कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

दलीय मूर्खताको प्रदर्शनी

राजनीतिक दलहरुसँग समाज रुपान्तरणको कुनै सपना छैन । विचारका नाममा सिद्धान्त जनाउने ढ्याके शब्दहरुको बगाल अवश्य छ । तर नेता–कार्यकर्ताको उल्लेख्य हिस्साले उच्चारण गरिरहने ती शब्दको बगालमा कुनै जीवन्त स्पन्दन छैन, न तिनको उच्चारणबाट कुनै बौद्धिक ऊर्जाको सञ्चार नै हुन्छ ।
आफ्ना आधारभूत लोकतान्त्रिक मान्यताहरूमा साहसपूर्वक अडिन नसक्ने र त्यसैलाई आफ्नो राजनीतिक सामर्थ्य बनाउन नसक्नेबाट कसरी नयाँपनको आशा गर्नु ?
उज्ज्वल प्रसाई

पूर्वी नेपालको एक नगरमा पुरानो राजनीतिक दलले नयाँ वडास्तरीय समिति चयन गर्‍यो । ठूला नेताको रोहबरमा भएको थियो त्यो । नवगठित समितिका एक सदस्यलाई मैले सोधें, ‘अब केकस्ता काम गर्छ वडा तहमा यो पार्टीले ?’ फरासिला स्वभावका ती सदस्यले हलुका मुस्कुराउँदै भने, ‘अचेलको वडा ठूलो छ, जनसंख्या धेरै छ, मान्छे मरिरहन्छन् । सबैभन्दा धेरै समय समवेदना–पत्र बनाउने र मराउ परेका घरमा पुर्‍याउने काममा बित्छ ।’

दलीय मूर्खताको प्रदर्शनी

केही दिनपछि अर्को एक पार्टीको नगर समिति चयन भयो । वडामा झैं, नगरको मूल नेतृत्वमा पनि ठूला नेताको प्रभावले सहमति गराउन कोसिस गरियो तर पदका आकांक्षीहरू पछि हट्न मानेनन्, चुनाव गरे । समिति पूर्ण भइसकेपछि चयन भएमध्येका एक सदस्यलाई मैले उही प्रश्न गरें । प्रश्नको हेक्का कति गरे थाहा भएन, तर उत्तरका रूपमा आफ्नैबारे बताए, ‘पार्टीमा संकट परेको बेला म अडिग थिएँ । अधिवेशनमा पनि राम्रै खटें । अब नगरमा आइसकेपछि स्थानीय चुनावमा केही हुन्छ होला नेताहरूबाट । टिकट पाइयो भने पैसा त अलिअलि खर्च हुन्छ तर जितिन्छ ।’

...

नेपालका गाउँ र सहरमा दलीय कार्यक्रमका ठूला चहलपहल जारी छन् । उल्लेख्य कार्यकर्ता पंक्तिसहितका दुई पार्टी नेपाली कांग्रेस र नेकपा एमाले महाधिवेशनमा छन् । माथि भनिएझैं, नगर र वडा समिति चयन/निर्वाचन गर्नेलगायतका काम धमाधम भइरहेका छन् । भ्रातृ संगठनका चुनाव पनि साथै भइरहेका छन् । यी दुई पार्टीसँगै केही महिना पहिलेदेखि अस्तित्वमा आएको नयाँ दल नेकपा (एकीकृत समाजवादी) ले संगठन विस्तारका लागि विभिन्न तहका कमिटीहरू गठन गरिरहेको छ । माओवादीले पनि अध्यक्ष प्रचण्डका गलामा दर्जनौं माला भिराएर गाउँ–सहर घुमाइरहेकै छ । यी पार्टीका तामझाम मात्र हेर्दा पनि देखिन्छ, पछिल्ला केही महिना लाखौं नेपाली नागरिक पार्टी–कामलाई प्राथमिक बनाएर परिचालित छन् ।

महाधिवेशनको चटारो सकिएपछि के हुन्छ ? स्थानीय, प्रदेश र संघीय सरकारको निर्वाचन आउँछ । त्यस बेला हाल देखिएको भन्दा कैयौं गुणा बढी दलीय गतिविधिहरू सञ्चालित हुनेछन् । गठबन्धन बनाउने र भत्काउने, यता जोडिने र उता फुस्किने उपक्रम पहिलेदेखि नै सुरु हुनेछ । उम्मेदवारी चयन सुरु भएपछि उल्लेख्य कार्यकर्ता पंक्तिको दलीय दौड अझै मच्चिन्छ । प्रचार–प्रसार, भोटका हिसाब–किताब, प्रशंसा र गालीको वर्षा, आम जनतालाई प्रभाव पार्ने प्रोपगान्डाको रचना, सामाजिक सञ्जालको सक्रियता सबैले लाखौं मान्छेलाई कैयौं दिन परिचालित गर्नेछन् । सतही अन्दाज लगाउँदा, प्रत्येक पाँच वर्षमा करिब एक वर्षको समय लाखौं नेपाली वयस्कले दलीय गतिविधिलाई आफ्नो प्राथमिक काम बनाउँदा रहेछन् । यो अड्कलमा अधिवेशन र चुनावबाहेकका गतिविधिमा दलजीवीले देखाउने सक्रियताको हिसाब जोडिएको छैन ।

