बाइकमा तिलिचो बत्तिनेहरूसँग- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
वसुधा

बाइकमा तिलिचो बत्तिनेहरूसँग

हिमाली ठाउँहरूमा पदयात्रा गर्दा प्रतिदिन सामान्यतया ४०० मिटरभन्दा बढी उचाइमा चढ्न हुँदैन । बढी उचाइमा क्रमश: चढ्दै गए शरीर पातलो अक्सिजनमा सास फेर्न अभ्यस्त हुँदै जान्छ र लेक लाग्दैन ।
उत्तमबाबु श्रेष्ठ

काठमाडौँ — गत कात्तिक २५ को बिहान पारिलोघामसँगै अन्नपूर्ण हिमाललाई दक्षिण पारेर मनाङको हुम्दे (विमानस्थल भएको ठाउँ) बाट मनाङगाउँतर्फ बढ्दै गर्दा पूर्वी आकाशमा एकाएक हेलिकप्टर देखियो । हेर्दाहेर्दै उक्त हेलिकप्टर हाम्रो टाउकैमाथिबाट तिलिचो तालतिर बत्तियो । र, केही मिनेटमै त्यहाँबाट फर्किएर आएकै बाटो मस्र्याङ्दीको खोचैखोच आकाशबाट अदृश्य भयो ।


मनाङ यात्रा गरिरहेका हामीले लख काट्यौं, कसैको उद्घार गर्न आएको हेलिकप्टर बिरामी लिएर गयो । नभन्दै उक्त हेलिकप्टर उद्घारकै लागि रहेछ । त्यसको तीन दिनपछि त्यहीँ हुँदा, उक्त हेलिकप्टरले उद्घार गरेर काठमाडौंको अस्पतालमा पुर्‍याएका बिरामीको केही समयमै मृत्यु भएको खबर यसै दैनिकमा पढ्यौं । समाचारमा जनाइएको मृत्युको कारण थियो—लेक लाग्नु । मृतक २३ वर्षीय प्रवीण थापा त्यहाँ कसरी पुगेका थिए, थाहा भएन । तर यतिखेर उनीजस्ता थुप्रै युवायुवतीको आकर्षक गन्तव्य बनेको छ, विश्वकै अग्लो स्थानमा रहेमध्येको एक ताल— तिलिचो । काठमाडौंलगायतका सहरहरूबाट बाइकमा नेपाली झन्डा फहराउँदै तिलिचो पुग्नु, झन्डा लिएर फोटो खिच्नु र फोटोलाई सञ्जालमा सजाउनु यतिखेर ‘ट्रेन्डिङ’मा छ ।

कोभिडका कारण थलिएको मनाङको पर्यटन बाढीले बिगारेका सडकहरूमा ट्रयाक खुलाएसँगै गुलजार बनेको रहेछ, आन्तरिक युवा पर्यटकहरूका कारण । तिलिचो पुग्ने बाटाका भरिभराउ होटल र लजहरूमा विदेशीभन्दा आन्तरिक पर्यटकहरूको संख्या बढी थियो । केहीवर्षयता बढ्दै गएको आन्तरिक पर्यटकको चापले त्यो रुटमा नयाँ होटलहरू खुल्नेक्रम बढिरहेकोछ । आन्तरिक पर्यटकहरूको संख्यामा बढोत्तरीसँगै लेक लागेर बिरामी हुने र मृत्यु हुने क्रमपनि बढ्न थालेको रहेछ । स्थानीय बासिन्दाहरूका अनुसार, त्यहाँ लेक लागेर बिरामी हुनेहरूमा नेपालीको संख्या ८० प्रतिशतभन्दा माथि छ ।

