३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सहरमा अर्गानिक खानेकुरा

काठमाडौंका काँठसहित अन्य सहरी क्षेत्रवरिपरि छ्यापछ्याप्ती देख्न पाइने कुखुरा फार्म, कालिज फार्म, बाख्रा फार्म तथा तरकारी फार्म कति अर्गानिक छन् ? तिनको शुद्धता मापन गर्ने कसी के ?
जीवनमणि पौडेल

फ्रान्सेली दार्शनिक पिअर बोर्दिउ भन्छन्— बजारले सोच, विचार र मनोवृत्तिलाई पनि वस्तुसँगै पोको पारेर बिक्री गर्ने गर्छ । नेपाली सहरबजारमा अर्गानिकका नाममा खुलेका पसलहरूले अर्गानिक खानेकुराहरूको व्यापार मात्र गरिरहेका छैनन्, सहरियाहरूको खानेकुराप्रतिको सोच, विचार र मनोवृत्तिलाई पनि वस्तुसँगै पोको पारेर बिक्री गर्ने प्रयास गरिरहेका छन् ।

सहरमा अर्गानिक खानेकुरा

केही वर्षयता सहरियाहरूमा अर्गानिक खानेकुराप्रति बढेको मोह पनि यसैको परिणाम हो । कतिपय खाजाघर, होटल, रिसोर्ट, फार्ममा ‘अर्गानिक खानेकुरा’ वा ‘स्थानीय परिकार’ लगायतका शब्दावलीयुक्त साइनबोर्ड झुन्डिएको देख्न पाइन्छ, जसले सहरियाहरूको सोच, विचार र मनोवृत्तिमा परिवर्तन आएको संकेत गर्छ । वातावरणीय सचेतना दिँदै छ । यसले वातावरणका विषयवस्तुहरूलाई सांकेतिक रूपमा सार्वजनिक बहसमा ल्याउँदै छ ।

रासायनिक मल र विषादी नहालिएको, आनुवंशिक रूपमा परिमार्जन नगरिएको खाद्य पदार्थ नै अर्गानिक हो । अर्गानिक उत्पादनमा जैविक मल, जैविक रसादि र रैथाने बीउबिजन प्रयोग गरिन्छ । त्यस्तै, प्राकृतिक चरन क्षेत्रमा चरेका पशुपन्दीबाट उत्पादित दूध, अण्डा र मासुजन्य पदार्थ पनि अर्गानिक हुन्छ । यस्ता पशुपन्छीको उपचारमा एन्टिबायोटिक प्रयोग गरिन्न । रासायनिक पदार्थहरू मिसाइएको दाना खुवाइन्न ।

खाद्यान्न उत्पादन र उपभोगका आधारमा अहिले विश्व दुई भागमा विभाजित छ— अर्गानिक (जैविक) विश्व र इन–अर्गानिक (अजैविक) विश्व । जैविक खाद्यान्नको इतिहास कृषि र पशुपालनको प्रागैतिहासिक मानवसभ्यताजत्ति नै पुरानो छ । अजैविक खाद्यान्नको उत्पादनको इतिहास एक शताब्दीभन्दा केही पुरानो मात्र भए पनि विश्वमा यसकै दबदबा छ । आज रासायनिक वस्तुहरूको प्रयोग गरेर उत्पादित खाद्यान्नमा ठूला व्यवसायीहरू र कर्पोरेट एजेन्सीहरूको लगानी छ । राजनीतिक नेता, नोकरशाह र नीतिनिर्माताहरूको यसमा साथ र सहयोग छ । तैपनि विश्वमा अहिले फेरि अर्गानिक खाद्यान्नको बहस उठ्न थालेको छ । मानिसहरूमा यसप्रति मोह बढ्दै गएको छ ।

