दलहरूको आर्थिक हैसियत- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दलहरूको आर्थिक हैसियत

एकातिर राजनीतिक दलजस्तो आम नागरिकसँग प्रत्यक्ष सम्बन्ध रहने संस्थाको आर्थिक अनुशासनको कुरा छ, अर्कातिर भड्किलो, फजुल खर्च गर्ने विकृत प्रवृत्ति सम्बन्धमा नियमन, अनुगमन गर्ने राज्यको आधिकारिक एकाइ कुन हो भन्ने प्रश्न छ ।
मल्ल के. सुन्दर

यो मंसिर दलहरूको महाधिवेशन महिनाजस्तै भइदिएको छ । यस अवधिमा एमाले र राप्रपाले महाधिवेशन सके, कांग्रेसको सकिने चरणमा छ । कानुनी बाध्यताले गर्दा दलहरूलाई आवधिक महाधिवेशनबाट पन्छिने सुविधा छैन । नेतृत्व चयनका लागि महाधिवेशनबाट प्राप्त हुने वैधता अनिवार्य छ ।

दलीय व्यवस्थालाई दिगो र अझ बढी लोकतान्त्रिक बनाउँदै लग्न यस प्रकारको कानुनी प्रावधान अत्यावश्यक हुन्छ । महाधिवेशनहरूको यस माहोललाई दलीय राजनीतिक वृत्तभित्रबाट नियाल्दा सकरात्मक देखिन्छ । तर निरपेक्ष भएर राष्ट्रिय स्तरको बृहत्तर सेरोफेरोमा खोतलखातल गर्दा सामान्य नागरिकका दृष्टिले फेला पार्ने धरातलीय यथार्थ के हुन सक्छ होला ? अहिले आम चासो छ ।

महाधिवेशनको सम्पन्नताबाट प्राप्त हुने पहिलो आधारभूत कुरा नेतृत्वको वैधतामा नयाँ लालमोहर हो । यद्यपि यसबाट नयाँ अनुहार, नयाँ पुस्ताको अभ्युदय हुनेछ भन्ने निश्चय छैन । महाधिवेशनका नाउँमा सम्पन्न गरिने अर्को औपचारिकता भनेको नेतृत्वपंक्तिका ताल न तुलका लेखोटलाई राजनीतिक दस्तावेजका नाउँमा अनुमोदन गरिने अनुष्ठान पनि हो । यति हुँदाहुँदै पनि नागरिकस्तरमा स्वाभाविक खुलदुली हुन्छ— आखिर यी महाधिवेशनबाट जनताले के पाए ? मुलुकका लागि यिनले के दिए ?

यिनै सन्दर्भमा एउटा महत्त्वपूर्ण जिज्ञासा हो— दलहरूका महाधिवेशन व्यवस्थापनका नाउँमा गरिएको अथाह खर्च ! नारायणघाटमा सम्पन्न एमाले महाधिवेशनका क्रममा केवल मञ्च खडा गर्न मात्र छुट्ट्याइएको बजेट थियो— पचास लाख रुपैयाँ । अधिवेशन अवधिका लागि कुल विनियोजित खर्च सात करोड । समयमा अधिवेशन नसकिएपछि उक्त खर्च अझ बढ्यो । कांग्रेस अधिवेशन उद्घाटन सत्रका लागि मात्र तयार गरिएको मञ्च सेटका लागि विनियोजित बजेट पनि पच्चीस लाख भनिएको छ । अधिवेशनभर हुने थप खर्चको हिसाबकिताब आफ्नै ठाउँमा छ । त्यसो त, यी सब आम नागरिकका अगाडि सार्वजनिक गरिएका औपचारिक खर्च विवरण मात्र हुन्, यसअतिरिक्त अन्य अघोषित र अदृश्य खर्चको सूची कति लामो होला, अनुमान लगाउन सजिलो छैन ।

भनिन्छ, निष्ठा र सिद्धान्तका राजनीतिको अवसान हुँदै जाँदा आफ्नो रोब जमाउन दलहरूले रोज्ने सहज उपाय भनेको यस्तै तामझामको चाँजोपाँजो मिलाउने हो । हिजोका दिनमा निर्दलीय राजनीति टिकाउन राजादेखि उनका आसेपासे दरबारिया मतियारहरूसम्मले पञ्च र्‍यालीका नाउँमा अपुष्ट साधनस्रोत जुटाएर यस्तै खाले तमासा गर्थे, अनि तिनै गतिविधिको पृष्ठभूमि टेकेर उनीहरूले आफूहरूसँग विशाल जनाधार रहेको दाबी गर्थे । पञ्चायती व्यवस्था रहेन, पञ्चहरू पनि छैनन् तर फेरि पनि आज दलहरूले आ–आफ्ना महाधिवेशन आयोजनाका नाममा हिजैको पञ्चे शैलीमै रमिता गर्नमा किन तँछाडमछाड गरेका होलान् ? आम नागरिकलाई असहज भइरहेको यहीँनिर छ ।

