एमालेका कम्युनिस्टप्रेमीसँग संवाद

मजदुरहरू ‘हायर एन्ड फायर’, ‘नो वर्क नो पे’, ठेकेदारी प्रथा र बेरोजगारीबाट चकनाचुर हुँदै छन् । किसानहरू बैंक, स्थानीय सुदखोर र कमिसनमाथि उभिएको विदेशी आयातबाट प्रताडित छन् । यस्तोमा वर्ग संघर्षको नयाँ मोडल के हुने ?
आहुति

नेकपा (एमाले) को दसौं महाधिवेशन चलिरहेको छ । लाखभन्दा बढी मानिसको सहभागितामा उद्घाटन समारोह सम्पन्न हुनु भर्खर फुट बेहोरेको एमालेका निम्ति शानदार सफलता हो । आसन्न चुनावको तयारीका सन्दर्भमा एमालेको यो भीडभाड प्रदर्शनले संसद्वादी अन्य पार्टीलाई उकुसमुकुस बनायो होला । त्यसो त अन्य प्रतिस्पर्धी संसद्वादी पार्टीहरूले पनि अब यस्तै भीडभाड प्रदर्शनको तयारी गरेर एमालेलाई जवाफ दिने र आफ्ना समर्थकका अन्ध–अहम् शान्त पार्ने कोसिस अवश्य गर्नेछन् ।

एमालेका कम्युनिस्टप्रेमीसँग संवाद

कम्तीमा आफ्नो अनुकूलताको स्थानमा देउवा, प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवले यही हाराहारीको भीडभाड प्रदर्शन गर्नु आजको अवस्थामा असम्भव विषय पनि होइन । किनभने यस्ता भीडभाड प्रदर्शनका लागि दुई चीज चाहिने हुन्— जनाधार र पैसा । संसद्वादी प्रमुख पार्टीहरूसँग यी दुवै चीज अहिले छन्, तब त यो व्यवस्थाका मुख्य पार्टीहरूका रूपमा उनीहरू उपस्थित छन् ।

आजको राजनीतिक माहोलमा थोरै मानिस नीति र विचारका आधारमा पार्टीमा सक्रिय हुने, धेरै राजनीतिक मानिस सम्बन्ध र शक्तिका आधारमा पार्टीमा लाग्ने अनि आम मानिसचाहिँ भीडभाडको पछि लाग्ने अवस्था छ । यो आजको विश्वकै मानव राजनीतिक चेतनाको स्तर हो (?) र रुसका पुटिन, भारतका मोदीलगायतको प्रवृत्तिको उन्नयनलाई मूल्यांकन गर्दा त यही निष्कर्षनजिक पुगिन्छ ।

राजनीतिमा भीडभाड–जोगाडले पार्टीका नेता र कट्टर समर्थकमा अभेद्य अहम् निर्माण गर्छ । एमालेको सबैभन्दा माथि डुक्रिरहेको नेता मण्डलीको अहम्को पारो कति माथि चढेको होला, कल्पना गर्न सकिन्छ । त्यसैले यति बेला एमालेका बारेमा गरिने सृजनात्मक आलोचनालाई त्यस श्रेणीका नेताले स्वस्थ रूपमा लिन निकै गाह्रो छ । त्यस श्रेणीका नेता–कार्यकर्तालाई निसाना बनाएर बहस चलाउनका लागि यो सही समय होइन ।