हतारको यात्रा

यात्रामा भेटिएका केही यात्रुसँगको हाम्रो अन्तरक्रिया र स्थानीय बासिन्दाहरूको भनाइअनुसार, मोटरसाइकल वा स्कुटरमा तिलिचोतिर हिँडेका अधिकांश युवा पहिलो दिनमै मनाङको खान्सार गाउँ पुग्ने रहेछन्, जुन काठमाडौंदेखि करिब २५० किलोमिटरको दूरीमा छ । दोस्रो दिन उनीहरू खान्सारबाट तिलिचो बेसक्याम्प र तेस्रोदिन बिहानै तिलिचो पुगेर फर्कंदा खान्सार वा मनाङ बस्ने अनि चौथो दिन सहर रवाना हुने रहेछन् । ‘छुट्टी मनाउन,’‘रमाइलो गर्न,’‘साथीहरूले जाऔं भनेर’सहज गन्तव्य पोखरा वा चितवनतिर गएजस्तैगरी ४९१९ मिटरको उचाइमा रहेको तिलिचो जानेहरू अधिकांश चाँडै यात्रा सक्ने ध्याउन्नमा भएको देख्न सकिन्थ्यो । त्यसकारण विदेशीहरूले सातदेखि दस दिन लगाउने ट्रेकिङ उनीहरूले चार दिनमै फत्ते गर्न खोज्ने रहेछन् ।

साथै त्यहाँ पुग्ने उल्लेख्य नेपालीहरूका पोसाक, झोला, जुत्ताहरू पनि हिउँले ढाक्ने, चिसो र उच्च हिमाली भेगमा गरिने ट्ेरकिङका लागि अनुपयुक्त देखिन्थे । कोही कन्भर्स जुत्ता वा मोजा र चप्पलमा देखिन्थे त कोही कटन सर्ट र प्यान्टमा । कोही पछ्यौरी ओढेर हिँडेका त कोही एथ्लिट ब्यागलाई दुई जनाले उचाल्दै सकी–नसकी अघि बढेका । हिमालको देश भएपनि फेदीका बासिन्दाहरूले हिमाल चढेको देख्दा लाग्थ्यो— हामीलाई हिमाली यात्राका बारेमा निकै कम जानकारी छ । सधैं इन्टरनेटमा झुन्डिएपनि हामीलाई उचाइमा जाँदा गर्नुपर्ने पूर्वतयारीका बारेमा इन्टरनेटमा बग्रेल्ती पाइने जानकारी खोज्न र पढ्न फुर्सद छैन †

लेक लाग्नुका कारण

हाम्रो वायुमण्डलमा हामीलाई श्वास–प्रश्वासमा चाहिने अक्सिजनको मात्रा लगभग २१ प्रतिशत छ । तर वायुमा घुलिएको अक्सिजनको मात्रा संसारका सबै ठाउँमा एकैनासको हुँदैन, स्थानको उचाइसँगै अक्सिजनको मात्रामा ठूलो घटबढ हुने गर्छ । समुद्री सतहका तुलनामा उच्च हिमालमा वायुमण्डलीय चाप कम हुन्छ । यसका कारण समुद्री सतहबाट जतिमाथि उचाइमा उक्लँदै गयो, त्यति त्यहाँको हावामा अक्सिजनको मात्रा कम हुँदै जान्छ । उदाहरणका लागि, समुद्री सतहमा अक्सिजनको मात्रा २०.९ प्रतिशत हुन्छ भने १३०० मिटरको उचाइमा अवस्थित काठमाडौंमा करिब १७.९ प्रतिशत, ३५५० मिटरमा रहेको खान्सारमा १३.५ प्रतिशत, ४१५० मिटर उचाइको तिलिचो बेसक्याम्पमा १२.४ प्रतिशत र ४९१९ मिटरमा अवस्थित तिलिचो तालको हावामा करिब ११.३ प्रतिशत पाइन्छ । सगरमाथाको हावामा अक्सिजनको मात्रा घटेर ६.९ प्रतिशतजति हुन्छ, त्यसैले सगरमाथा आरोहणमा बाह्य अक्सिजन चाहिन्छ ।

