१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

बौद्धिक संस्कृतिमा मार्क्सवादी छाया

जब तपाईं हरेक कुरामा माक्र्सले भनेजस्तो वर्गको सेवा खोज्नुहुन्छ, तब तपाईंलाई लिओनार्दो दा भिन्चीको मोनालिसा अर्थहीन लाग्छ । शेक्सपियरकावियोगान्त किन महान् छन् भन्ने अनुमति तपाईंलाई हुँदैन । महाकवि देवकोटाको स्वच्छन्दतावादले गर्नुपर्ने वर्गको सेवा गर्दैन भन्ने लाग्छ।
यो वृत्तमा अलोकप्रिय भइएला कि त्यो वृत्तमा भन्दाभन्दै, राम्रै खुबीका कतिपय लेखकहरू हेर्दाहेर्दै भुत्ते भएका अनगिन्ती उदाहरण समकालीन नेपालमै बग्रेल्ती छन् ।
विष्णु सापकोटा

सांस्कृतिक पुनर्जागरण भने पनि या आधुनिक बौद्धिक परम्पराको सुरुआत, नेपालमा यसको इतिहास सय वर्ष पुग्न पनि बाँकी नै छ। विक्रम संवत् १९९०–२००० को दशकभन्दा पाँच–सात सय वर्षअगाडिको ‘भारतवर्ष’का जुन सामूहिक ज्ञान परम्पराहरू छन्, तिनलाई अहिलेका आधुनिक राज्यहरूले गच्छेअनुसार आफ्नो भनेर दाबी गर्ने कर्म त इतिहासको नियमित प्रक्रिया नै हो ।

बौद्धिक संस्कृतिमा मार्क्सवादी छाया

यो चली नै रहनेछ। तुलनात्मक दृष्टिले हेर्दा, सय वर्षभन्दा अगाडिका, नेपालको बौद्धिक संस्कृतिका पाँच–सात सय वर्ष शुष्क थिए । त्यो इतिहासलाई त त्यति धेरै सच्याउन नसकिएलातर वर्तमान नेपालको परिदृश्यमा हामीले सच्याउनपर्ने र सकिने केही कुरा छन् ।

लेखको मूल ‘हाइपोथेसिस’लाई, घुमाउरो बाटो नगई, सुरुमै उल्लेख गरौं । नेपालको ‘आफ्नो’ बौद्धिक–सांस्कृतिक चेतनाको विस्तार र प्रजातान्त्रिक अभिलाषाका जागरुकताका अभियानहरू विक्रम संवत् १९९० को दशकमा एकैचोटि सुरु भएका हुन् । विश्वपरिवेशमा उत्तरऔपनिवेशिक कालको सुरुआत र छिमेकका स्वतन्त्रता एवं लोकतान्त्रिक अभियानका राजनीतिक सन्दर्भहरूको प्रभाव त त्यसमा हुने नै भयो। त्यस हिसाबमा नेपालको आधुनिकताको सांस्कृतिक र राजनीतिक सुुरुआतएकैचोटि भएकोहो । बौद्धिक इतिहासको प्राज्ञिक विधाले राजनीतिक चिन्तन प्रणाली, दार्शनिक उथलपुथलर कला–संस्कृतिले कुनै ऐतिहासिक कालखण्डमा एकअर्कालाई पारेको प्रभावलाई नछुट्याई, एकै ठाउँमा राखेर हेर्छ। ढिलो प्रारम्भ भए पनि विक्रमको एक्काइसौं शताब्दीका प्रथम तीन दशकको बौद्धिक विस्तार समग्रमा सन्तोषजनक थियो । आफ्नै विशाल जग नहुँदै, आफ्नो विश्वविद्यालय भर्खर खुलेको परिदृश्यमा त्यतिको विस्तारलाई सहानुभूतिपूर्वक हेरिनुपर्छ । तर ’३० को दशकमा विस्तार भएको र वर्तमानसम्म झाँगिएको नेपालको मार्क्सवादी चिन्तन परम्पराले समग्रमा हाम्रो राष्ट्रिय बौद्धिक परम्परालाई फराकिलो हुनबाट रोकेको छ । यसले नेपालको भनेर दाबी गर्न मिल्ने आफ्नै (पूर्वीय) ज्ञान परम्परा र बाँकी ‘विश्व’का समकालीन परम्पराका विविधतासँग संवाद गर्ने दायरा खुम्च्याएको छ ।

