कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

सफल समाजका लागि सफल शिक्षक

रमेशप्रसाद गौतम

सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउन पर्याप्त शैक्षिक सामग्री चाहिन्छ । अझ दृश्य सामग्रीबाट पढाउँदा झनै फलदायी हुन्छ । राम्रो शिक्षक बन्न विषयवस्तुको ज्ञानसहित सिकाउने कला र प्रविधिको प्रयोग गर्ने क्षमता आवश्यक पर्छ, जसका लागि शिक्षकले आफ्नोतर्फबाट मिहिनेत गनैपर्ने हुन्छ ।

सफल समाजका लागि सफल शिक्षक

विद्यार्थीको इच्छा, क्षमता र प्रकृतिअनकूल पठनपाठनको व्यवस्था हुन सके मात्र शिक्षा प्रभावकारी साबित हुन सक्छ । इच्छाविपरीतको सिकाइले कुनै बालक खुसी हुन सक्तैन । बालबालिकाका स्वभाव, रुचि र सिकाइ अवस्थाअनुसार सिकाइविधि अपनाउन सके शिक्षण प्रभावकारी बन्छ । त्यसैले बालबालिकाको सिकाइ अवस्था र सिक्ने तरिकालाई शिक्षकले ख्याल गर्नुपर्छ ।

विद्यालय जाने नयाँ कुरा सिक्न हो । तर हाम्रा विद्यार्थीलाई पढ्नुको अर्थ परीक्षा पास गर्नु र प्रमाणपत्र लिनु मात्र हो भन्ने लाग्छ । पाठ्यपुस्तक घोकेर परीक्षामा पास हुन्छन् र कक्षा चढ्नुलाई नै ठूलो उपलब्धि ठान्छन् । बालबालिकाले सिकेको ज्ञान व्यवहारमा ढाल्न जान्नुपर्छ । पढाइलाई जीवन र अनुभवसँग जोड्ने प्रयास भएन भने त्यसको कामै छैन । विद्यार्थीले आफ्नो अनुभव र जिज्ञासाबाट पनि धेरै ज्ञान बटुल्छन् । यसर्थ परीक्षामुखी पढाइलाई विस्थापित गर्दै घोकेरभन्दा बुझेर पढ्ने बानी बसाउनुपर्छ ।

राम्रा–नराम्रा धेरै बानी बालबालिकाले आफ्नो परिवारबाट लिएका हुन्छन् । सामाज र विद्यालयले पनि उनीहरूको मनोविज्ञानमा निकै असर गरिरहेको हुन्छ । शिक्षाको केन्द्रविन्दु विद्यार्थी नै हो । शिक्षाले बालबालिकाको प्रतिभालाई प्रस्फुटन गराई तिनमा निहित ज्ञानचक्षुलाई खुलाउन र फुलाउन सक्नुपर्छ । यसका लागि हरेक बालबालिकामा आत्मबल जगाई शैक्षिक वातावरण भयमुक्त बनाउनुपर्छ । पढाइ बालबालिकाले बोल्ने भाषामा हुनुपर्छ । अझ गीतबाट सिकाउन सके झनै राम्रो । पढाइरहँदा बीचमा कुनै रोचक प्रसंगमा रोकेर शिक्षकले यसबारे तिमीलाई के लाग्छ भनेर सोध्ने गरे उनीहरूमा अभिव्यक्ति कलाको पनि विकास हुन्छ । शिक्षकले एकोहरो भट्टाउने पढाइ निष्प्रभावी हुन्छ । बुझेर पढ्ने क्षमता विकास गराउन पनि शिक्षकले विभिन्न रोचक प्रसंग उठाएर बालबालिकाको ध्यान केन्द्रित गराउनुपर्छ । यसले पढाइ–लेखाइलाई नै रमाइलो बनाउँछ ।