विश्वमा झैं नेपाली सहरी समाजमा पनि अर्गानिक खाद्यान्नको मोह बढ्न थालेको छ । सहरबजारका सम्भ्रान्त वर्ग र स्वास्थ्यमा चासो राख्ने जमातमा यस्ता खाद्यान्नको माग दिन–प्रतिदिन बढ्न थालेको छ । माग बढेसँगै अर्गानिक खानेकुराका पसलहरू सहर र सहर परिधिका क्षेत्रहरूमा खुल्न थालेका छन् । चिल्लो र बोसोयुक्त नभई रेसादार खानेकुरातिर आकर्षण बढ्दै गएको छ । यसले रासायनिक मलखाद, विषादी, वर्णसंकर जातका बीउबिजनको प्रयोग र त्यसको उत्पादनप्रति एक वर्गका सहरियाहरूमा फरक धारणा, विचार र मनोवृत्ति उत्पन्न गराउँदै छ ।

अर्गानिक खाद्यान्नले विश्वमा अहिले वातावरण दिगोपन र विविधता संरक्षण, मानिसका जीवनशैली र स्वास्थ्यसम्बद्ध तीनवटा बहस अगाडि ल्याएको छ । अर्गानिक खानेकुराको बहसले उठाएको पहिला मुद्दा वातावरणको दिगोपन र जैविक विविधताको संरक्षणप्रति लक्षित देखिन्छ । यसले मानिस र प्रकृति अलग नभई एउटै सिक्काका दुई पाटा रहेको वकालत गर्दै आएको छ, वातावरणमाथि पुँजीवादी संस्कृतिको दबदबालाई लिएर प्रश्न उठाउँदै आएको छ । मानिसले प्रकृतिमाथि गर्दै आएको ज्यादतीप्रति आत्मबोध गर्दै छ । प्रकृतिको उत्पादन गर्ने क्षमतालाई पुनः स्वीकार गर्न खोज्दै छ । रासायनिक मल, विषादी र आनुवंशिक रूपमा परिमार्जित बीउबिजनको वैकल्पिक उपाय खोज्दै छ । प्रांगारिक मल, जैविक रसादि र रैथाने बीउबिजन नै रोजौं भन्ने आवाज उठाउँदै छ । विश्वसमुदायलाई प्रकृतितर्फै फर्कन झकझकाउँदै छ ।

अर्गानिक खानेकुरासम्बन्धी बहसको दोस्रो मुद्दाले पश्चिमा प्रविधिले उत्पादन गरिरहेको खाद्य संस्कृतिको विकल्पमा प्रकृतिमैत्री वैकल्पिक जीवनशैली अपनाउन प्रेरित गरेको छ । रासायनिक पदार्थहरूको मिश्रण वा मल र विषादीको प्रयोग गरिएको भन्दा गाउँघरमा जैविक रूपमा उत्पादित खाद्यपदार्थ रोज्न र खान उत्प्रेरित गरेको छ । आधुनिक औद्योगिक खाद्य संस्कृतिलाई अस्वीकार गर्नुपर्छ भन्ने सोच, विचार र धारणा आम मानिसमा पुर्‍याएको छ । पश्चिमा संस्कृतिअनुकूल प्रविधिबाट उत्पादित खाद्यान्नलाई अस्वीकार गर्न प्रेरणा दिएको छ । प्रकृति र संस्कृतिलाई अलग रूपमा हेर्ने पश्चिमा आधुनिक चस्मालाई खोल्नुपर्छ भनेको छ ।

