्ध हातेमालो

दुर्गा कँडेल छत्कुली

सारा विश्व कोभिड–संकटबाट गुज्रिरहेकै छ । विश्वभरि १८ करोड ३९ लाख ४८ हजार संक्रमित भएका छन् भने, ३९ लाख ८२ हजारको मृत्यु भइसकेको छ । भारतमा ४ लाखभन्दा बढीको ज्यान लगिसक्यो । नेपालमा ६ लाख ४४ हजार संक्रमित भइसके, मृतकको संख्या पनि ९ हजार २ सय पुगिसक्यो । 

कोभिडको तेस्रो लहर देखा परिसकेको समाचार आइरहेको छ । तर, नेपाल सरकारले पछिल्लो निषेधाज्ञालाई अलि खुकुलो बनाउनुबाहेक महामारी रोकथामको पूर्वतयारी प्रभावकारी रूपमा गर्न सकेकै छैन । जनताको जीवनरक्षा कसरी गर्ने भन्ने चिन्ता हुनुपर्ने बेला राजनीतिक नेताहरू कुर्सीकै खेल लागिरहेकै छन् । यद्यपि यस्तो ठूलो महामारीसँग जुध्ने सामर्थ्य सरकार एक्लैले राख्न सक्दैन । त्यसैले सेवाप्रदायक संस्था, निजी क्षेत्र, नागरिक समाज, सञ्चारमाध्यम तथा सरोकारवाला सबैले आ–आफ्ना तहबाट सकेको गर्नुपर्छ ।

सरकारी भूमिका : विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमण जति बेला पनि बढ्न सक्ने भएकाले सबै देश पूर्वतयारीमा रहनुपर्ने चेतावनी दिइरहेकै छ । नेपाललाई उसले उच्च जोखिमयुक्त मुलुकमा राखेको छ । पहिलो लहरमा कम क्षति बेहोरेको नेपालमा दोस्रो लहरले भने संक्रमित र मृतकको संख्या ह्वात्तै बढाइदियो । नेपाल भारतको भन्दा असामान्य स्थितिबाट गुज्रिनुपर्‍यो र स्थिति अझै सहज भइसकेको छैन । सरकार महामारी नियन्त्रणको दिशामा गम्भीर भइरहनैपर्छ, स्वास्थ्य सेवालाई चुस्त बनाउन र महामारीले अर्थतन्त्रमा पारेको असर कम गर्ने योजनामा लागिरहनैपर्छ । महामारीका बेला सरकारले ‘आफू नागरिकको साथमा छु’ भन्ने जनविश्वास दिलाउन सके क्षति केही हदसम्म कम गर्न सकिन्छ । विपत्का बेला आपत्कालीन निर्णय गर्दा र साधनस्रोतको व्यवस्थापन गर्दा जिम्मेवार तहका व्यक्तित्वहरूले विज्ञहरूको राय सुझाव लिनुपर्छ । छिमेकी देशहरूसँगको सहकार्य, नागरिकका सास्तीको सम्बोधन र शीघ्र निर्णय गर्नुपर्छ । दैनिक मजदुरीका भरमा जीवन चलाइरहेकाहरूको सरोकार सम्बोधनका लागि पनि सरकारले योजना ल्याउनुपर्छ ।

गैरसरकारी भूमिका : महामारीका बेला अत्यावश्यक सेवाबाहेकका सबै संघ–संस्था, व्यवसाय, कार्यालय बन्द भए, जसका कारण यस्ता संस्थाले निकै ठूलो संकटको सामना गर्नुपर्‍यो । अब लगानी र प्रतिफलको उचित प्रयोग गर्दै यस्ता संस्था जनसेवामा समर्पित हुने समय आएको छ । सेवा संख्यामा भन्दा पनि गुणात्मकतामा मापन गरिने भएकाले यस्ता संस्थाहरूले गुणात्मक सेवा दिई आफूलाई उदाहरणीय बनाउनुपर्छ । निजी लगानीका संघसंस्था वा व्यक्तिहरूले ‘महामारीसँग सम्बन्धित काम हाम्रो होइन, सरकारको हो’ भन्ने नसोची विपत्को घडीमा मानवहितका लागि हातेमालो गरिरहनुपर्छ । सबै तह र तप्काबाट यस्तो जिम्मेवारीबोध हुन सके सरकारको आत्मबल बढ्नेछ । निजी अस्पतालहरू यो विपत्मा स्वस्फूर्त अगाडि सर्नुपर्छ । निजी क्षेत्र राज्यको बलियो खम्बा भएकाले राष्ट्रिय संकटको घडीमा निजी क्षेत्रको सकारात्मक पहलले निकै राहत पुग्न सक्छ । त्यस्तै, देशको चौथो अंग मानिने सञ्चार क्षेत्रले तथ्यपूर्ण समाचारहरूको प्रवाह गर्नुपर्छ । जनमानसमा भ्रम पैदा हुने, डर बढ्ने र मानसिक असर पर्ने खालका समाचार दिन हुन्न ।

नागरिकको भूमिका : यति बेला हामी दोस्रो विश्वयुद्धपछिकै त्रासद समयमा छौं । हामी अदृश्य भाइरसविरुद्ध लडिरहेका छौं । अमेरिका, अस्ट्रेलिया, जापान, चीनजस्ता विकसित देशलाई त साह्रै गाह्रो भइरहेका बेला अरूको सहयोग ताक्ने हाम्रो जस्तो कमजोर अर्थतन्त्रले कसरी यसको सामना गर्ला ? सरकार र नागरिकको अवस्था भोलिका दिनमा के हुने हो, थाहा छैन । आज सरकारले महामारी नियन्त्रणका लागि के–कति काम गर्न सक्यो, के गरेन वा के गर्नुपर्थ्यो भन्नेमा धेरै जोड दिनुभन्दा पनि हामी स्वयं सचेत भई सरकारको पहलकदमीमा हातमा हात मिलाउनुपर्छ । कोरोनाविरुद्धको लडाइँमा विजय हासिल गर्न नागरिक स्तरबाटै पहल गर्नुको विकल्प छैन । भौतिक दूरी कायम गर्ने, मास्क लगाउने र साबुन–पानीले हात धुनेजस्तो सामान्य क्रियाकलापका लागि नागरिक गम्भीर नभएसम्म महामारीको रोकथाम हुन्न । नागरिकले आ–आफ्ना क्षेत्रबाट सकेको सहयोग गरे कोभिड–क्षतिलाई केही हदसम्म भए पनि कम गर्न सकिन्छ ।

महामारी रोकथाममा लाग्नु हामी सबैको कर्तव्य हो । सम्भावित चुनौती सामना गर्ने दीर्घकालीन योजना, त्यसलाई कार्यान्वयन गर्ने इच्छाशक्ति र सबैको साथ–सहयोगले मात्र कोरोना भाइरसविरुद्ध विजय हासिल गर्न सकिनेछ । कोभिडले निम्त्याएको निराशालाई चिरेर जनमानसमा आशा जगाउन पनि सबैको हातेमालो हुनुपर्छ ।

प्रकाशित : असार २०, २०७८ ०८:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×