यति पढ्दै गर्दै केही ‘बौद्धिक’हरू अलिकति ‘प्रोभोक’ भइसकेको हुनुपर्छ । अलिकति ‘प्रोभोकेटिभ’ प्रस्तावना सचेत रूपमै गरिएको हो। किनभने, त्यसै पनि नेपालको तथाकथित बौद्धिक वृत्त त्यस्तै चार–पाँच सय मानिसको घेरामा होला। बौद्धिक, चिन्तक, लेखक, प्राध्यापक जोजो हुन्, सबै मिलाउँदा, तिनीहरूमध्ये धेरैले धेरैलाई व्यक्तिगत रूपमै चिन्छन्/चिनिन्छ। चिनजान त राम्रै होतर त्यसको गैरसृजनशील पाटो छ । एउटा विषयमा एक थोक लेख्न बस्यो, एक जना परिचित ‘मित्र’को अनुहार सम्झनामा आउँछ । ऊ रिसाउला भनेर या त त्यो विषयमा प्रवेशै नगर्‍यो या लेखे पनि बोधो भाषामा केही लेख्यो। अनि अर्को विषयमा अर्को दृष्टिकोण लेख्न बस्दा, अर्को कुनै मित्रलाई सम्झ्यो। अनि त्यो रिसाउला भनेर त्यो पनि नलेख्यो । सबैमा हैन, तर कतिपय लेखक र बौद्धिकमा त्यस्तो प्रवृत्ति देखिएको छ । कुनै बौद्धिक वा लेखकलाई सबैले मन पराइदिएको त राम्रो हो तर दुनियाँमा सबैले मन पराउने केही पनि छैन, खास गरी चिन्तन परम्पराका सन्दर्भमा । यो वृत्तमा अलोकप्रिय भइएला कि त्यो वृत्तमा भन्दाभन्दै राम्रै खुबीका कतिपय लेखकहरू हेर्दाहेर्दै भुत्ते भएका अनगिन्ती उदाहरण समकालीन नेपालमै बग्रेल्ती छन् । त्यसबाहेक, एउटा अर्को थरीको सानो वृत्त छ नेपालमा, जसले ज्ञान परम्पराको शुद्धतावादी ‘जजमानी’ गर्छ । तिनीहरूको सधैंको गुनासो हुन्छ— नेपालको बौद्धिकता विकास नभएको तिनका कुरा अरूले नसुनेर हो। आजीवन ज्ञानकर्मलाई नै पेसा बनाएका र अनुसन्धानमा जजमानी गरेका बाहेक अरूले ‘बौद्धिक’ कुरा गरेको नै सुहाउँदैन भन्ने आग्रह पनि हुन्छ तिनीहरूको। तिनका कुरा त बरु रोचक नै लाग्छन् किनकि तिनले कमसेकम मान्छेलाई एकै छिन भए पनि जुरुक्क पार्छन् । असहमत हुन जगाउँछन् । प्रतिक्रियास्वरूप नै भए पनि, अरूबाट थप संकथनको सृजना गराउँछन् ।

कार्ल माक्र्स नभइदिएका भए समाजलाई हेर्ने हामी धेरैको विश्वदृष्टि जे छ,त्यो अहिले भएको जस्तो हुने थिएन । पुँजीवाद पूर्णत: अँगालेका राष्ट्र नै किन नहोऊन्, श्रम, समानता र सामाजिक न्यायलाई हेर्ने विश्वदृष्टिमा माक्र्स कतै भेटिइहाल्छन् । त्यसैले विषयमाक्र्सको होइन। विषय नेपालमा मार्क्सवादी विचार परम्पराको छायाले देशको समग्र बौद्धिक परम्परालाई कसरी ओझेल पारेको छ भनेर हेर्नु हो। यो चिन्तन परम्पराले कसरी आफूबाहेक अरू परम्परासँग संवाद नै गर्दैन भन्ने हो। मार्क्सवादी सिद्धान्तले भन्छ— साहित्य, कला समाजको ऐना हुनुपर्छ। साहित्य, कला, संस्कृतिले सामाजिक यथार्थलाई उजागर गर्नुपर्छ। कलाको, विद्वत्ताको उद्देश्य हुनुपर्छ। त्यो उद्देश्य समाजलाई क्रान्तिका लागि, प्रगतिका लागि, अगाडि बढ्नका लागि प्रेरित गर्ने हुनुपर्छ। त्यसले निमुखा वर्गको बोली बोल्नुपर्छ। त्यसो नगर्ने सृजना फजुल हो। अन्यत्रका जस्तै, नेपालका प्रशिक्षण नलिएका तर वामपन्थी रुझानका बौद्धिकहरूको पनिज्ञान/सांस्कृतिक परम्परालाई हेर्ने दृष्टि यही हो।यसो सुन्दा, साहित्य, सृजना, कला सबैले समाजको सेवा गर्ने उद्देश्य बोकेको हुनुपर्छ भन्ने परम्परामा नराम्रो धेरै देखिँदैन।