तर एमाले रत्न बान्तवाहरूको रगतमाथि चिप्लेटी खेल्दै आएको पार्टी हो । वीरेन राजवंशी र रामनाथहरूको शहादत अनि पानवीर विश्वकर्माहरूको बैंस निचोरेर बनेको पार्टी हो । त्यसैले त्यस पार्टीभित्र माथि वा तल अझै पनि सयौंको संख्यामा त्यस्ता नेता–कार्यकर्ता किंकर्तव्यविमूढझैं जीवित छन् जसले अझै एमालेलाई कम्युनिस्ट पार्टी बनाउन सकिन्छ कि भन्ने धुकधुकी पालेर पर्खिरहेका छन् । त्यसै गरी हजारौं युवा कार्यकर्ता र समर्थक छन् जो यस्तै त होला कम्युनिस्ट पार्टी भनेर टोलाइरहेका छन् । सिद्धान्त, नीति र संस्कृतिलाई ध्यान दिन खोज्ने अक्करमा परेको एमालेभित्रको यो पंक्ति वास्तवमै कम्युनिस्टप्रेमी जमात हो । त्यो निरीहजस्तै प्रतीत हुने जमातसँग महाधिवेशन या त्यसअघिपछि संवाद गरिरहनु समकालीन कम्युनिस्ट क्रान्तिकारीहरूको दायित्व हो ।

आज कम्युनिस्ट पार्टीको झन्डालाई एमाले नेता मण्डलीले यौनदासीको वस्त्रजस्तै बनाइदिएको छ । त्यसलाई उखानटुक्का वाचनको संगीतमा फरफराएको छ । यो वर्ग संघर्षमय संसार हो, त्यसैले श्रमिक वर्गविरोधीले सबै खाले हर्कत गर्छन् । चिनेको चोरले काट्छ भनेझैं श्रमिक वर्गबाटै जन्मिएका वर्गविरोधी तत्त्वहरूले झन्डाको सबैभन्दा खराब तरिकाले हुर्मत लिने कोसिस गर्छन् नै ।

यो विषय एमालेका कम्युनिस्टप्रेमीलाई विरासतमा प्राप्त ज्ञान हो । तर मार्क्सवादी विज्ञान र मानवमुक्तिको सपना यस्ता हर्कतभन्दा धेरै माथिको उडान हो भन्ने यथार्थ पनि उनीहरूले नबिर्सेको हुनुपर्ने हो । कम्युनिस्ट ध्येय विश्वव्यापी क्रान्तिकारी अर्थ–राजनीतिक आयामसँग आफ्नो देशभित्रका श्रमिक वर्गको मुक्तिलाई जोड्ने अभियान हो । लेनिन बाँचेको युगमा जस्तो पुँजीवादी साम्राज्यवादले प्रत्यक्ष उपनिवेश कायम गर्ने, पुँजीवादी देशहरू फरक–फरक गुटमा विभक्त भएर विश्वयुद्धसम्म लड्ने र लाखौं मजदुरलाई औद्योगिक केन्द्रमा संगठित गर्ने नीति त्यागेको छ । त्यसको सट्टा विकसित विज्ञान–प्रविधिलाई प्रयोग गरेर नवऔपनिवेशिक शोषणको जाल फिँजाउने, बहुराष्ट्रिय कम्पनीमार्फत संसारभरका पुँजीपतिहरू एकताबद्ध हुने र श्रमिक वर्गलाई उत्पादनका केन्द्रबाट असंगठित सेवा क्षेत्रमा फालिदिने नीति लागू गरिरहेछ । त्यति मात्रै होइन, आजको पुँजीवादले श्रम क्षेत्रमा प्रवेश नै गर्न नपाउने विस्थापित वर्गसमेत जन्माइरहेछ ।

यो बिलकुलै नयाँ युगको नयाँ परिदृश्य हो । यही भूमण्डलीकृत पुँजीवादले अविकसित र विकासोन्मुख देशहरूका राष्ट्रिय पुँजीपतिहरूलाई आफ्नो उत्पादन मात्र बेच्ने, आफैं उत्पादन नगर्ने दलाल पुँजीपति वर्गमा रूपान्तरण गरेको छ । यही नीतिको मातहत नेपालमा राष्ट्रिय पुँजीपति वर्ग गायब भई दलाल पुँजीपति वर्ग हावी भएको छ । यो दलाल पुँजीवादी व्यवस्थाले नेपालमा कुनै सामान उत्पादन गर्नै दिँदैन, गरे पनि केवल जोडजाडवाला छद्म उत्पादन मात्रै गर्छ र सिंगो समाजलाई फगत उपभोक्तामा परिणत गरिदिएको छ । यही चक्रव्यूहमा परेर लाखौं मानिस भारतसहित विदेशमा जान बाध्य छन् ।

