१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

‘जय भीम’ र भीमबहादुर

विवेकवान् र नैतिक गैरदलितहरूले हिंस्रक र अन्यायी चेतनाबाट अलग्याएर आफ्नो भागको न्यायिक संघर्ष रोज्न ढिलो गर्नु हुँदो रहेनछ । नभए दलितमाथि हुनेयस्ता हरेक सम्भावित हिंसामा हामी पनि अपराधी नै हुँदा रहेछौं ।
सरिता तिवारी

केही दिनअघि दक्षिण भारतीय फिल्म ‘जय भीम’ हेरियो । सत्य घटनामा आधारित उक्त फिल्म केवल अढाई घण्टाको चलायमान कथा मात्र थिएन । कानुनको समेत अभ्यासी र राजनीतिक–सांस्कृतिक हिंसाको निरन्तर प्रतिरोधी चेतनाले हेर्दा ‘जय भीम’ धेरै हदसम्म एउटा पाठशालाजस्तो लाग्यो ।

‘जय भीम’ र भीमबहादुर

वास्तविक कथालाई फिल्मांकन गर्दा नायकत्व र बजारलाई समेत विशेष महत्त्व दिइँदा निर्माण–निर्देशन पक्षमा देखिएका केही व्यावसायिक ‘बाध्यता’ लाई अलग पारेर विचार गर्दा वर्णव्यवस्थाले थङ्थिलो पारेको दक्षिण एसियाली समाजको भयावह चित्र उतार्ने यो फिल्मले भन्छ— दर्शकवृन्द, फिल्महरू हेर्नका लागि मात्र होइनन् है !

सिनेमाको महत्त्व मनोरञ्जनमा मात्र सीमित छैन भन्ने कुरालाई सन् १९५० को दशकमा उदाएको फ्रान्सेली आर्ट फिल्म मुभमेन्ट ‘द न्यु वेभ’ यता संसारभरिका केही चुनिएका फिल्महरूले स्थापित गरिआएकै हुन् । भाषामा दखल नहुँदा पनि अंग्रेजी मात्र होइन, फ्रेन्च, इटालियन, रुसी, इरानी, चिनियाँ भाषाका केही फिल्म हेरिसक्दा सघन मानवीय संवेदनासहितको सिनेमाको भाषाले गहिरो गरी सम्मोहित गरेको हो । त्यसमाथि कला र संस्कृतिलाई राजनीतिक फ्रेमबाट हेर्ने चेतना निर्माण भएपछि सिनेमाको सामाजिक र व्यापक मानवीय अर्थ कति गहिरो हुन सक्दो रहेछ भन्ने कुराको दृष्टान्त हिन्दी र फाट्टफुट्ट नेपाली फिल्महरूमै पनि खोज्न थालिएको हो ।

‘आक्रोश,’ ‘दामुल,’ ‘पार,’ ‘तमस,’ ‘पार्टी’ जस्ता सत्तरी र असीको दशकका फिल्म हुँदै हालका ‘आर्टिकल १५’ जस्ता फिल्मसम्म आइपुग्दा हिन्दी सिनेमाको ‘न्यु वेभ’ ले भारतीय समाजका निर्मम सत्यहरू उद्घाटन गरेजस्तो लाग्थ्यो । तर ‘जय भीम’ हेरिसक्दा लाग्यो, उत्पात राम्रा भनिएका ती फिल्महरूले समाजका अन्तर्तम सत्य उद्घाटन गर्न भने सकेका रहेनछन् ।

‘जय भीम’ ले समेटेको घटना सन् १९९३–९४ को हो । यसमा तमिलनाडुको इरुला समुदायका मानिसहरूमाथि समाजको माथिल्लो तप्काबाट ‘जन्मजात अपराधी’ का रूपमा हुने चरम हिंसा र राज्य तथा कठोर प्रहरी दमनका मसिनामसिना पत्र देखाइएका छन् । यसको सिलसिला ब्रिटिसकालीन ‘क्रिमिनल ट्राइब एक्ट’ (१८७१) सँग जोडिँदो रहेछ । उक्त कानुन अन्यायपूर्ण भएको भन्दै १९५२ मै खारेज गरिए पनि त्यसको छाया झन्डै आजसम्मै उस्तै छ भन्ने थाहा पाउन भारतका जनपक्षीय सञ्चारमाध्यम पछ्याए पुग्छ ।