बेलामौकामा दलहरूका तर्फबाट आयोजित अनेक खाले ठूलठूला भेला, प्रशिक्षण, सम्मेलन अनि जनप्रदर्शनहरू अनि तिनका व्यवस्थापनका लागि गरिने अमुक शीर्षकका खर्च — जसको फेहरिस्त अझ लामो छ — ले दलको स्रोत खोज्छन् । निर्वाचन माहोलमा त यस्तो खर्च झनै टीठलाग्दो हुन्छ । गाविसको वडास्तरमा प्रतिस्पर्धा गर्न पनि लाखौंको जोहो गर्नुपर्ने बाध्यता छ, अहिले । आम निर्वाचनका सिलसिलामा एक अमुक क्षेत्रको उम्मेदवार बन्नदेखि सिंगो मुलुकको चुनावी तयारीसम्मका लागि प्रत्येक दलले गर्ने खर्चको सीमा कति होला ? यसका लागि स्रोतको व्यवस्थापन कसरी गरिन्छ, अचम्मलाग्दो छ ।

हिजोका दिनमा विशेषतः आफूलाई वामपन्थी भन्ने कार्यकर्ताहरूले पार्टी सम्बन्धित गतिविधिहरूमा सामेल हुन, ठूलठूला र्‍यालीहरूमा भेला हुन गाउँघरदेखि पोकापन्तुरा तथा सामल साथै बोकेर हिँड्थे । ती अवसर उनीहरूका लागि त्याग, बलिदानमा प्रशिक्षित हुने साधना शिविरजत्तिकै हुन्थे । विगतमा सदस्य तथा कार्यकर्ताहरूले आवधिक रूपमा बुझाउने लेभी तथा चन्दाका अतिरिक्त पार्टीहरूका लागि अन्य आयस्रोत हुन्नथ्यो । मितव्ययिता तथा फजुल खर्च नियन्त्रण पार्टीको आन्तरिक जीवनको आधारभूत कार्यशैली हुन्थ्यो । आज पार्टीका भेला, प्रशिक्षण, बैठक र अधिवेशन भोजभतेरसहितको चाडपर्वझैं मोजमस्तीका रसिक दिनमा बदलिएका छन् । कार्यकर्ता र समर्थकहरूका लागि गाउँघरदेखि सहरबजारसम्म आउने–जाने एक प्रायोजित भ्रमणको सुखद अवसरजस्तै हुन्छन् यी कार्यक्रम । जसरी अहिले असीमित खर्च गर्न सक्ने क्षमता राजनीतिक दलहरूले आ–आफ्ना गतिविधिमार्फत देखाउने गरेका छन्, यसबाट पार्टीहरूको आर्थिक हैसियत कति अथाह होला भनेर अनुमान लगाउन सकिन्छ ।

दलहरूले यी सब खर्चको व्यवस्थापन कसरी गर्दै होलान् ? स्रोत कहाँबाट, कसरी जुटाए होलान् ? अब यो प्रश्न राजनीतिक वृत्तमा अनुत्तरित रहनु हुन्न । एकातिर राजनीतिक दलजस्तो आम नागरिकसँग प्रत्यक्ष सम्बन्ध रहने संस्थाको आर्थिक अनुशासनको कुरा छ । अर्कातिर यस खाले भड्किलो, फजुल खर्च गर्ने विकृत प्रवृत्ति सम्बन्धमा नियमन, अनुगमन गर्ने राज्यको आधिकारिक एकाइ कुन हो भन्ने सार्वजनिक प्रश्न पनि छ । आज जनता जान्न चाहन्छन्, निर्वाचन आयोगदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, विशेष प्रहरी, केन्द्रीय अनुसन्धान विभाग आदि कसको मातहत वा कार्यक्षेत्रले यसतर्फ सोधखोजका लागि अविलम्ब पहल गरे होलान् ? होइन भने संवैधानिक निकायहरूले उद्घोष गरिदिऊन्, राजनीतिक दलहरू यस्ता गतिविधिहरू सञ्चालन गर्न आर्थिक अनुशासनमा बाँधिनुपर्दैन, अमुक–अमुक आयका स्रोत सार्वजनिक गर्नु नपर्ने गरीकन उनीहरू पूर्णतः उन्मुक्तिप्राप्त छन् ।

