३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

भ्याटसँगै सम्झनामा आउने तीन व्यक्तित्व

जहाँ छुट धेरै, एकभन्दा बढी दर, न्यून दर्ता थ्रेसहोल्ड छ, त्यहाँ भ्याटले आशानुरूप सफलता पाउन सकेको छैन ।
रूप खड्का

मंसिर १ गते २४ वर्ष पूरा हुन्छ, नेपालमा मूल्य अभिवृद्धि कर (भ्याट) लागू भएको । त्यसयता सुरुसुरुमा मंसिर १ गते भ्याट दिवस मनाइन्थ्यो, जुन अचेल राष्ट्रिय कर दिवसमा परिणत भएको छ । यस दिन सबभन्दा बढी कर तिर्ने वा कर अनुपालन राम्रो भएका विभिन्न क्षेत्रका करदाताहरूलाई सम्मान गरिन्छ । यस लेखमा चाहिँ राष्ट्रिय कर दिवसमाथि नभई भ्याटको अवधारणा ल्याउने, यसको विस्तृत खाका तयार गर्ने र यसलाई व्यवहारमा उतार्ने तीन व्यक्तिबारे संक्षेपमा चर्चा गर्ने प्रयास गरिएको छ ।

भ्याटसँगै सम्झनामा आउने तीन व्यक्तित्व

प्रतिपादक— व्यापारी

भ्याट प्रतिपादन गरेका हुन् जर्मन व्यापारी डा. विल्हेम फोन साइमन्सले । सन् १८५५ मा जन्मेका साइमन्सले आफ्नो देहावसान हुनुभन्दा एक वर्षअगाडि, सन् १९१८ मा भ्याटको अवधारणा सार्वजनिक गरेका थिए । व्यापारी भएका नाताले उनी त्यतिखेर जर्मनीमा लागू भइरहेको बहुस्तरीय बिक्रीकरबाट जर्मन अर्थतन्त्रमा परेको नकारात्मक असरबारे राम्रोसँग परिचित थिए ।

पहिलो विश्वयुद्धमा होमिएको जर्मनीमा एकातिर युद्धका कारण कर प्रणालीबाट अपेक्षित राजस्व संकलन हुन सकेको थिएन, अर्कातर्फ युद्ध सञ्चालन गर्न थप स्रोत आवश्यक भएको थियो । थप वित्तीय साधन जुटाउन जर्मन सरकारले अस्थायी स्रोतका रूपमा बहुस्तरीय बिक्रीकर लागू गरेको थियो । बहुस्तरीय बिक्रीकर आवश्यक राजस्व परिचालन गर्न सफल भए पनि यसले अर्थतन्त्रमा नचाहेका तथा नसोचेका अनेक विकृति–विसंगति निम्त्यायो । उदाहरणका लागि, यो उत्पादन तथा वितरण प्रक्रियाअन्तर्गतका विभिन्न तहमा लगाइएको हुँदा दोहोरो–तेहरो कर लाग्न गयो । यस कर प्रणालीअन्तर्गत उद्योग–व्यापारका लागि सामान खरिद गर्दा हरेक पटक कर तिर्नुपर्ने भएकाले त्यसको भार कम गर्न उद्योगी–व्यापारीहरू आवश्यक वस्तु अन्य व्यवसायीबाट खरिद गर्नुभन्दा आफैं उत्पादन गर्न अभिप्रेरित भए । त्यसले गर्दा जर्मन अर्थतन्त्र वस्तु ठूलो परिमाणमा उत्पादन गर्दा हुने फाइदा (इकोनोमी अफ स्केल) तथा विशेषीकरण (स्पेसलाइजेसन) बाट वञ्चित हुन गयो । अर्कातर्फ, बहुस्तरीय बिक्रीकरअन्तर्गत निकासी गरिने वस्तुलाई आन्तरिक वस्तुगत करको भारबाट पूर्ण रूपले मुक्त गर्न नसकिने हुँदा अन्तर्राष्ट्रिय बजारमा जर्मन उत्पादनको प्रतिस्पर्धात्मक क्षमता क्षीण भयो ।

