कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७
पञ्चायती

उत्पीडित आन्दोलनका प्रश्नहरू

नेपाल र विश्वका सबै समाजका पहिचानसँग सम्बन्धित वा अन्य उत्पीडित मानव समूहहरूलाई एकअर्कामा जोडेर बलशाली बन्ने–बनाउने सेतु भनेको वर्गीय एकता नै हो। वर्गीय एकताले मात्र शोषित, उत्पीडित वर्ग, राष्ट्रियता र समुदायलाई जोड्न सक्छ ।
आहुति

राष्ट्र वा राष्ट्रियताको प्रश्न

मौलिक पहिचानसहितका नेपालका विभिन्न मानव समूहलाई जाति जुन भनिन्छ, त्यो वास्तवमा राष्ट्र (नेसन) हो। राष्ट्र बन्ने स्थितिमा नपुगेका मौलिक पहिचानसहितका मानव समूह राष्ट्रियता (नेसनालिटी) हुन् । राष्ट्र वा राष्ट्रियताको अवस्थामा रहेका नेपालका उत्पीडित मानव समूहहरू थारू, नेवार, मिथिला, भोजपुरा, अवध, मगर, तामाङ, किरात, लिम्बू, गुरुङ, राजवंशी, शेर्पा, भोटेलामा, चेपाङ आदिको मुक्तिको विषय पहिचान (आइडेन्टिटी) रक्षाको विषय मात्रै होइन, बरु त्योभन्दा धेरै माथिको मुद्दा हो।

उत्पीडित आन्दोलनका प्रश्नहरू

पहिचान त आज तेस्रोलिंगी, अपांगता भएका मानिस आदिलाई पनि चाहिएको छ । त्यो ठीक हो। पहिचानजनित सम्मान चाहिएका यस्ता धेरै मानव समूह छन्/हुन्छन्, तर नेपालका उत्पीडित राष्ट्र वा राष्ट्रियताहरू हजारौं वर्षदेखि निर्मित सभ्यता हुन्। उत्पीडित राष्ट्र वा राष्ट्रियताको मुक्तिको मुद्दा केवल पहिचान स्वीकार्यको मुद्दा मात्र होइन, बरु यो समग्र नेपाली राष्ट्रियताको परिभाषामा हिस्सेदारीको विषय हो।

उत्पीडित राष्ट्रियताकोमुद्दा जात व्यवस्था (कास्ट सिस्टम) को उत्पीडनसँगसँगै जातीय र क्षेत्रीय उत्पीडनबाट निर्मित शोषित वर्गीय मुक्तिको मुद्दा पनि हो। उत्पीडित जाति वा राष्ट्रियताहरूभित्रको बहुसंख्यक हिस्सा शोषित श्रमिक वर्गका रूपमा रहनु यसको ठोस प्रमाण हो। यसरी प्रचलित रूपमा भनिने जनजाति र मिथिला, भोजपुरा, अवधजस्ता भाषिक सभ्यताको मुक्तिको मुद्दा उत्पीडित राष्ट्रियताको मुक्तिको मुद्दा हो। पहिचानचाहिँ त्यस उत्पीडित राष्ट्रियताको मूल मुद्दाभित्रको सानो तर अनिवार्य अंश मात्रै हो। अब उत्पीडित राष्ट्रियताको आन्दोलनले यो मुद्दा र आन्दोलनलाई ‘उत्पीडित राष्ट्रियता’ को मुक्तिको आन्दोलनका रूपमा परिभाषित गर्नुपर्छ। त्यही उचाइमा व्यवहार गर्नुपर्छ। नेपालमा उत्पीडित राष्ट्रियताको मुक्तिका सन्दर्भमा दुई सवाल मुख्य छन् । एक, उत्पीडित राष्ट्रियताहरूले समग्र नेपाली राष्ट्रियताको परिभाषा र व्यवहारमा न्यायपूर्ण हिस्सेदारी खोजेका छन् जुन कार्यले भावनात्मक रूपमा समेत नेपाल राष्ट्रलाई एकीकृत गरोस्, उत्पीडितहरू पनि सम्मानित होऊन् र हजारौं वर्षदेखिका उत्पीडित राष्ट्रियताहरूको सभ्यतागत संस्कृतिद्वारा समग्र नेपाली समाज समृद्ध हुन पाओस्। दुई, परम्परागत नेपालको जात व्यवस्थामा आधारित वर्गीय सत्ताले उत्पीडित राष्ट्र र राष्ट्रियताहरूमा गरेको जातीय र क्षेत्रीय दमनका कारण उनीहरूभित्रको अत्यधिक ठूलो हिस्सा जुन ढंगले वर्गीय रूपमा शोषित बन्न पुगेको छ, त्यो शोषित वर्गको पनि मुक्ति होस्।