तुइनका भरमा दैनिकी बिताउनुपर्ने दूरदराजका नेपालीजनका बुझाइमा हाल हाम्रा पार्टीका महाधिवेशनका लागि रित्त्याउँदै गरेको रकम दर्जनौं पहाडी खोलाहरूमा पक्की पुल बाँध्न मनग्गे हुन्छ । थुप्रै किलोमिटर ग्रामीण बाटो खोल्न, शिक्षाबाट वञ्चितहरूका लागि कतिपय विद्यालय भवन खडा गर्न यो रकमले पुग्छ । नुनसम्म पनि सहज उपलब्ध हुन नसक्ने सुदूरपश्चिम र कर्णाली भेगका हाम्रा नेपाली बन्धुहरूका लागि वर्षौंसम्म पुग्ने रसदपानीको बन्दोबस्त यसबाट गर्न पुग्छ । लोकतन्त्र, समाजवाद अनि जनताको सर्वोपरि हित नै राजनीतिको एक मात्र अभीष्ट ठान्ने नेतृत्ववर्गले न यसतर्फ कुनै हेक्का राख्यो, न त पार्टीपंक्तिभित्र यस खाले अनावश्यक खर्च किन गरिनुपर्‍यो भनेर कुनै प्रश्न नै उठाइयो ।

संगठनको आन्तरिक जीवनमा सिद्धान्त, निष्ठा, विधि तथा कार्ययोजना होइन बरु बाह्य जगत्मा गरिने तामझाम र शानशौकतबाटै पार्टीको प्रभुत्व र प्रभाव पुष्टि गर्छ भन्ने एक खाले भ्रम व्याप्त छ । त्यसको यथार्थ रूप नै अहिले भइरहेका विभिन्न दलहरूका महाधिवेशनको खर्चिला माहोल हुन्, यसमा अब द्विविधा रहेन । व्यवस्थापनका नाउँमा फजुल खर्च गर्न दलहरूबीच एक खाले प्रतिस्पर्धाजस्तै देखिएको मात्र नभई अर्को रूपमा अव्यक्त प्रवृत्ति नै बन्दै गइरहेको छ । यसअतिरिक्त यावत् कुराका लागि आर्थिक स्रोतको चाँजोपाँजो गर्न सक्नु नै पार्टीको क्षमता अभिवृद्धि हो भन्ने मनोग्रन्थि पनि त्यत्तिकै छ ।

अब कसैबाट छिपेको छैन, पार्टीहरूलाई गाँज्दै लगेको यस प्रवृत्तिले वर्तमान अवस्थामा दलहरूलाई घोषित–अघोषित रूपमा व्यापारिक बिचौलियासँगको सम्बन्ध–सम्पर्कको निकटतातिर घिसार्दै लगेको छ । अनि कमाउनु नै एक मात्र कर्म ठान्ने बिचौलियाहरूले राजनीतिक दलहरूको यो कमजोरीबारे विशद् जानकारी राख्छन् र उनीहरूको बुझाइ छ— आजको माहोलमा सहज र सुरक्षित लगानीको क्षेत्र भनेकै राष्ट्रिय राजनीति हो । दलहरूका नेतृत्वपंक्तिसँगको यस खाले निकटताप्रति व्यापारिक घराना र तिनका बिचौलियाहरू संकोची होइन, संरक्षण तथा सुखद परिणामप्रति विश्वस्त छन् । उनीहरूको अनुभवले सिद्ध गरेको छ— व्यवस्था यो वा त्यो होस्, नाममा केही छैन; सत्तामा ऊ वा त्यो होस्, व्यक्ति र शक्तिको भिन्नताले कुनै फरक पार्दैन; राजनीतिक वृत्तमा गरिएका लगानी भोलि हुने नीति, निर्णयका लागि फलदायी नै हुन्छ ।

संसदीय व्यवस्था पुनःस्थापनापश्चात् महाकाली सन्धि संसद्‍द्वारा अनुमोदनको पूर्वसन्ध्यादेखि प्रारम्भ भएको राजनीतिक दल र बिचौलियाहरूको निरन्तर साइनोका कारण राष्ट्रिय राजनीति आजसम्म आइपुग्दा कति कहालीलाग्दो बन्दै गयो भन्ने छर्लंग छ । राजनीतिक दलहरूका महाधिवेशनका क्रममा अनावश्यक र अस्वाभाविक खर्च र तडकभडक देख्दा मूल रूपमा आर्थिक व्यवस्थापनका आधार भनेका व्यापारिक घराना र बिचौलियाहरू नै हुन् भन्नेमा द्विविधा रहन्न । तर, यसले न दलहरूको दीर्घजीवनका लागि फलदायी वातावरण बनाउँछ न त लोकतन्त्रलाई उन्नत अवस्थामा पुर्‍याउँछ । राजनीतिक दलहरूको यस खाले पर्दापछाडि बिचौलियाहरूसँगको सहवासले अन्ततः राज्यसंयन्त्रमा जग गाड्ने भनेको दलाल पुँजीवादले मात्र हो ।

सिद्धान्त, दर्शन र विचार रित्तिँदै गर्दा केवल तामसिक अवस्थामा झकिझाउ बन्दै गरेका हाम्रा पार्टीका वर्तमान महाधिवेशनहरूले मुलुकलाई दिइरहेको सन्देश योभन्दा किञ्चित् पृथक् होइन ।

प्रकाशित : मंसिर २८, २०७८ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्

चीनका ‘सिनचियाङ बूढो’ !

