कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

घरबाटै थालौं लैंगिक हिंसाविरुद्धको अभियान

महिलाविरुद्धको हिंसा अन्त्यका लागि महिला मात्र हैन, हरेक घरपरिवारका पुरुषहरू सचेत, सजग र संवेदनशील हुनु अपरिहार्य छ ।
कमला पराजुली

आफ्नो पहिचान, आत्मसम्मान र स्वतन्त्रतालाई अखण्डित राख्न एवं हिंसारहित ढंगले सहअस्तित्वपूर्ण जीवन बाँच्न पाउनु हरेक व्यक्तिको नैसर्गिक अधिकार हो र यसलाई मानव अधिकार पनि भनिएको छ । यसरी हिंसा कसैउपर पनि हुनु व्यक्तिको मानव अधिकारको हनन हो । कुनै पनि व्यक्तिलाई शारीरिक, मानसिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपमा हानि वा चोट पुर्‍याउने कार्य नै हिंसा हो ।

घरबाटै थालौं लैंगिक हिंसाविरुद्धको अभियान

कोहीमाथि कुनै पनि किसिमको हिंसाबाट व्यक्तिको पहिचान, समानता, स्वतन्त्रता, अवसर, विकास र आत्मसम्मानपूर्वक बाँच्न पाउने अधिकारको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हनन भइरहेको हुन्छ । यसरी हेर्दा, जुनसुकै हिंसाले व्यक्तिको मानव अधिकार उल्लंघन गर्छ । अतः प्रत्येक व्यक्तिको मानव अधिकार र स्वतन्त्रताको संरक्षण र संवर्द्धन गर्नु राज्यको दायित्व हो ।

महिलाका मानव अधिकारका विषयमा अझ एक कदम बढेर राज्य मात्र नभई सम्पूर्ण समाजले नै यसलाई जिम्मेवारीपूर्वक र संवेदनशील तवरले आत्मसात् गर्न जरुरी छ । ऐतिहासिक रूपले दमन र भेदभावको सामान गर्दै आइरहेका सम्पूर्ण महिलाको अधिकारका मामिला, वा अझ महिलामाथि हुने हिंसाबारे हामी सबैको सधैं नै ध्यानाकर्षण हुनुपर्छ । हरेक वर्षझैं यो बेला (२५ नोभेम्बर–१० डिसेम्बर) पनि महिलामाथि हुने हिंसाविरुद्धको सोह्रदिने अभियान चलिरहेको छ, जसले पुनः महिलाको मानव अधिकार, महिला अधिकार र महिलामाथि हुने हिंसाका कुराहरूलाई मूल प्रवाहमा ल्याएको छ ।

महिलामाथि हुने हिंसा भन्नाले महिलाको व्यक्तिगत, पारिवारिक वा सार्वजनिक जीवनमा लैंगिक आधारमा हुने हिंसाजन्य कार्य हो । महिलालाई पारिवारिक, आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक — कुनै पनि कारणले शारीरिक, मानसिक, यौनजन्य क्षति वा पीडा पुर्‍याउनु वा पुर्‍याउने सम्भावना हुनु नै महिलामाथिको हिंसा हो । यही परिभाषाका आधारमा हेर्ने, बुझ्ने र अनुभूति गर्ने हो भने हरेक दिन हाम्रै घर, परिवार र समाजमा कुनै न कुनै रूपमा महिलामाथि हिंसा भइरहेको पाउन सक्छौं । हरेक दिन समाचारमा महिला हिंसाका घटनाहरू सुनिरहेका छौं, पढिरहेका छौं र यसको रोकथाम हामी सबैको प्रतिबद्धताबिना असम्भव छ । त्यस कारण ‘घरैबाट सुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने राष्ट्रिय नाराका साथ यस वर्ष पनि २५ नोभेम्बरमा हामीले महिला हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनायौं ।