तर समस्या यहीँनेर सुरु भइहाल्छ। समग्रमा मार्क्सवादी परम्पराका बौद्धिकहरूको विडम्बना के छ भने, उनीहरू नेपालकै आधुनिक कालका सांस्कृतिक परम्पराहरूसँग संवाद गर्न डराउँछन् । किनकि हरेक ज्ञान र सृजनालाई त्यो मजदुरका पक्षमा लेखिएको छ कि छैन, त्यसले ‘क्रान्ति’ को सेवा कसरी गर्छ, त्यसमा सामाजिक यथार्थवाद छ कि छैन भनेर हेर्नेबित्तिकै तिनीहरू लेखनाथ पौडयाल, माधवप्रसाद घिमिरेका सांस्कृतिक चेतका बारेमा खुलेर कुरा गर्न डराउँछन् । गरे भने पनि ‘डिसमिसिभ’ हिसाबमा गर्छन् । अरू त छाडौं, आधुनिक नेपालको चेत निर्माण गर्ने सांस्कृतिक अभियानमा महाकवि लक्ष्मीप्रसाद देवकोटाकै बारेमा विमर्श गर्न उनीहरू डराए । अझै डराउँछन् ।वैचारिक रूपमा आफ्नै अग्रणी भए पनि पारिजातकै ‘शिरीषको फूल’ को कति कुरा गर्नु ठीक होला भनेर हच्किन्छन् । के मदनमणि दीक्षितकी माधवी‘माधवी’ हुनु ठीक थियो ? त्यो चिन्तनले त्यहाँअरू सौन्दर्य परख गर्न दिँदैन। किनकि मार्क्सवादमा स्वच्छन्दताका लागि, बौद्धिक अराजकताका लागि, सृजनशील पागलपनका लागि छुट हुँदैन। बीपी कोइरालाको साहित्य वा विचारसँग ‘इन्गेज’ भयो भने त वामपन्थी ‘अछुत’ नै हुने खतरा अझै छ । सहमत हुनुपर्छ भन्ने त सवालै होइन। यहाँ बौद्धिक रूपमा पारस्परिक संवाद गर्ने कुरा मात्र गरिएको हो। यो चिन्तनले चौतर्फी रूपमा अरू बौद्धिक र सांस्कृतिक परम्परालाई एकै वाक्यमा ‘तत्कालीन सामाजिक चेतनाको प्रतिनिधित्व नगर्ने, सामन्तवादी र पुँजीवादी वर्गको सेवा गर्ने’ भनेर खारेज गर्छ।