मानसिक र शारीरिक श्रममार्फत सृजनात्मक काम गर्न सबल लाखौं मान्छेको समय र ऊर्जाको दोहन गर्ने यी राजनीतिक दल नेपालका सबैभन्दा बलिया संस्था हुन् । लोकतान्त्रिक व्यवस्था सुनिश्चित गर्न खटिएका र सोही व्यवस्थाको आडमा शक्तिको अभ्यास गर्न समर्थ भएका यी सबलतम संस्थाहरू आफैंमा रत्तीभर लोकतान्त्रिक छैनन् । त्यति मात्रै होइन, यी दलहरूसँग अब समाज रूपान्तरणको कुनै सपना छैन । विचारका नाममा सिद्धान्त जनाउने ढ्याके शब्दहरूको बगाल अवश्य छ । तर नेता–कार्यकर्ताको उल्लेख्य हिस्साले उच्चारण गरिरहने ती शब्दका बगालमा कुनै जीवन्त स्पन्दन छैन, न तिनको उच्चारणबाट कुनै बौद्धिक ऊर्जाको सञ्चार नै हुन्छ । बरु त्यहाँ रकमी तिकडमको बाहुल्य छ, र ब्रान्डिङजस्तो सस्तो बजारु अर्थ छ त्यहाँ ।

लोकतन्त्रलाई आफैंभित्र खुम्च्याउँदै, सिद्धान्तलाई आडम्बरमा पतित गराउँदै, वैचारिकतालाई ओजहीन तुल्याउँदै, चाकरीलाई संस्थागत गर्दै, समाज रूपान्तरणको विषयलाई फजुल ठहर्‍याउँदै गरिने तमाम गतिविधि कस्ता हुन्छन् ? माथिका उत्तरहरूले पुष्टि गर्छन्— असल काम गर्न सक्ने अत्यन्तै धेरै समय र ऊर्जा नमज्जाले खेर गएको छ । अनि परिणाम के हुन्छ ? लोकतन्त्र लोकतन्त्रजस्तो हुँदैनÙ त्यसले आफ्नो प्रभाव, गरिमा र कान्ति गुमाउँछ । आम जनता र खास गरी ऐतिहासिक रूपमा बहिष्कृतका पक्षमा जति उपलब्धि हासिल भएका छन्, ती सबै अर्थहीन हुने सम्भावना द्रुत बन्छ । आम मानिसमा विश्वास गुमाउन थाल्यो भने व्यवस्थाको नाममा लोकतन्त्र झुन्डिइरहे पनि त्यो अरू नै केही भइसकेको हुन्छ ।

समाज रूपान्तरणका मुद्दा र कार्यक्रममा हजारौं मान्छेका ऊर्जा र समय केन्द्रित गराउँदै लोकतन्त्रलाई उन्नत बनाउनुपर्ने काम नगरेर दुःख पाएको इतिहास धेरै पुरानो होइन । २०४६ मा भएको परिवर्तनको महिमा गाउँदागाउँदै चुनौतीका चाङ भयानक भइसकेका थिए । संसारको उत्कृष्ट संविधानको ध्वाँस ऊ बेला पनि सानो थिएन । जग र खाँबा दुवै मक्किएर संविधानको महल धूलिसात् भइसक्दा पनि महलकै गीत गाउनेहरू बतासमा कवाज खेलिरहेका थिए । संविधानका प्रणेता हौं भन्ने र सो दस्तावेजलाई दिगो बनाउँछौं भन्नेले आम जनताको विश्वास गुमाए । त्यसपछिका घटना यहाँ दोहोर्‍याउन आवश्यक छैन । राजावाद र दक्षिणपन्थको नगरा चर्केर बज्न थालेको नसुन्ने पक्कै कोही छैनन् ।