युवा ‘आइटिनरी’ अनुसार, एकैदिनमा काठमाडौंबाट खान्सार पुग्दा हाम्रो शरीर केही घण्टाभित्रै करिब २५ प्रतिशत कम अक्सिजन भएको हावामा सास फेर्न बाध्य हुन्छ । कम अक्सिजन भएका उच्च भूभागमा जाँदा मानव शरीरले धेरै अक्सिजन रगतमा सञ्चार गराउन सहयोगी होस् भनेर बढी रक्तकोष (रेड ब्लड सेल) र हेमोग्लोबिन उत्पादन गर्ने गर्छ । यो मानव शरीरको अनुकूलन क्षमता हो । तर शरीरमा रक्तकोष धेरै उत्पादन हुँदा त्यसले रगतलाई बाक्लो गराउँछ । बाक्लो रगतलाई पम्प गर्दा मुटुलाई बढी दबाब पर्छ, जसको प्रतिक्रियास्वरूप टाउको दुख्ने, रिँगटा लाग्ने, थकान महसुस हुने, सुत्न समस्या हुनेजस्ता सामान्य लक्षणहरू देखिन्छन्, जसलाई हामी लेक लागेको भन्छौं । सामान्यतया २५००मिटरभन्दा बढी उचाइ भएका ठाउँमा पुगेपछि मानिसहरूलाई लेक लाग्न सुरु हुन्छ । लेक लागेको सामान्य लक्षण देखिएपछि जति बढि उचाइमा चढ्दै गयो, त्यतिनै यसका लक्षणहरू गम्भीर बन्दै जान्छन् । लक्षण बढ्दै जाँदा फोक्सोमा रगत जम्ने वा मस्तिष्क सुन्निनेजस्ता गम्भीर लक्षण देखा पर्छन् र समयमै उपचार नहुँदा मानिसहरूको मृत्युसमेत हुन्छ ।

त्यसैले हिमाली ठाउँहरूमा जाँदा छिटछिटो उचाइमा चढ्न सिफारिस गरिँदैन । हिमालयन उद्घार संघका अनुसार, त्यस्ता ठाउँहरूमा पदयात्रा गर्दा प्रतिदिन सामान्यतया ४००मिटरभन्दा बढी उचाइमा चढ्न हुँदैन । बढी उचाइमा क्रमश: चढ्दै गए शरीर पातलो अक्सिजनमा सास फेर्न अभ्यस्त हुँदै जान्छ र लेक लाग्दैन । त्यसकारण, हतारोमा बाइकमा तिलिचोतिर बत्तिनेहरूमध्ये धेरैलाई लेक किन लाग्छ भन्ने कुराको अनुमान गर्न गाह्रो छैन । साथै लेक लागेको हल्का महसुस हुनासाथ थप उचाइमा चढ्न मनाही गरिन्छ र लक्षण बढेमा कम उचाइको क्षेत्रमा सकेसम्म चाँडो झर्ने गरिन्छ । तर साथीहरूले सक्छस् भन्दै जबरजस्ती गर्ने, हिँड्न नसकेको ठानेर घोडा चढाएर लाने (कतिपयमा घोडा चढ्दा लेक लाग्दैन भन्ने मान्यता पनि पाइयो) गर्दा लेक लाग्नेहरू गम्भीर बिरामी हुने रहेछन् ।

हतारमा उचाइ चढ्ने र अर्कातिर रमाइलो गर्न आएको भन्दै अत्यधिक मद्यपान गरिदिने गर्नाले समस्या बढेको स्थानीय बासिन्दाहरू बताउँछन् । लेक लागेका बेला रक्सी खाँदा त्यसले थप नराम्रो गर्छ भन्ने यथेष्ट वैज्ञानिक प्रमाण नभेटिए पनि उचाइमा अल्कोहलले दुई किसिमले नकारात्मक असर पुर्‍याउँछ । पहिलो, उच्च हिमाली भेग सुक्खा हुन्छ, त्यसैले लेक लाग्ने असर कम गर्न सक्दो पानी पिउने सल्लाह दिइन्छ । बढी अल्कोहलले शरीरलाई थप सुक्खा बनाउँछ । दोस्रो, लेक लाग्दा देखिने लक्षण टाउको दुख्नु, रिँगटा लाग्नुलाई अल्कोहलको प्रभावले झनै् गम्भीर बनाउन सक्छ । यी सबै कारणले गर्दा स्थानीय बासिन्दाहरूले महसुस गरेजस्तै आन्तरिक पर्यटकहरूमा बढी लेक लाग्ने गरेको र त्यसले दुर्घटना पनि निम्त्याउने गरेको हुनसक्छ ।