विश्व महिला आन्दोलन तथा अभियानका क्षेत्रमा २५ नोभेम्बर र ६ डिसेम्बरलाई विशेष रूपमा सम्झिने गरिन्छ । २५ नोभेम्बर १९६० मा डोमिनिकन रिपब्लिकका तीन साहसिक दिदीबहिनी (प्याट्रिया, मिनर्भा, रमारिया) को तत्कालीन तानाशाह राफेल त्रुजिलोको सरकारले कायरतापूर्ण तथा निर्मम हत्या गरेको थियो । एकै परिवारका यी तीन दिदीबहिनीले त्रुजिलो सरकारविरुद्ध सशक्त आन्दोलन गरेका थिए र त्यही कारण षड्यन्त्रपूर्वक तिनीहरूको हत्या गरिएको थियो । यी तीन दिदीबहिनीको उच्च साहस र त्यागको सम्मान गर्दै ल्याटिन अमेरिकी देशहरूमा २५ नोभेम्बरलाई महिला हिंसाविरुद्धको दिवसका रूपमा मनाउन थालियो । त्यसको झन्डै तीन दशकपछि संयुक्त राष्ट्र संघको साधारणसभाले त्यसै दिनलाई अन्तर्राष्ट्रिय महिला हिंसाविरुद्धको दिवसका रूपमा घोषणा गरेको थियो ।

त्यसै गरी ६ डिसेम्बर १९८९ मा मोन्टरेल विश्वविद्यालय क्यानडाको पोलिटेक्निक कलेजका २५ वर्षीय मार्क लेपिनले चौध छात्राहरूको सामूहिक हत्यापश्चात् आत्महत्या गरेका थिए । यसै घटनाको सम्झनामा सन् १९९१ मा सेतो रिबन अभियान थालियो, महिला हिंसाविरुद्ध पुरुषहरूलाई जागरुक गराउने अभिप्रायले । अंग्रेजी अक्षर ‘भी’ (भ्वाइलेन्स) लाई उल्टो बनाउँदा बन्ने आकारमा सेतो रिबन लगाउनु भनेको ‘म हिंसा सहन्नँ, आफू पनि गर्दिनँ र प्रतिकार गर्छु’ भन्ने प्रतिबद्धता हो । हाल विभिन्न देशमा सोह्रदिने अभियानका बेला सेतो रिबन लगाउने चलन छ ।

नेपालले २०५४ सालदेखि लैंगिक हिंसाविरुद्धको सोह्रदिने अभियान मनाउँदै आइरहेको छ । तर चौबीस वर्ष बितिसक्दा पनि महिला हिंसा अझ बढ्दै जानु अत्यन्त दुःखद र चिन्ताको विषय हो । अझ पछिल्ला वर्षहरूमा गाउँदेखि सहरसम्म नयाँ प्रकृतिका महिला हिंसा देखिन थालेका छन्, जसलाई कानुनको दायरामा ल्याउन सहज भइरहेको छैन ।

सोह्रदिने अभियानको सुरुआत विदेशी घटना र स्मरणबाट भए पनि यसले हामीलाई नेपालीकै विभिन्न घटनाको मात्र नभई महिला हिंसाविरुद्धको अभियानका अगुवाहरूको सम्झना गर्ने अवसर पनि दिएको छ । महिला हिंसा सदियौंदेखि अनेक रूपमा हुँदै आएका छन् । विभेद, अन्याय, अत्याचार र उत्पीडनविरुद्ध संसारभर महिलाहरूले संगठित वा असंगठित माध्यमले प्रतिकार र विद्रोह गरेको इतिहास पनि हामीले पढेका छौं । हाम्रो देशका सन्दर्भमा यस्तो आवाज उठाउँदै विद्रोह गर्ने सशक्त महिला थिइन्— योगमाया ।

विसं १९२५ मा पूर्वी पहाडको भोजपुरमा जन्मिएकी योगमायाले राणा शासनकालमा महिलालाई सतीका रूपमा जिउँदै जलाउने र मानिसलाई पशुसरह दासदासी बनाउने कुप्रथाविरुद्ध सशक्त आवाज उठाएकी थिइन् । परिणामस्वरूप सबै दासदासी मुक्त भए, सती पठाउने कुप्रथाको अन्त्य भयो । तर त्यसै बेलादेखि उठाइन थालेका — छोरीले पनि पढ्न पाउनुपर्ने, बालविवाह र बहुविवाहको अन्त्य हुनुपर्ने, विधवा विवाह हुनुपर्ने र छोराछोरीबीचको विभेद हुन नहुने एवं घरेलु हिंसा, यौन हिंसा, जातीय विभेद, धार्मिक अन्धविश्वास र सांस्कृतिक कुसंस्कार एवं खराब अभ्यासलगायतका आर्थिक, सामाजिक, सांस्कृतिक विभेद जस्ता — सवालहरू आज पनि अन्त्य भएका छैनन् । यिनका विरुद्ध विभिन्न अन्तर्राष्ट्रिय सन्धि–महासन्धि, सिफारिस, संविधान, राष्ट्रिय कानुन, ऐन–नियमलगायतका व्यवस्था भए पनि त्यत्तिकै संगठित आवाज उठाइरहनुपरेको छ ।