यही प्रकृतिको गैरन्यायिक थुना र थुनाभित्रैको हत्या प्रकरणमाथि भएको न्यायिक लडाइँलाई कथावस्तु बनाएको ‘जय भीम’ ले केही खास वर्ग र जाति–समुदायमाथि सत्तातन्त्रसँगै समाजको उपरी वर्गले कसरी क्रूर शासन गर्छ, कसरी कीराफट्यांग्रा मारेझैं मान्छेको हत्या गर्छ, कसरी सत्यलाई ढाकछोप गर्ने सरकारी झुठको संयन्त्र चलाउँछ भन्ने विषयलाई असाध्यै जीवन्त रूपमा देखाएको छ । त्यति मात्र होइन, यी सारा प्रपञ्च र दमनको तत्कालीन समाधान यही व्यवस्थाकै कलपुर्जाभित्र छ भन्नेसमेत देखाउन फिल्म सफल भएको छ । फिल्मले भाषा र संवादबाहेक संकेत र प्रतीकहरूमार्फत समेत धेरै कुरा भनेको छ । यसलाई हामीले हाम्रै सामाजिकता, हाम्रै लघुता, अपराध र हिंसा अनि न्यायका गुहार र संकल्पहरूबीच उभिएर हेर्‍यौं भने थप ज्वलन्त र जीवन्त लाग्छ ।

यो फिल्म हेरेर सक्दा एकाएक चितवनको लंकुका अर्का ‘भीम’ आँखामा आएर भरिए । भीम अर्थात् भीमबहादुर विश्वकर्मा । फिल्मले भनेका ‘भीम’ हुन्— भारतका अग्रणी सामाजिक–राजनीतिक आन्दोलनकर्ता भीमराव अम्बेडकर । वर्णव्यवस्थाविरुद्ध कठोर व्यक्तिगत र सामूहिक संघर्षका उपलब्धि, एक अविस्मरणीय ऐतिहासिक विम्ब । र यहाँका ‘भीम’ हुन्— जातीय विभेदविरुद्ध प्रतिकारका क्रममा हत्या गरिएका एक साधारण व्यक्ति तर असाधारण प्रभावका विम्ब । पंक्तिकार आफैं चितवनवासी भएकाले यी दुई नामसँग गाँसिने सादृश्यले यति लेख्न प्रेरित गरेको छ ।

...

यही दसैंको नवमीको दिन बिहान चितवनको भरतपुर महानगरपालिका–४ लंकुका भीमबहादुर विश्वकर्मा टोलवासी ‘भाइ’ हरूबाट मारिए । यतिन्जेल ‘मिलेर बसेको’ समाजभित्र, आफ्नै टोलछिमेकमा भीमबहादुर एकाएक मारिए ! चुपचापै मारिए ! भीमबहादुरको हत्याबाट सामाजिक–राजनीतिक चेतनाले उन्नत मानिएको, देशको भौगोलिक केन्द्रसमेत रहेको चितवन र त्यसको पनि महानगर ‘भरतपुर’ का मानिसहरूको विवेक र व्यवहार प्रश्नको घेरामा परेको छ । भीमबहादुर मारिएपछि विरोधस्वरूप ‘उच्च जातीय अहंकारले प्रेरित हत्या’ भन्दै प्रकट आवाजहरूको प्रतिकारमा भीमबहादुरले रक्सी खाएर होहल्ला गरेको, गालीगलौज गरेको हुनाले उक्त हत्या जायज हो भन्नेसम्मका टिप्पणी पनि सुनिए । सम्बन्धित वडाका अध्यक्षले उक्त घटनालाई ‘जातीय रङ नदिन’ नम्र चेतावनीसमेत दिएका खबर पनि सञ्चारमाध्यमहरूबाटै बाहिरिए ।

घरबाट चोकतिर जान्छु भन्दै निस्केका भीमबहादुर दुर्गाचोकको दुर्गा मन्दिरछेवैको औषधिपसलअगाडि लडेर अचेत भएको खबर नै परिवारका सदस्यले पाएको घटनासम्बन्धी पहिलो जानकारी थियो । उनी के कारण लडे भन्ने पूरा जानकारी पाउनुअघि नै उनलाई अस्पताल लैजान हतारिनु अस्वाभाविक भएन । अस्पताल पुर्‍याइसक्दा उनी मृत घोषित भए । त्यसपछि बल्ल उनी ढल्नुअघिको गतिविधिबारे चासो–चर्चा भयो र नै सीताराम बस्नेत र दिलीप श्रेष्ठले पालैपालो भीमबहादुरलाई पाइपले, मुक्काले कुटपिट गरेको कुरा बाहिरियो । सुरुमा उनी अचानक बेहोस भई ढलेको खबर पाएका परिवारजनले जब कुटपिटका कारण मारिएको पत्तो पाए, आवेशप्रेरित हत्या भएको भनी मुलुकी अपराध संहिता–२०७४ को दफा १७९ अनुसार दिलीप श्रेष्ठ र सीताराम बस्नेतविरुद्ध किटानी जाहेरी दिए ।