प्रवासिन बाध्यहरूको कथा विश्वव्यापी पुँजीवादले ल्याएको परिघटना हो । बंगलादेश, भारत, फिलिपिन्सलगायतका श्रमिकहरूको कथा हो । यसको समाधान के विश्वव्यापी क्रान्तिको नयाँ अध्यायबिना सम्भव छ ? महेश बस्नेत र सूर्य थापाजस्ता नेताहरूको दादागिरी र गालीमय स्टाटस नै हिरो हुने स्तरको महाधिवेशनले यी गम्भीर सैद्धान्तिक मुद्दामा प्रवेश गर्ने ल्याकत कदापि राख्न सक्दैन । संसदीय हाँसोठट्टा, दादागिरी र भीडभाडमय यस्ता महाधिवेशनबाट केही चतुर जिब्रोका निम्ति स्वाद आर्जन हुन सम्भव छÙ श्रमजीवी जनताका निम्ति नारकीय जीवनको विकल्प जन्मनु सम्भव छैन । एमाले महाधिवेशनसँग आजको विश्व पुँजीवादले ल्याएको विकराल समस्यासँग जुध्ने कुनै एजेन्डा छैन । त्यो स्वाभाविक हो किनभने त्यसको मुख्य नेतृत्व–हिस्साले पुँजीवादसँग आत्मसमर्पण गरेको धेरै समय भैसकेको छ । तर एमालेका कम्युनिस्टप्रेमीहरूका निम्तिचाहिँ यी जीवन्त विषय हुनैपर्ने हुन् ।

एमालेभित्रका कम्युनिस्टप्रेमीहरूलाई सोध्नु जायज नै हुनेछ कि त्यो पार्टी कुन वर्गको हो ? यथार्थमा एमाले दलाल पुँजीपति वर्गकै एउटा हिस्साको पार्टी हो तर त्यस पार्टीका कम्युनिस्टप्रेमीले त्यस्तो दुस्मन वर्गको पार्टी भइसकेको पक्कै सोचेका छैनन् । यदि उनीहरूले ठाने जस्तै दलाल पुँजीपति वर्गको पार्टी होइन भने के मध्यम वर्गको पार्टी हो त ? मध्यम वर्ग त पुँजीपति वर्गकै तल्लो हिस्सा भएकाले उनीहरूलाई त्यस्तो पनि लाग्दैन होला । यदि एमाले सर्वहारा–श्रमिक वर्गकै पार्टी हो भने त्यसले वर्ग संघर्ष कोसँग कसरी गर्छ त कमरेडहरू ? चैतन्य मिश्रहरूले लेनिनले मार्क्सवाद बुझेनन् भने पनि एमालेभित्रका कम्युनिस्टप्रेमीहरू त पार्टीले लेनिनवाद मान्छ भनेर त्यहाँ बसेका हुन् । लेनिनवादले त वर्ग संघर्षको अनिवार्यतामा जोड दिन्छ । तब कथित लेनिनवादी एमालेले कुन वर्गसँग संघर्ष गर्छ, कसरी गर्छ ?

दलाल पुँजीपतिहरूको थैली भरिदिएर अनि तिनकै पैसामा चुनाव लडेर वर्ग संघर्ष चल्छ ? एमालेको मुखपत्र ‘वर्ग संघर्ष’ कागज किन्ने पैसा नभएर बन्द गरिएको होला र कम्युनिस्टप्रेमी मित्रहरू ? अनि वर्ग संघर्ष नै त्यागेको पार्टी कसरी कम्युनिस्ट पार्टी होला ? आज मजदुरहरू ‘हायर एन्ड फायर’, ‘नो वर्क नो पे’, ठेकेदारी प्रथा र बेरोजगारीबाट चकनाचुर हुँदै छन् । किसानहरू बैंक, स्थानीय सुदखोर र कमिसनमाथि उभिएको विदेशी आयातबाट प्रताडित छन् । यस्तोमा वर्ग संघर्षको नयाँ मोडल के हुने, कस्तो हुने ?

