कोभिडको नयाँ भेरिएन्ट भित्रिन नदिन सतर्कता अपनाऔं- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोभिडको नयाँ भेरिएन्ट भित्रिन नदिन सतर्कता अपनाऔं

सम्पादकीय

नेपालले कोभिड–१९ को दोस्रो लहरबाट पूर्ण त्राण पाउन बाँकी छँदै दक्षिण अफ्रिकामा सोमबार पत्ता लागेको कोरोना भाइरसको नयाँ भेरिएन्टले अरू चिन्ता थपेको छ । तीव्र गतिमा उत्परिवर्तित भएको नयाँ भेरिएन्ट बी.१.१.५२९ का कारण यो व्याधि अझ फैलिन सक्ने भय विश्वभर छ । विश्व स्वास्थ्य संगठनले ओमिक्रोन नाम दिएको यो भेरिएन्टविरुद्ध हालसम्म बनेका खोप प्रभावकारी नहुने र संक्रमण दर पनि बढ्ने भन्दै विज्ञहरू चिन्तित छन् । कतिपय मुलुकले यसको रोकथामका लागि तयारी थालिसकेका छन् । नेपालमा पनि यो भेरिएन्ट भित्रिन नदिन सरकारले सम्पूर्ण सुरक्षा सतर्कता अपनाउनु अत्यावश्यक छ ।

मुलुकमा कोभिडका दुवै लहर लगभग बाजा बजाएरै आएका थिए; चीन हुँदै भाइरस संक्रमण सुरु हुँदा र बेलायत, भारत हुँदै दोस्रो लहर आउँदा नेपालका लागि सबै खाले तयारी गर्न पर्याप्त अवसर थियो । व्यवस्थित ढंगले रोकथामका उपाय अपनाएर संक्रमण विस्तार हुनबाट रोक्न सकिन्थ्यो । यस कार्यमा मुलुकका संयन्त्रहरू चुकेकैले संक्रमण व्यापक फैलिएर क्षतिको मात्रा बढेको हो । अहिले फेरि खतराको घण्टी बजिसकेको छ । र यसबीचमा थाहा भैसकेको छ— यो विश्वव्याधिले न भूगोल भन्छ, न राज्यको सीमा चिन्छ । त्यसैले सुदूरमा बजेको खतराको यो घण्टीबाट समय छँदै नेपाल सरकार ब्युँझनुपर्छ । भाइरस मुलुक पस्न सक्ने सबै स्थलहरूमा आवश्यक निगरानी र सतर्कता अपनाउनुपर्छ ।

दक्षिण अफ्रिकामा नयाँ भेरिएन्ट पत्ता लागेसँगै सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलगायत सबै नाकाका हेस्थ डेस्कलाई सतर्क अवस्थामा राखेको जनाएको छ । दक्षिण अफ्रिकाबाट आउनेहरूको हेल्थ डेस्कमा परीक्षण, सिक्वेन्सिङ र क्वारेन्टिन गर्न भनिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भनाइ छ । सम्बन्धित हेल्थ डेस्कहरूले यो निर्देशनको यथोचित पालना गर्नुपर्छ । मन्त्रालयले पनि एकातिर यस्ता डेस्कहरूलाई साधन–स्रोत र जनशक्तिले सम्पन्न तुल्याउनुपर्छ भने अर्कातिर उनीहरूले प्रभावकारी कार्य गरे–नगरेको निगरानी पनि गर्नुपर्छ । विगतमा ‘आवश्यक सतर्कता अपनाएका छौं’ भन्दाभन्दै पनि कतिपय मामिलामा चुक्न पुगेकै कारण मुलुकले भयावह अवस्था भोग्नुपरेको तथ्य सम्बन्धित सबैले स्मरण गर्नुपर्छ । र, त्यति बेलाका गल्ती नदोहोर्‍याउने प्रण गर्नुपर्छ ।

