१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०
डेटलाइन तराई

कांग्रेस गुडाउने पांग्रा

‘गंगा गए गंगादास, जमुना गए जमुनादास’ को शैलीमा ठाउँ र समुदाय हेरेर कुरा राख्दैमा हुँदैन, हिमाल–पहाड–मधेस जोड्ने सामञ्जस्यपूर्ण कार्यशैली अवलम्बन गर्नुपर्छ ।
चन्द्रकिशोर

चौधौं महाधिवेशन नजिकिएसँगै नेपाली कांग्रेसप्रति अपेक्षाका साथै आशंका पनि बढेका छन् । दलको शीर्ष पदका लागि दाबी गर्ने नामहरूको वाहवाहीभित्र छिरेर यसका वस्तुगत समस्या केलाउँदा धेरैको भ्रम टुटेको छ । २०४६ पछिको राजनीतिमा कांग्रेसले आफूलाई संस्थापन मनोविज्ञानमा राख्दै आएको छ ।

कांग्रेस गुडाउने पांग्रा

राज्य र समाजबीचको सम्बन्ध अनि त्यसमा कांग्रेसको भूमिका जेलिएको छ, जसबाट उब्जिएका प्रभाव र दुष्परिणामबारे गहन बहसको अभाव छ ।

नेपाली कांग्रेसको उदय कस्तो परिस्थितिमा भएको थियो र आजको परिस्थितिमा यसको अवतरण कस्तो हुनुपर्ने भन्नेबारे पनि सार्वजनिक वृत्तमा गम्भीर बहस पाइँदैन । मुलुक संक्रमणकालीन जटिलता रराजनीतिक उपलब्धि रक्षाको मोडमा उभिएका बेला कांग्रेस महाधिवेशनले तय गर्ने नीतिले राजनीतिलाई धेरै हदसम्म प्रभावित गर्नेछ । यता महाधिवेशन नजिकिए पनि नेतृत्वका लागि मात्रै प्रतिस्पर्धा देखिएको छ, वैचारिक बहस भएको पाइँदैन । त्यसो त यसअघिका कांग्रेस महाधिवेशनहरूमा पनि नेतृत्वमा को पुग्ने भन्ने विषयमै ज्यादा प्रतिस्पर्धा र मतभेद हुने गथ्र्यो, वैचारिक बहस कमै मात्र हुन्थ्यो । यसपटकको महाधिवेशनमा पनि वैचारिक बहसभन्दा नेतृत्वकै विषयले प्राथमिकता पाएको छ ।मूलत:महाधिवेशन नेतृत्वको ‘पालकी’ उठाउनमै बढी तत्पर भएको पाइन्छ ।

यस्तोमा कांग्रेसप्रति असन्तुष्टि बढ्दै गैरहेको छ, खालि असन्तुष्टि अभिव्यक्त गर्ने तरिका मात्र फरकफरक छन् । कोही टिप्पणी गरेर त कोही दबाब समूह खडा गरेर असन्तुष्टिलाई अभिव्यक्ति दिइरहेका छन् । त्यसै गरी निष्क्रिय र उदासीन कार्यकर्ताहरूको ठूलो पंक्ति पनि छ । कांग्रेसलाई बलियो बनाउन र प्राप्त राजनीतिक परिवर्तनलाई बचाउन यी दुइटैमनोभावलाई ध्यानमा राखी सुधारका उपायप्रति संवेदनशील हुनुपर्ने हो । तर त्यस्तो हुन सकिरहेको छैन । फलस्वरूप कांग्रेसको परम्परागत मताधारमा असन्तुष्टि अभिव्यक्त हुने क्रम रोकिएन, जसको प्रमाण हो— पछिल्लो निर्वाचनमा उसले पाएको हैसियत ।

