विश्वविद्यालयमा ‘स्वतः स्थायी’ को आत्मघाती निर्णय- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विश्वविद्यालयमा ‘स्वतः स्थायी’ को आत्मघाती निर्णय

सम्पादकीय

संस्कृतमा एउटा उक्ति छ— विनाशकाले विपरीतबुद्धिः । देशकै ठूलो त्रिभुवन विश्वविद्यालय (त्रिवि) यति बेला फेरि यस्तै विपरीत मतिबाट गुज्रिरहेको छ । करारमा कार्यरत झन्डै ५ सय ‘प्राध्यापक’ लाई आन्तरिक प्रतिस्पर्धाबाट स्वतः स्थायी गर्ने निर्णय गरेर विश्वविद्यालयले अर्को आत्मघाती पाइला चाल्नु यसैको दृष्टान्त हो ।

शंकै छैन, प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको त्रिवि सभा बैठकको यस निर्णयले विश्वविद्यालयको अधोगतितिरको यात्रालाई थप तीव्र बनाउनेछ । ठूलो संख्याका पदहरू आन्तरिक प्रतिस्पर्धाबाटै पूर्ति गरिने भएपछि इच्छुक ताजा र दक्ष प्रतिभाहरू सेवाप्रवेशबाट स्वतः वञ्चित हुनेछन् । यसबाट सुयोग्य शिक्षकहरूसित पढ्न तथा प्राज्ञिक अन्तरक्रिया गर्न पाउने विद्यार्थीहरूको नैसर्गिक हक अतिक्रमित हुनेछ । तसर्थ, प्राज्ञिक उन्नयनको बाटो समाउनुपर्ने विश्वविद्यालय यो विनाशपथबाट पछि हट्नैपर्छ, उसले आफ्नो निर्णय सच्याउनैपर्छ ।

त्रिवि सभाले १० वर्षदेखि करारमा कार्यरत जनशक्तिलाई विशेष आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्न सकिने निर्णय गरेको हो । बुझ्न गाह्रो छैन, आन्तरिक प्रतिस्पर्धा खासमा प्रतिस्पर्धा नै होइन, निश्चित व्यक्तिहरूको मात्र स्वार्थपूर्तिका लागि यो एक विधि पुर्‍याउने मेलो मात्र हो । सीमित प्रतियोगी हुने यस्तो परीक्षामा सामान्यतया उत्तीर्ण हुनुपर्ने बाध्यता मात्रै हुन्छ, अब्बल हुनुपर्ने होइन । विश्वविद्यालय सेवा आयोगले आफ्नो पात्रोलाई नियमित पो बनाउनुपर्छ, लामो अवधि कसैलाई पनि सेवा प्रवेश गर्न पाउने अवसरबाट वञ्चित पो गर्नु हुन्न, तर कुनै टेको समाएर पहिल्यै विश्वविद्यालय छिरेकालाई मात्र स्थायी तुल्याएर आफ्नै खुट्टामा बन्चरो हान्नु हुन्न । जगजाहेरै छ, अपवादबाहेक अहिले कस्ता व्यक्तिहरू करारमा सेवारत छन्, उनीहरू कसरी र कुन विधिबाट यो हैसियतमा आइपुगेका हुन् । यो यथार्थ र आफ्नो प्राज्ञिक हविगत दुवै स्मरण गरेर विश्वविद्यालयले घातक निर्णय उल्टाउनुपर्छ ।

आन्तरिक प्रतिस्पर्धा भन्नुको अर्थ सीधा छ— यी प्रतियोगीहरू खुला प्रतिस्पर्धामा भिड्न सक्ने ल्याकत राख्दैनन् । कोही बलियो प्रतिस्पर्धीका सामु यिनीहरू टिक्न सक्दैनन् । तापनि उनीहरूलाई स्थायी हुनु छ, र निर्णयकर्तालाई पनि यो बाटो खोलिदिनु छ । त्यही भएरै उनीहरू मात्रै भिड्न पाउने गरी यस्तो प्रबन्ध गर्न खोजिएको हो । यो एउटा मनोविज्ञानको मात्र कुरा होइन, जबर्जस्त यथार्थ हो । होइन भने, करारमा सेवारतहरूले खुला प्रतिस्पर्धामै भिडे भैहाल्छ । यदि उनीहरू काबिल नै रहेछन् भने खुलामै नाम निकालिहाल्छन्, नत्र बाहिरकाले अवसर पाउँछन् । यसो गर्दा जो योग्य छ, विद्यार्थीले उसैसित अध्ययन–अन्तरक्रिया गर्ने अवसर पाउँछन् । यो सबैलाई अवसर र न्यायको विषय मात्र होइन, विश्वविद्यालयको प्रगतिको प्रश्न पनि हो ।

