खुला पेटीको चाहना


काठमाडौँ — बढ्दो सवारी चापका र पार्किङ स्थानको अभावमा सहरका पेटीहरू सावारी साधनले भरिन थालेका छन् । यसले पैदलयात्रुलाई असर गरिरहेको छ । काठमाडौंमा यो समस्या झन् बढी छ । सेवासुविधा काठमाडौंकेन्द्रित भएकाले पनि यहाँको जनसंख्या धेरै छ ।
सार्वजनिक यातायात प्रणाली गतिलो नभएकाले पनि निजी सवारी साधन, त्यसमा पनि मोटरसाइकल र स्कुटरको प्रयोग गर्नेहरू बढिरहेका छन् । यसको बढ्दो प्रयोगसँगै पार्किङ समस्या पनि विकराल बनिरहेको छ । समस्या समाधानका लागि महानगरले योजनाहरू ल्याउनुपर्छ ।
सुरुमा त सार्वजनिक यातायातलाई कसरी सुधार्ने भन्नेमै ध्यान दिनु जरुरी छ । यात्रुमैत्री सार्वजनिक यातायात बनायौं भने, निजी सवारी साधन किन्नेहरूको संख्या स्वात्तै घट्छ । अहिले त अवस्था कस्तो छ भने सार्वजनिक यातायात यातनास्थलजस्तो बन्ने गरेको छ, यात्रुहरूलाई जनावर जसरी कोचाकोच गरिन्छ । अनि बाध्य भएर अलिअलि आम्दानी हुनेहरूले दुईपांग्रे किनिरहनुपरेको छ । यसले सडकमा सवारी साधनको संख्यालाई पनि बढाइरहेको छ । ट्राफिक जामका कारण काठमाडौंमा अफिस टाइममा भनेको स्थानमा भनेकै समयमा पुग्न गाह्रो छ । यसलाई कम गर्न पनि सार्वजनिक यातायातलाई सहज बनाउनुपर्छ । सहज त बनाउने तर सार्वजनिक यातायातको संख्या भने बढाउन सकिएको छैन । यात्रुको चाप बढिसक्दा पनि सवारी साधन बढाउन नसक्नु सरकारकै कमजोरी हो ।
अचेल फुटपाथभरि दुईपांग्रे सवारी साधन तेर्सिएका हुन्छन् । महानगरले पनि सर्वसाधारणलाई हिँड्न रोक लगाएरै भए पनि व्यापारीलाई खुला क्षेत्र पार्किङका लागि दिने गरेको छ । यस्तो गतिविधि नगरले रोक्नुपर्छ । अनि अर्को पक्ष, यसरी व्यापारीलाई दिँदा उनीहरूले उठाएको पैसा सरकारको गोजीमा आउने पनि होइन, करसमेत तिर्दैनन् । पार्किङबाट उठाएको पैसाको हिसाबकिताब कतै हुँदैन, जसले उठायो, उसैले कुम्ल्यायो । उनीहरूको हितका लागि भन्दा पनि सरकारले नागरिकको फाइदाका लागि काम गर्नुपर्छ । सडकमा पहिलो अधिकार पैदलयात्रीको हुन्छ, त्यसैले उनीहरूको हिँडडुल सहज बनाउनु महानगरको प्राथमिकतामा पर्नुपर्छ । मोटरसाइकल चालकको पनि आफ्नै गुनासो छ, भनेको बेला पार्किङ भेटिन्न । पैसा तिर्छु भन्दा पनि राख्ने ठाउँको अभाव छ । उनीहरूको गुनासोलाई महनगरले ध्यान दिनुपर्छ ।
निजी सवारी साधनको मागलाई कम गर्न वा संख्या घटाउन सार्वजनिक यातायातको सुधारतिर सरकार उन्मुख हुने हो भने ट्राफिक जाम आफैं कम हुने थियो । यसले केही हदसम्म प्रदूषण पनि कम हुने थियो । त्यस्तै दिनहुँजसो दुईपांग्रे सवारी दुर्घटनामा परेको खबर आइरहन्छ, यसलाई पनि घटाउने थियो । दुईपांग्रे सवारीको विस्थापन गर्न पनि सार्वजनिक यातायात सुधार्नुपर्छ ।
सडकपेटी पार्किङस्थल बनाउने कि पैदलयात्रीमैत्री ? यसमा कसको अधिकार हुन्छ ? किन महानगर समस्या विकराल बनिसक्दा पनि चुपचाप बसिरहेको छ ? किन नीति योजनाहरू बन्न सकेका छैनन् ? यातायात प्रणालीसँग सम्बन्धित यस्ता समस्या सरकारका होइनन् ? पार्किङको समस्या सामाधान गर्ने पहिलो उपाय त निजी सवारी साधनको उपभोगलाई घटाउने नै हो । योसँगै पार्किङस्थल पैदलयात्रुको हिँडडुलमा समस्या नपर्ने गरी छुट्याउनुपर्छ । पैदलयात्रीको सुविधालाई महानगरले प्राथमिकतामा राख्नुपर्छ । काठमाडौंजस्तो ठूलो सहरमा पार्किङ समस्या विकराल बनिरहेको छ, यसको समाधानका लागि चुस्त व्यवस्थापन र सरकारी निकायहरूबीच समन्वय आवश्यक छ ।
प्रकाशित : मंसिर ५, २०७८ ०८:०१