यो उही पुरानै समय होइन, त्यसैले संकटका फरक रूपहरू देखिन सक्छन् र तिनको प्रभाव पनि बढी भयानक हुन सक्छ । संविधानको महिमा गाउने तर त्यसलाई जीवन्त हुन नदिई, त्यसका सबल एवं लोकतान्त्रिक पक्षमाथि नै घात गर्नेहरूको प्रवृत्ति करिब २०४६ पछिकै जस्तो छ । एउटा कारण त पात्र करिब सबै उही हुनु पनि होला । तर नयाँ हौं भनेर उदाएकाहरूमा पनि लोकतान्त्रिक पद्धति बलियो बनाउने नयाँपन करिब शून्य छ । ‘नयाँ पुस्ता,’ ‘युवा पुस्ता,’ ‘तन्नेरी’ जस्ता विशेषण जोडेर आउनेले पनि त्यही गरिरहेका छन्, जो पुरानाले गरेरै लोकतन्त्रलाई यति कमजोर बनाए । सपाट शब्दमा भन्दा, एउटै गल्तीको पुनरावृत्तिमा दत्तचित्तले लागिरहने चरम मूर्खताको प्रदर्शनमा नेपाली कांग्रेस र नेकपा एमाले सबैभन्दा अब्बल छन् । केही अपवाद भए थाहा छैन, तर अरू साना दलले पनि यिनै ठूला मूर्खहरूको देखासिकी गरिरहेका छन् ।

प्रभावशाली ठूला दुई दलका वडा र नगरमा चुनिएका उदाहरणार्थ प्रस्तुत पात्रहरू वृद्ध होइनन्, युवा हुन् । नयाँ बाटो हिँड्नु जोखिमपूर्ण हुन्छ, त्यसैले उनीहरू पहिले अरूका पैतालाले समथर तुल्याएको पुरानै बाटो हिँड्न वडा र नगरमा चयन भएका हुन् । एउटालाई भोट बटुल्न ‘वेदना’ माथि नै खेलबाड गरिरहेको समवेदना–पत्र वितरण गर्ने प्रवृत्ति ढोङ मात्र हो भन्ने थाहा पाएर पनि त्यही दोहोर्‍याउनुपर्नेछ । अर्कालाई आगामी चुनावमा लडेर पदमा पुग्ने र अख्तियार दुरुपयोग गरेर खर्च भएको पैसा उठाउने ध्याउन्न छ । त्यसभन्दा नयाँ र रूपान्तरणकारी कामका लागि आफू चयन भएको होइन भन्नेमा दुवै ढुक्क छन् ।

वर्तमानका चुनौती बुझ्ने, नेपाली समाजका संकट पहिल्याउने, समुदायको सबलतालाई प्राथमिकता दिने र नेतृत्वको अर्थ बदल्ने उत्साह उनीहरूमा कत्ति पनि छैन । चलेको रीतलाई पछ्याउँदै दलजीवी हुनुभन्दा ठूलो आकांक्षा पनि केही छैन । माथिल्ला नेताहरूको आशीर्वाद आफ्ना थाप्लामा भएको थाहा पाउन्जेल उनीहरू केही आत्मविश्वासी र रवाफिला त देखिन्छन्, तर आफ्नै क्षमताको बलमा राजनीति गर्ने आत्मविश्वास पनि छैन उनीहरूसँग । करिब एक दशकपछि यिनै मान्छे प्रदेश वा केन्द्रमा पुग्न सक्छन्, त्यस बेला पनि ध्याउन्न करिब यही हुनेछ र विडम्बना के भने, त्यति बेला पनि उनीहरूले आफूलाई नयाँ र युवा नै भनिरहेका हुनेछन् ।

नेपाली कांग्रेस र नेकपा एमालेभित्र ‘हिन्दु राष्ट्रवाद’ आकर्षक एजेन्डा बन्न थाल्नु र पार्टीभित्रको युवा पुस्ता भनिने ठूलो संख्या मौन रहनु या त्यतै लहसिनुले सुखद संकेत गर्दैन । आफ्ना आधारभूत लोकतान्त्रिक मान्यताहरूमा साहसपूर्वक अडिन नसक्ने र त्यसैलाई आफ्नो राजनीतिक सामर्थ्य बनाउन नसक्नेबाट कसरी नयाँपनको आशा गर्नु ? भोटमा असर गर्ला भनेर आज यति ठूलो मुद्दामा सम्झौता गरेको मान्छेले, भोलिका संकटहरूमा कसरी अडिएला ?

स्थापित र उदाउँदा दुवै नेतृत्वको हालत यस्तो छ, दुनियाँ भने पहिले कहिल्यै नभोगेका नयाँनयाँ महासंकटको भुमरीमा फस्न थालेको छ । कोरोना एउटा संकेत मात्र हुन सक्छ । असाध्यै दुरूह भूराजनीतिक जटिलतालाई सामना गर्दै यी बहुविध संकट झेल्नुपर्ने ठाउँमा रहेको नेपाललाई यस्तो कमजोर नेतृत्वले धान्न मुस्किल छ । पहिलेजस्तै जसोतसो चलिहालेन भने कस्ताकस्ता अवस्था आइपर्लान्, केही सामान्य अनुमान मात्र लगाउन सकिन्छ । त्यस्तो अनुमानको ‘अलार्म’ बजाएर अत्याउनुमा के मज्जा !

प्रकाशित : मंसिर ३, २०७८ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?