कोभिडविरुद्धको खोपले पछिल्लो समय धेरै मुलुकलाई राहत दिइरहेको थियो । कति मुलुकले महिनौंदेखि बन्द रहेका आफ्ना अन्तर्राष्ट्रिय सीमाहरू पुनः खोल्न थालेका थिए । तर, नयाँ भेरिएन्ट भेटिएसँगै फेरि कतिपय मुलुकले विभिन्न प्रतिबन्धात्मक व्यवस्थाहरू गर्न थालेका छन् । बेलायतले दक्षिण अफ्रिकासहित ६ वटा अफ्रिकी मुलुकबाट हुने आवागमनलाई रोक लगाउने निर्णय गरेको छ । अमेरिका, क्यानडा, बेलायत, ग्वाटेमालालगायतले पनि अफ्रिकी मुलुकबाट हुने आवागमनमा प्रतिबन्धको घोषणा गरेका छन् । अमेरिकाको न्युयोर्कमा त संकटकाल नै लगाइएको छ । युरोपेली मुलुकहरूले महामारीको चौथो लहर फैलन सक्ने भन्दै प्रतिबन्धात्मक व्यवस्थाहरू लागू गर्न थालिसकेका छन् । यसै सन्दर्भमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार मात्रै उच्च अधिकारीहरूसित भारतमा कोभिडको स्थिति र राष्ट्रव्यापी खोपका बारेमा ‘भर्चुअल’ छलफल गरेका छन् । नेपालले पनि उच्च तहबाटै यस्तो सक्रियता देखाएमा सकारात्मक नतिजाका लागि थप मद्दत पुग्न सक्छ ।

नयाँ भेरिएन्टविरुद्ध हालसम्मका खोप प्रभावहीन भएको चिन्ता विज्ञहरूले गरेकाले सरकार र नागरिक स्तरबाट पूर्ण सतर्कता अपनाउनुको विकल्प छैन । हालसम्म कोभिडको यो भेरिएन्ट दक्षिण अफ्रिकाबाहेक बोत्सवाना, हङकङ र इजरायलमा देखिएको छ । नेपालीहरूको बाक्लो उपस्थिति रहेको हङकङमा समेत यो भेरिएन्ट देखिएकाले पनि सतर्क रहनु जरुरी छ । सरकारले नयाँ भेरिएन्ट भेटिएका र संक्रमण बढेका मुलुकबाट आउने सबै यात्रुलाई ध्यानमा राख्नुपर्छ । र, नागरिकले पनि स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपायहरू अपनाउनुपर्छ ।

ख्याल राख्नुपर्ने पक्ष, मुलुकमा जारी दोस्रो लहरकै कारण पनि स्वास्थ्य सुरक्षाप्रति सतर्कता अपनाउनु अनिवार्य छ । सक्रिय संक्रमितको संख्या अहिले पनि ७ हजारभन्दा बढी छ । विगतमा जस्तो एकै दिन ९ हजारभन्दा बढी संक्रमित भएको र झन्डै अढाई सयसम्मको ज्यान गएको कहालीलाग्दो अवस्थामा निकै सुधार आएको पक्कै हो, तथापि अहिले पनि दिनहुँ २ सय जनाजति नयाँ संक्रमित थपिइरहेका छन्, मानिसहरूको ज्यान गैरहेकै छ । संक्रमण घट्दै जाँदा धेरैजसो गतिविधि चलायमान हुन थाल्नु सुखद भए पनि राजनीतिक भीडभाडमा सहभागी हुनेहरू अति निस्फिक्री देखिन्छन्, मानौं— हामी अहिले कोरोनाकालमा छौं भन्ने तथ्य नै उनीहरूले भुलेका छन् । यस्तै गैरजिम्मेवार प्रवृत्ति नै आपत् निम्त्याउन पर्याप्त हुन सक्छ । झन् अहिले त नयाँ भेरिएन्टकै चिन्ता पनि थपिएको छ । तसर्थ, सरकार र नागरिक दुवैले आवश्यक सुरक्षा सतर्कता अपनाएर सम्भावित खतरा टार्नुपर्छ ।

प्रकाशित : मंसिर १२, २०७८ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्

दोलखा अस्पतालमा भेन्टिलेटर र आईसीयूसहितको सेवा सुरु

चरिकोट अस्पतालमा ३ करोड रूपैयाँमा ६ वटा भेन्टिलेटर र आईसीयू खरिद गरिए पनि सञ्चालनमा छैनन्
केदार शिवाकोटी

