१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

चिया निर्यातमा नियोजित अवरोध हटाऊ 

सम्पादकीय

नेपालबाट निरन्तर निर्यात बढिरहेको नेपाली चियालाई प्रतिबन्ध लगाउन भारतीय निकायहरूले फेरि विभिन्न अवरोध खडा गरेर अन्तर्राष्ट्रिय व्यापारका नीति–नियममाथि धज्जी उडाएका छन् । नेपालले यस्तो गतिविधिमाथि भारतसँग गम्भीर प्रश्न उठाउनुको सट्टा एउटा शिष्टाचारपत्र मात्रै लेखेर आफ्ना उत्पादकहरूको समस्यामा मूकदर्शक बनेको छ ।

चिया निर्यातमा नियोजित अवरोध हटाऊ 

भारतले पछिल्लो समय चिया बोकेका कन्टेनर नाकामा रोकिदिने, निर्यात गर्न ठिक्क पारिएको चियाको पुनः प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) गर्नेजस्ता कार्य गरेर अवरोध खडा गरेको छ । समयमै समस्या समाधानको उपाय ननिकाले यसबाट नेपाललाई वार्षिक साढे ३ अर्ब रुपैयाँको निर्यात गुम्ने जोखिम छ । बदनियत राखेरै भारतीय भन्सार प्रशासनले गरिरहेको यस्तो व्यवहारले दुई मुलुकबीचको सम्बन्धमै आँच ल्याउने देखिन्छ । त्यसैले द्विपक्षीय व्यापार मामिलामा भारतले अन्तर्राष्ट्रिय नियमसम्मत हिसाबले व्यवहार गर्न आवश्यक छ ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार गत आर्थिक वर्षमा मात्रै ३ अर्ब ६९ करोड रुपैयाँको चिया निर्यात भएको थियो भने त्यसअघि २०७६/७७ मा २ अर्ब ७८ करोड रुपैयाँको । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा मात्रै १ अर्ब १ करोड रुपैयाँको निर्यात भएको छ । नेपालबाट निर्यात हुने चियामध्ये करिब ८० प्रतिशत भारतमा जाने गरेको छ । बाँकी २० प्रतिशत चीन, जापान, जर्मनी, अमेरिका, अस्ट्रेलिया लगायतमा निर्यात हुन्छ । पछिल्लो समय रुस र खाडी मुलुकमा समेत निर्यात वृद्धि भइरहेको छ । निर्यातमा भएको उत्साहजनक वृद्धिलाई थप बढाउन भारतीय अवरोध फुकाउनका निम्ति नेपालले पनि ठोस पहल थाल्नुपर्छ ।

झापा र इलामका विभिन्न कारखानाबाट निर्यात हुन लागेको २ करोडभन्दा बढी मूल्यको चिया मेची भन्सार कार्यालयको गोदाममा थन्किएको छ । दुई गाडी चिया विकास निगमको छ । बाँकी अन्य कारखानाका छन् । कागजी प्रक्रिया पूरा भएको करिब ६० टन चिया गोदाममा थन्किएको भन्सार कार्यालयले जनाएको छ । नेपालमा मुख्यतः सीटीसी र अर्थोडक्स चिया उत्पादन हुन्छ । हावापानी, चियाको बोटको उमेरका कारण नेपाली चिया भारतसहित विश्व बजारमा गुणस्तरीय मानिन्छ । यसको माग बिस्तारै बढ्दै गए पनि हालसम्मको मुख्य बजार भने भारत नै हो । भारत निर्यात भएपछि भने त्यहाँका उद्योगी–व्यवसायीले आफ्नो ब्रान्ड बनाएर निर्यात तथा स्थानीय बजारमा बिक्री गरिरहेका विवरण सार्वजनिक भएका छन् ।

