खोप भण्डारणमा लम्बिँदो समस्या- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खोप भण्डारणमा लम्बिँदो समस्या

सम्पादकीय

विश्वले कोभिड–१९ व्याधिविरुद्ध खोप लगाउन थालेको एक वर्ष हुन लाग्यो, नेपालमै पनि ९ महिना बितिसक्यो । भनिरहनु परोइन, यो महामारीविरुद्ध जुध्न खोप कति महत्त्वपूर्ण छ; स्वास्थ्य सावधानीका अतिरिक्त अहिलेसम्म सबैभन्दा भरपर्दो उपाय नै यही ठहरिएको छ ।

विश्वव्याधि फैलिएयता नै सबैको आशा र भरोसा अडिएको यति महत्त्वपूर्ण खोपको भण्डारण कक्ष निर्माणमा भने नेपालमा अहिलेसम्म कुनै प्रगति नहुनु विडम्बनापूर्ण छ । डेढ वर्षअघि नै ठेक्का लागेको भण्डारण केन्द्रको जगसमेत अझै नखनिनु व्यवस्थापन कौशल शून्यताको दुःखद नमुना मात्र होइन, शासकीय संयन्त्रहरूको गैरजिम्मेवारीको पराकाष्ठा पनि हो ।

भण्डारण केन्द्र निर्माणमा ढिलाइ भएकै कारण गत बुधबार चीनबाट आएको १६ लाखमध्येको भेरोसेल खोप राजधानीको टेकुस्थित स्वास्थ्य सेवा विभाग परिसरमा रेफ्रिजेरेटरसहित गाडीमा छ । छिट्टै ३० लाख डोज ल्याउने तयारी भए पनि उपयुक्त भण्डारण कक्ष नहुँदा खोप राख्नै समस्या छ । केन्द्रीय भण्डारण कक्ष नै टहरामा छ जसमा कोभिडबाहेक गर्भवती महिला र शिशुलाई दिनुपर्ने— बीसीजी, डीपीटी, हेपाटाइटिस ‘बी’, पोलियो, दादुरा, रुबेला, जेई, टिटानस, टीडी खोप नै कोचाकोच गर्नुपर्ने अवस्था छ । राजधानीबाहिर निर्माण भएका भण्डारण कक्षमा पनि ‘कोल्ड चेन’ जडान भएका छैनन् ।

सरकारले वैशाखसम्ममा २ करोड ५१ लाख ३९ हजार डोज कोभिड खोप ल्याउने लक्ष्य राखेको छ । तर खोप राख्ने ठाउँ नभएकैले खोप अभियान प्रभावित हुने देखिन्छ, जुन दुर्भाग्यपूर्ण छ । यसको असर नियमित खोपमा पनि परिरहेको छ । विश्व स्वास्थ्य संगठनले प्राकृतिक विपत्तिलगायत व्यवस्थापन कमजोरीका कारण समयमा खोप ल्याउन नसकिने भन्दै ६ देखि ११ महिनासम्मका लागि मौज्दात राख्नुपर्ने मापदण्ड तोकेको छ । तर, विभागले मुस्किलले ३ महिनाका लागि मात्र खोप राख्दै आएको छ ।

विज्ञहरूले मुलुकमा अत्याधुनिक खोप भण्डारण कक्षको आवश्यकता औंल्याएको आज होइन । विश्वभर कोभिड–१९ खोप परीक्षण भइरहँदा फरक–फरक तापक्रमका खोपका निम्ति नेपालमा यस्तो कक्षको आवश्यकता झनै टड्कारो देखिएको थियो । तर त्यसअघि नै अर्थात् २०७६ कात्तिकमै सरकारले राजधानीमा केन्द्रीयस्तरको अत्याधुनिक र सातै प्रदेशमा खोप भण्डार केन्द्र बनाउन थालेको प्रक्रियासमेत अझै अघि बढ्न नसक्नु अचम्मलाग्दो छ । दुई वर्षमा सक्ने गरी ८ करोड ४० लाख रुपैयाँ बजेटमा भण्डारण केन्द्र बनाउन २०७६ फागुनमा कौशल बस्नेत र कुँवर जेभीले ठेक्का पाए पनि डेढ वर्ष बितिसक्दा जगसमेत नखनिनु सम्बन्धित ठेकेदार र सरकारी निकायको चरम हेलचेक्य्राइँ हो ।