‘सुय्मो धार्मिक आस्थाप्रति इमानदार छन्, उनका अनुभूति साधारण जीवनका परिधिभन्दा परका छन्, त्यसैले उनका शब्द र अभिव्यक्ति युनानी देवता डायोनिसियोसमा पाइने मादकता र सम्मोहनजत्तिकै छन् ।’
‘सिनचियाङ बूढो’ ले, चिनियाँ जनताको गहन बौद्धिक चेतनालाई प्रतिनिधित्व गर्छ । यी कथाले जीवन्त शब्दमा चीनको चरित्र उतारेका छन् ।
मल्ल के. सुन्दर

सन् २०१९ अप्रिलको अपराह्न । जेठो छोरा अनीशले एक जना विदेशी अतिथिलाई घरमा ल्याए । उनीसँगै थिए तीन जना चिनियाँ महिला । काठमाडौं विश्वविद्यालय, कन्फ्युसियस इन्स्टिच्युटले विशेषतः ताओ धर्म, महासिद्धि, योगिनी तथा तिब्बती बौद्ध सम्प्रदाय निगमपा विषयक अभिसंवाद कार्यक्रम राखेको रहेछ । प्रमुख वक्ताका रूपमा चीनबाट नेपाल आइपुगेका विशिष्ट व्यक्ति थिए, उनी । काठमाडौं विश्वविद्यालयमै चिनियाँ भाषा प्रध्यापन गरिरहेको छोरा अनीशले अभिसंवाद कार्यक्रममा दोभासेको भूमिका निभाएपछि दुवैको चिनाजानी भएको रहेछ ।

गोलो अनुहार, फराकिलो निधार, लामा–लामा केश र झुप्प दाह्री–जुंगा । त्यति उचाइ होइन, तर अन्य चिनियाँभन्दा फरक आकृतिका मानिस । उनीसँग साक्षात्कार हुनेबित्तिकै मेरो आँखा परेको थियो– उनका दुई आँखाका मध्यस्थानमा टल्किने ठूलै आकारको कोठीमा । कोठी थियो, तथागत बुद्धको मूर्तिमा भेटिने हर्मिकाजस्तै । उनको शारीरिक संरचना र भौतिक उपस्थितिले एउटा भिन्न तरंग प्रेषित गरेको थियो, उतिखेर । आफ्नै घरमा पहिलो जम्काभेट भएका उनी थिए– आधुनिक चिनियाँ साहित्यका एक शिखर पुरुष–सुय्मो !

स्थापित पहिचान

सुय्मो उनको पारिवारिक नाम होइन । चीनको उत्तर पश्चिमी सीमान्त प्रान्त कान्सुको लियान्कचाउमा जन्मेका उनलाई परिवारले चिनाएको नाम थियो– चेन काइहोङ्क । कलमजीवीका रूपमा आफूलाई स्थापित गराउँदै चिनियाँ आधुनिक साहित्यमा उनी सुय्मोका रूपमा चिनिए । सु अर्थात् हिउँ, मो अर्थात् मरुभूमि– सम्भवत् यसको प्रतीकात्मक अर्थ हुन्छ– मरुस्थलीय हिउँ !

कान्सु प्रान्तको लेखक संघका उपाध्यक्ष उनी ‘कान्सु प्रान्तका अति सम्मानित विशेषज्ञ’, ‘गुण र सौन्दर्य पक्षयुक्त कान्सुका महान् साहित्यकार’, ‘कान्सु प्रान्तका उच्च सृजनशील प्रतिभा’, ‘कान्सु प्रान्तका अग्रणी प्रतिभा’ आदि पदबाट सम्मानित छन् । चिनियाँ संस्कृति मन्त्रालयअन्तर्गत सांस्कृतिक विभागद्वारा सन् २०१५ का लागि सुय्मोलाई चीनको प्रतिनिधिमूलक संस्कृतिको दस उच्च व्यक्तित्वमध्ये एकमा छानिएको थियो ।