उदेकलाग्दो के छ भने, यी प्राध्यापकहरू यसअघि आन्तरिक प्रतिस्पर्धामा उत्तीर्ण हुनसम्म सकेका थिएनन् । फेरि यिनैलाई स्थायी गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्री शेरबहादुर देउवाले नै त्रिवि पदाधिकारीलाई ठाडो निर्देशन दिएको बताइएको छ, जुन आपत्तिजनक छ । विद्वज्जनहरू रहने मानिने विश्वविद्यालय सभा बैठकमै यस्तो घातक प्रस्तावविरुद्ध कसैले एक शब्द पनि उच्चारण नगर्नु उत्तिकै ताज्जुबलाग्दो छ । त्रिविका आंगिक क्याम्पसमा कार्यरत करिब १ हजार ९ सय प्राध्यापकलाई ऐन–नियम मिचेर स्वतः करार र स्थायी बनाउन अनुचित दबाब दिँदै आएका प्रधानमन्त्री र सम्बन्धित सबैलाई हेक्का हुनुपर्छ— विश्वविद्यालय ज्ञान–विज्ञान उत्पादन तथा विकास गर्ने थलो हो, कार्यकर्ता र आफन्त भर्तीस्थल होइन ।

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत विश्वविद्यालयलाई खुला प्रतिस्पर्धाबाट हुने पदपूर्तिलाई प्रभावित पार्ने गरी आन्तरिक विज्ञापनबाट शिक्षक–कर्मचारी नियुक्त नगर्न निर्देशन दिएको थियो । विश्वविद्यालय नेतृत्वसित विवेक हुन्थ्यो भने खासमा यो निर्देशन दिनुपर्ने विषय नै होइन, तर अनुत्तरदायी नेतृत्वले निर्देशन दिँदा पनि पालना गर्न खोजेन । एकातिर करार र आंशिक प्राध्यापकको दबाबमा सेवा आयोगले खुला प्रतिस्पर्धाको विज्ञापन रोक्नु र अर्कातिर त्रिवि सभाले यस्तो निर्णय गर्नु विडम्बनापूर्ण छ ।

विश्वविद्यालयको प्राज्ञिक उन्नयनको एउटा महत्त्वपूर्ण र अनिवार्य सर्त नै प्राध्यापकहरू हुन् । प्रज्ञावान् प्राध्यापकबिना विश्वविद्यालयको न पठनपाठन गतिलो हुन सक्छ, न अनुसन्धान । अध्ययन–अनुसन्धानका लागि महत्त्वपूर्ण भूमिका हुने प्राध्यापकहरू छनोटमै हेलचेक्य्राइँ गरेर उन्नत विश्वविद्यालयको कल्पनासम्म गर्न सकिन्न । त्यसैले, विश्वविद्यामा घात पुर्‍याउने निर्णयबाट पछाडि हटेर त्रिविलाई पतनको बाटोबाट रोकियोस् ।

प्रकाशित : मंसिर १६, २०७८ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्

नेपाली रेफ्रीमाथि अन्तर्राष्ट्रिय नजर

ददि सापकोटा

फ्रान्स — कोरोना महामारी फैलिनु एक महिनाअघि दीपेन्द्र ढकाल विश्व मिलिटरी गेम्स खेलाउनका लागि चीनको वुहानमा थिए । सातौं सीआईएसएम मिलिटरी वर्ल्ड गेम्स अक्टोबर १८–२७, २०१९ सम्म वुहानमा भएको थियो । त्यहाँ तेक्वान्दो निर्णायकको भूमिकामा गएका थिए ढकाल । मिलिटरी स्पोर्ट्सको कुम्भमेलामा नेपाली आर्मीका ४० खेलाडीले पनि पहिलोपल्ट भाग लिएका थिए ।

मिलिटरी गेम्स सकिएको अर्को महिना (डिसेम्बर) वुहानबाटै कोरोना भाइरस फैलिएको थियो । विश्वभर महामारीको रूपमा फैलिइरहेको कोरोनाले दुई वर्षको अवधि लाखौं लाखको ज्यान लिइसकेको छ । चौतर्फी क्षेत्रलाई प्रभाव पारेको छ ।