त्यसकारण नेपालमा उत्पीडित राष्ट्रियताको मुद्दा वर्गीय मुक्तिको मुद्दाबाट अलग्याउनै नसकिने र वर्गीय मुक्तिको मुद्दाबाट अलग गर्दा वास्तविक मुक्ति नहुने गरी निर्मित हुन पुगेको छ । नेपालमा उत्पीडित राष्ट्रियताको मुद्दालाई केवल पहिचान रक्षाका सवालमा सीमित गर्नु भनेको समग्रतामा मुक्ति नै नखोज्नु ठहर्छ। यस यथार्थले गर्दा विश्वका विभिन्न भागमा उठेको पहिचानको मुद्दा र नेपालको उत्पीडित राष्ट्रियताको मुक्तिको मुद्दामा तात्त्विक फरक छ । विश्वका विभिन्न भागमा उठेको पहिचानको विषय केवल पहिचानको सम्मान र अधिकारको हो, ती मूलत: सांस्कृतिक चरित्रका हुन् । नेपालमा बोलीचालीमा ‘पहिचान’ भनिने गरिएको मुद्दा वर्गीय उत्पीडनसँग समेत गहिरो गरी गाँसिएको उत्पीडित राष्ट्रियताको पहिचानसहित समग्र मुक्तिको मुद्दा हो। वर्गीय मुक्तिको मुद्दालाई छाडेर जातीय वा राष्ट्रिय मुक्तिको मात्र कुरा गर्नु उत्पीडित जाति वा राष्ट्रभित्रका बहुसंख्यक श्रमिक वर्गलाई धोका दिनु ठहर्छ। त्यसै गरी पहिचान रक्षाको मात्र कुरा गर्नु भनेको समग्र उत्पीडित राष्ट्रियताको मुक्तिको सट्टा त्यसभित्रको सानो अंशमा मात्र रुमलिने गल्ती गर्नु हुन जान्छ ।

पहिचानको प्रश्न

प्राकृतिक र सांस्कृतिक रूपमा बन्न पुगेका अरू मानव समूहभन्दा भिन्न अवस्था नै खास मानव समूहको पहिचान हो। यसभित्र प्राकृतिक रूपमा बन्न पुगेको रङ, शारीरिक ढाँचादेखि त्यस मानव समूहले सामूहिक रूपमा हजारौं वर्षदेखि अभ्यास गर्दै आएको जीवन र जगत्बारेको दृष्टिकोण, उत्पादन–निर्माण प्रविधि, भाषा, ललितकला, सौन्दर्यदृष्टि, चिकित्साशास्त्र, खाद्यशास्त्र र संस्कार पर्छन् । आफूसँग रहेका त्यस्ता भौतिक र बौद्धिक संस्कृतिका जुनजुन विषयमाथि त्यस मानव समूहले गर्व गर्छ, ती चीज पहिचानका रूपमा रहन्छन् । तर जुन चीजलाई त्यस मानव समूहले खराब मान्छ वा मान्न थाल्छ, ती रूढिवाद, खराब प्रथा र कुरीति बन्छन् । यसरी प्रत्येक मानव समूहमा उसको पहिचानभित्र सही र गलत दुवै कुरा हुन्छन् । तर, सही पक्ष बढी हुन्छ । सही पक्ष बढी भएकाले नै हजारौं वर्षदेखि त्यो मानव समूह क्रमश: अगाडि बढ्न सम्भव भएको हुन्छ । त्यस मानव समूहको पहिचानसँग सम्बन्धित मूलत: सांस्कृतिक विषयहरूलाई क्रमश: युगानुकूल परिमार्जन गर्नुपर्ने, अवैज्ञानिकलाई वैज्ञानिक बनाउँदै लैजानुपर्ने आवश्यकता पनि सधैं रहन पुग्छ । त्यसो नगर्दा त्यस मानव समूहकै विकास अवरुद्ध हुन्छ । कुनै मानव समूहसँग पहिचानका रूपमा रहेका विषयभित्रको सही पक्ष यसकारण रक्षा र प्रवद्र्धन गर्नुपर्ने हुन्छ कि तिनले विश्व मानव समाजको सेवा गर्न सक्ने सम्भावना हुन्छ । त्यसैले पहिचानको रक्षा र प्रवद्र्धनको सवाल आम मानव जगत्को साझा विषय बन्छ, बन्नुपर्छ।