उनी चीनको प्रतिष्ठित फेन्ङ्ग मु साहित्य पुरस्कार, उपन्यास लेखनीका लागि सांघाई महान् पुरस्कार, महान् रक्तिम चील साहित्यिक पुरस्कार, तुङ्गहाङ्ग साहित्य तथा कला पुरस्कारबाट सम्मानित छन् । कान्सु प्रान्तीय जनसरकारका तर्फबाट प्रदान गरिने तुङ्गहाङ्ग साहित्य तथा कला पुरस्कार ६ पटक र कान्सु साहित्यिक संगठन तथा लेखक संघबाट संयुक्त रूपमा दिइने हुवाङहे नदी साहित्य पुरस्कार ३ पटकसम्म पाएका छन् उनले ।

सृजनशील लेखनीका अतिरिक्त सुय्मोका विशिष्टता हुन्– चीनको सुदूरपश्चिम मरुस्थलीय सीमान्तकृत समुदायका रहनसहन, जीवनशैली, आस्था, विश्वास अनि त्यहाँका समुदायले बाँच्नका लागि युगौंदेखि प्रकृतिसँग जुध्दै गरिरहेको संघर्षको सूक्ष्म अध्ययन । लेखक स्वंय तीनै मरुस्थलीय जीवनपद्धतिको धूप छायामा हुर्के–बढेका मानिस थिए । उनको अभिव्यक्तिमा कल्पनातीत विवरणभन्दा स्वानुभूति र भोगाइको जीवन्त छविको बाहुल्य छ । एक अर्थमा उनका हरफहरू साहित्यिक अंशभन्दा पनि जीवन साधनाका वकपत्रजस्ता लाग्छन् । प्रत्येक क्षण पुस्तकभित्र लेखकले उभ्याइदिएका पात्रसँग भन्दा जिउँदा मानिससँग साक्षात्कार भइरहन्छ । सम्भवतः त्यसैले कतिपय प्रसंगमा अत्यन्त भिन्न सामाजिक पृष्ठभूमिका हामीजस्ता पाठकका लागि सुय्मोका पात्रका भोगाइ कल्पनाभन्दा निकै बाहिरका विषय हुने गर्छन् ।

चिनियाँ भाषामा थुप्रै ग्रन्थ प्रकाशित गरिसकेका सुय्मोका झन्डै एक दर्जन पुस्तक अंग्रेजीमा पनि अनूदित छन् । तीमध्ये कतिपय गैरआख्यान विधाका छन् ।

फरक जीवनधारा

साहित्यिक वृत्तमा आफ्नै विशिष्ट परिवेश स्थापित गर्न सफल सुय्मो जीवनदर्शन तथा आस्थागत कोणदेखि भिन्न छन् । समसामयिक चिनियाँ समाजले उनलाई एक उच्चकोटीका कलमजीवीको रूपमा मात्रै होइन मानव जीवनको सर्वाङ्ग पक्षलाई आफ्नै तौरतरिकाले बुझ्ने–बुझाउने एक साधकका रूपमा चिन्ने गर्छ । पारिवारिक पृष्ठभूमि तथा शैशवकालदेखिकै संस्कारले उनी प्रारम्भदेखि नै बुद्ध धर्ममा रहँदै आए । चिनियाँ समाजमा हजारौं वर्षदेखि निरन्तरता पाइरहेको दार्शनिक लाउत्सेको ताओ सम्प्रदाय थियो अनि त्यसले निर्दिष्टि गरेको करुणा, मानवता र मितव्ययितासम्बन्धी जीवन दर्शन, संहिता र नीति थियो ।

लाउत्से दर्शनको प्रभाव त उनमा छँदै थियो त्यसअतिरिक्त अन्तर्मनमा थियो– तिब्बती बौद्ध परम्परा पनि । लाउत्सेले ताओ सम्प्रदायको प्रवर्द्धनका क्रममा सचेत गराउने गरेको ‘स्वस्फूर्त’ वा ‘स्वाभाविक’ कर्तव्यपालनाको अनुशीलनमा अभ्यस्त हुँदै सुय्मो सगरजस्तै अनन्त, सागरजस्तै गहिरो तथा समीर जत्तिकै स्वच्छ बन्ने अभीष्टसहित आत्मसंश्लेषणतिर लागे ।

तिब्बती बौद्ध जीवनशैलीप्रति सुय्मो यति विघ्न लहसिँदै गए कि अन्ततः साङ्गपा काग्यु सम्प्रदाय उनको रोजाइमा पर्‍यो । वर्षौंको साधना, एकान्तवास, ध्यान उनको जीवनको महत्त्वपूर्ण अंश बन्यो । थाहा छैन यथार्थवादी, भौतिकवादी तथा विज्ञानसम्मत चिन्तनका पक्षधरहरू यसलाई कुन रूपमा व्याख्या गर्लान् ! तर, सुय्मो आफैंले लेखेका पंक्तिअनुसार, कठोर साधना र एकाग्रहको माध्यमबाट साङ्गपा काग्यु सम्प्रदायका मूल गुरु खेम्पो नाल्जोरपासँग साक्षात्कार गर्न उनी सफल भए । अधिभौतिक माध्यमबाट स्थापित त्यस सम्पर्कका क्रममा हासिल गरेको अनेकन् गुह्य मन्त्र उनको स्मृतिमा जीवन्त छन् । तिनै मन्त्रलाई निर्दिष्ट मानेर आफूले वर्तमान जीवनयापन गर्दै आएको उनको दाबी छ ।