चलायमान रहने खेलकुद ठप्प भयो । दुई वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलाउन उनै तेक्वान्दो रेफ्री ढकाल फ्रान्सको पेरिस आइपुगेका छन् । त्यसका लागि उनले थुप्रै रिक्वायरमेन्ट पूरा गर्नुपर्ने थियो । दैनिक पीसीआर, भ्याक्सिन रिपोर्ट, भिसाको प्रक्रियामा समस्या झेल्दै उनी फ्रेन्च ओपन खुला तेक्वान्दो खेलाउन आइपुगेका थिए । यसै प्रतियोगिताका लागि छानिएका दुई खेलाडी भिसा समस्याका कारण आउन नपाएको उनले बताए । ‘कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय प्रतियोगिताहरू खेल्न/खेलाउन आउन एकदमै गाह्रो छ,’ उनले भने, ‘भिसा प्रक्रियामै धेरै जटिलता झेल्नुपर्छ ।’

वुहानको त्यही मिलिटरी गेम्सबाटै उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका सुरु गरेका थिए । जहाँ १ सय ३८ देशको सहभागिता थियो । त्यतिबेलै उनी विश्वका प्रचलित रेफ्रीहरूको नजरमा परेका थिए ।

त्यसकै परिणामस्वरुप उनलाई २०२० को जनवरीमा जर्मनीको ह्याम्बर्गबाट रेफ्रीका लागि निम्तो आयो । त्यहाँ भएको प्रतियोगिता युरोपेली मुलुक र बाहिरका गरी करिब ३६ देशका खेलाडीले भाग लिएका थिए । त्यसपछि आफ्नै भूमिमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा पनि उनी निर्णायक भए । दीपेन्द्र काभ्रे, कुसादेवीका हुन् । किसानी परिवारमा हुर्किएका उनी नेपाली सेनामा आबद्ध भए । ‘नेपालमा तेक्वान्दो लोकप्रिय खेल थियो । मलाई सम्झना छ म सानैदेखि तेक्वान्दोमा रुचि राख्थें,’ उनले सम्झिए । बलियो स्वभावका उनले प्रतिस्पर्धामा आफूलाई अब्बल रूपमा उभ्याए ।

२०५७ सालमा तेक्वान्दो खेलाडी भएका उनले थुप्रै राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खेले । तर, रंगशालामा ट्रेनिङ गर्दा खुट्टामा चोट लागेपछि उनको खेलाडी करियरमा भने पूर्णविराम लागेको थियो । यद्यपि तेक्वान्दोप्रतिको उनको मोह छुटेन । रेफ्रीतिर आँखा लगाए । सन् २०१२ मा राष्ट्रिय रेफ्री बन्दा उनी २३ वर्षको अल्लारे ठिटो थिए । तर, सन् २०१८ मा चीनको उसी सहरमा अन्तर्राष्ट्रिय रेफ्रीको परीक्षा दिन गएपछि उनको सफलताले खुट्किलो चढ्न थाल्यो । अन्तर्राष्ट्रिय स्तरको रेफ्रीका लागि परीक्षा दिन नेपालबाट ६ जना गएकामा दीपेन्द्रमात्रै उत्तीर्ण भएका थिए । त्यहींबाट उनको अन्तर्राष्ट्रिय रेफ्री यात्रा सुरु भएको हो । वुहानमा मिलिटरी गेम्स खेलाएपछि भने आफूमा आत्मविश्वास बढेको दीपेन्द्र बताउँछन् । भन्छन्, ‘त्यो प्रतियोगिता मेरा लागि धेरै गर्विलो रह्यो । त्यहींबाट अन्तर्राष्ट्रिय स्तरमा प्रतियोगिता खेलाउन सक्छु भन्ने आँट मिल्यो ।’

विश्व तेक्वान्दो संघको र्‍याङकिङमा

राम्रो प्रदर्शन देखिएकाले पेरिसमा रेफ्री गर्न निम्त्याइएको उनले सुनाए । फ्रान्समा उनले २१ खेलमा रेफ्री गरे । बिहानदेखि साँझसम्मै खेलाउनमै व्यस्त रहे । उनले इरान, भारत, अमेरिका, यूएई, लक्जेम्बर्ग, बेल्जियम, इरान, क्यानडालगयत दर्जनौं देशका रेफ्रीसँग अनुभव साट्न पाए । ‘यस्ता ठूला प्रतियोगिताहरू जति धेरै खेलायो, आफूले पनि त्यति धेरै सिकिन्छ,’ उनले सुनाए । खेलाडी र रेफ्री हुँदा के भिन्नता छ त ? धेरै भिन्नता छ । उनले अर्थ्याए, ‘खेलाडी हुँदा सम्पूर्ण ध्यान खेल्नमै हुन्छ । खेलमा मात्रै ध्यान दिए पुग्छ । रेफ्री भएपछि मध्यस्थता गर्न सक्नुपर्छ । रेफ्री बन्नु भनेको उदाहरणीय हुनु हो । सम्मान जगाउनु र आफैंलाई सम्मान गर्न लायक बनाउनु पनि हो । दुई खेलाडीबीचको लडाइँको तटस्थता सुनिश्चित गर्नु हो । जब मैदानमा भइन्छ, त्यो बेला दुई प्रतिद्वन्द्वी र उनीहरूको खेलमा केन्द्रित हुन सक्नुपर्छ । कतै गल्ती पो गरिन्छ कि भनेर तनाव पनि हुन्छ । यो सबै व्यवस्थापन गर्नुपर्छ ।’

