इटाइपु बाँध : ब्राजिल-पाराग्वे विश्वासको नमुना- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इटाइपु बाँध : ब्राजिल-पाराग्वे विश्वासको नमुना

'पञ्चेश्वरजस्ता जलस्रोत आयोजनाको विकासमा ब्राजिल र पाराग्वेबीचको इटाइपु बाँधको ‘कन्सेप्ट’ सहयोगी बन्न सक्छ ।'
कुलरत्न भुर्तेल

अन्तर्राष्ट्र्रिय जलस्रोत कानुनले साझा नदीको विकास गर्दा आपसी सद्भाव र विश्वास महत्त्वपूर्ण हुने कुरा स्विकारेको छ । असल छिमेक भावनाले प्रेरित हुँदै बढेको आपसी सद्भावका कारण संसारका धेरै अन्तर्राष्ट्रिय नदीहरूको संयुक्त विकास सम्भव भएको छ । यी कुराहरू प्रथाजनित अन्तर्राष्ट्रिय कानुनको विकासमा कारकका रूपमा पनि रहेका छन् ।

ब्राजिल र पाराग्वेको द्विपक्षीय सहकार्यमा पाराना नदीमा बनेको इटाइपु बाँध आपसी सद्भावको अनुपम नमुना हो । साझा नदी भएका मुलुकहरूका लागि यो एउटा मोडल बन्न सक्छ । नेपालका लागि पनि, खास गरी पञ्चेश्वरजस्ता जलस्रोत आयोजनाको विकासमा इटाइपु बाँधको ‘कन्सेप्ट’ सहयोगी बन्न सक्छ । अमेरिका र क्यानाडाले संयुक्त रूपमा विकास गरेको कोलम्बिया नदीमा भएको निर्माणले ‘तल्लो तटीय लाभको सिद्धान्त’ को विकासमा बल दिएको छ ।

कोलम्बिया नदीको पानी बाँडफाँट र संयुक्त विकास एवं दक्षिण–पूर्वी एसियाको ‘लाइफ लाइन’ भनेर चिनिने मेकङ नदीको विकास हेरेपछि यो लेखकलाई दक्षिण अमेरिकाको पाराना नदीको इटाइपु बाँध हेर्ने इच्छा थियो । ब्राजिलको रियो डे जेनेरियोमा भएको इन्टरनेसनल रुरल सोसियोलोजी एसोसिएसनको सेमिनारमा भाग लिन गएका बेला ५ अगस्ट २००० मा त्यो सौभाग्य जुरेको थियो । असमान हैसियतका दुइटा मुलुक भए पनि उनीहरूबीचको सद्भाव एवं सहकार्यमा निर्माण भएको हो— इटाइपु बाँध । क्षेत्रफल, सैन्य शक्ति, प्राकृतिक स्रोत, आर्थिक सबलता, तकनिकीमा पहुँच, ठूलो पुँजी बजार आदि सबै दृष्टिले ब्राजिल दक्षिण अमेरिकी महादेशको सबैभन्दा शक्तिशाली मुलुक हो ।

पाराग्वे दक्षिण अमेरिका महादेशको आर्थिक हिसाबले कमजोर मुलुक हो । ठूलो सबल मुलुकको अर्को कमजोर मुलुकसँग आपसी सद्भाव र असल छिमेकीपनाको कसीमा सम्पन्न भएको पाराना नदी सम्झौता–१९७३ लाई अन्तर्राष्ट्रिय जलस्रोत कानुनले महत्त्वपूर्ण ‘ब्रेक थ्रु’ का रूपमा मानेको छ । सन् १९६० देखि नै दुई मुलुकबीच वार्ता सुरु भएको भए पनि दुई मुलुकबीच पाराना नदी विकास गर्नेबारेको पाराना रिभर ट्रिटीमा २६ अप्रिल १९७३ मा हस्ताक्षर भयो । पाराग्वे सानो मुलुक भए पनि हार नमानिकन वार्तामा बसिरह्यो । यो पाठ पाराग्वे जस्तै अवस्थामा रहेका मुलुकहरूका लागि मननीय छ ।