तिब्बती नील वृत्तान्तअनुसार, खेम्पो नाल्जोरपाको जीवनकाल सन् १०५०–११२७ तिरको हो । बोन धर्म सम्प्रदायका महागुरु यिनीे आध्यात्मिक यात्राका क्रममा दुईपटक नेपाल आइपुगेका थिए । काग्युअन्तर्गत सोङ्गपा सम्प्रदाय यिनले नै सुरु गरेका थिए ।

अहिले सुय्मो साङ्गपा काग्यु सम्प्रदायअन्तर्गत महासिद्धि, योगिनी, बज्रबाराही आदिको आराधनामा रमाउँछन् । तिनकै सम्बन्धित शोधखोजका विवरण लेखन रुचाउँछन् । यिनै आध्यात्मिक तृष्णावरपरका एक विषद् कृति ‘द होली मन्क एन्ड द स्प्रिट ओमन’ सुय्मोले पाठकसमक्ष समर्पण गरेका छन्, जहाँ नेपालको सांस्कृतिक परम्पराअन्तर्गत जीवित देवी कुमारी, बज्रवाराहीदेखि कपिलवस्तुका सन्दर्भ पनि छन् ।

उनले रोजेको जीवनशैली अनि चिन्तनधाराका आधारमा चिनियाँहरू सुय्मोलाई साहित्यकारभन्दा एउटा योगीका रूपमा भेट्छन् ।

असामान्यपन, सामान्य जीवन

न्यून आय भएको परिवारमा जन्मेका सुय्मोको जीवन सामान्य चिनियाँ नागरिकको भन्दा पृथक् थिएन । जन्मथलोको घर अझै साँघुरो थियो । सहरमा स्थानन्तरण भएपछि उनको आवासको अवस्थामा केही सुधार भयो । तर, उनका छोरा चेन यिसिन (जो आफैं पनि आख्यानकार हुन्) पूर्वस्मृति उल्लेख गर्छन्, ‘वसन्त महोत्सव अर्थात् चिनियाँ नयाँ वर्ष पर्व, जुन अवसरमा सिंगो चिनियाँहरू सबै कुरा बिर्सेर, सबै काम छाडेर, आफ्नो श्वासभन्दा पर रहेकाहरू पनि टाढा टाढादेखि घर परिवारसँग जमघट गर्न आइपुग्छन् । भोज भतेर, नाचगान, पिउनु पिलाउनु, राम्रो लुगामा सजिएर घुमफिर गर्नु एउटा प्रचलन नै हो । त्यसमा पनि लानचाउ सहर झ्याङ्ग खेल (एक खाले जुवा) का लागि चर्चित छ, जहाँ एउटा सार्वजनिक पार्कभित्र मात्रै लगभग दस हजार जुवा खाल चलेको हुन्छ । तर, सुय्मो न त कहिल्यै जुवाको खालमा बस्छन्, न त कुनै बाजागाजा, नागगानसहित रमाइलो गर्न भेला हुन्छ ।

बाहिर सबै जना चाडपर्व मनाउन व्यस्त हुँदा उनी कोठाभित्र पुस्तकको संसारमा हराइरहेका हुन्छन् । उनलाई कुन बेला चाड सुरु भयो, कुन दिन सकियो भन्नेसम्म पनि अत्तोपत्तो हुन्न । बिहानको चिया समयमा पनि किताव, अपराह्न खानाको टेबुलमा पनि किताब, जुनसुकै समयमा पनि उनी किताबसँग हुन्छन् । चाहे कारमा यात्रा गरिरहेका बेला होस् वा बाथरुमभित्र नुहाउन बाथटबमा बस्दासम्म पनि उनी किताबको साथ छाड्दैनन् ।’ सुय्मोका परिवारजन भन्छन्, ‘उनीहरूको घरभित्र कोठाको पर्खाल पनि किताब चाङ मिलाएर उठाइएका छन् । घरका लबी अनि भर्‍याङमा पनि किताबकै संसार छ ।’ एक अर्थमा सुय्मो सही अर्थमा एक किताबी कीरा हुन् ।