जो नेतृत्वका आकांक्षी छन्, कसैले पनि नयाँलिक समाउन चाहेका छैनन्; सबैले उही पुरानो लिकमा हिँड्नु मुनासिब मात्र हैन, सुरक्षित पनि ठानिरहेका छन् । नयाँ गोरेटो बनाउन खोज्दा त्यो उबडखाबड र अनिश्चित पनि हुन सक्छ । कतिपय अवस्थामा समाउन चाहेको नयाँलिक प्रचलित धारको विपरीत हुनसक्छ । पुरानो लिकमा हिँड्दा त्यसले अग्लोमा, उचाइमा नपुर्‍याए पनि अगाडि बढाइराख्छ । त्यसैले नेतृत्वका जोकोही पनि महत्त्वाकांक्षी पुरानै लिकमा हिँड्नु सुरक्षित महसुस गर्छन् । आफ्नो जन्मकालमा कांग्रेसले हलो क्रान्तिजस्ता सामाजिक आन्दोलन, विराटनगरको चर्चित मजदुर आन्दोलन गर्‍यो । पहिलो पटक संसदीय निर्वाचन जितेर सरकारको नेतृत्व गर्न पुग्दा छोटो अवधिमै वनको राष्ट्रियकरण, बिर्ताप्रथाको उन्मूलन, 'राजारजौटा' उन्मूलन, सहकारी अभियान, क्रान्तिकारी भूमि कार्यक्रम, औद्योगिक विकास कार्यक्रम, स्वतन्त्र विदेशनीतिजस्ता अग्रगामी कार्यहरूको थालनी गर्‍यो । २००७, २०४६ र २०६३ का राजनीतिक घुम्तीहरूको अगुवाइ गर्‍यो । तर कांग्रेस फगत इतिहासको ब्याज खान पल्केको छ ।समाजका जल्दाबल्दा समस्याहरूबाट आफूलाई विमुख राख्ने गरेको छ । समाधानका लागि प्रस्ट अवधारणा र अडान राख्यो भने ‘अलोकप्रिय’ भइन्छ भन्ने भय छ यसभित्र । सार्वजनिक शिक्षा, कृषि र स्वास्थ्य यथास्थितिमै राख्ने, नाफाखोर वृत्तलाई चुँडाल्ने कुनै इच्छाशक्ति छैन । सामाजिक उन्नति र न्यायपूर्ण समाजका लागि गरिनुपर्ने अपरिहार्य प्रयत्नप्रति कुनै पनि नेताले साहसिक दृष्टि राख्न सकेका छैनन् । नेपाली कांग्रेसको झन्डामा रहेको एउटा रातो भागले आर्थिक र सामाजिक क्रान्ति भन्ने बुझाउँछ भन्नेबारे चासो नदिएको लामै समय भैसक्यो । त्यसैले यो पार्टी ७५ वर्ष पुग्न लाग्दा एउटा प्रश्न टड्कारो भएको छ— कसरी बचाउने कांग्रेस ?

२०५९ असारमा विभाजित भएको यो पार्टी त्यसको पाँच वर्षपछि २०६४ मा एकीकरण भएको थियो । त्यसबेला एकीकरण गर्ने एक पक्षका नेता शेरबहादुर देउवा यतिखेर संस्थापन भएका छन् । उनीबाट असन्तुष्ट र असहमतहरू ‘संस्थापनइतर’ भनेर चिनिन्छन् । तर त्यतिखेरको एकीकरण भावनात्मक र राजनीतिक हुन नसकेपनि त्यसलेसंवैधानिक राजतन्त्रको नीति परिवर्तन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको नयाँ नीति अंगीकार गरेको थियो । संघीय लोकतान्त्रिक गणतन्त्रलाई आफ्नो प्रमुख राजनीतिक कार्यदिशा बनाउने कांग्रेसको त्यो निर्णय क्रान्तिकारी थियो । यतिखेर कांग्रेसले भावनात्मक रूपमा आफूलाई ऐक्यबद्ध गर्नु जरुरी छ ।किनकि जिल्लातहमा कांग्रेसको सफाया कांग्रेसीहरूबाटै भैरहेको छ ।महाधिवेशनमा को विजेता भन्छभन्दा पनि तल्लो तहसम्म कांग्रेसमा भावनात्मक ज्वार कसरी कायम गर्न सकिन्छ भन्ने मूल पक्ष हो ।

कम्युनिस्ट पार्टीहरूजस्तै कांग्रेसमा हालका लागि टुट–फुटको खतरा त छैन तर सत्ता, शक्ति र महत्त्वाकांक्षा नै दलको घरझगडाको बीउ बनिरहेकै छ । कांग्रेसको आन्तरिक झगडाले राजनीतिको न्यूनतम मूल्य, मान्यता र मर्यादालाई समेत नाघ्ने गरेको छ । कांग्रेसप्रति जनविश्वास घट्नु लोकतन्त्रको भविष्यका लागि कुनै पनि अर्थमा शुभलक्षण होइन । कांग्रेसको सान्दर्भिकता अझै छ भनेर प्रस्ट्याउने मौका हो— महाधिवेशन ।

कांग्रेसले लोकतान्त्रिक समाजवादको माला जपेर मात्रै हुँदैन, न त केवल बीपीमै अल्झिराखेर हुन्छ । बीपीउत्तरकालमा समाजले खोजिरहेको परिवर्तनअनुसार कांग्रेसले आफ्नो संरचनामा सुधार र विभिन्न सामाजिक आन्दोलनलाई सम्बोधन गर्ने सामथ्र्य विकास गर्नु पनि उत्तिकै आवश्यक छ । समयको हाँकसँग नमिल्ने नीति र असंगतिपूर्ण संरचना बदल्न पनि तयार हुनुपर्ने बेला आएको छ । ‘गंगा गए गंगादास, जमुना गए जमुनादास’ को शैलीमा ठाउँ र समुदाय हेरेर कुरा राख्दैमा हुँदैन, हिमाल–पहाड–मधेस जोड्ने सामञ्जस्यपूर्ण कार्यशैली अवलम्बन गर्नुपर्छ । त्यसैगरी कांग्रेसमाथि चौतर्फी आक्रमण भैरहँदा त्यो वर्तमान सभापतिमाथि मात्र भएको भन्ने आत्मरतिमा रमाएर अरू सभापतिका दाबेदार पनि एउटा भयानक भ्रममा बसेजस्तो देखिन्छ । कांग्रेसको वरपर गोलबन्द भएको वा किनारमा बसेर हेरिरहेको परिवर्तन पक्षधर समूहको निष्कर्ष यही हो ।