एमालेको दस्तावेजमा एकाध स्थानमा दलाल पुँजीवादको उल्लेख भेटिन्छ अनि घनश्याम भुसालहरू दलाल पुँजीपति वर्गलाई राष्ट्रिय पुँजीपति वर्गमा रूपान्तरण गरिदिने प्रवचन दिन्छन् । वर्गीय समाजको यो पाँच हजार वर्षको इतिहासमा कहिले पनि सिंगै प्रतिक्रियावादी वर्ग अर्को प्रगतिशील वर्गमा रूपान्तरण भएन ।

मार्क्सवादले त्यसैले भनेको हो— एउटा वर्गका एकाध व्यक्ति अर्को वर्गमा रूपान्तरण हुन सक्छन्, सिंगै वर्ग होइन । तर घनश्याम भुसालहरूको दलाल पुँजीपति वर्ग सिंगैलाई फगत चुनाव जितेर राष्ट्रिय पुँजीपतिमा रूपान्तरण गरिदिने असैद्धान्तिक गुड्डीलाई एमालेका कम्युनिस्टप्रेमीहरूले कसरी पचाएका हुन् ? वास्तवमा एमालेसँग वर्ग संघर्षको कुनै नीति र योजना नै छैन किनकि उसले त्यो विषय परित्याग गरिसकेको हो । त्यसैले त त्यो पार्टीको ट्रेड युनियनलाई विश्व साम्राज्यवादको कठपुतली अन्तर्राष्ट्रिय श्रम संगठनसँग गाँसिएको हो । किसान संगठनको नेता गैरकिसान वामदेव गौतमलाई बनाइएको थियो ।

बितेका पच्चीस वर्षमा एमालेसम्बद्ध ट्रेड युनियन र किसान संगठनले कुनै सानो पनि संघर्ष नगर्नुको कारण यही होइन र ? वर्ग संघर्षको अनिवार्यतालाई छोप्न समृद्धिको महाजाल प्रचारमा छ । प्रवासिएका लाखौंलाई फर्काउने समृद्धिको कार्यक्रम के ? यती ग्रुपको हिमालयन एयरमा सयर गरी नेपाल एयरवेज डुबाउने प्रपञ्च चलाएर हुन्छ समृद्धि ? एमालेले सिको गर्न खोजेको मोदीको नीतिले एयर इन्डिया बेचियो भनेपछि नेपालमा अन्ततः हुने त्योभन्दा फरक के ?

विश्व पुँजीवादले गरेको समृद्धि आफैंमा प्रकृति र आम श्रमजीवी मानिसविरोधी छ । मानिसहरूबीच विभाजन र उत्पीडनमा आधारित छ । त्यसैले प्रकृति र श्रमजीवी आम मानिसमैत्री समृद्धिबारेको नीति र कार्ययोजना आजको कम्युनिस्टको महत्त्वपूर्ण कार्यसूची हो । त्यसका निम्ति वर्ग संघर्षको नयाँ आयामका रूपमा समृद्धिको नयाँ दिशा आविष्कार गर्नैपर्ने चुनौती खडा भएको छ । यस्ता गहनतम विषयहरू एमाले महाधिवेशनका हर्ताकर्ता विष्णु पौडेल र ईश्वर पोखरेलहरूको रुचिका हुनै सक्दैनन् । तर कम्युनिस्टप्रेमी एमालेहरूको त अन्ततः हुनैपर्ने हो ।