दोलखा — शुक्रबार चरिकोट प्रदेश अस्पतालमा तामाकोसी गाउँपालिका—६ च्यामाकी एक गर्भवती महिलाको शल्यक्रिया गरेर प्रसूति गराइयो । तर नवजात शिशुलाई संक्रमण भएपछि भेन्टिलेरसहितको एनआईसीयूमा राख्नुपर्ने अवस्था आयो । चरिकोट अस्पतालमा भेन्टिलेर र आईसीयू भए पनि सञ्चालनमा छैन । यस्तोमा नाबालकका बुबा अर्जुन महतलाई चरिकोट अस्पतालले दोलखास्थित धुलिखेल अस्पताल जान रेफर गरिदियो । अन्तिम अवस्थामा नवजात शिशुलाई उनले यतिबेला धुलिखेल अस्पतालको भेन्टिलेटरमा राखेका छन् ।

यसअघि कोरोनाका धेरै बिरामीले जिल्लामा भेन्टिलेटर र आईसीयू नभएर ज्यान गुमाउँदै आएका थिए । चरिकोट अस्पतालमा झन्डै ३ करोड रुपैयाँमा ६ वटा भेन्टिलेटर र आईसीयू खरिद गरिए पनि अहिलेसम्म थन्किएरै बसेको छ । जिल्लामै पहिलो पटक दोलखास्थित धुलिखेल अस्पतालले भेन्टिलेटर र आईसीयू सञ्चालनमा ल्याएपछि बिरामीलाई राजधानीका अस्पताल पुर्‍याउनुपर्ने बाध्यता हटेको छ ।

काठमाडौं विश्वविद्यालयअन्तर्गतको धुलिखेल अस्पतालले दोलखामा पनि अत्याधुनिक सेवासहितको ५० शय्याका अस्पताल सञ्चालनमा ल्याएको हो । अस्पतालमा ४ वटा अत्याधुनिक भेन्टिलेटर र आईसीयूसहितको शय्या पहिलो पटक सञ्चालनमा ल्याएको अस्पतालका मेडिकल अधिकृत डाक्टर राजकुमार दंगालले बताए । जिल्लामै पहिलो पटक बालबालिकाका लागि समेत भेन्टिलेटर र आईसीयू जडान गरेर सञ्चालनमा आएको उनले बताए ।

‘हिमाली जिल्लाका दुर्गम भेगका बिरामीलाई सहज ढंगले स्वास्थ्य सेवा दिन सुरु गरेका हौं,’ उनले भने, ‘अति विपन्न र गरिबका लागि यो सेवा निःशुल्क हुन्छ ।’ एक महिनादेखि सेवा सञ्चालनमा ल्याइएको उनले सुनाए । हामीसँग ४ वटा भेन्टिलेटरसहितको आईसीयू बेड छ,’ दंगालले भने, बालबालिकालाई लक्षित गरेर एक बेड सञ्चालनमा छ ।’ जिल्लामै पहिलो पटक बालबालिकाकै लागि भेन्टिलेटर एनआईसीयू सञ्चालनमा आएको उनले बताए । जिल्लाभरका गम्भीर बिरामीलाई भेन्टिलेटर र आईसीयूको आवश्यकता पर्‍यो भने राजधानी रिफरबाहेक कुनै विकल्प थिएन । रकम हुनले हेलिकोप्टरमार्फत र कोहीले सडकमार्फत राजधानी लैजाने गरेका थिए ।

न्यून रकममै यो सेवा सञ्चालन गरिएको अस्पतालले जनाएको छ । हाल भेन्टिलेटर र आईसीयूमा राखिने बिरामीलाई दैनिक २१ सय लिने गरेका छौं,’ डा. दंगालले भने, ‘अति विपन्न र असहायका लागि अस्पतालले निःशुल्क सेवा दिने गरेको छ ।’ अस्पतालले मातृसुरक्षा कार्यक्रम पनि सुरु गरेको छ । गर्भवती हुन नसकेकाको शल्यक्रिया अस्पतालमा निःशुल्क सुरु भएको अस्पतालका प्रशासनका रमेश श्रेष्ठले बताए ।


प्रकाशित : मंसिर १२, २०७८ ०७:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×