उनी पाकिस्तानको इस्लामाबादबाट सिधै पेरिस आएका हुन् । पाकिस्तान ओपन तेक्वान्दो च्याम्पियनसिप खेलाएर उनी यता आएका थिए । पाकिस्तान ओपनमा भने उनीलगायत नेपालका आधा दर्जन रेफ्री निर्णायकमा रहेका थिए ।

उनी विभागीय टिमका एकमात्र अन्तर्राष्ट्रियस्तरका तेक्वान्दो रेफ्री हुन् । त्रिभुवन आर्मी क्लबसँग आबद्ध दीपेन्द्र आफ्नो सफलताका लागि नेपाली सेनाको पनि ठूलो हात रहेको सुनाउँछन् ।

पेरिस आइपुगेका शिक्षामन्त्री देवेन्द्र पौडेल, फ्रान्सका लागि नेपाली राजदूतलगायत उपस्थित कार्यक्रममा रेफ्री दीपेन्द्रले प्रतियोगिता खेलाउन आउनका लागि ठूलो समस्या झेल्नुपरेको अनुभव सुनाउँदै त्यस्ता कार्यलाई सहजीकरण गरिदिन सम्बन्धित निकायसमक्ष अनुरोध गरेका थिए ।

दीपेन्द्र र नेपाली खेलकुदका लागि खुसीको पक्ष के भने विश्व तेक्वान्दो रेफ्रीका अध्यक्ष सर्ज सेम्बोनाले उनलाई प्रतिभावान रेफ्रीको रूपमा लिएका छन् । अध्यक्ष सेम्बोनाले दीपेन्द्रको निर्णायक क्षमतामाथि नजर लगाइरहेको पेरिसको पत्रिकाले उल्लेख गरेको छ । फ्रान्सेली भाषामा प्रकाशित ‘तेक्वान्दोका शेर्पा’ शीर्षकको समाचारमा रेफ्री अध्यक्ष सर्ज सिब्बोनाले भनेका छन्, ‘विश्वभरका रेफ्री बोलाउने जिम्मेवारीमा छु । म सबै याममा अन्तर्राष्ट्रिय, विश्व च्याम्पियनसिप वा ग्रान्ड प्रिक्समा उनीहरूसँग काँधमा काँध मिलाएर काम गर्छु । मलाई रेफ्रीका गुणहरू थाहा छ । दीपेन्द्र एक प्रतिभाशाली र इमान्दार रेफ्री हुन् । म उनलाई भविष्यमा हुने प्रतियोगिताका लागि सिफारिस गरिरहने छु ।’

दीपेन्द्र अहिले ‘सी’ श्रेणीका रेफ्री हुन् । उनको धोको अन्तर्राष्ट्रिय स्तरको ‘ए’ श्रेणीको रेफ्री बन्ने छ । दुई वर्षमा विश्व वरीयताका ८ खेल खेलाएपछि ‘बी’ र फेरि अर्को दुई वर्षमा विश्व वरीयताका १० खेल खेलाएपछि ‘ए’ श्रेणीको अन्तर्राष्ट्रिय रेफ्री बन्ने अवसर आउने छ । उनी लक्ष्य सुनाउँछन्, ‘विश्वका रेफ्रीहरूको कमिटीमा आबद्ध हुने लक्ष्य छ । त्यहाँ पुग्न सकेयता प्रचुर प्राविधिक ज्ञानलाई नेपालमा बाँड्न पाइन्छ । त्यसले नेपाली खेलाडीलाई नै फाइदा हुनेछ । सेनामा आबद्ध हुनाले संस्थाको छवि पनि राम्रो बन्ने आशा छ । विश्वस्तरमा नेपालको रेफ्री भनेर देशको शिर उँचो हुनेछ । मेरो त्यहीं पुग्ने धोको छ, पेरिसमा देखाएको मिहिनेतप्रति आशावादी छु ।’


प्रकाशित : मंसिर १६, २०७८ ०८:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×