तर, बहुस्तरीय करबाट पर्याप्त मात्रामा राजस्व संकलन भएकाले अस्थायी रूपमा लगाइएको यस करलाई जर्मन सरकारले निरन्तरता दिइरह्यो । यस सन्दर्भमा, जर्मनीको साइमन्स औद्योगिक घरानामा जन्मेका विल्हेमले बहुस्तरीय बिक्रीकरलाई खारेज गर्नुभन्दा भ्याटजस्तो आर्थिक दृष्टिकोणले तटस्थ वा सक्षम कर प्रणालीद्वारा प्रतिस्थापन गर्नुपर्ने सुझाव दिए । भ्याटअन्तर्गत करदाताले आफ्नो कर लाग्ने कारोबारसम्बद्ध वस्तु तथा सेवाको खरदिमा तिरेको कर बिक्रीमा असुल गरेको करबाट कटाउन पाउने हुँदा करमाथि कर नलाग्ने, पहिले तिरेको करमा मुनाफा प्रतिशत जोड्नु नपर्ने, त्यसले गर्दा करका कारण वस्तु तथा सेवाको मूल्य करको मात्राभन्दा बढीले नबढ्ने, उद्योगी–व्यापारीहरूलाई करका कारण आफ्नो व्यवसायको संरचनामा परिवर्तन गर्न नपर्ने र निकासीलाई करको भारबाट पूर्ण रूपले मुक्त गर्न सकिने हुन्छ । त्यसैले बहुस्तरीय बिक्रीकरलाई भ्याटले प्रतिस्थापन गरेमा सिंगो जर्मन कर प्रणाली बढी सक्षम/तटस्थ, पारदर्शी, लचक तथा राजस्व उत्पादक हुने उनको सुझाव थियो ।

उनको सुझावलाई तत्कालीन जर्मन सरकारले गम्भीरतापूर्वक मनन गर्‍यो । तर भ्याट त्यति बेलासम्म विश्वको कुनै पनि मुलुकमा व्यवहारमा प्रयोग भइनसकेकाले जर्मन सरकार यसको कार्यान्वयनप्रति ढुक्क हुन सकेन । त्यसैले भ्याट लगाउनुको सट्टा बहुस्तरीय बिक्रीकरको दर घटाई त्यसबाट अर्थतन्त्रमा परेको नकारात्मक असर कम गर्ने निर्णय गर्‍यो ।

तर्जुमाकार— वित्तशास्त्री

भ्याटको विस्तृत खाका पहिलो पटक अमेरिकी अर्थशास्त्री तथा वित्तीयशास्त्रका विज्ञ प्राध्यापक कार्ल एस सुपले कोरेका थिए । सन् १९०२ मा जन्मेका सुपले जर्मनीमा भ्याटको अवधारणा उत्पत्ति भएको ३१ वर्षपछि १९४९ मा जापानका लागि भ्याटको विस्तृत स्वरूप तयार गरेका थिए ।

दोस्रो विश्वयुद्धमा ध्वस्त भएको जापानी अर्थतन्त्रको पुनर्निर्माणका लागि उपयुक्त कर प्रणाली तर्जुमा गर्न प्राध्यापक सुपको अध्यक्षतामा अमेरिकी अर्थशास्त्रीहरूको टोली सन् १९४९ मा जापान गयो, जसलाई सुप मिसन भन्ने गरिन्छ । यस मिसनले जापानी अर्थतन्त्रलाई उकास्नका लागि कम लागतमा बढी राजस्व परिचालन गर्न त्यतिखेर लागू भइरहेको उद्यम कर (इन्टरप्राइज ट्याक्स) को सट्टा भ्याट लगाउने सुझाव दियो र भ्याटको विस्तृत स्वरूप तथा सञ्चालन प्रक्रिया तर्जुमा गर्‍यो ।

सुप मिसनका सुझावहरूलाई स्विकारेर जापान सरकारले भ्याट कानुनको मस्यौदा गर्‍यो । त्यसलाई जापानी संसद्ले स्वीकृत पनि गर्‍यो । तर भ्याटको अवधारणा नयाँ भएकाले जापानीहरूलाई यस करबारे मूल्यांकन गर्न सहज भएन, यस करका सिद्धान्त तथा सकारात्मक पक्षको विचारै नगरी सर्वत्र विरोध भयो र अनावश्यक भ्रम फैलियो । त्यसले गर्दा यो कर कार्यान्वयन पटकपटक स्थगित गरियो र अन्त्यमा भ्याट ऐन कार्यान्वयन नै नगरी खारेज गरियो ।