अस्तित्ववादी बौद्धिक परम्परासँग उसले सामीप्य राख्न सक्दैन। मान्छे खान नपाएर मरिरहेका छन्, केको अस्तित्ववाद? बेलुका के खाने भनेर संघर्ष गर्न लाग्नु कि जीवनको अर्थ खोज्न लाग्नु ? उत्तरआधुनिकता, विनिर्माण भनेका त बुर्जुवा अवधारणा हुन् !मोहनदास करम चन्द गान्धी पनि सुधार गर्न खोज्ने मान्छेसम्म हुन् तर गान्धीका कुरा मार्क्सवादसम्मत छैनन् !नेपालमा खासगरी ’३० र ’४० को दशकमा सामाजिक चेतना बढी भएका र शिक्षित युवाहरूको ठूलो पंक्ति वामपन्थी अभियानसँग जोडियो। त्यो सारा पंक्तिले नेपालकै आफ्नै ऐतिहासिक परम्परासँग नै अन्तरसंवाद गर्न सकेन । सबै सांस्कृतिक परम्परालाई मार्क्सवादी दृष्टिकोणबाट हेर्दै केवल खारेज गर्दै गयो। सबै विषयलाई मार्क्सवादी शुद्धताको कसीमा हेर्नुपर्ने भएकाले नेपालको आफ्नै जुन आंशिक पूर्वीय दार्शनिक परम्परा छ, त्यसमा बोल्न मिल्दैन जस्तो गर्छन्उनीहरू । मार्क्सवादी भएका कारण देवताका कुरामा नबोल्ने बुझ्न सकिन्छ तर त्यहाँबाट भगवान्लाई निकाल्दा जति बाँकी ज्ञान हुन्छ, त्यसमा कुरा गर्न पनि मार्क्सवादले दिँदैन। त्यो ज्ञानसँग सहमत हुनुपर्छ भनेको त हुँदै होइन। विषयसंवाद नै गर्न नहुने अछुतपन हो। किनकि मान्छेले आफैंले कुरा बुझ्न सक्छ, बुझ्नका लागि देववाणी नै जरुरी हुँदैन भनेर स्थापित नहुन्जेल संसारका प्राय: सबै ज्ञान परम्परामा भगवान्को अवधारणा जोडिएकै थियो। भगवान्ले भनेको भनेपछि मान्छेलाई पत्याउने बनाउन सजिलो हुन्थ्यो। तर मार्क्सवादी भएपछि बुद्धको दार्शनिक ज्ञान परम्परामा पनि सीमितबाहेक अन्तरक्रिया हुँदैन। जब तपाईं हरेक कुरामा माक्र्सले भनेजस्तो वर्गको सेवा खोज्नुहुन्छ तब तपाईंलाई लिओनार्दो दा भिन्चीको मोनालिसा अर्थहीन लाग्छ । शेक्सपियरकावियोगान्त किन महान् छन् भन्ने अनुमति तपाईंलाई हुँदैन। महाकवि देवकोटाको स्वच्छन्दतावादले गर्नुपर्ने वर्गको सेवा गर्दैन भन्ने लाग्छ।

साहित्य र कला समाजको ऐना भएको ठीक छ। तर व्यक्तिका निजत्वभित्र छिर्ने ‘गैरसामाजिक’ संस्कृति पनि महत्त्वपूर्ण हुन्छ, सुन्दर हुन्छ।माक्र्सले भनेजस्तै, दार्शनिकहरूले अहिलेसम्म (उनको बेलासम्म) केवल जीवन–जगत् के हो भन्ने मात्र कुरा गरे, खास दर्शनशास्त्रलेगर्नुपर्नेयी सबैको परिवर्तन हो भन्ने पनि ठीक छ । तर दर्शनशास्त्रको काम केही परिवर्तन गर्नु होइन भन्ने कुराको पनि अर्थ हुन्छ। जीवनको विसंगति र अर्थहीनताको कुरा गर्ने दर्शनको पनि अर्थ हुन्छ। यसो सोच्नोस् त, नेपालको वामपन्थी बौद्धिक वृत्तले आफ्नो सन्दर्भका रूपमा संवाद गर्ने नेपालकै बौद्धिक परम्परा अति साँघुरो लाग्दैन ? बाँकी विश्वसँग उनीहरूको संवाद हेर्नुस् त, कति डराई–डराई, आफ्नै गुरुकुलको कसले के भन्ने हो, आफ्नै पुरानो वाम अवचेतनले कता गाली गर्ने हो भनेर, तौलीतौली, सोचीसोची मात्र त्यसो गर्छन् ! वाम बौद्धिकहरू अझै पनि शीतयुद्घकालीन मार्क्सवादी शुद्घताको कैदमा आफैं कक्रक्क परेर बस्नुपरेको छ । त्यसले देशको आफ्नै ऐतिहासिक–सांस्कृतिक चेतसँग उन्मुक्त संवाद गर्न नदिएर बौद्धिक परम्पराको विकासमै संकुचन पैदा गरेको छ ।

प्रकाशित : मंसिर १, २०७८ २१:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?