भर्खरै महाधिवेशन सम्पन्न गरेको एमाले र महाधिवेशनमा होमिएको कांग्रेसको भविष्य एकअर्कासँग जोडिएको छ । कांग्रेसको कोसिसबिना एमालेले चुनौती बेहोर्दैन । एमालेले आगामी आमनिर्वाचनमा आफ्नो मुख्य प्रतिस्पर्धी कांग्रेसलाई नै मानेको छ । यस्तोमा कांग्रेसले आफ्नो नेतृत्व छनोट भागबन्डाका आधारमा गर्ने गल्ती गर्‍यो भने महाधिवेशनबाट तागतको ठाउँमा मन्दविष प्राप्त हुनेछ । शीर्ष नेतृत्वमा उही पुरानो नेतृत्वकै बीचबाट आउने हो भने कार्यसमितिको वर्तमान अवतारमा केही ‘कस्मेटिक’ परिवर्तन अपेक्षित छ । सज्जा, शृंगार र सञ्चारको जमानामा त्यस्तो परिवर्तन अत्यन्त सरल छ । पार्टीको पदाधिकारीगणमा युवा पुस्तालाई स्वागत गर्ने हो भने कांग्रेस कार्यसमिति तन्नेरी मात्र होइन, हालका लागि बौद्धिक र क्रान्तिकारी पनि देखिनेछ ।

अहिले चुनिएर आएका महाधिवेशन प्रतिनिधिहरूले बीपी, गणेशमान र किसुनजीका नाम सुनेका भए पनि महेन्द्रनारायण निधि, रामनारायण मिश्र, शिवचन्द्र मिश्र, भीमबहादुर तामाङ, शेख इदरिस, सीके प्रसाई, तुरसा हेमरम, द्वारिकादेवी ठकुरानी, राधाकृष्ण थारूलाई सम्झिनेहरू विरलै छन् । कांग्रेसजन यस्तो स्थितिमा कसरी पुगे ? केही पहिलासम्म कांग्रेस प्रतिपक्षमा थियो । प्रतिपक्षमा रहेको समय कुनै पनि दलका लागि आन्तरिक संरचना सुधार गर्ने, आफूभित्र नयाँ नेतृत्व पलाउन दिने, सरकारमा रहेका दलहरूभन्दा आफ्नो चाल र चरित्र पृथक् रहेको देखाउने मौका हो । तर कांग्रेस आफैंभित्रको अलमलमा रह्यो । कांग्रेस आफूलाई कसरी प्रभावकारी, लोकतान्त्रिक र प्रतिनिधिमूलक बनाउने भन्ने प्रश्नमा घोत्लिनै सकेन ।गुटगत शक्ति आर्जन गर्न जो पायो त्यसैलाई रूखको छहारी दिइयो । यसरी ओत लाग्न आइपुग्नेहरूमध्ये कोही बन्चरो पनि बोकेर आएका हुन्छन् भन्ने हेक्काचाहिँ राखिएन ।

मधेस कांग्रेसको मुटु हो कि मौजा ? महाधिवेशनले प्रस्ट्याउनैपर्ने महत्त्वपूर्ण कार्यभार हो यो । आगामी महाधिवेशनले लिने नीति प्रतिक्रियात्मक मात्र भयो र सिर्जनात्मक भएन भने कांग्रेसले आफ्नो सान्दर्भिकता केवल अरूको कमजोरीमा साबित गर्नुपर्ने हुन्छ । महाधिवेशनले पार्टीको बाटो देखाउँछ । त्यसमा चुक्दा समस्या हुन्छ । कांग्रेसले आफूलाई गुडाउने पांग्राहरूको फेरबदल, मर्मत–सम्भार गर्ने बेला यही हो । कार्यकर्ता र कार्यदिशा मूल पांग्रा हुन्। सबैभन्दा पुरानो र सत्तारूढ दल भएका कारण नेपाली कांग्रेसभित्र हुने हलचल आन्तरिक रूपमा मात्र सीमित हुँदैन, यसले भावी राजनीतिको समीकरणलाई समेत प्रभावित गर्नेछ । सत्ता सञ्चालन, पार्टीमा वर्चस्व, नेताहरूको अवस्थितिमा परिवर्तनजस्ता विषयहरूको भविष्य महाधिवेशनमार्फत निर्धारण हुनेछ । राम्रो के छ भने, आमजनले महाधिवेशनको मौका छोपेर कांग्रेसको आन्तरिक जीवनमा चियाउन पाएका छन् ।

प्रकाशित : मंसिर २२, २०७८ २१:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?