कार्यान्वयनकर्ता— प्रशासक

भ्याटलाई व्यवहारमा उतार्न साहस गर्ने श्रेय फ्रान्सका प्रशासक माउरिस लाउरेलाई जान्छ । भ्याटको अवधारणा जर्मनीमा उत्पत्ति भएको एक वर्षअगाडि मात्र, सन् १९१७ मा फ्रान्समा जन्मेका लाउरे पेसाले इन्जिनियर थिए । तर दोस्रो विश्वयुद्धपछि उनी फ्रान्सको कर प्रशासनमा सामेल भए र १९५२ मा उनी त्यसको सहनिर्देशक बने । उनको साहसी नेतृत्वमा १० अप्रिल १९५४ मा विश्वमै पहिलो पटक भ्याट फ्रान्सेली धरतीमा लागू गरियो ।

त्यसपछि विश्वभरका सुधारवादी कर प्रशासकहरूका लागि प्रेरणास्रोतका रूपमा रहेका माउरिस फ्रान्सका लागि मात्र गौरवको विषय रहेनन् । वित्त विषयमा उच्चस्तरमा छलफल गर्न विश्वभरका व्यवसायीहरूको थलो मानिएको अन्तर्राष्ट्रिय वित्त संघ (आईएफए) ले अन्तर्राष्ट्रिय रूपमा अप्रत्यक्ष करबारे गरिएको वैज्ञानिक कार्यलाई प्रोत्साहित गर्न उनका नाममा वार्षिक पुरस्कार दिन थाल्नु त्यसैको उदाहरण हो ।

अन्त्यमा, भ्याट बीसौं शताब्दीमा वित्तशास्त्रमा गरिएको सबभन्दा महत्त्वपूर्ण प्रयोग हो । उत्पादन तथा वितरण प्रक्रियाअन्तर्गतका विभिन्न तहमा हुने मूल्य अभिवृद्धिमा लाग्ने यो कर आर्थिक दृष्टिले सक्षम कर हो र यसले निकासीलाई पूर्ण रूपमा करको भारबाट मुक्त गर्ने हुँदा स्वदेशी वस्तुको विदेशी बजारमा हुने प्रतिस्पर्धात्मक शक्तिलाई घटाउँदैन । यसले सिंगो कर प्रणालीलाई बढी पारदर्शी बनाउँछ र यसले उद्योग–व्यापार गर्नका लागि सबैलाई समान अवसर दिन्छ । करको आधार विस्तृत भएकाले यो विभिन्न मुलुकमा राजस्वको सबभन्दा महत्त्वपूर्ण स्रोतका रूपमा स्थापित भएको छ । यसैले गर्दा ठूला–साना, धनी–गरिब, विकसित–अविकसित, टापु–भूपरिवेष्टित सबै खाले गरी हाल करिब १८० देशले भ्याट लागू गरिसकेका छन् ।

तर ती सबै मुलुक भ्याटबाट समान रूपमा लाभान्वित भएका छैनन् । जुन देशमा कर छुट न्यूनतम छ, जहाँ कर एकल दरले लगाइएको छ, जहाँ यसको उचित दर्ता थ्रेसहोल्ड कायम गरिएको छ, जहाँ यसको मूल मान्यताअनुसार कर कट्टी तथा कर फिर्ताको व्यवस्था गरिएको छ, ती देशहरूमा भ्याट आर्थिक दृष्टिले समक्ष, प्रशासनिक हिसाबले सरल, राजस्वको हिसाबले बढी उत्पादक तथा मुलुकमा स्वस्थ कर प्रणाली स्थापना गर्न सफल भएको छ । जहाँ छुट धेरै, एकभन्दा बढी दर, न्यून दर्ता थ्रेसहोल्ड छ, त्यहाँ भने भ्याटले आशानुरूप सफलता पाउन सकेको छैन ।

भ्याटको सफलताको स्तर विभिन्न देशमा समान नभए पनि अन्य करका तुलनामा आर्थिक, प्रशासनिक तथा राजस्वको हिसाबले यो सबै करभन्दा अब्बल छ । यसले गर्दा सन् १९६० को दशकदेखि नै यो कर सुधारसम्बन्धी लोकप्रिय विषय बन्दै आएको छ । यस करबाट आवश्यक राजस्व परिचालन भएकाले विभिन्न मुलुक आफ्नो विकास अभियान लागू गर्न र ठूलो जमातका लागि सामाजिक सुरक्षा तथा आर्थिक उन्नतिसम्बन्धी कार्यक्रमहरू सञ्चालन गरी गरिबी निवारण गर्न सफल भएका छन् । यसैले होला, वित्तशास्त्रको विकासमा योगदान दिने व्यक्तिहरूको पंक्तिमा भ्याटका आविष्कारक, तर्जुमाकार र कार्यान्वयनकर्तालाई अगाडि राख्ने गरिएको पनि ।

प्रकाशित : मंसिर १, २०७८ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?