कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

कांग्रेसले बिराएको बाटो

कांग्रेसका सम्बन्धमा प्रारम्भिक ज्ञानसम्म नभएका मानिस केन्द्रीय महाधिवेशन प्रतिनिधि बन्छन् भने महाधिवेशनले कस्तो समाधान खोज्ला ?
ढुण्डीराज शास्त्री

काठमाडौँ — नेपाली कांग्रेसको चौधौं महाधिवेशन पनि २०४८ पछि भएका महाधिवेशनहरूझैं कर्मकाण्डी मात्र हुने हो भने यो पार्टीका नेता र कार्यकर्ता ज्ञान–विज्ञानविहीन छन् भन्ने देखिनेछ । धनसम्पत्ति, साधनस्रोत र पदको व्यक्तिगत लाभको पछाडि संगठित छन् र दगुरिरहेका छन् भन्ने पुष्टि हुनेछ । देश र जनताका पक्षमा केही गर्न सक्दैनन् भन्ने प्रमाणित हुनेछ ।

कांग्रेसले बिराएको बाटो

इतिहासमा गरेको योगदानको प्रतिफलस्वरूप कांग्रेसले २०४८ पछि पनि बारम्बार अवसर नपाएको होइन । तर, यो पार्टी सही बाटोमा अघि बढ्नै सकेन, जुन यसका नेता–कार्यकर्ताहरूका सोच–चिन्तन, विचार र कर्मकै कारण हो । कांग्रेस महाधिवेशनका कतिपय प्रतिनिधिले बीपी र गणेशमानका तस्बिरहरू महाधिवेशनस्थलमा राख्नुको कारण अझै जान्दैनन्, यसमा प्रशिक्षण अभाव मात्र होइन, निर्वाचन जित्न जथाभावी सदस्य बनाउने परिपाटी पनि दोषी छ । कांग्रेसका सम्बन्धमा प्रारम्भिक ज्ञानसम्म नभएका मानिस केन्द्रीय महाधिवेशन प्रतिनिधि बन्छन् भने महाधिवेशनले कस्तो समाधान खोज्ला ? यो समस्याको समाधान प्रशिक्षणबाट सम्भव छ, तर कांग्रेसमा यसको सर्वथा अभाव छ ।

२०५३–५४ तिर, म यस पार्टीको शिक्षण विभागको अध्यक्ष थिएँ । गाउँदेखि केन्द्रसम्म देशव्यापी प्रशिक्षण आयोजना गर्ने निधो गरी हामीले ‘नेपाली कांग्रेस र यसको दृष्टिकोण’ किताबप्रकाशित गर्‍यौं । लक्ष्मण घिमिरेजीको घरमा (उहाँ विभागको सदस्यसचिव हुनुहुन्थ्यो), चिरञ्जीवी वाग्ले, डा. पूर्णकान्त अधिकारी, डा. तुलसी भट्टराईलगायत साथीहरू जम्मा भई लामो अवधि लगाएर यो पुस्तक तयार पारेका थियौं । राजधानीकै एक होटलमा पहिलो केन्द्रीय प्रशिक्षण गरिएको थियो, जहाँ कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालासहितका २१ जना सहभागी हुनुहुन्थ्यो ।

विकास क्षेत्र, अञ्चल, जिल्ला, पालिका, वार्ड, गाउँसम्म जाने योजना थियो । अञ्चल, देशका मुख्य ठाउँहरू र केही जिल्लामा प्रशिक्षण सुरु भएको थियो । काठमाडौं, पोखरा, पाल्पा, लहान आदि ठाउँमा प्रशिक्षण भैसकेको थियो । बडो उत्साहका साथ जनता र कार्यकर्ता त्यस भेगका बुद्धिजीवी, नेताहरूले भाग लिएका थिए । यस्तो प्रशिक्षण पार्टी–संगठनका लागि अत्यन्त महत्त्वपूर्ण र आवश्यक थियो । यो आन्दोलन अघि बढिरहेकामा कसकसको चित्त दुखेछ कुन्नि, मलाई अर्को विभागमा सरुवा गरियो ।

