कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

एमाले महाधिवेशन र गैंडा बहस

एमालेको विधान महाधिवेशन सकिइसकेको सन्दर्भमा नयाँ नेतृत्व चयनका लागि हुने महाधिवेशनका लागि गैंडाको चित्र रोजिनु विशिष्ट सोचमा आधारित छ । सामन्तवाद, साम्राज्यवाद, दलाल नोकरशाही पुँजीपति वर्गलाई शत्रु मानेर अघि बढेको एमालेले राजनीतिमा गैंडाअंकित लोगोमार्फत देशको समग्र अवस्थालाई समेटेको हो ।
राजेन्द्र मानन्धर

एकसिङ्गे गैंडा पछाडिका दुई खुट्टाको आडले उभिएको छ, अगाडिका दुई खुट्टामध्ये दायाँले हँसिया–हथौडा अंकित रातो झन्डा उठाएको छ । र, ठिङ्ग उभिएर सामुन्नेको सूर्यअंकित चिह्नलाई मोहित भई हेरिरहेको छ । एकसिङ्गे गैंडा वास्तवमा दुई खुट्टामा कहिल्यै उभिन सक्दैन, न त कुनै वस्तु समाउन नै सक्छ ।

एमाले महाधिवेशन र गैंडा बहस

केवल चार खुट्टा टेकेर जंगलमा विचरण गर्छ । उभिएको गैंडा कल्पनाको ‘ब्रान्ड’ मात्र हो । धेरैलाई जानकारी नै छ, यो नेकपा (एमाले) को दसौं राष्ट्रिय महाधिवेशनको लोगो हो । हरियो घाँसमा टेकेर उभिएको गैंडा झन्डा र सूर्यको सम्मिश्रणको प्रतीक चित्र सामाजिक सञ्जालमा भाइरल छ, सञ्चारमाध्यमभरि छाएको छ ।

एमालेको दसौं महाधिवेशन मंसिर १०–१२ सम्म चितवनमा हुँदै छ । एमालेले महाधिवेशनहरूमा प्रतीकचिह्नका रूपमा पहिलोपटक जनावरलाई रोजेको हो । एमालेले छैटौं राष्ट्रिय महाधिवेशनबाट मात्र लोगोको अभ्यास सुरु गरेको देखिन्छ । छैटौं महाधिवेशनमा पार्टीको हँसिया–हथौडा अंकित झन्डालाई प्रयोग गरियो । सातौंमा अक्षरहरूको पृष्ठभूमिमा जानकी मन्दिरको चित्र मिलाइएको थियो । आठौंमा बुटवलको ऐतिहासिक जितगढी किल्ला र सूर्य चिह्नलाई लोगोका रूपमा प्रयोग गरियो । नवौंमा राष्ट्रिय झन्डा र नौ अंकको मिश्रणसहित काठमाडौंका ऐतिहासिक थलोलाई आधार बनाएर प्रतीक बनायो । अहिले गैंडा, झन्डा र सूर्य चिह्नलाई रोजिएको छ । यो लोगो विगतका तुलनामा बढी आकर्षक छ । र, बढी प्रचारित पनि छ ।

संसारभर विभिन्न कार्यमा लोगोहरू प्रयोग हुने गर्छन् । लोगोमा जनावरको प्रयोग गर्ने प्रचलन पुरानै हो । देशका झन्डा, विशेष कार्यक्रम र उत्सवहरूमा लोगोमा जनावर रोजिएका छन् । अमेरिकाका दुई ठूला पार्टीका झन्डा नै जनावर अंकित छन् । डेमोक्र्याटिक पार्टीले आफ्नो झन्डामा गधा राखेको छ भने रिपब्लिकनले हात्ती । तिनीहरूका चुनावचिह्न पनि गधा र हात्ती नै हुन् ।

भुटानले अजिङ्गरलाई राष्ट्रिय झन्डामा राखेको छ भने श्रीलंकाले सिंह अनि मेक्सिकोले चील र सर्प । प्रतीकचिह्नमा भारतले सिंहको प्रयोग गरेको छ । सन् १९६० मा भएको रोम ओलम्पिकमा ब्वाँसोको थुन दुई दाजुभाइ रेमुस र रोमुलसले चुसिरहेको प्रतीकचिह्न बनाइएको थियो । ती दाजुभाइले रोम सहर स्थापना गरेर राजा भई नेतृत्व गरेको कथा जोड्ने गरिन्छ ।