शेर्पाको बलिष्ठ शरीर

तल्लो भूभागका मानिसहरू हिमाल पुगेर फर्कंदा फेरिएको रगत बोकेर आउँछन् । भनिन्छ, तलका मानिसहरू दुई हप्ता हिमालमा बिताएर फर्किएपछि उनीहरूको शरीरको रगत पुरानै अवस्थामा फर्किन महिनौं लाग्छ । उनीहरूलाई हिमालको कम अक्सिजनयुक्त वातावरणमा सास फेर्नसमेत गाह्रो हुने र लेक लाग्ने गर्छ । तर शेर्पा र तिब्बती समुदायका मानिसहरू भने त्यस्तो कठोर वातावरणमा अभ्यस्त छन् । शेर्पा समुदायका मानिसहरू त्यस्तो कठोर वातावरणमा कम्तीमा ६०००वर्षदेखि बस्दै आएको बताइन्छ । ४०००मिटरभन्दा बढी उचाइका ठाउँहरूमा कडा परिश्रम गर्नसक्ने (भारी बोक्ने, दौडने, पशुपालन गर्ने), बिनाअक्सिजन सगरमाथा चढ्न सक्ने उनीहरूको बेजोड शारीरिक सामथ्र्यको रहस्य उनीहरूको अनुवंश (जिन) मा लुकेको कुरा वैज्ञानिक अनुसन्धानहरूले उजागर गरेकाछन्।

उच्च हिमालमा बस्ने शेर्पा र तिब्बती समुदायको शरीरमा ‘ईपीएएसएवान’ र ‘एएलजीएनवान’ नामक दुई विशिष्ट प्रकारका जिन हुन्छन् । त्यसैका कारण उनीहरू समुद्री सतहमा भन्दा लगभग ४० प्रतिशत कम अक्सिजन भएको हावाबाट कुशलतापूर्वक शरीरलाई आवश्यक अक्सिजन जोहो गर्न सक्षमहुन्छन् । उनीहरूको शरीरमा अक्सिजनको अधिकतम उपयोग गर्नसक्ने विशिष्ट क्षमता हुन्छ । उक्त जिनले गर्दा उनीहरूको रगतमा अन्य समुदायका तुलनामा कम हेमोग्लोबिन हुन्छ । कम हेमोग्लोबिन भएको पातलो रगतलाई मुटुले कुशलतासाथ पम्प गर्न सक्छ । पातलो रगतले उनीहरूलाई हृदयाघात हुने, रगत जम्नेजस्तो समस्या हुनबाट समेत जोगाउँछ ।

नेचर जर्नलमा प्रकाशित लेखअनुसार, शेर्पा समुदायमा पाइने उक्त अनुवंश ४००००वर्षपहिले लोप भइसकेको आदिमानवको एक उपप्रजाति डेनिसोभनबाट मानवजातिले प्राप्त गरेको हो । डेनिसोभनको उक्त अनुवंश उच्च भूभागमा बस्ने शेर्पा र तिब्बतीहरूसँग संरक्षित नै रहेको (उनीहरूलाई बाँच्न सहयोगी भएकाले) तर तल्लो भूभागमा बस्ने चिनियाँ मूलका मानिसहरूमा भने कालान्तरमा हराउँदै गएको उक्त लेखको निष्कर्ष थियो ।