सिद्धान्त र व्यवहारमा बेमेल

२०१५ सालमा निर्वाचित बीपी कोइरालाको सरकार समाजवादी सिद्धान्तकै बाटोमा थियो । सो सरकारको नीति–कार्यक्रम देशलाई समाजवादउन्मुख गराउने आधार थियो । २०१७ पुसको ‘कू’ र प्रजातन्त्र पुनःस्थापनाका लागि भएका संघर्षका क्रममा तीस वर्षसम्म पनि कांग्रेस समाजवादप्रति नै प्रतिबद्ध थियो । २०४८ सालमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा कांग्रेसको एकमना सरकार बनेपछि भने बाटो फरक भयो । नेपाली कांग्रेसले होइन, शक्तिशाली प्रधानमन्त्री र केही मन्त्री अर्थात् सरकारले उदार बजारमुखी अर्थतन्त्र अर्को शब्दमा पुँजीवादी प्रजातन्त्रको बाटो लिने निर्णय गरेको थियो । यो नेपाली कांग्रेसको इतिहासको सबभन्दा ठूलो गलत निर्णय थियो । न नेपाल पुँजीवादी बन्न सक्यो न त समाजवादी नै रह्यो । यसबीच नेपाल दलाल पुँजीवादी देश बनेको छ र विकासको अभावमा छट्पटाइरहेको छ । यसको दोष तत्कालीन प्रधानमन्त्री र यो निर्णयमा सम्मिलित मन्त्रीहरूको नै हो । कांग्रेस र अन्य पार्टी नेता र कार्यकर्ता यसका दोषी छैनन् । पार्टी निर्णयबिना अर्को निर्णय गर्नु सरकारको गल्ती थियो ।

इतिहासको सकारात्मक र नकारात्मक पक्षमाथि विहंगम दृष्टिले हेर्ने हो भने, कांग्रेसले चौधौं महाधिवेशनमा सिद्धान्त र उद्देश्य, २०४८ पछि पार्टी र नेतृत्वमा देखिएका विकृति–विसंगति आदि पक्षमा राष्ट्रव्यापी छलफल गरी समाधान खोज्नु आवश्यक छ । विकृतितर्फ मोडिएको अति कमजोर भएको नेपाली कांग्रेसलाई आमूल रूपमा सुध्रने अवसर इतिहासले प्रदान गरेको छ ।

वर्तमान विश्वमा व्यवस्थाका दुई विकल्प छन्— पुँजीवादी प्रजातन्त्र र समाजवादी प्रजातन्त्र । आर्थिक र सामाजिक समता जुन समाजमा हुन्छ त्यो समाज स्वतः स्वतन्त्र हुन्छ । तर त्यो स्वतन्त्रता प्रजातान्त्रिक राजनीति भए मात्र बाँकी रहन्छ । अन्यथा स्वतन्त्रता उच्छृङ्खलता बन्न सक्छ । नेपालले पनि औपचारिक रूपमा त प्रजातान्त्रिक समाजवादकै रूपमा अघि बढ्न चाहेको छ । संविधानसभामा प्रजातन्त्रवादी, वामपन्थी, पूर्वराजावादी, राष्ट्रवादी विभिन्न विचारधाराका पार्टीहरूको प्रतिनिधित्व थियो । यसको अर्थ सबै विचार, सम्पूर्ण जनताको प्रतिनिधित्व थियो । यो सभाले निर्माण गरेको संविधानले नै राज्यव्यवस्थालाई समाजवादउन्मुख बनाउने भनेको छ । नेपाली कांग्रेसले पनि रूपमा आफूलाई प्रजातान्त्रिक समाजवादी बताउन छाडेको छैन । अहिलेका अरू कतिपय पार्टीले पनि नामको अगाडि समाजवाद जोडेका छन् ।

यस प्रकारको परिस्थिति निर्माण हुनु जुनसुकै समाजवादी पार्टीलाई उत्साह बढाउने अवसर हो । नेपाली कांग्रेसको उद्देश्य प्रजातन्त्र र समाजवादको सिद्धान्त अघि सारी क्रान्तिमा जुट्नु र जनताको सहयोगले सामन्ती व्यवस्थामा युगौंदेखि जकडिएको देशलाई आधुनिक युगमा बदल्नु थियो । अतः कांग्रेसले आफ्नो जन्म–जीवनको इतिहासमा जुन सिद्धान्तको बाटो अघि बढेर देशमा यति ठूलो परिवर्तन ल्याएको थियो, त्यसैबमोजिम अहिले पनि यो पार्टी समाजवादमा उत्पन्न भ्रमहरू चिर्दै अगाडि बढ्न सक्नुपर्छ । त्यसका लागि १४ औं महाधिवेशनमा सिद्धान्त, नीति, कार्यक्रम, योजनाहरूबारेमा देशव्यापी छलफल हुनुपर्ने हो, त्यो देखिएको छैन । उम्मेदवारबीच आवश्यकता नै नपर्ने घोचपेचले समाजवाद आउँदैन ।

अनुचित घोचपेच

आगामी महाधिवेशनमा सभापति पदमा आकांक्षीहरूका एजेन्डा मूलतः यस्ता देखिन्छन््— पहिलो, शेरबहादुर देउवा र रामचन्द्र पौडेलबाट पार्टी चल्दैन । अतः उहाँहरू सभापति हुनु हुँदैन । दोस्रो, फलानो सभापति हुन योग्य हुनुहुन्न≤ उहाँले फलानो क्षेत्रबाट भोट पाउनुहुन्न≤ ‘म प्रसिद्ध छु, योग्य छु, म त जताततै पाउँछु’ । र, तेस्रो, ‘म महान्, त्यागी, तपस्वी पूर्वज बाबुबाजेको सन्तान हुँ, उहाँले गरेका त्यागका अंशको प्रतिफल पाउन म योग्य छु’ आदि इत्यादि । यस्तो धारणा मनमा मात्रै होइन, प्रकट नै गरिएको पाइएको छ ।