पितृसत्तात्मक सोच, सामन्ती संस्कार र मूल्यमान्यताका कारण शोषण, जातीय विभेद र छुवाछुत, चरम लैंगिक विभेदविरुद्धको अभियान सञ्चालन गर्दागर्दै योगमायाले १९९८ असार २२ गते आफ्ना अनुयायीहरूसहित तत्कालीन राज्य व्यवस्थालाई चुनौती दिँदै विद्रोहस्वरूप भोजपुरको मझुवा बेसीबाट अरुण नदीमा जलसमाधि लिएकी थिइन् । आज हामीले उक्त दिनलाई समेत नेपाली समाजमा लैंगिक हिंसाविरुद्ध अभियानका रूपमा स्मरण गर्नु त्यत्तिकै आवश्यक छ ।

एक्काइसौं शताब्दीमा पनि हाम्रो समाजमा एउटी महिलालाई कथित बोक्सीको आरोपमा बर्बर यातना दिएर चरम हिंसा र हत्यासमेत भइरहेको छ । महिनावारी भएकै कारण अपहेलित भएर घरबाहिर असुरक्षित बस्नुपर्ने बाध्यकारी अमानवीय कुप्रथा (छाउपडी) कतिपय समाजमा कायमै छ । चरम पितृसत्तात्मक सोचका कारण छोरा–छोरीमा विभेद, स्त्री भ्रूणको हत्याजस्ता अमानवीय कृत्य भइरहेकै छन् । छोरी जन्मिएपछि आमालाई गरिने हेला, दुर्व्यवहार, तिरस्कारÙ छोरीले जन्मेदेखि पलपल झेलिरहनुपर्ने भेदभाव, उपेक्षा, अनेक किसिमका हिंसा, वञ्चितीकरणÙ दाइजो नभएको वा कम भएको कारण हुने शारीरिक–मानसिक र यौनजन्य शोषण र हिंसाÙ बालविवाह र सानै उमेरमा बच्चा जन्माउने बाध्यताÙ प्रजनन स्वास्थ्यको समस्याÙ आफन्तैबाट हिंसा र शोषणÙ पारिवारिक–घरेलु हिंसाÙ आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिकलगायतका पक्षहरूबाट बालिकादेखि वृद्धासम्मले दैनन्दिन भोग्नुपरेका कहालीलाग्दा घटनाहरूले हाम्रा ऐन, कानुन, पारिवारिक–सामाजिक सभ्यता र संस्कृतिमै प्रश्न उठाइरहेका छन् ।

हामी कस्तो समाजमा बाँचिरहेका छौं ? मानिसले मानिससँग, छोरी बाबुसँग, दिदीबहिनी दाजुभाइसँग, बुहारी ससुरासँग, भाउजू–बुहारी देवर–जेठाजुसँग, छात्रा गुरुसँग, विश्वास र भरोसा गरिएकासँग असुरक्षित हुनुपर्ने, डराउनुपर्ने अवस्था छ । पाइलापाइलामा बलात्कार, यौन शोषण, शारीरिक–मानसिक हिंसा सहनुपर्ने बाध्यता छ । सहन नसक्दा मनोरोगी हुने, आत्महत्यासमेत गर्न विवश हुने परिस्थितिले जरो गाडेको छ ।

अति विपन्न परिवारदेखि अति सम्पन्न घरानासम्म, निरक्षरदेखि अति शिक्षितसम्म, गाउँदेखि सहरसम्म जुनसुकै जाति, भाषा, धर्म, वर्ण, वर्ग, तह र समुदायका महिलाहरू हिंसाबाट पीडित छन् । यसको मूल कारण महिलालाई वस्तु र साधनका रूपमा हेरिने पितृसत्तात्मक सोच र चिन्तन नै हो । तसर्थ महिलाविरुद्धको हिंसा अन्त्यका लागि महिला मात्र हैन, हरेक घरपरिवारका पुरुषहरू सचेत, सजग र संवेदनशील हुनु अपरिहार्य छ । परिवार, समाज र राज्यका सबै पक्ष र सम्बन्धित निकायहरूले महिलाको मानव अधिकारलाई आत्मसात् गर्दै महिलामाथि हुने सबै किसिमका हिंसाविरुद्ध शून्य सहनशीलता अवलम्बन गर्नुपर्छ ।

पराजुली राष्ट्रिय महिला आयोगकी अध्यक्ष हुन् ।

प्रकाशित : मंसिर १२, २०७८ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?