किताबप्रतिको उनको आसक्ति यति तीव्र खालको छ कि आफ्नो आयको अधिकांश हिस्सा किताब किन्न खर्चिन्छन् । घरभन्दा पर कहीँकतै पुग्दा उनको पहिलो गन्तब्य बन्छ– किताब पसल । जुनसुकै नयाँ सहरमा पुगे पनि उनी किताबपसल सहजै भेट्टाउँछन् । किताबसँग यो घनिष्ठताले उनी आफ्ना मित्रबन्धु र आफन्त कसैलाई पनि आफूसँग भएको किताब सापट दिन रुचाउँदैनन् ।

कुनै कामविशेषबाट पारिश्रमिकका रूपमा सुय्मोले पचपन्न युआन हातमा पारे । उनकी श्रीमती सदैव कपडाको जुत्ता लगाएर हिँड्थिन्, छालाको जुत्ता उनीहरूका लागि विलासिताको सामग्री थियो । तर, सुय्मोले आफूसँग भएको पैसाबाट श्रीमतीलाई छालाको नयाँ जुत्ता किनिदिने निधो गरे । छोरा र श्रीमतीलाई लिएर उनी बजार पुगे । श्रीमती पसलमा आफ्नो रोजाइको जुत्ता खोज्न व्यस्त रहिन् । सुय्मो भने भौंतारिदै त्यही बजारको एक कुनाको पुस्तक पसल चहार्न थाले । उनलाई केही पुस्तक मन परे, पचपन्न युआन पुस्तककै लागि ठिक्क भयो । जुत्ता किन्ने रहरमा बजार पुगेकी श्रीमती रित्तो हात घर फिरिन् । यी हुन् सुय्मोको असामान्यपन !

एक समय उनी गाउँको विद्यालय शिक्षक थिए । शिक्षा मन्त्रालयको बोर्डको छनोटमा परेपछि पढाउन उनी सहर पुगे । त्यतिबेलासम्म उनका चेहरा लामालामा दारी जुँगाले ढाकिसकेको थियो । सम्बन्धित सरकारी अधिकारीले उनको त्यसखाले आकृति मन पराएनन् अनि ‘नोकरी गर्ने हो भने पहिले दारी जुँगा फालेर चिटिक्क पारेर आउनू’ भन्ने सर्त राखे अन्यथा शिक्षकको काममा नलगाउने भए । आफ्नो फरक पहिचानको प्रतीक बनिसकेको दारी–जुँगा त्याग्न उनी कदापि तयार भएनन् बरु जागिर त्यागेर खाली हात गाउँ फर्के । यो हो सुय्मोको असामान्य स्वभाव !

फरक धारको प्रतिनिधि

जनवादी गणतन्त्र चीनको स्थापनापश्चात् चिनियाँ साहित्यवृत्तमा विकसित मूलधारको प्रवृत्ति प्रगतिवाद हो । उनीहरू मार्क्सवाद–लेनिनवाद र माओ विचारधारालाई कला–साहित्य फाँटको निर्विकल्प निर्दिष्ट सिद्धान्त ठान्थे । सन् ८० को दशकपश्चात् चिनियाँ नेतृत्वमा आएको परिवर्तन र नौलो राजनीतिक सोचले चीनको राजनीतिक, सामाजिक, आर्थिक र भौतिक प्रगतिले फन्को मार्‍यो । साहित्यिक सृजनाको आयाममा पनि परम्परागत प्रवृतिभन्दा फरक धार सल्बलायो । खुलापन र निर्बन्धताको नयाँ परिवेशमा सर्जकहरूले आ–आफ्नै रोजाइमा फरक धारमा पस्ने जमर्को गरे । वर्तमानमा चीनमा उदय भएका फरक धारका कलमजीवीमध्ये सुय्मो अग्रज हुन् ।

नयाँ चीनको साहित्यले लामो समयसम्म बौद्धिक चेतनालाई प्रभावित पार्ने उद्देश्यले विचारलाई प्राथमिकता दिँदै आयो । आर्थिक सम्पन्नता, उकालो लागेको जीवनस्तर अनि विज्ञान र भौतिक प्रगतिको वर्तमान परिवेशमा चिनियाँ पाठकहरू आफ्ना अव्यक्त तुष्टिका लागि निरन्तर फरक स्वादको खोजीमा रहे । सुय्मोजस्ता फरक धारका संवाहकका लेखाइमा पाठकले चेतनाको खुराक मात्रै होइन, हृदयको भावना पनि भेट्टाए । भौतिक प्राप्तिको सीमित घेराबाट उन्मुक्त भएर चेतनाको अनन्त आलोकमा विचरण गर्ने धरातल सुय्मोले तयार गरिदिए ।