शेरबहादुरजी नेपाली कांग्रेसबाट पाँच पटक प्रधानमन्त्री र यही पार्टीको पाँच वर्षदेखि सभापति पनि हुनुहुन्छ । रामचन्द्रजी सभापति र प्रधानमन्त्री नभए पनि ०४८ सालपछि पटक–पटक राज्यको लाभका पदमा बस्दै आउनुभएको छ र पार्टीका उच्चपदहरूमा पनि । साथै पार्टीभित्रै भिन्न पार्टीजस्तो गुटको नेता बनेर शेरबहादुरजीको विरोध गर्दै आउनुभएको छ । आज एक्कासि यी दुवै पार्टी चलाउन नसक्ने अक्षम कसरी भए ? आरोप लगाउनेहरूको यसको यथोचित जवाफ दिनुपर्छ । किनभने यसरी आरोप लगाउनेहरू पनि यसबीचमा महत्त्वपूर्ण पदमा बसेर राज गरेकाहरू नै हुनुहुन्छ । अतः २०४८ पछि पार्टीमा जे खराबी भएका छन् ती सबको दोषको भागी तपाईंहरू पनि हुनुहुन्छ ।

वास्तवमा नेताहरूले स्वतन्त्रता र समता भएको वैज्ञानिक समाजवादी व्यवस्थातर्फ देशलाई अगाडि बढाउन सकिने नीति, कार्यक्रम, योजना तयार गरी प्रवचन, लेख, भाषण आदिका माध्यमले महाधिवेशन प्रतिनिधिहरूको ध्यान आफूतिर आकर्षित गर्नुपर्ने हो । यसो गर्दा पार्टीलाई र आफूलाई पनि फाइदा हुन्थ्यो । त्यसो नगरेर एउटै सिद्धान्त र थोरबहुत पार्टीमा योगदान पनि भएका नेताहरूले एकअर्कोलाई होच्याउने वक्तव्य दिँदै हिँड्नुले न पार्टीलाई फाइदा पुग्छ न त यस्तो वक्तव्य दिनेलाई नै ।

जहाँसम्म बाबुबाजेको त्यागको अंश पाउनुपर्ने आशय छ, मुलुकमा सामन्ती संस्कार रहेसम्म यो स्वाभाविक हो । नेपालमा अरू क्षेत्रमा थोरबहुत परिवर्तन भए पनि हजारौं वर्षदेखि स्थापित र विकसित यो संस्कार समाप्त हुन सकेको छैन । सामन्ती संस्कार सकिँदै जाँदा बाबु–बाजेले आर्जन गरेको सम्मान र शक्तिबाट तिनका सन्ततिलाई प्राप्त हुने सद्भाव, सहानुभूति र समर्थन पनि समाप्त हुनेछ । जोसुकैका सन्तानले पनि आफूले गरेका कर्मअनुसार मात्र शक्ति, सहानुभूति, सद्भाव र समर्थन प्राप्त गर्न सक्नेछन् ।

आगामी महाधिवेशनमा कांग्रसेका बीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका छोराहरू क्रमशः शशांक कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधि उम्मेदवार बन्ने चर्चा छ । उहाँहरूमध्ये विमलेन्द्र निधि र प्रकाशमान सिंह पार्टीमा महामन्त्री, उपसभापति र सरकारमा २–४ पटक मन्त्री भइसक्नुभएको छ भने शशांक कोइराला अहिले पार्टीका महामन्त्री हुनुहुन्छ । सम्पूर्ण जनता र देशका विभिन्न भागबाट महाधिवेशन प्रतिनिधि भई आउने सबैमा ‘फलानाको छोरा फलाना’ भन्ने परिचय न होला उहाँहरूको । देश र जनताको पक्षमा अघि सारेका नीति–कार्यक्रम र पुर्‍याएका योगदानका बलमा हुने व्यक्तिगत परिचय देशव्यापी रूपमा उहाँहरू कसैको छैन । आ–आफ्नो क्षेत्र, गाउँठाउँका जनता र मतदातामा भने अवश्य छ । अनि तीनै जना सभापतिका उम्मेदवार भएमा कसैले पनि आवश्यक मत पाउन नसक्ने देखिन्छ । तसर्थ आपसमा पछिसम्मको समझदारी बनाएर, एक जना मात्र उम्मेदवार हुन सके सभापति बन्ने सम्भावना हुन सक्छ, त्यस्तो हुन्छ–हुँदैन हेर्न बाँकी नै छ ।

शास्त्री पूर्वमन्त्री हुन् ।

प्रकाशित : मंसिर २१, २०७८ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?