बेला–बेलामा भारतले नेपाली चिया निर्यातमा अवरोध गर्नुको मुख्य कारण नै दार्जिलिङको चिया बजार सुरक्षित गर्नु हो । इलाम र दार्जिलिङको भौगोलिक बनावट उस्तै छ । हावा, पानी, भू–बनोट उस्तै–उस्तै छ । उस्तै ठाउँमा उत्पादन हुने वस्तुको स्वाद र गुणस्तर पनि लगभग उस्तै हुने नै भयो । अर्कोतर्फ दार्जिलिङका चियाको बोटको उमेर धेरै भइसक्यो, जसबाट कम गुणस्तरको चिया उत्पादन हुन्छ । एकातिर स्थानीयस्तरको गुणस्तर कमजोर भएको र अर्कातिर नेपाली चियाले बजार थप विस्तार गर्दै गएकाले भारतका व्यवसायीले जोखिम देखेका हुन् । अनि नेपाली चियाले कतै दार्जिलिङको पहिचान त नामेट पार्दैन भन्ने भयले नेपाली चिया निर्यातमा नियोजित अवरोध गरेका हुन् । ‘टी बोर्ड अफ इन्डिया’ ले नेपाली चियाको आयात रोक्न माग गर्दै भारतको वाणिज्य तथा उद्योग मन्त्रालयसँग माग गरेको छ, जुन पत्रसमेत सार्वजनिक भइसकेको छ ।

एकातिर नेपाली चियालाई दार्जिलिङका व्यापारीले आफ्नो ब्रान्ड बनाएर पठाउनु, अर्कोतिर रोक्न माग गर्दै सरकारसँग ‘लबिइङ’ जारी राख्नु नै दुराशयपूर्ण छ । यस्तो अवरोध पहिलो पटक होइन । जबकि यस्तो कार्य विश्व व्यापार संगठन (डब्लूटीओ), दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) सम्झौता, नेपाल–भारत व्यापार सन्धिको विपरीत हो । यी सम्झौता तथा सन्धिको व्यवस्थाअनुसार व्यापार, त्यसमाथि कृषि उत्पादनमा अवरोध गर्न मिल्दैन । तर, सामान्य अवस्थामा समेत नेपाली उत्पादन निर्यातका क्रममा व्यवसायीहरूले दुःख पाएका छन् । सहजै निर्यात गर्न सकेका छैनन् । तसर्थ, निर्यातमा भएको अवरोध तत्काल हटाउनु अनिवार्य छ ।

भारतीय पक्षले नेपाली प्रयोगशालामा समस्या भएको र भारतले मागेअनुसार गुणस्तर दिन नसकेको आरोप लगाउने गरेको छ, जुन बहाना मात्रै रहेको नेपाली व्यवसायीको बुझाइ छ । यो समस्याको दीर्घकालीन समाधान गर्न सीमा क्षेत्रमा तत्काल अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशाला स्थापना गर्न पनि सकिन्छ । अर्कोतर्फ नेपाली व्यवसायीले समेत यसमा पहल लिन सक्छन् । त्यसैले समस्या समाधानका लागि नेपालबाट पनि चौतर्फी प्रयास गरिनुपर्छ । भारतका पश्चिम बंगाल, बिहार सरकार र त्यहाँका सांसदसँग पहुँच भएका नेपाली व्यवसायीहरूले त्यहाँका सरोकारवालासँग छलफल/बहस चलाउनुपर्छ । र, खास गरी नेपाल सरकारले नै पनि गम्भीर पहल लिनुपर्छ ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार चिया रोक्नकै लागि भारत सरकारले आधिकारिक पत्र पठाएको छैन । भारतीय व्यवसायीको चलखेलका कारण भने समस्या देखिएको बुझाइ छ । वाणिज्यले काँकडभिट्टालगायत नाकामा रोकिएका कन्टेनर छुटाउन कूटनीतिक पहल गर्न आग्रह गरिरहेको जनाएको छ । सहजीकरण गरिदिन परराष्ट्र मन्त्रालयलाई पत्रमार्फत आग्रह गरेको र दिल्लीस्थित नेपाली दूतावासलाई पनि परिचालन गरिएको जनाइएको छ । तर पनि निर्यातमा भइरहेको अवरोध अन्त्य भएको छैन । त्यसैले नेपाल सरकारको उच्च तहबाटै अवरोध हटाउन गृहकार्य गर्नुपर्छ । नेपालका लागि चुलिँदो व्यापार घाटा, नेपालबाट थोरै उत्पादन मात्रै निर्यात, विदेशी विनिमय सञ्चितिमा परिरहेको दबाबदेखि चिया उत्पादकलाई प्रोत्साहन गर्नका लागि समेत यो कार्य सरकारको प्राथमिकतामा पर्नुपर्छ ।

प्रकाशित : मंसिर ९, २०७८ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?