१९६ मिटर उचाइ र ७७६० मिटर लम्बाइ एवं पाराना नदी थुनेपछि बनेको १३५० वर्गकिमि क्षेत्रफल भएको रिजर्भ्वायर विज्ञानकै अद्भुत सिर्जना हो । पाराना नदीलाई बाँध बाँधेर थुनेपछि बनेको रिजर्भ्वायर १७० किमि लामो छ । बीसवटा जेनेरेटिङ युनिट रहेको इटाइपु बाँधको जडित क्षमता १४००० मेगावाट छ । सन् १९८४ मा पहिलो युनिट जडान भई सञ्चालनमा आइसकेको थियो भने, २००६ मा बाँकी दुइटा युनिट पनि सञ्चालनमा आएका थिए । चीनको थ्री–गर्जेज प्रोजेक्ट आउनुअघि संसारकै ठूलो जलविद्युत् आयोजना रहेको इटाइपु बाँध अहिले इन्जिनियरिङ विधाका व्यक्तिहरूका लागि अध्ययनको महत्त्वपूर्ण क्षेत्र बनेको त छँदै छ, बर्सेनि हजारौं पर्यटक यसको अवलोकनमा पुग्ने पनि गर्छन् । बाँधले सिर्जना गरेको पर्यटन र सोबाट सिर्जित रोजगारीले ठूलो अर्थआर्जनको अवसर उत्पन्न गरेको छ । एउटा बाँधले कसरी अर्थतन्त्रका विविध पहलमा असर पार्न सक्छ भन्ने उदाहरण इटाइपु बाँध बनेको छ ।

पाराना ब्राजिल र पाराग्वेको सीमा नदी हो । पाराना नदीले ब्राजिलमा उत्पत्ति भई दक्षिणतर्फ बग्दै गर्दा ब्राजिल र पाराग्वेबीच सिमाना कायम गर्छ । पाराना तल बग्दै जाँदा इगुवाजा नदीसँग मिसिन्छ एवं पाराग्वे र अर्जेन्टिनाबीच सीमा नदी भएर बग्छ । पछि पाराना नदी उरुग्वे हुँदै अन्ततः आन्ध्र महासागरमा मिसिन्छ । संसारकै विशाल बाँधहरूमध्येको इटाइपु बाँधको निर्माण एवं सहज सञ्चालनमा संस्थागत संरचनाको महत्त्वपूर्ण भूमिका छ । दुवै पक्षको अपनत्व कायम हुने संस्थागत संरचना नभई यस्ता विशाल निर्माण कार्य पूरा हुन सक्दैनन् । इटाइपु सन्धिपछि १७ मे १९७४ मा बाइनेसनल इन्टिटी स्थापना हुनेबित्तिकै बाँध निर्माण सुरु भयो । यो इन्टिटीमा दुवै देशका ६–६ जना बोर्ड सञ्चालक रहने व्यवस्था छ ।

यस्ता प्रकृतिका ठूला आयोजनाहरूको निर्माणका लागि आवश्यक धनराशि जुटाउनु एउटा महत्त्वपूर्ण चुनौती हो । आर्थिक रूपले असमान मुलुकहरूका लागि आर्थिक स्रोत जुटाउने, त्यसको भुक्तानीको तरिका तय गर्ने, स्रोत जुटाउँदा आवश्यक पर्ने ग्यारेन्टी आदि सर्तहरू द्विपक्षीय वार्तामा उठ्ने पेचिला समस्या हुन् । यसका अलावा उत्पादन हुने सबै विद्युत् आन्तरिक खपत गर्न नसक्ने मुलुकले आफ्नो हिस्साको विद्युत् बिक्री गर्नु पनि अर्को प्रमुख चुनौती हो ।

पाराग्वे आफैं आर्थिक हिसाबले कमजोर हुँदा रकम जुटाउन सजिलो थिएन । इटाइपु रिभर ट्रिटीले बाँध निर्माणमा लाग्ने खर्च दुवै मुलुकले बराबरी बेहोर्ने र उत्पादित बिजुली पनि बराबर भाग लगाउने व्यवस्था गरेको छ । कुनै पक्षले आफ्नो हिस्साको बिजुली प्रयोग गर्न नसकेमा अर्को पक्षलाई बेच्नुपर्ने व्यवस्था छ । पाराग्वेले इटाइपुबाट प्राप्त विद्युत्को अन्दाजी १० प्रतिशत मात्र आन्तरिक खपत गर्ने गरेको छ भने, बाँकी ९० प्रतिशत ब्राजिलकै विद्युत् युटिलिटी इलेक्टोब्रासले किन्छ । बाँध निर्माणमा लाग्ने सम्पूर्ण खर्चको करिब २० अर्ब अमेरिकी डलर ऋण लिइएको छ र यसको जमानी ब्राजिल सरकार बसेको छ । ऋणको किस्ता विद्युत् बिक्रीबाट प्राप्त रकमबाट तिर्दै जाने व्यवस्था छ । बिजुली तेस्रो पक्षलाई बेच्न नपाइने व्यवस्था छ । आर्थिक स्रोत जुटाउने सिलसिलामा भलै ऋण भए पनि ब्राजिलले ठूलै छाती देखाएको मानिन्छ । यसमा द्विपक्षीय सद्भाव, असल छिमेकीपनाको प्रदर्शन भएको छ ।

