१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

कांग्रेस पुनर्जागरणका लागि संकल्प

नैनसिंह महर

नेपाली कांग्रेस चौधौं महाधिवेशनको संघारमा छ । देशमा एउटा जनउत्तरदायी शासन व्यवस्था स्थापनाका लागि संघर्षमा होमिने उद्घोष गर्दै ७५ वर्षअघि स्थापित पार्टीको यस महाधिवेशनले नेतृत्व चयन मात्र नगरेर आम नेपाली राजनीति र कांग्रेसमाथि उठेका आजका प्रश्नहरूको उत्तर दिन सक्नुपर्छ । महाधिवेशनपश्चात् आउने नेतृत्व पार्टीभित्रका समस्याको हल खोज्दै आम नागरिकका पक्षमा सशक्त रूपले उभिनु आवश्यक छ । अतः यो महाधिवेशन सशक्त, जागृत, प्रस्ट र जनमुखि कांग्रेस बनाउने संकल्प गर्ने अवसर बन्नुपर्छ ।

कांग्रेस पुनर्जागरणका लागि संकल्प

आज राजनीतिक पार्टीप्रति नागरिक निराश मात्र छैनन् आक्रोशित पनि छन् । यो अवस्था लम्बिँदै जाँदा देशमा प्रतिगमनकारीहरू सलबलाउने र पार्टीहरूको असफलताको फाइदा उठाएर व्यवस्थाप्रति नै घृणा फैलाउने तत्त्वहरू प्रोत्साहित हुनेछन् । यो महाधिवेशनले जनतामा बढ्दै गएको निराशा र आक्रोशमा आशाको सञ्चार भर्न सक्नुपर्छ । मुलुकको लोकतान्त्रिक व्यवस्थाको जननी हुनुको नाताले यसलाई जोगाउने र समयअनुसार विकास गर्दै लग्ने जिम्मेवारी कांग्रेसकै हो । कम्युनिस्ट पार्टीका नेताहरूको विचारका कुनामा अझै पनि अधिनायकत्वको अंश कायमै छ भन्ने प्रमाणित अघिल्ला प्रधानमन्त्री केपी शर्मा ओलीले नै गरिसकेका छन् । अतः देशलाई उन्नत लोकतन्त्रको पथमा डोर्‍याउनुपर्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको छ ।

देशमा उदाएका सबै कम्युनिस्ट/गैरकम्युनिस्ट पार्टीलाई लोकतन्त्रको निर्विकल्प बाटोमा ल्याउन नेतृत्व गरेको पार्टीसित समाजलाई समुन्नत बनाउने दायित्व पनि छ । ‘गरिबीको नारा, कंगालीको वितरण समाजवाद होइन’ भन्ने बीपी कोइराला जीवनभर देशमा उत्पादन वृद्धिको पक्षमा उभिनुभयो । त्यसैले लोकतन्त्रको समय सान्दर्भिक विकास गर्दै कांग्रेसको अबको कार्यभार उत्पादन बढाएर समृद्ध नेपाल स्थापना गर्नु हो ।

युवाको कांग्रेस

विश्वका थुप्रै देश युवा नेतृत्वले कुशलतापूर्वक हाँकिरहेका छन् । राणा शासनविरुद्धको संघर्षलाई अधिकांश ३०–३५ वर्ष उमेरका कांग्रेस नेताहरूले नेतृत्व गरेका थिए । बीपी ३७ वर्षको उमेरमा गृहमन्त्री र ४५ वर्षको उमेरमा प्रधानमन्त्री भैसक्नुभएको थियो ।

आजभोलिकै कुरा गर्दा, न्युजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डन ४१ वर्षकी छन् । फिनल्यान्डकी सन्ना मरिन ३५ वर्षकी छन् । फ्रान्सका राष्ट्रपति इमानुअल म्याक्रोन ४४ वर्षका छन् ।

यसपालि ३३ प्रतिशत १६ देखि ४० वर्ष उमेरका युवा क्रियाशील सदस्य हुनुले अब कांग्रेस तन्नेरीहरूको पार्टी बन्ने पथमा गैसक्यो भन्ने संकेत दिन्छ । अधिवेशनबाट ठूलो संख्यामा वडा, नगर, क्षेत्र, जिल्ला र प्रदेशमा युवा चुनिएका छन् । केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पनि ठूलो संख्यामा युवा छानिएका छन् । यसबाट कांग्रेसको पुनर्जागरण प्रक्रियामा सघाउ पुग्ने विश्वास गर्न सकिन्छ । यसका निम्ति पार्टीका सबै कार्यकर्ता आफ्नो पार्टीका विचार, सिद्धान्त र कार्यक्रमबारे प्रस्ट हुनुपर्छ । कार्यकर्तालाई अध्ययनशील र सृजनात्मक बनाउनुपर्ने चुनौती कांग्रेसको छ ।