खोप भण्डार कक्ष मुलुकको स्वास्थ्य क्षेत्रको प्राथमिक आवश्यकताको विषय हो । शिशु, गर्भवती र अरू बिरामीका लागि आवश्यक पर्ने नियमित खोपहरू नै झन्डै २ करोड डोज आउँछन्, तिनकै लागि समेत गतिलो कक्ष आवश्यक छ । नियमित रूपमै गर्नुपर्ने यस कार्यका लागि महामारीले अझ झकझकाएको छ, तापनि सम्बन्धित संयन्त्रहरू अझै नब्युँझनु सरकारी ढिलासुस्तीको परिचायक मात्र होइन, उत्तरदायित्वहीनताको सूचक पनि हो । समय, परिस्थिति र आवश्यकताअनुसार कामको प्राथमिकता निर्धारण गरी तिनलाई फत्ते गर्ने दायित्वबोध सम्बन्धित अधिकारीहरूमा हुनैपर्छ । जुनसुकै सरकार आए पनि नफेरिने यस्तो प्रवृत्ति उदेकलाग्दो छ, जसको उपचार खोजिनुपर्छ ।

यति संवेदनशील कार्यमा जसका तर्फबाट ढिलाइ भएको भए पनि त्यो स्वीकार्य हुन सक्दैन । ठेकेदारहरू सर्तबमोजिम समयमै काम सक्न बाध्य छन्, सरकारी संयन्त्रले तिनलाई बाध्य तुल्याउनुपर्छ । र, दोष ठेकेदारलाई मात्र दिएर सरकार उम्कन पाउँदैन, ठेकेदारलाई उत्तरदायी बनाउने र अन्यथा अरू विकल्प प्रयोग गरेर भए पनि यथासमय जरुरी काम गर्ने/गराउने दायित्व सरकारको हो ।

काबुबाहिरको परिस्थितिबाहेक निर्माण प्रक्रियाका क्रममा उत्पन्न प्राविधिक कठिनाइ समस्या सल्टाउन महिनौं लाग्ने हुँदैन । जग खन्दा कालो माटो, बालुवा मिसिएको माटो र पानी भेटिएका कारण डिजाइन परिवर्तन गर्नुपर्दा केन्द्रीय भण्डारण कक्ष निर्माण कार्यमा यति धेरै ढिलाइ हुन सक्दैन । कर्मचारीले फाइल स्वीकृत नगरेकाले ढिलाइ भइरहेको ठेकेदारको तर्क छ, त्यसैले यसमा स्वास्थ्य सेवा विभाग संवेदनशील बन्नुपर्छ, उसले अविलम्ब यथोचित निर्णय लिन सक्नुपर्छ । प्रभावकारी खोप अभियान सञ्चालनका निम्ति आधारशिलासरहको भण्डारण निर्माणमा अब थप ढिलाइ हुनु हुन्न ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्ररमण सिंहले आफू भर्खरै आएको भन्दै यसबारे अनभिज्ञता जनाएका छन् । हुन पनि, यस अवधिमा विभागमा तीन जना महानिर्देशक परिवर्तन भएका छन्, यसबाट सरकारको काम गर्ने शैली अवश्य झल्किन्छ । तैपनि के हेक्का राख्नुपर्छ भने, संस्थागत स्मृति बलियो बनाउने हो भने नेतृत्व परिवर्तनले मात्रै ठूलो कुनै आयोजनाको समयावधि निकै धकेलिने हुँदैन । त्यसैले अब बिनाकुनै बहानाबाजी केन्द्रमा समयमै भण्डार कक्ष निर्माण गरिनुपर्छ र प्रदेशका केन्द्रहरूलाई सञ्चालनयोग्य बनाइनुपर्छ ।

प्रकाशित : कार्तिक २४, २०७८ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्

नर्सिङ पढाउन सय बेड हुनैपर्ने

सुदीप कैनी

काठमाडौँ — मापदण्डअनुसार कम्तीमा सय बेडको आफ्नै अस्पताल भएका शिक्षण संस्थाले मात्र प्रमाणपत्र तह (पीसीएल) नर्सिङको पठनपाठन गराउन पाउने भएका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को बैठकले चिकित्सा शिक्षा ऐनको मापदण्ड पूरा नगरेका शिक्षण संस्थालाई भने नर्सिङ पठनपाठनको अनुमति नदिने निर्णय गरेको हो ।

यसअघि मापदण्डविपरीतका शैक्षिक संस्थालाई समेत अनुमति दिने ‘चलखेल’ भएको थियो ।

सीटीईभीटीले नै सय बेडको अस्पताल नभएका शिक्षण संस्थामा विद्यार्थी भर्ना खोल्न पाउने गरी मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको थियो । त्यसको चौतर्फी विरोध भएपछि शिक्षामन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको परिषद् बैठकले मापदण्ड पूरा गरेका शिक्षण संस्थालाई मात्र विद्यार्थी भर्नाको अनुमति दिने निर्णय गरेको हो ।