पहिचानसम्बन्धी दृष्टिकोणहरूमध्ये मार्क्सवाद र कम्युनिस्ट आन्दोलनले अरूले भन्दा फरक कुरा के गर्छन् भने, खास पहिचान भएको मानव समूहभित्र वर्ग (क्लास) पनि हुन्छ । एउटै खास सांस्कृतिक वा प्राकृतिक पहिचान भएको मानव समूहभित्रको वर्गीय समाजमा कोही शोषक र आम मान्छे शोषित र उत्पीडित हुन्छन् । यो निकै महत्त्वपूर्ण विषय हो । प्रत्येक मानव समूहको भाषा, संस्कृति, विश्वदृष्टिकोण आदिको रक्षा र प्रवद्र्धनको सवाल त्यस मानव समूहभित्रको आम श्रमजीवी बहुसंख्यक मानिसको प्रगतिका निम्ति हो। त्यस मानव समूहको मुठीभरआफ्नै पहिचानभित्रको श्रमिकको शोषण गर्ने शोषक वर्गका निम्ति होइन। त्यो मुठीभर शोषक वर्गीय हिस्साको प्रगति त पहिचान मेट्न चाहने अर्को उत्पीडक वर्गसँग सहकार्य गर्दा पनि हुन सक्छ । त्यसैले पहिचानको रक्षा र सम्मानको विषय मुख्य रूपमा खास मानव समूहभित्रको बहुसंख्यक श्रमजीवी वर्गको सरोकारको विषय हो। यसरी पहिचानको रक्षा र सम्मानको विषय वर्गीय मुक्तिको मुद्दासँग अभिन्न रूपमा गाँसिएको हुन्छ । पहिचानको विषयलाई वर्गीय मुद्दाबाट जब अलग गरिन्छ, त्यो खास पहिचान भएको मानव समूहभित्रको शोषक वर्गले आफ्नो स्वार्थसिद्ध गर्ने विषयको स्तरमा ओरालो लाग्छ । यो अवधारणा ठीक हो कि होइन भन्ने विषयमा जतिसक्दो बढी बहस आजको आवश्यकता बन्न पुगेको छ ।

पहिचान राजनीतिको प्रश्न

पहिचानको रक्षा गर्नुपर्छ भन्नु र पहिचान राजनीति (आइडेन्टिटी पोलिटिक्स) वा पहिचानवाद भन्नु एउटै होइन। पहिचान राजनीति वा पहिचानवाद वैचारिक अवधारणा हो। युरोप, अमेरिकातिर चलखेल गरिरहेको यो विचारले खास विशेषता भएको मानव समूहको परिचय सबैले स्विकार्नुपर्छ, त्यसलाई सम्मानित गर्नुपर्छ र आम मानिसले अधिकार बिनाभेदभाव उपभोग गर्न पाउनुपर्छ भन्छ । यस विचारको मुख्य समस्या के हो भने, यो मानव समाजमा वर्गहरू छन् र एक वर्गको मानिसले अर्को वर्गलाई शोषण गरिरहेको छ भन्ने विषयमा मौन रहन्छ । आम मानिसले समान रूपमा अवसर भोग्न पाउने कुरा त औपचारिक रूपमा पुँजीवादले पनि गर्छ तर पुँजीवादमा पुँजीपति र श्रमिकले न समान अधिकार पाउँछन् न त समान उपभोग नै। वर्गीय समाज र सत्ता हुन्छ भने अधिकार र उपभोगमा भेदभाव नहुने कसरी ? यसबारे पनि यो विचार मौन छ । यस विचारले उत्पीडित पहिचान भएका मानिसको मुक्ति कुन दर्शन, कुन राजनीति र कस्तो राजनीतिक व्यवस्थामा हुन्छ भन्ने विषयलाईआफ्नो कार्यसूचीमै राख्दैन। के विचारधारा, राजनीति र राजनीतिक व्यवस्थाबिना कुनै उत्पीडित समुदायले मुक्तिको कल्पना गर्न सक्छ ? त्यो त असम्भव कुरा हो।

