कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यौन शिक्षाको अपरिहार्यता

दीप्स शाह

मानिसले मानिसलाई गर्ने हिंसामध्ये सबैभन्दा क्रूर हो— बलात्कार । यो हाम्रो समाजमा दिनानुदिन बढिरहेको छ, पत्रपत्रिका बलात्कारका समाचारले भरिन थालेका छन् । विद्यालय, क्याम्पस, कार्यालय तथा बजार जान हिँडेका बालिका–युवती असुरक्षित छन्, सामूहिक बलात्कारमा पर्ने गरेका छन् । अँध्यारोमा एक्लै–दुक्लै नहिँड्नू भन्ने अर्ती–उपदेश पाएर हुर्किएका हामी अब बिहान–दिउँसो उज्यालैमा पनि डराउनुपर्ने भो । केले मानिसलाई यस्तो अमानवीय हर्कत गराउँछ भन्नेमा धेरै थरी विचार भेटिन्छन्, तीमध्ये घर–परिवारको वातावरण मुख्य हो ।

यौन शिक्षाको अपरिहार्यता

संयुक्त राष्ट्र संघअनुसार, वार्षिक रूपमा संसारभरि करिब २ लाख ५० हजार बलात्कार हुन्छन् । यो त, दर्ता हुने गरेका घटनाको संख्या हो । त्रास, धम्की वा प्रलोभन देखाएर तथा हिंसा नै नमानेर भित्रभित्रै दबाइने घटना त कति होलान्–होलान् ! हाम्रोजस्तो विकासशील मुलुकमा शिक्षाको कमीले यस्ता घटना धेरै हुन्छन् भन्ने ठानिन्छ । बलात्कारलाई विश्वले सबैभन्दा निकृष्ट अपराध मानेको छ । बलात्कारीलाई जुनसुकै कठोरतम सजाय पनि कमै हुन्छ । तैपनि यस्तो अपराध न्यूनीकरण गर्न विभिन्न मुलुकले अत्यन्त कठोर सजायको व्यवस्था गरेका छन् ।

कतिपय देशमा त बलात्कारीलाई मृत्युदण्ड नै दिइन्छ, कतिपयमा भने अपराधको निर्ममता हेरी आजीवन काराबासको सजाय हुन्छ । हाम्रो मुलुकमा पनि १८ वर्षमाथिकी किशोरी बलात्कारको अपराध पुष्टि भए १० वर्ष र सामूहिक बलात्कारको हकमा थप ५ वर्ष काराबास सजायको व्यवस्था छ । कानुन प्रभावकारी नहुँदा या दण्डहीनता मौलाउँदा यस्ता अपराध बढ्छन् नै ।

बलात्कारीहरू पनि हाम्रोजस्तो मुलुकमा कानुनको इमानदारीपूर्वक पालना नहुँदा खुलेआम हिँडिरहेका छन् । यस्ता कठोर सजायका बावजुद बलात्कार दिनानुदिन बढ्दै जानुको एउटा कारण यो पनि हो । यस अपराधको रोकथामका लागि दीर्घकालीन योजना बनाएर सरकार–समाज अघि बढ्नुपर्छ । त्यसका लागि पहिलो त विद्यालय शिक्षामै बलात्कार तथा यौन हिंसाबारे पढाउनुपर्छ । ताकि उनीहरूले यसबारे राम्ररी बुझून् र भविष्यमा यस्तो अपराध नगरून्, कसैले यौन हिंसा गर्छ भने पनि त्यसका बारेमा बोल्न सकून् ।

बालबालिकाका हातमा अत्याधुनिक प्रविधि थमाइदिएर मात्र अभिभावकको जिम्मेवारी पूरा हुँदैन । उनीहरूलाई यौन हिंसाका विभिन्न रूपबारे घरमै शिक्षा दिनुपर्छ । यो पनि अहिले अति आवश्यक भइसकेको छ । यसले उनीहरूलाई दुर्घटनाबाट बचाउँछ । विद्यालयमा यौन शिक्षा अनिवार्य गरिए पनि शिक्षक–शिक्षिकाले यो विषय पढाउँदा अप्ठ्यारो मान्ने गरेको पनि सुनिन्छ । यस्तो विषय धक नमानी पढाउनुपर्छ । आजसम्म छोरीहरू आफूजस्तै मानिससँग डराएरै हुर्के, अझै पनि सार्वजनिक स्थलमा उनीहरू सुरक्षित छैनन् । छोरीहरूलाई डराउन सिकाउने यो समाजले अब छोरोलाई पनि महिलालाई सम्मान गर्नुपर्ने ज्ञान दिनुपर्छ । अनि छोरीलाई हेपिएर, डराएर होइन स्वतन्त्र र ढुक्क भएर बाँच्न सिकाउनुपर्छ । आदरभाव र प्रेमबारे छोरीछोरी दुवैले थाहा पाउनुपर्छ । मुलुकको शिक्षा नीतिमै यस्ता आधारभूत मूल्यमान्यतालाई अनिवार्य गर्नुपर्छ ।

यसै पनि आजको समाज दिनानुदिन यान्त्रिक भइरहेछ । हामी प्रविधि र विज्ञान भन्दै नैतिक र सामाजिक शिक्षाबिना यान्त्रीकरणलाई मात्रै बढावा दिँदै जाने हो भने अपराध बढी नै रहन्छन् । प्रविधिसँग विद्यालय तथा परिवारमा पनि बलात्कार तथा यौन हिंसाबारे जानकारी र ज्ञान दिन अब पछि पर्नु हुन्न । अब छोरीलाई कतिखेर कहाँ बलात्कृत हुने हो भन्ने त्रासबाट जोगाउनुपर्छ । अभिभावकलाई पनि आफ्नो छोरा कतिखेर हतकडीमा भेटिने हो भन्ने त्रास छ ।

यस्ता त्रास रहेसम्म समाजलाई सुन्दर बनाउन सकिन्न । अपराध भइसकेपछि जति नै कडा सजायको व्यवस्था गरे पनि त्यसले पीडक–पीडित दुवैलाई असर गर्छ नै । त्यसैले अपराध हुनै नदिनु सबैभन्दा उत्तम विकल्प हो । यतातर्फ राज्य, समाज र परिवार सबै सचेत हुनु जरुरी छ । यसो नगरिने हो भने, छोरीहरूको बलात्कार भइरहन्छ, छोराहरू जेलमा परिरहन्छन् । यौन शिक्षामा लगानी नगर्ने हो भने हामी असलमा मानिस होइन, संवेदनाशून्य मेसिन निर्माण भइरहनेछौं ।

प्रकाशित : कार्तिक २९, २०७८ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?