अहिले चिनियाँ नयाँ पिँढीबीच यस्तो एउटा जमात बन्दै गएको छ, जो सुय्मोको लेखनशैलीको मादकतामा यसरी झुम्छन् कि उनी रचित नयाँ पुस्तक प्रकाशित भए क्षणभरमै लाखौं प्रति बिक्री हुन्छ । चिनियाँ भाषाको मात्र होइन सुय्मोले लेखेको जुनसुकै भाषाको पुस्तक पनि यो जमातले उठाउँछ, पुस्तकको भाषा अगम्य किन नहोस् ! उनीप्रतिको श्रद्धा र प्रेमले नै यो सम्भव भएको हो । वर्तमान समयमा चीन र चीनबाहिर पनि अत्यधिक पढिने लेखकको पंक्तिमा उभिएका छन् सुय्मो ।

समालोचकका दृष्टिमा

चिनियाँको जीवनशैली मात्र होइन, उनीहरूको आत्मासमेत नियाल्न सक्ने क्षमताका कारण सुय्मोका साहित्यिक कृतिमा धरातलीय यथार्थका पात्रहरू, उनीहरूका भोगाइ र अन्तरकुन्तरका गहन भावना पाइन्छन् । विशेषत पश्चिम चीनको मरुस्थलीय भागको सांस्कृतिक रीति, चाड–पर्व र जीवनशैली समेटिएको उनको आख्यानमध्ये ‘डिजर्ट हन्टर’ उल्लेख्यनीय छ । दुई महिला पात्रले आरम्भदेखि अन्त्यसम्मै जीवन रक्षार्थ निर्जन मरुभूमिमा गरेको साहसिक संघर्षको शब्दचित्र बेजोड छ । प्रकृति–मानिसबीचको अन्तरसम्बन्ध र अन्तरसंघर्षको रोमाञ्चक यथार्थ विवरणले प्रत्येक क्षण पाठकलाई सन्त्रस्त, दुःखी र उत्सुक बनाउँछ ।

उनको विशिष्ट आख्यानमध्ये एक हो– ‘सिनचियाङ बूढो ।’ चिनियाँ ग्रामीण समाजको विगत, त्यसैबीच भेटिने अत्यन्त सामान्य मानिस सिनचियाङको निर्जन जीवनयात्रा, उसको दुरवस्थामय दिन, संघर्षबाट कहिल्यै नथाक्ने र जीवनबाट पलायन हुन नचाहने एक जीर्ण वृद्ध, उभित्र गुम्सिएका उत्कण्ठा, अव्यक्त तृष्णा र मोहको अतियथार्थ विवरणको संगालो हो यो कथा । बेलायती अखबार गार्डियनले लेखेको छ, ‘सिनचियाङ बूढो आधुनिक चिनियाँ साहित्यको सर्वोकृष्ट पाँच कथामध्ये एक हो ।’ फ्रान्सेली लेखक ब्रिगेट डुजनको नजरमा ‘सिनचियाङ बूढो, जसले बृहत्तर अर्थमा चिनियाँ जनताका गहन बौद्धिक चेतनाको प्रतिनिधित्व गर्छ, उसको चरित्रलाई यसमा जीवन्त तरिकाले शब्दमा उतारेको छ ।’

उनीबारे चिनियाँ बौद्धिक जगत्को मूल्यांकन आफ्नै खालको छ । पेकिङ विश्वविद्यालयको भाषा तथा साहित्य विभाग, समसामयिक साहित्य शिक्षण तथा अनुसन्धान शाखाका प्राध्यापक चेन सियावमिङ लेख्छन्, ‘सुय्मो धार्मिक आस्थाप्रति इमानदार छन्, उनका अनुभूति साधारण जीवनका परिधिभन्दा परका छन्, त्यसैले उनका शब्द र अभिव्यक्ति युनानी देवता डायोनिसियोसमा पाइने मादकता र सम्मोहनजत्तिकै छन् ।’

पुछारमा

त्यसदिन हाम्रो भेटघाटमा सुय्मोले आफ्ना थुप्रै पुस्तक उपहारस्वरूप मलाई थमाएर गए । मैले हात पारेमध्ये एक अंग्रेजी अनूदित संकलन हो– ‘सेलेक्टेड स्टोरोज बाई सुय्मो ।’ त्यसैको नेपाली अनुवाद हो– ‘सिनचियाङ बूढो’ । किताबमा चारवटा लामा आख्यान छन्– ‘सुन्दरता’ र ‘त्यो रात’ कथाले पाठकलाई बाँधिराख्छन् । १७ अन्तर्राष्ट्रिय भाषामा अनूदित भइसक्यो यो किताब । नेपाली पाठकका लागि ‘सिनचियाङ बूढो’ को अनुवाद गर्नु मेरा लागि सुखद क्षण हो ।

प्रकाशित : मंसिर ४, २०७८ १०:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×