एउटै देशमा बसे पनि तल्लो भेगमा बस्ने हामीहरूसँग शेर्पा समुदायको जस्तो विशिष्ट आनुवंशिक क्षमता छैन । त्यसैले हामीलाई लेक लाग्छ । हिमाल पुगेर बेंसी झर्दा हाम्रो शरीरको रगत फेरिन्छ । अहिले हिमाली भेगहरूमा पहुँच बढेसँगै हिमाल हेर्न जाने र लेक लाग्नेहरू बढ्दैछन् । गृह मन्त्रालयको विपत् पोर्टलअनुसार, नेपालमा सन् २०१४ देखि २०२१ सम्म लेक लागेर ७१ जनाले ज्यान गुमाएका छन् । २०१४ पछिका पाँच वर्षमा त्यसरी ज्यान गुमाउनेहरूको संख्या बढ्दै गएको छ । हिमालमा तल्ला भेगहरूका आन्तरिक पर्यटकको संख्या बढ्दै जाँदा आगामी दिनमा लेक लागेर मर्ने नेपालीको संख्या पनि अझै बढ्न सक्छ ।

अन्त्यमा, बाइक वा मोटरमा तिलिचोलगायतका ठाउँमा पुग्नेहरूलाई त्यहाँको वातावरणीय संवेदनशीलताका बारेमा जानकारी दिन, लेक लाग्न नदिन पुर्‍याउनुपर्ने सावधानीका बारेमा बताउन र लेक लागिसकेपछि अपनाउनुपर्ने उपचार विधि र सजगताका बारेमा जनचेतना जगाउन ढिला भइसकेको छ । हिमाली देशका बासिन्दा भएपनि हामीमा हिमालसम्बन्धी चेतना कमजोर छ । कतिले त नेपालमै हिउँसम्म छोएका हुँदैनौं । उक्त अज्ञानतालाई चिर्न हिमाल चिनाउने, सहरका विद्यालयहरूमै ट्रेकिङका बारेमा औपचारिक र अनौपचारिक रूपमा जानकारी गराउने, हिमाली वातावरणको संवेदनशीलताका बारेमा प्रशिक्षित गर्ने गर्न सकिन्छ । ट्रेकिङ रुटहरूमा विदेशीकेन्द्रित सूचनासँगै आन्तरिक पर्यटककेन्द्रित सूचनाहरू (साइनबोर्ड, पम्प्लेट, आगन्तुकको रेकर्ड) अनिवार्य गराउनुपर्छ । हिमाली देशका आफ्नै नागरिकलाई हिमाल जाँदा लेक लागेर मर्नबाट जोगाउने पाइलाहरू चाल्न अब ढिला नगरौं ।

प्रकाशित : मंसिर १५, २०७८ २२:०३
प्रतिक्रिया
पठाउनुहोस्

राप्रपामा होडबाजी : थापा र लिङ्देन को बढी राजावादी ? 

थापा र लिङ्देनले अध्यक्षमा उठ्ने घोषणा गरेसँगै राजतन्त्र पुनःस्थापनाको विषय चर्काएका छन्
मणि दाहाल

काठमाडौँ — संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्रको राजनीतिक एजेन्डा बोकेको राप्रपाको महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धा उत्रिएका नेताहरूबीच को बढी राजावादी देखिने भन्ने होड सुरु भएको छ । काठमाडौंमा बुधबार सुरु भएको एकता महाधिवेशनमा अध्यक्षका प्रतिस्पर्धीहरू कमल थापा र राजेन्द्र लिङ्देनले आफूलाई बढी राजावादी देखाउन कोसिस गरेका छन् ।

भृकुटीमण्डपमा आयोजित उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष थापाले उनका प्रतिस्पर्धी रहेका लिङ्देनभन्दा बढी राजतन्त्रको पक्षमा बोलेका थिए । पूर्वराजा ज्ञानेन्द्रको समर्थन आफूलाई रहेको दाबी गर्दै लिङ्देनले राजतन्त्र पुनःस्थापनाको विषयलाई जोड दिएका छन् ।