अर्गानिक खानेकुराको तेस्रो बहस खानेकुरा र व्यक्तिगत स्वास्थ्यसँग जोडिएको छ । नेपालको सहरी क्षेत्रका शिक्षित र सम्भ्रान्त वर्गमा देखिएको अर्गानिक मोह पनि व्यक्तिगत स्वास्थ्य सचेतनासँग सम्बन्धित छ । अर्गानिक खानेकुरा शारीरिक तथा आध्यात्मिक स्वास्थ्यसँग सम्बन्धित पनि भएर होला, सहरी क्षेत्रमा यो बहस व्यापक रूपमा उठेको छ । अर्गानिक खानेकुरा मानिसको मात्र होइन, वातावरणको स्वास्थ्यसँग पनि जोडिन पुगेको छ । यो बहस स्वास्थ्य र पोषणसँग सम्बन्धित मानिसहरूका लागि मात्र होइन वातावरण संरक्षण र रैथाने कृषिमा चासो राख्ने, मानवशास्त्री तथा अन्य सामाजिक विज्ञहरू सवैका लागि चासोको विषयवस्तु बन्न पुगेको छ । रासायनिक मल, औषधि र आनुवंशिक रूपमा परिमार्जन गरिएको बीउबिजनले मानव स्वास्थ्यमा प्रतिकूल असर गरे; जैविक तथा सांस्कृतिक विविधतालाई विनाश गरे । अर्गानिक खाद्यान्नको मुद्दा यिनै विषयवस्तुसँग जोडिएको छ ।

अर्गानिक खानेकुराको माग र लोकप्रियतासँगै यसप्रति सन्देह पनि झाँगिँदै गएको छ । नेपालका सहरी क्षेत्रमा अर्गानिकका नाममा खोलिएका सबै चमेनागृह, होटल, रिसोर्ट, पसलका खाद्य पदार्थ कति अर्गानिक छन् त ? काठमाडौंका काँठसहित अन्य सहरी क्षेत्रवरिपरि छ्यापछ्याप्ती देख्न पाइने कुखुरा फार्म, कालिज फार्म, बाख्रा फार्म तथा तरकारी फार्म कति अर्गानिक छन् ? तिनको शुद्धता मापन गर्ने कसी के त ? ती फार्महरू रासायनिक मल र विषादी अनि एन्टिबायोटिकबाट टाढा छन् ? त्यहाँ पालिएका कालिज, कुखुरा, गाई, भैंसी र बाख्रा आदिले जैविक खानेकुरा खान पाएका छन् ? तिनै उत्पादन खान खोज्ने सहरिया शिक्षित र सम्भ्रान्त वर्गले साँच्चै अर्गानिक स्वाद पाइरहेको छ ? सरकार वा अन्य सरोकारवाला संस्थाले नै यी विषयवस्तुमा चासो राखेका छन् त ? अर्गानिक खाद्यान्नको बहससँगै यस्ता प्रश्न पनि उठाउनु जरुरी छ ।

सन् १९८० को दशकदेखि विश्वमा सुरु भएको अर्गानिक खानेकुराको बहस व्यक्तिगत स्वास्थ्यको मुद्दामा अलमलिएको छ । यो बहसले अहिले पनि प्रकृति र मानिसका स्वास्थ्यको विषयवस्तुलाईएक ठाउँमा उभ्याउन सकेको छैन । जबसम्म अर्गानिक खानेकुरालाई व्यक्ति र बजारको तहभन्दा माथि उठेर भूमण्डलीय वातावरणको स्वास्थ्यसँग जोडेर हेर्न सक्दैनौं, तबसम्म हामी अर्गानिक खाद्यान्नको बहस त गरौंला तर हाम्रा सन्ततिलाई स्वस्थ प्रकृति, विविधतायुक्त समाज र संस्कृति हस्तान्तरण गर्न सक्दैनौं ।

त्यसैले पनि अहिले अर्गानिक खानेकुराको बहसलाई खाजाघर, होटल, रिसोर्ट, पसलमा टाँस्ने साइनबोर्डभन्दा बाहिरल्याउन जरुरी छ । यसो गर्न सकियो भने पक्कै पनि हामीले सुन्दर वातावरण जोगाउन सक्छौं र हाम्रा सन्ततिलाई जैविक र सांस्कृतिक विविधता पनि हस्तान्तरण गर्न सक्छौं ।

प्रकाशित : मंसिर ७, २०७८ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?