दक्षिण एसियाका भारत र नेपाल जात व्यवस्थामा आधारित समाज हुन् । परम्परागत मार्क्सवादीहरूले यहाँको जात व्यवस्थामा आधारित वर्गीय समाजलाई छिचोलेर मार्क्सवादलाई विकास गर्न सकेनन् । परिणाममा कम्युनिस्ट पार्टीहरू स्वयम् जात व्यवस्था र पितृसत्तावादी संरचनामा ढालिन पुगे । युरोपमा पुँजीवाद पुँजीपति वर्गको व्यवस्था थियो तर दक्षिण एसियामा पुग्दा पुँजीवाद पुँजीपति वर्ग र कथित हिन्दु उच्च जातको व्यवस्था बन्न पुग्यो । किनभने भारत एवं नेपालजस्ता देशमा पुँजीपति वर्ग मूलतः कथित हिन्दु उच्च जातबाट मात्र जन्मिने प्रक्रिया चल्यो ।

जात व्यवस्थाले नै यहाँ वर्ग निर्माण र वर्गीय खाडल निरन्तर बनाउन मुख्य भूमिका खेलेको यथार्थलाई संश्लेषण गर्न नसक्दा भारत र नेपालका पुँजीवादी वा कम्युनिस्ट पार्टीहरू जात व्यवस्थालाई निरन्तरता दिने नयाँ औजार बन्न पुगे । यो साधारण विषय होइन, क्रान्तिप्रेमीहरूका निम्ति चोमोलोङ्माजत्तिकै अग्लो विषय हो । यही माहोलमा चल्दै अरू पार्टीजस्तै एमाले कथित हिन्दु उच्च जातको पार्टी बन्न पुगेको छ । कथित उच्च जातमध्ये पनि अझ कुमाई र पूर्वीया पहाडिया बाहुनको पार्टी बन्न पुगेको छ ।

यो जातिवादी आरोप होइन, भारत र नेपालमा वर्ग बनावटमा जातको महत्त्वपूर्ण भूमिकाको सन्दर्भ हो, यो वर्गकै नयाँ अवतार हो । एमालेमा कुनै नेम्बाङ वा विश्वकर्माले कि त हिन्दु उच्चजातीय अहंकारवादी नीतिलाई आफ्नै समुदायविरुद्ध सही ठहर्‍याएर पद पाउने हुन्, कि गुलामीमय रोदनबीच पीडादायी व्यक्तिगत मनोरञ्जनमा हाँस्ने हुन् । पहिचानसहितको संघीयताको त कुरै छाडौं, भीरबाट लडेको गोरु खाएको साथीलाई बचाउन जुलुस गर्न नसक्ने अनि रुकुम हत्याकाण्डजस्ता बीभत्सताविरुद्ध सडकमा न्याय अपिल गर्न जान पनि रोकिएर बाँच्नुपर्ने एमालेकृत जनजाति र दलितको अवस्थाले बयान गर्ने तीतो सत्य यही हो । मधेस आन्दोलनमा भएको सहादतलाई फगत एकाध ‘आँप झरेको’ भनी गरिएको चित्रणलाई समेत चुपचाप सहनुपर्ने एमालेकृत मधेसीको नियति प्रस्टै छ ।

अब एमालेका मार्क्सवादी लेनिनवादी कम्युनिस्टप्रेमीहरू भन्नुहोस्, के त्यो पार्टीलाई माथिदेखि तलसम्म जात व्यवस्था भत्किने गरी पुनःसंरचना गर्नु जरुरी छैन ? एमालेलाई जात व्यवस्थाविरोधी बनाउन सकिन्न भने उत्पीडितहरूका सन्दर्भमा त्यो पार्टीको के औचित्य छ ? जात व्यवस्था ढल्दैन भने भारत र नेपालमा कम्युनिस्ट क्रान्ति त कुरै छाडौं, सामान्य पुँजीवादी लोकतन्त्र पनि हास्यास्पद नाटकबाहेक केही होइन । यो विषय कृष्णगोपाल श्रेष्ठहरूलाई त वाहियात लाग्नेछ । एमाले महाधिवेशनमा बढीमा क्षत्री भीम रावलहरूले पदको मोलतोलसम्म गर्न पाउलान् तर कम्युनिस्टप्रेमी एमालेजनले यो विषयमा चिन्तन गर्न पाउनेछैनन् । भारत र नेपालजस्ता जात व्यवस्थामा आधारित समाजमा मार्क्सवादलाई थप विकास गर्न एमालेका कम्युनिस्टप्रेमीहरूले नयाँ मञ्च कुनै न कुनै दिन खोज्नु नै पर्नेछ ।