एक व्यक्ति एक पद र दुई पटक

पार्टीमा अवसरको समानुपातिक वितरण अत्यन्त महत्त्वपूर्ण विषय हो । लामो समयसम्म एउटै व्यक्तिले पद ओगटेर बस्ने परम्पराले योग्यता भएका थुप्रै व्यक्तिहरू पार्टी र देशका लागि योगदान दिन नपाउँदा निराश छन् । त्यसैले एक व्यक्ति एक पद, दुई पटकका लागिको प्रावधान पार्टीका सबै तहमा लागू गरिनुपर्छ ।

समृद्धिको मूद्दा

जनतालाई सम्पन्न र सुखी बनाउनु राजनीतिको उद्देश्य हो । तर जनसरोकारका मुद्दाले हाम्रा बैठकहरूमा ठाउँ पाइरहेका छैनन् । हाम्रो राजनीतिको समस्या पार्टीका छलफल एकातिर र नागरिकका समस्या अर्कातिर हुनु हो । गुणस्तरीय शिक्षा र स्वास्थ्य, सार्वजनिक यातायात, रोजगारी, उद्यमशीलता, आत्मनिर्भरताजस्ता जनसरोकार विषयमा पार्टीहरूका बैठकमा गहन छलफल हुन सकेका छैनन् । यसले राजनीति कर्तव्यच्युत भएको आभास जनताले गरेका छन् । प्रत्येक वर्ष ५ लाख काम गर्ने उमेरका नयाँ व्यक्ति देशमा आउँछन् । तर ती युवालाई स्वरोजगार बनाउने वा रोजगारीको ग्यारेन्टी दिने हामीसँग योजना छैन । पढे–लेखेका युवा अमेरिका–अस्ट्रेलिया जाने र अलिकति कम पढेका युवा ५० डिग्रीको तापक्रममा काम गर्न खाडी जानुपर्ने अवस्था अन्त्य गर्ने जिम्मेपारी राजनीतिक पार्टीको हो । नेपाली कांग्रेसमा आउने नयाँ नेतृत्वले यी विषयमा ठोस योजना बनाउनुपर्छ । 

नागरिकलाई गुणस्तरीय शिक्षा र स्वास्थ्यको प्रत्याभूति दिलाउनु राज्यको कर्तव्य हो । यसलाई हामीले मौलिक हकको रूपमा संविधानमा लिपिबद्ध गरेका छौं । संविधानका ती अक्षरलाई कार्यान्वयन गरेर संविधानलाई जीवन्त बनाउन नेतृत्वदायी दायित्व कांग्रेसको हो । सरकारी शिक्षामाथि उठेका प्रश्नको समाधान सरकारले दिनुपर्छ । महँगा शिक्षण संस्थामा पढेका विद्यार्थीसँग सरकारी शिक्षण संस्थामा पढेका विद्यार्थीले प्रतिस्पर्धा गर्न नसक्नुको कारण पत्ता लगाएर त्यसको उपचार खोजिनुपर्छ । यस्तै, सरकारी अस्पतालको संख्या र गुणस्तरमा व्यापक सुधार गरेर सबैको पहुँचमा गुणस्तरीय स्वास्थ्यको सुनिश्चितता गर्नु राज्यको जिम्मेवारी हो, कांग्रेसले यसका लागि नेतृत्वदायी भूमिका खेल्नुपर्छ । यसै गरी कृषि र उद्योग विकासमार्फत आत्मनिर्भर देश बनाउन कांग्रेसले अग्रसरता लिनुपर्छ ।

परिवर्तन अपरिहार्य

कांग्रेसले संस्थागत निर्णय नगरी नेतृत्वले गल्ती गर्दा सार्वजनिक रूपमा आलोचित हुनुपरेका उदाहरण छन् । संविधानसभाबाट नयाँ संविधान घोषणा गरेर यसको जगमा समृद्धिको उत्साहजनक यात्रामा सिंगो पार्टी प्रतिबद्ध हुनुपर्ने बेला जिम्मेवार नेताबाट सार्वजनिक रूपमा फरक मत जाहेर गरिँदा पनि पार्टीमाथि प्रश्न उठेका छन् । अन्य नेताले त्यसको प्रस्टीकरण दिनुपरेका उदाहरण छन् । कैयौं सार्वजनिक मुद्दामा निर्णय दिन ढिला गर्दा पनि कांग्रेसलाई सुस्त पार्टीका रूपमा टिप्पणी गर्ने मौका मानिसले पाएका छन् । विधानसम्मत रूपमा नचल्दा पार्टीको आन्तरिक जीवनमा समस्या देखिएका छन् । क्रियाशील सदस्यता वितरण र नवीकरणमा हरेक महाधिवेशन अगाडि देखापर्ने समस्याको दीर्घकालीन समाधान गर्नुपर्नेछ ।

समग्रमा, कांग्रेसको इतिहास गर्विलो छ तर आजको पुस्ताको रित्तो गोजी इतिहासको रटानले भरिन्न । उसलाई वर्तमानको आर्थिक सुरक्षाको ग्यारेन्टी चाहिएको छ । यसका निम्ति कांग्रेसले गौरवशाली इतिहासबाट सिक्दै वर्तमानमा यथार्थको धरातलमा टेक्दै भविष्यमुखी यात्रा तय गर्नुपर्नेछ ।

प्रकाशित : मंसिर १९, २०७८ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?