राप्रपाका ३ अध्यक्षमध्येका एक कमल थापाले सदन र सडक दुवैको संयुक्त संघर्षबाट राजसंस्था पुनःस्थापनाको रोडम्याप प्रस्तुत गरेका छन् । उनले सदनमा राप्रपाले सिट जित्न सके र सडकबाट १ लाख मानिस परिचालन गर्न सके नेपाललाई हिन्दु अधिराज्य बनाउन सकिने बताए ।

‘हाम्रो चिन्ता राप्रपाले कहिले दुईतिहाइ बहुमत ल्याउने, हिन्दु राष्ट्र कहिले ल्याउने भन्ने छ । उहाँहरूलाई के स्पष्ट पार्न चाहन्छु भने सदन र सडक दुवै मैदानलाई प्रयोग गर्नुपर्छ । संसदीय शक्ति र सडकको शक्ति प्रयोग गरेर हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापना गर्न सकिन्छ,’ थापाले भने, ‘राप्रपाले काठमाडौंको सडकमा १ लाखभन्दा बढी मानिस निरन्तर उतार्न सक्छ भने दुईतिहाइको धारा पर्खेर बस्दैन, संसद्को शक्ति र सडकको शक्तिबाट नागार्जुनबाट राजालाई नारायणहिटीमा राख्ने काम जनताले गर्छन् ।’ थापाले अबको नारा ‘राजा आऊ देश बचाऊ’ होइन ‘जनता आऊ, राजा ल्याऊ’ हुने बताए ।

अध्यक्षका अर्का आकांक्षी राजेन्द्र लिङ्देनले वर्तमान नेतृत्व र कार्यशैलीबाट हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापना हुन नसक्ने बताए । ‘जसोतसो जोडजाड गरेर तीन प्रतिशत कटाउने, कुनै पार्टीसँग मिलेर दुई–चार सिट जोड्ने, जोडजाड गरेर ८/१० सिट बनाउने र कुनै पार्टीको पिछुवा बनेर केही मान्छेलाई मन्त्री बनाउन सकिएला तर यही कार्यशैलीले राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापना गर्ने पार्टी बन्न सक्दैन,’ बुधबार राप्रपा महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै लिङ्देनले भने ।

राप्रपा नेता भुवन पाठकले अध्यक्ष थापाले लगातार आफ्ना एजेन्डा उठाउँदै आएको तर लिङ्देन केही असन्तुष्टहरूसँग मिलेर चुनाव जित्न सकिन्छ कि भनेर लागेको बताए । ‘केही हिन्दुवादी राजावादी थापासँग असन्तुष्ट छन्, विभिन्न राजावादी पार्टी स्थापना भएको छ, उनीहरूले पनि कमल थापा नेतृत्वमा हुन्जेल मौका नपाउने भएकाले खेल भइरहेको छ,’ उनले भने, ‘अघिल्लो महाधिवेशनमा भन्दा अहिले राजतन्त्रको विषय मुखरित भएको छ तर हाम्रो नीति पहिले जे छ, त्यही नै हो ।’

हिन्दु अधिराज्यको स्थापना र संघीयता खारेजी निरन्तरको एजेन्डा रहेको उनले बताए । लिङ्देन र थापाले उठाएका विषयमा कुनै फरक नभएको उनले दाबी गरे । ‘यो शैलीको फरक भएको विषय मात्रै हो,’ उनले भने, ‘मुख्य रूपमा सबैको दस्ताबेज यही छ ।’ सुनील थापासहितको समूह कांग्रेसमा प्रवेश गरेपछि राप्रपामा हिन्दु अधिराज्यको विषयमा मतैक्य छ । ‘राजसंस्थाका विषयमा हामीमा कुनै प्रकारको मतभेद छैन, आफू असली राजावादी हुँ भनेर प्रस्तुत हुँदा भोट बढ्छ भनेर चर्कोसँग उठाएको मात्रै हो,’ उनले भने ।

प्रकाशित : मंसिर १५, २०७८ २१:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×