इटाइपु बाँधजस्तो ठूलो संरचनाले पार्ने सामाजिक तथा वातावरणीय प्रभावको न्यूनीकरण पनि कठिन चुनौती हो । यो आयोजनाका कारण ब्राजिलमा ४०,००० र पाराग्वेमा २५,००० व्यक्ति विस्थापित भएका थिए । थिग्रेनी एवं भूक्षय नियन्त्रण गर्ने, जैविक एवं वनस्पतिको संरक्षण र पानीको गुणस्तर कायम राख्ने चुनौतीहरू पहिचान भएका थिए । वातावरणीय प्रभाव न्यूनीकरण गर्ने कार्यक्रम लागू गरेपश्चात् संरक्षणका कार्यहरू उदाहरणीय बनेका छन् । माछा उत्पादन बढाउन पाराना नदीको माथिल्लो र पावर प्लान्ट तलको भागलाई जोडेर माछा ओहोरदोहोर गर्ने फिस माइग्रेसन क्यानल निर्माण भएको छ । ६ किमि लामो यो क्यानलबाट माछाहरूको ओहोरदोहोर एवं प्रजननमा सहयोग पुगेको छ ।

इटाइपु बाँध ब्राजिल र पाराग्वेको आर्थिक विकासको कारक रहेको छ । ब्राजिल ऊर्जाको संकटबाट गुज्रेको ‘पावर हंग्री’ मुलुक हो । ब्राजिलको औद्योगिकीकरणमा इटाइपुबाट प्राप्त विद्युत्ले महत्त्वपूर्ण भूमिका खेलेको छ । पाराग्वेको विकासमा पनि इटाइपु बाँधले कायापलट नै गरेको छ । पाराग्वेले आफूले खपत गर्न नसकेको विद्युत् बिक्री एवं बाइनेसनल इन्टिटीले पारानाको पानी प्रयोग गरेबापत प्रदान गरेको रोयल्टीले आफ्नो भागको ऋण तिर्दै र राष्ट्रिय ट्रेजरी पनि बलियो बनाउँदै लगेको छ । इटाइपुको विद्युत् उत्पादनपश्चात् पाराग्वेमा वैदेशिक लगानी भित्रिई मुलुकको अर्थतन्त्र चलायमान भएको छ ।

भूपरिवेष्टित पाराग्वेको आर्थिक विकासमा पाराना नदी एवं बाँधबाट सिर्जित रिजर्भ्वायरले जल परिवहनमा ल्याएको सहजताका कारण पनि मद्दत पुगेको छ । इटाइपुको विद्युत् पाएयता पाराग्वेको आर्थिक हैसियतमा सुधार आएको भए पनि तेस्रो पक्षलाई बिजुली बेच्न नपाउने प्रावधानले विद्युत्को उचित मूल्य नपाएको गुनासो छ ।

पाराग्वेले आफ्नो हिस्साको बिजुली तेस्रो पक्षलाई बेच्न पाउनुपर्ने माग राख्दै आएको भए पनि यसमा सहमति हुन सकेको छैन । ब्राजिलले पाराग्वेको यो माग सम्झौताको अवधि ५० वर्ष सकिएपछि अर्थात् सन् २०२३ पछि मात्र सम्बोधन गर्न सकिने भनेको छ । त्यसैले यस्ता सम्झौता तर्जुमा गर्दा यसबाट पर्ने प्रभावहरूको सूक्ष्म विश्लेषण हुन जरुरी हुन्छ । सम्झौता समान हैसियतमा गरिने भए पनि आर्थिक–प्राविधिक हिसाबले सबल मुलुकको हात सधैं माथि रहने दृष्टान्त यहाँ पनि देखिएको छ ।

अन्तमा, नेपालका ठूला जलस्रोत आयोजनाहरू द्विपक्षीय सहयोगमा मात्रै निर्माण हुन सक्ने प्रकृतिका छन् । खास गरी पञ्चेश्वर, कर्णाली र कोसी उच्च बाँधजस्ता आयोजनाहरू विकास गर्ने सिलसिलामा आर्थिक स्रोतको व्यवस्थापन, एक पक्षको उपयोग नभएको विद्युत् अर्को पक्षद्वारा खरिद, संयुक्त प्रोजेक्ट व्यवस्थापन, सामाजिक तथा वातावरणीय प्रभाव न्यूनीकरणमा इटाइपु बाँधका पाठहरूलाई मनन गर्दै अगाडि बढ्नु उपयुक्त हुने देखिन्छ । भुर्तेल अन्तर्राष्ट्रिय जलस्रोत कानुनमा रुचि राख्छन् ।