शिक्षकले पाठ्यक्रममा निर्दिष्ट लक्ष्य पूरा गराउनुका साथै विद्यार्थीको सर्वांगीण विकासमा ठूलो मद्दत गर्छन् । उसले विद्यार्थीको मनोविज्ञान अध्ययन गर्ने, कमजोर विद्यार्थीका अभिभावकसँग छलफल गर्ने, अतिरिक्त क्रियाकलामा सहभागि गराउने, विद्यार्थीको घर र विद्यालयबीचको सम्बन्ध बढाउने पनि गर्नुपर्छ । प्रविधिअनरूप शिक्षण विधि र सिकाइका तौरतरिकाहरू बदलिँदै जानु स्वाभाविकै हो । घरपरिवारको वातावरणले पनि बालबालिकाको शिक्षण सिकाइमा असर पुर्‍याइरहेको हुन्छ । शिक्षकले यस्ता पक्षको मनन गरेर आफ्ना विद्यार्थीको चौतर्फी विकासमा सहयोग पुर्‍याउन सक्नुपर्छ । यस्तो गुणयुक्त शिक्षक बन्न प्रथमतः निरन्तर अध्ययनशील हुनु जरुरी छ । यसो गर्ने शिक्षकमा नयाँ–नयाँ सोच आउँछ, प्रविधिलाई पनि प्रयोग गरी पढाउन सक्छन् ।

शिक्षकको प्रभाव विद्यार्थीमा धेरै पर्ने हुन्छ । प्रत्येक विद्यार्थीले शिक्षकलाई आफ्नो मार्गदर्शक ठानेको हुन्छ । कति बालबालिकालाई त आमाबुबाभन्दा पनि शिक्षकहरूकै विश्वास बढी लाग्छ, यसर्थ शिक्षक सर्वगुणसम्पन्न हुनुपर्छ भन्ने गरिन्छ । उनीहरूको व्यक्तित्वबाट अप्रत्यक्ष रूपमा विद्यार्थीले धेरै कुरा सिकिरहेका हुन्छन् । शिक्षक विद्यार्थीका लागि हमेसा समर्पित रहनुपर्छ । केवल कोरा सिद्धान्त घोकाएर गुणस्तरीय शिक्षा हासिल हुँदैन, व्यावहारिक पक्षलाई पनि जोड दिनुपर्छ । शिक्षकको गुणस्तर विद्यार्थीले के–कति सिके भन्नेले नै निरधारण गर्छ । त्यसैले असल शिक्षक बन्नका लागि सिकाउने तरिकामा नयाँ–नयाँ प्रयोग गर्नुपर्ने हुन्छ ।

शैक्षिक उपलब्धिकै भरमा विद्यार्थी सफल भयो भन्न सकिँदैन, सामाजिक र भावनात्मक व्यवहारमा आएको परिवर्तनबाट मात्र गुणस्तरको मापन गर्न सकिन्छ । प्रमाणपत्र वा उच्च अंकले विद्यार्थीको सामाजिक व्यवहारमा परिवर्तन ल्याउने होइन । उसको गुण र व्यवहारमा आएको परिवर्तनले शिक्षाको गुणस्तर मापन गर्ने हो । विद्यार्थीलाई सिकाउँदा सामाजिक र भावनात्मक पक्षमा जोड दिनु जरुरी छ । अनि मात्र साँचो अर्थमा विद्यार्थी सफल भएको मान्न सकिन्छ । विद्यार्थीले आफैंले आफैंलाई बुझ्ने कोसिस गर्नुपर्छ, अनि अनुशासनमा रहन सिक्नु पनि जरुरी छ । अनुशासनबिना प्राप्त ज्ञानको सदुपयोग हुँदैन पनि । यस्ता विषय सिकाउन शिक्षकले मद्दत गर्नुपर्छ । शिक्षक सुधारको संवाहक पनि भएकाले यो उनीहरूको सामाजिक दायित्वभित्र पनि पर्छ ।

शिक्षाले नै समाजको विकासमा सहयोग गर्ने हो । त्यसैले शिक्षालाई कसरी प्रभावकारी बनाउने भन्नेमा शिक्षक, अभिभावक, विद्यालय प्रशासन तथा शिक्षा हेर्ने सरकारी संयन्त्रहरू चनाखो हुनुपर्छ । यो कार्य चुनौतीपूर्ण पनि छ, तर सबैले आ–आफ्नो स्थानबाट काम गरे सफलता अवश्य हात लाग्छ ।

प्रकाशित : कार्तिक २८, २०७८ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×