यति घटनाक्रम भैसक्दा पनि कुटपिट गर्नुपर्ने कारणका विषयमा अझै केही कुरा लुप्त नै थिए । त्यतिन्जेल घटनास्थल वरपरका देख्नेसुन्ने मानिसबाहेक अरूको सूचनामा यो घटनालाई जातीय अहंकारजन्य हेपाइपूर्ण कुटपिट भन्ने आएन । देख्ने–सुन्नेमध्ये पनि दुर्गाचोकमा भएको उक्त कुटपिटको कारक जातीय अहंकार हो भनेर ठहर गर्ने निर्भय विवेकधारी र निष्पक्ष अभिव्यक्ति दिन सक्ने अवस्थाका मानिस कति होलान्, यसै भन्न कठिन छ ।

घटनाको हप्तादिनपछि दुर्गाचोक पुग्दा पंक्तिकारसँग त्यसको यथातथ्य भन्ने मान्छे फेला परेन । मिश्रित बसोबास रहे पनि दुर्गाचोक ब्राह्मणबहुल टोल हो । दुर्गाचोक मात्र होइन, भरतपुर–४ को समग्र बसोबासमा कट्टर धार्मिकतासहितको ब्राह्मण बाहुल्य छ । करिब दस वर्षअघि दलितहरूको सामूहिक मन्दिर प्रवेशको आन्दोलनका क्रममा आन्दोलनकारी पक्ष र स्थानीयबीच ठूलो झडप भई धेरै दलित पक्षधरहरू घाइते भएको ठाउँ पनि लंकु नै थियो भन्ने विगत यति बेला सम्झनुपर्छ । कट्टरता र पूर्वाग्रहका थाकभित्र पसेर तथ्य खोज्ने उद्यम यसै पनि कठिन नै हुन्छ । तहगत समाजव्यवस्थाको सिकाइले पीँधको जात–वर्ग–समुदायमाथिको अहंकारजन्य हिंसालाई ‘हिंसा’ मान्ने र त्यसविरुद्ध बोल्नुपर्छ भन्ने चेतनाको सिँढी उक्लनै दिँदैन । त्यसमाथि, मर्ने मरेर गइहालेपछि बाँच्नेमध्येका पनि शक्ति र पहुँचमा रहेकाको भयले बोल्न चाहनेकै पनि ओठहरू बन्द हुनु वा बन्द गराइनु नौलो कुरै भएन ।

स्थानीय बासिन्दासँग सोधपुछ गरेर घटनाको सत्यतथ्य टिप्ने प्रयत्न सफल नहुने लागेपछि अलि बेर अलमलिएरै केही कुरा निकाल्न चोकनेरैको घरमा अडिनु मनासिब लाग्यो । त्यहाँ बसिरहेकामध्ये एक पाका व्यक्तिले दिलीप श्रेष्ठको औषधिपसलको बन्द सटरतिर देखाउँदै भने, ‘ऊ त्यहीँनेर त्यो मान्छे ढलेको हो भन्छन् । ढल्दा टाउको पड्केको रहेछ । तर म नवमीको पूजा गर्न घरैमा व्यस्त भएकाले केही थाहा पाइनँ । पछि हल्लाखल्ला भएपछि जाँदा दिलीप श्रेष्ठले आफ्नै गाडीमा राखेर अस्पताल लगेको थाहा पाएको हुँ ।’ उनीसँगै बसेका अर्का व्यक्तिले भने, ‘घटना भएको हो, मान्छे पनि मरेको हो तर यो जात ऊ जात भनेर मारेको होइन । भवितव्य र सन्जोग मात्र हो । जातका कारण मान्छे मारियो भनेर हाम्रो टोलकै दुष्प्रचार भयो । झन् जाने–बुझेका र पत्रकार भन्नेले नै दुर्गाचोकको बदनामी गराए ।’

के यो विषय त्यति सजिलो छ जति गैरदलित, जातवादी समाजले आफ्नै अनुकूलतामा बुझ्न र व्याख्या गर्न चाहन्छ ? सामान्यतया, गैरदलित समुदायका हामी धेरैजसो दलितमाथिको सांस्कृतिक–राजनीतिक प्रकोप र अत्याचारलाई देख्दै देख्दैनौं । वा, देखे पनि हामीभित्र त्यस्ता क्रियाकलापलाई गैरन्यायिक र अनैतिक मान्ने विवेक र सहज मानवीय चरित्र नै छैन । वडा नं. ४ का अध्यक्षदेखि सामाजिक सञ्जाल र भौतिक भेटघाटमै ‘रक्सी खाएर जथाभावी बोलेकाले पिटिएको ठीकै हो’ भन्ने मानिसहरू (कतिपय त परिचितसमेत) अनि भर्खरै भेटिएका यी ‘सज्जन’ का व्यक्त विचार सम्झिएर भाउन्न भएको मथिंगल बोकेर भीमबहादुरको घरअगाडि पुग्दा शब्द थिएनन् मसँग । सरम, हीनता र अपराधबोधको भारले थिचिएका यी आँखाले न भीमकी श्रीमतीका आँखामा आँखा जुधाउन सके न उनका छोरा र छोरीसँग सहज संवाद गर्न सके । एक गैरदलित हुनुका नाताले उक्त हिंसाको हिस्सेदार म पनि हुँ भन्ने भावले यसरी पोल्यो कि ‘कानुनी र राजनीतिक–सांस्कृतिक दुवै खाले संघर्षमा हामी साथमै छौं है’ भन्ने वाक्य बडो गह्रुङ्गो गरी निस्क्यो ।