पहिचानवादवाला विचारले फरक पहिचानका मानव समूहलाईआफ्नो अधिकारको वकालत गर्न त प्रोत्साहित गर्छ तर संसारको प्रत्येक उत्पीडित मानव समूहका समस्या कुनै न कुनै रूपमा वा सन्दर्भले उत्पीडक शोषक राज्यका कारण एकअर्काको विषयसँग जोडिएको हुन्छ । संसारमा रहेका पहिचानदेखि सबै प्रकारका उत्पीडित समुदायको मुद्दालाई अनिवार्य रूपमा जोड्ने विषय हो— वर्ग। के तेस्रोलिंगमा वर्ग हुँदैन ? के महिलामा वर्ग हुँदैन ? के कालो रङका मान्छेबीचमा वर्ग हुँदैन ? के अपांगता भएका मानिसमा वर्ग हुँदैन ? के जातभित्र वर्ग हुँदैन ? सबैले स्विकारेको विषय हो— हुन्छ । त्यसैले खास विशेषताको मानव समूहको अधिकारको मात्रै कुरा गर्ने पहिचानको राजनीति वा पहिचानवादले फरकफरक उत्पीडित मानव समूहहरूलाई एकताबद्ध भएर संघर्ष गर्न दिँदैन, बरु टुक्राटुक्रा पार्छ। यसबाट उत्पीडित मानव समूहहरू कमजोर हुन पुग्छन् । उनीहरूमाथि शासन र शोषण गर्ने वर्गको सत्ता बलियो बनाउन मद्दत पुग्छ । नेपाल र विश्वका सबै समाजका पहिचानसँग सम्बन्धित वा अन्य उत्पीडित मानव समूहहरूलाई एकअर्कामा जोडेर बलशाली बन्ने बनाउने सेतु भनेको वर्गीय एकता नै हो। हरेक पहिचानसँग सम्बन्धित वा अन्य उत्पीडित समुदायभित्रको शोषित वर्गका बीचमा एकता हुन्छ, गर्नैपर्छ। वर्गीय एकताले मात्र शोषित, उत्पीडित वर्ग, राष्ट्रियता र समुदायलाई जोड्न सक्छ ।

यसरी पहिचान राजनीति वा पहिचानवाद आजको भूमण्डलीकृत पुँजीवादका श्रमिकहरूलाई विभिन्न मुद्दामा अलगथलग पारेरआफ्नो शोषण दीर्घजीवी बनाउने रणनीतिको वैचारिक अंग हो। यस्तो विचार प्रवृत्तिबाट नेपालको उत्पीडित राष्ट्रियता र उत्पीडित समुदायको आन्दोलनलाई अलग राखेर अघि बढ्नु जरुरी छ । भूमण्डलीकृत पुँजीवाद र त्यसको दलाली गर्ने देशभित्रको दलाल पुँजीवादले पहिचानसहित उत्पीडित जाति अथवा राष्ट्रियताको मुद्दा विकृत बनाउन, त्यसलाई साम्प्रदायिकतातिर मोड्न रआफ्नो लुट लम्ब्याउन प्रयोग गर्छन् । त्यसैले पहिचानसहित उत्पीडित जाति अथवा राष्ट्रियताको मुक्तिको आन्दोलन अब भूमण्डलीकृत पुँजीवाद अर्थात् आजको साम्राज्यवाद र देशभित्रको दलाल पुँजीवादविरोधी आन्दोलन बन्न सक्नुपर्छ। मौलिक सृजनशीलता र सामुदायिक जीवन प्रत्येक आदिवासी–जनजाति सभ्यताको प्राण हो तर त्यसलाई ध्वस्त नपारी आजको भूमण्डलीकृत पुँजीवाद अगाडि बढ्नै सक्दैन । त्यसै गरी पर्यावरणमैत्री जीवन उत्पीडित राष्ट्रहरूको अर्को महत्त्वपूर्ण गुदी हो । पुँजीवादचाहिँ नाफाका लागि पर्यावरण नष्ट गर्दै वेगवान् छ । तब पुँजीवादी व्यवस्थाभित्रै आदिवासी–जनजातिका रूपमा परिचित उत्पीडित राष्ट्रियताहरूको मुक्ति कसरी सम्भव हुन्छ ? उत्पीडित भाषाहरूको सर्वनाशको प्रक्रिया आजको साम्राज्यवादी पुँजीवादको एउटा मुख्य हतियार हो अनि त्यही पुँजीवादभित्र उत्पीडित भाषाको रक्षाको सपना कसरी साकार होला ? निजी सम्पत्ति नै महिला उत्पीडनको मुख्य जननी हो, तब निजी सम्पत्तिलाई नै मेरुदण्ड बनाउने पुँजीवादी प्रणालीभित्रै महिला मुक्ति कहाँबाट सम्भव छ ? जात व्यवस्थालाई पुँजीवादलेआफ्नो बनाइसक्यो अनि दलितहरूको मुक्तिको सवाल जात व्यवस्थालाई नयाँ कलेवरमा लागू गरिरहेको पुँजीवादी व्यवस्थाबाट कसरी सम्भव होस् ? नयाँ युगले जन्माएका नयाँ प्रश्नहरूको उत्तर पनि नयाँ अवधारणाको विकास गरी दिन नतम्सने हो भने उत्पीडितहरूको आन्दोलनले अबको कार्यभार पूरा गर्न सक्दैन । आज नेपालका उत्पीडितहरूको आन्दोलन आधारभूत रूपमा घोत्लिनुपर्ने विषय यिनै हुन् ।

प्रकाशित : कार्तिक २७, २०७८ २०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?