प्रकाशित : मंसिर २२, २०७८ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्

गल्फमा अगाडि आए भुवन

कान्तिपुर संवाददाता

काठमाडौँ — शीर्ष वरीयताका प्रो भुवन (उमेश) नगरकोटी सूर्य नेपाल काठमाडौं ओपन गल्फको दोस्रो दिन मंगलबार रोयल नेपाल गल्फ क्लबमा १ अन्डर ६७ स्कोर गर्दै पहिलो स्थानमा उक्लिएका छन् ।

सूर्य नेपाल गल्फ टुर २०२१/२२ को पहिलो प्रतियोगितामा अघिल्लो दिन ५ अन्डर ६३ खेलेका उनले ३६ होल समाप्तिमा ६ अन्डर १३० को प्रदर्शन गरेका छन् ।

भुवन पहिलो दिन जयराम श्रेष्ठ र कुमार कामीभन्दा एक स्ट्रोक पछाडि थिए । रवि खड्का १ अन्डर ६७ स्कोर गर्दै समग्रमा भुवनसँग एक स्ट्रोक नजिक पुगेका छन् । दोस्रो स्थानमा रहेका रविको समग्र स्कोर ५ अन्डर १३१ रहेको छ । एमेच्योर सुवास तामाङ र जयराम समग्रमा ४ अन्डर १३२ सहित संयुक्त तेस्रोमा छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) का दुई स्वर्ण विजेता सुवासले दोस्रो दिन ४ अन्डर ६४ खेल्दै सात स्थान फड्को मारेका हुन् । जयराम भने २ ओभर ७० खेलेपछि दुई स्थान तल झरेका हुन् ।

दिनेश प्रजापति, सञ्जय लामा र कुमार कामी समान २ अन्डर १३४ सहित संयुक्त पाँचौं स्थानमा छन् । कुमारले अघिल्लो दिन ६ अन्डर ६२ को उत्कृष्ट प्रदर्शनलाई दोहोर्‍याउन सकेनन् । उनले ४ ओभर ७२ को खराब प्रदर्शन गरे । दिनेशले २ अन्डर ६६ स्कोर गरे । सञ्जयले लगातार दोस्रो दिन पनि १ अन्डर ६७ को कार्ड बनाए । १ ओभर ६९ खेलेका धनबहादुर थापा (इभन पार १३६) आठौंमा छन् । उनीभन्दा एक स्ट्रोक पछाडि परेका शुक्रबहादुर राईले दोस्रो दिन इभन पार ६८ खेले । भुवनकुमार रोकाले ७ ओभर ७५ को खराब प्रदर्शन गरे पनि समग्रमा १ ओभर १३७ सहित नवौंमा छन् ।

कुल ६ लाख ४० हजार रुपैयाँ पुरस्कारको प्रतियोगितामा रमेश अधिकारी र कृष्णमान राजवाहक समान ४ ओभर १४० स्कोरसहित शीर्ष दसमा अटाए । यी दुईले दोस्रो दिन समान ७२ स्ट्रोक खेले । ३६ होलको खेलपछि १० ओभर १४६ सम्म रहेका २१ प्रो अन्तिम दुई चरणका लागि छनोट भएका छन् । उनीहरूसँगै शीर्ष ६ एमेच्योर (सुवास, निश्चयजंग रायमाझी, मिथुन राई, सुरेश तामाङ, महेन्द्र फगामी र विदुर तामाङ) ले पनि बाँकी ३६ होल खेल्नेछन् ।

भुवनले नवौं होलमा बोगी बेहोरेपछि सुरुका ९ होलको स्कोर १ ओभर ३५ मा राखेका थिए । त्यसपछि १३, १७ र १८ औं होलमा बर्डी गरेका उनले १५ औं होलमा बोगीमा परेपछि पछिल्ला ९ होलको स्कोर २ अन्डर ३२ बनाएका थिए । पहिलो होलमै एक स्ट्रोक जोगाएका रविले त्यसपछि लगातार पार खेलेर सुरुका नौ होल १ अन्डर ३३ मा टुंग्याए । उनले पछिल्ला ९ होल इभन पार ३४ मा पूरा गरे । उनले १४ र १८ औं होलमा बर्डी गरे पनि १० र १६ औं होलमा बोगी बेहोरेका थिए ।

प्रकाशित : मंसिर २२, २०७८ ०८:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×