नेपालको सबैभन्दा ठूलो दल एमालेले पनि खास अर्थसहित महाधिवेशनमा गैंडाको प्रतीक अघि सारेको हो । चितवन राष्ट्रिय निकुञ्ज एकसिङ्गे गैंडाको बासस्थान हो । नारायणी किनार गैंडा सयर गर्ने सुरक्षित थलो पनि हो । विश्वमै दुर्लभ एकसिङ्गे गैंडाले बदलिँदो पर्यावरणीय परिस्थितिसँग संघर्ष गर्दै नेपालमा भने संख्या बढाइरहेको छ । एमालेले पनि कडा चुनौतीको सामना गर्दै आफ्नो आकार बढाइरहेका बेला दसौं महाधिवेशन गर्दै छ ।

गैंडाको घर चितवनबाट नेपाल चिनाउन र पर्यावरण संरक्षणको सन्देश दिन राजनीतिक पहलसँग लोगोको कथा जोडिएको छ । ‘सन्तुलित प्रकृति, सुरक्षित समाज’ भन्ने नारासमेत समावेश गरेर राजनीतिक दलको एजेन्डामा पहिलोपटक वातावरणीय महत्त्वलाई प्रमुख प्राथमिकतामा राखिएको छ ।

विभिन्न प्रसंगमा जनावरलाई अघि सार्ने चलन विश्वभर नै छ । जलवायु परिवर्तनसित जोड्दै हालै संयुक्त राष्ट्रसंघले डाइनोसरसम्बद्ध ‘म किन लोप भएँ’ भन्ने कथात्मक भिडियो सार्वजनिक गरेको छ । एकसिङ्गे गैंडा पनि पृथ्वीमा खतरापूर्ण अवस्थामा छ । खासमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गैंडा मोह छ । उनी प्रधानमन्त्री भएका बेला उनकी धर्मपत्नी राधिका शाक्यले एक महिनाको गैंडा ‘एडप्ट’ गर्दै पेन्सनबाट खाइखर्च बेहोरिदिने घोषणा गरेकी थिइन् । त्यति बेला ओलीले ‘एडप्ट एन एनिमल’ को अवधारणा प्रस्तुत गर्दै नेपालको पर्यावरणीय चिन्तालाई विश्वमाझ पुर्‍याएका थिए । २०७३ सालमा दुर्लभ एकसिङ्गे गैंडाका दुई जोडी चीन सरकारको आग्रहमा नेपालले उपहार पनि पठाएको थियो ।

गैंडाहरूको आँगनमा हुन लागेको एमालेको ऐतिहासिक महाधिवेशनको लोगोलाई लिएर विभिन्न व्यंग्य सार्वजनिक भइरहेका छन् । मजदुर, किसान, सर्वहारा, श्रमजीवी वर्गको नेतृत्व गर्ने कम्युनिस्ट पार्टीको झन्डा गैंडाले उठाउनुलाई अन्यथा अर्थ लगाइएको छ ।

एमालेको विधान महाधिवेशन सकिइसकेको सन्दर्भमा नयाँ नेतृत्व चयनका लागि हुने महाधिवेशनका लागि गैंडाको चित्र रोजिनु विशिष्ट सोचमा आधारित छ । सामन्तवाद, साम्राज्यवाद, दलाल नोकरशाही पुँजीपति वर्गलाई शत्रु मानेर अघि बढेको एमालेले राजनीतिमा गैंडाअंकित लोगोमार्फत देशको समग्र अवस्थालाई समेटेको हो ।

जंगलको सुन्दर शाकाहारी जनावरलाई साक्षी राख्दै सक्षम, इमान्दार र जुझारु नेतृत्व दिने एकालेको सोच आफैंमा नवीन हो । हालै सम्पन्न विधान महाधिवेशनले निर्देशित गरेका विचार, सिद्धान्त, कार्यक्रम, आन्दोलन र संगठनलाई आत्मसात् गर्दै अघि बढ्न सक्ने कर्मठ नेतृत्व चयन हुँदा गैंडा साक्षी राख्नुलाई प्रकृति र पर्यावरणप्रति कम्युनिस्ट पार्टीको गहिरो चिन्ता–प्रकटका रूपमा बुझ्नुपर्छ ।

-मानन्धर नेकपा (एमाले) महाधिवेशन प्रचार कमिटीका सदस्य हुन् ।

प्रकाशित : मंसिर ८, २०७८ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?