कम्युनिस्ट आन्दोलनमा धेरै नयाँ कुरा सोच्नुपर्ने भइसकेको छ किनभने मार्क्स र लेनिन बाँचेको युग अब छैन । पुँजीवादीहरूसमेत आवधिक नेतृत्व प्रणालीमा गइसके तर कम्युनिस्टहरू नमरेसम्म एउटै नेताको कहर काट्ने प्रणालीमा छन् । यसलाई फेर्नैपर्छ । एमाले धार्मिकता प्रचार गर्ने पण्डा पार्टी बन्यो, त्यस पार्टीका बडाबडा भौतिकवादको गुड्डी हाँक्नेहरू सातो गएको बच्चाजस्तै चुपचाप हुन्छन् । कम्युनिस्टप्रेमीहरूको छाती कति पोलेको होला, अनुमान लगाउन सकिन्छ । एमालेमा बचेका लालचहीन बौद्धिकहरूले यति छलफल त सुरु गरे हुन्थ्यो कि कम्युनिस्ट पार्टी पुरानो व्यवस्था भत्काउन चाहने वैचारिकी हो । पुरानो व्यवस्था मुख्य गरी सैन्य तागतमा उभिएकाले सैनिकीकरण नभएको वा सैनिकीकरण गर्ने दिशा नबोकेको कम्युनिस्ट पार्टी अन्ततः पुरानो व्यवस्थाको चाकर बन्न पुग्छ ।

भारतका भाकपा र माकपाजस्ता विशाल भीडमय पार्टीहरूको दुर्गति त्यसैको परिणाम होइन ? विगत सय वर्षको इतिहासले यही त भन्छ कि सैनिकीकरण गर्ने इच्छा नभएको कम्युनिस्ट पार्टी पुरानो व्यवस्थाको अन्ततः चाकर हुँदै पतन हुन्छ । यस्ता तमाम क्रान्तिका प्रश्नबारे कम्युनिस्टप्रेमी एमालेहरूले सोच्ने बेला भैसकेको होइन ? तर के गर्नु, उनीहरूलाई पनि सायद बहुदलीय जनवादको ‘भूत’ चढेको छ ! विचारधारात्मक राजनीतिक कार्यदिशा ठीक हुनु र नहुनुले सबै चीजको फैसला गर्छ, कमरेडहरू !

पशुपतिमा जलहरी चढाउँदै पातपातै राम जन्माउँदै हिँड्नेहरू, आफू जीवित हुँदै प्रतिष्ठान खोलेर जनताको करोडौं रकम प्रतिष्ठानमा हाल्न लगाउनेहरू, होली वाइनवाला धार्मिकीका नेपाली सेतुहरू अनि सलहलाई अमेरिकी बाजा बजाएर कक्रक्कै पार्दिन तम्सिने खालका जग हँसाउने प्रवृत्तिहरूको उद्गमस्रोत यथार्थमा बहुदलीय जनवादमै छ । त्यही कार्यदिशाले यी नानाभाँतिका, तमास–तमासका पात्र–प्रवृत्ति जन्माएको हो । प्रिय एमालेका कम्युनिस्टप्रेमी कमरेडहरू, तपाईंहरूको कम्युनिस्ट प्रेम तब नै सफल हुनेछ, जब बहुदलीय जनवादको पुँजीवादी मायाजालबाट निस्कने साहस गर्नुहुनेछ । तपाईंहरूलाई हार्दिक शुभकामना !

प्रकाशित : मंसिर १२, २०७८ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?