वास्तवमा विभेदकारी समाजव्यवस्थाले मान्छेमान्छेबीच बनाएका यामान–यामानका असमानताका खाल्डाहरू र थोपरेका भयावह सांस्कृतिक हिंसालाई परास्त गर्न नसक्दा हामी निश्चित ‘अपराध’ गरेर मात्र अपराधी भएका हुँदा रहेनछौं, ऐनमौकामा मौन बसेर अनि प्रतिकार र न्यायिक संघर्षमा सहभागी नभएर पनि अपराधी भइरहेका हुँदा रहेछौं । यस मानेमा विवेकवान् र नैतिक गैरदलितहरूले हिंस्रक र अन्यायी चेतनाबाट अलग्याएर आफ्नो भागको न्यायिक संघर्ष रोज्न ढिलो गर्नु हुँदो रहेनछ । नभए दलितमाथि हुने यस्ता हरेक सम्भावित हिंसामा हामी पनि अपराधी नै हुँदा रहेछौं ।

भीमबहादुर विश्वकर्माको हत्याको मुद्दा अहिले चितवन जिल्ला अदालतमा विचाराधीन छ । किटानी जाहेरी परेका दुई व्यक्ति थुनछेक आदेशले थुनामा छन् । तर यो हत्या हतार–हतारैमा जाहेरी दिइएको भाषामा भनिएजस्तै आवेशप्रेरित हत्या मात्र भने होइन, जातजन्य अहंकारले प्रेरित सांस्कृतिक अपराधसमेत हो । त्यसैले यस हत्यामा जातीय तथा अन्य सामाजिक छुवाछुत तथा भेदभाव कसुर र सजाय ऐन–२०६८ स्पष्टसँग आकर्षित हुन्छ । यस मुद्दामा रत्तीभर पनि सहानुभूति नराखी अभियुक्तहरूलाई कडा कानुनी कारबाही गर्नु नै सही अर्थमा भीमबहादुर विश्वकर्मामाथिको न्याय मात्र नभई यस प्रकारका सांस्कृतिक अपराधका अन्य शृंखलामाथिको समेत इन्साफ हुनेछ ।

...

तीन वर्षअघि जयपुर, भारतमा आयोजित समानान्तर साहित्य उत्सवका क्रममा पाका कवि तथा फिल्म समीक्षक विष्णु खरेको एउटा एकल सत्र थियो, सिनेमाको सामाजिक भूमिकाबारे । गत वर्ष उनी बितेर गए । कविता लेखन र सिनेमा समीक्षा दुवै विधामा असाध्यै खरा मानिने खरेले त्यति बेला भनेका थिए, ‘जनताको साहित्य लेख्नेहरू हो ! लेखेर मात्रै नबस । यो लेख्य साहित्यले भन्दा छिटो र प्रभावकारी ढंगले काम गर्ने सिनेमाको समय हो । सिनेमातर्फ प्रवेश गर । हूलका हूल भएर सिनेमामा छिर । जनताका मूर्त मुद्दाहरू बोक्ने सिनेमाहरूका स्क्रिप्ट लेख । सिनेमामार्फत हिरो र भिलेनको कृत्रिम द्वन्द्व होइन, समाजभित्र पत्रपत्र खाँदिएर बसेका सांस्कृतिक–राजनीतिक द्वन्द्वहरूलाई बाहिर ल्याओ ।’ विश्वको कुनै पनि भाषाका सिनेमा र नेपाली सिनेमाका लागि पनि खरेको यो भनाइ झन्झन् निरन्तर प्रासंगिक छ ।

राजनीति, कानुन, पत्रकारितालगायत समाजका असली संघर्षमा पनि र कला, साहित्य, फिल्मभित्रका निर्मित संघर्षमा पनि हामीले ‘जय भीम’ र ‘भीमबहादुर विश्वकर्मा’ जस्ता दृष्टान्तको मूल्य आत्मसात् गर्न सक्यौं भने व्यवस्थाका कुरूपता चिर्ने र नयाँ व्यवस्थाको आँखीझ्याल कुँद्ने हिम्मत दोब्बर हुनेछ ।

प्रकाशित : मंसिर ७, २०७८ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?