परिषद्को निर्णयसँगै स्थगित गरिएको नर्सिङको भर्ना प्रक्रिया अघि बढ्ने सीटीईभीटीका सदस्यसचिव जीवनारायण काफ्लेले जानकारी दिए । सीटीईभीटीका आंगिक शिक्षण संस्थामा एक सय बेडका प्रादेशिक अस्पतालको समन्वयमा पठनपाठन गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृति दिएको छ ।

आफ्नै सय बेडको अस्पताल भएका निजी शिक्षण संस्थामा पनि विद्यार्थी भर्ना लिन चिकित्सा शिक्षा आयोगले अनुमति दिइसकेको छ । ऐनको प्रावधानअनुसार मापदण्ड पुगेका शिक्षण संस्थामा तत्काल विद्यार्थी भर्ना लिएर शैक्षिक सत्रअघि बढाउने निर्णय भएको काफ्लेले बताए ।

ऐनले नर्सिङ अध्यापन गराउन शिक्षण संस्थाको आफ्नै एक सय बेडको अस्पताल चाहिने, एउटै शिक्षण संस्थाले बीएस्सी (स्नातक तह) र पीसीएलको नर्सिङ पठनपाठन गराउन नपाउने व्यवस्था गरेको छ । सीटीईभीटी मातहतका १०९ मध्ये २४ शिक्षण संस्थाले मात्रै यी दुई मापदण्ड पूरा गरेका छन् ।

२४ मध्ये १७ निजी र ७ सीटीईभीटीका आंगिक/साझेदारी शिक्षण संस्था हुन् । ‘तत्काललाई जुन–जुन शिक्षण संस्थाले मापदण्ड पूरा गरेका छन्, तिनीहरूमा विद्यार्थी भर्ना आह्वान गर्छौं,’ सदस्यसचिव काफ्लेले भने, ‘अरू शिक्षण संस्थाको विषयमा थप छलफल र परामर्श गर्दै छौं ।’

२०५७ यता १०९ शिक्षण संस्थामा वार्षिक ४ हजार ६ सय जनाले पीसीएल नर्सिङ अध्ययन गर्दै आएका थिए । नयाँ व्यवस्थाअनुसार मापदण्ड पूरा गरेका २४ शिक्षण संस्थाले विद्यार्थी भर्ना लिन पाए करिब एक हजार जनाले मात्र पढ्न पाउँछन् । पीसीएल नर्सिङ पढ्न हरेक वर्ष २० हजारभन्दा बढी विद्यार्थीले आवेदन दिने गर्छन् । नर्सिङमा कति जनशक्ति आवश्यक छ भन्ने यकिन तथ्यांक सरकारसँग पनि छैन ।

चिकित्सा शिक्षा राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदल २०७२ को प्रतिवेदनले भने अहिलेको संख्यामा नर्सिङ उत्पादन कायमै रहे केही वर्षमै जनशक्ति बेरोजगार बस्नुपर्ने औंल्याएको थियो । गुणस्तरीय नर्स उत्पादन नहुँदा जागिर नपाउने र न्यून पारिश्रमिकमा काम गर्नुपर्ने बाध्यता रहेको गुनासो छ ।

सीटीईभीटीका सदस्य सचिव काफ्लेले भने नर्सिङ जनशक्तिको माग देशभित्र र बाहिर उच्च रहेको दाबी गरे । यसअघि सीटीईभीटीको सम्बन्धनमा शिक्षण संस्थाले ५० शय्याको अस्पातल र अन्य निजी अस्पताल भाडामा लिएर पनि नर्सिङको पठनपाठन गराउँदै आएका थिए ।

चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारको आशयले आफ्नै नर्सिङ कलेज आवश्यक हुने व्यवस्था ऐनमा गरिएको थियो । यो व्यवस्थाका कारण सीटीईभीटीबाट सञ्चालित ८५ कलेज खारेज हुने अवस्थामा पुगेका छन् । ऐनले २ वर्षभित्र आफ्नै अस्पताल बनाउने समय सीमा तोकेको थियो ।

यो अवधिमा कुनै पनि शिक्षण संस्थाले आफ्नै अस्पताल निर्माण गरेका छैनन् । सीटीईभीटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले कोभिडका कारण अस्पताल निर्माण गर्न नसकेको भन्दै बचाउ गर्दै आएका छन् ।

स्रोतका अनुसार मापदण्ड पूरा नगरेका शिक्षण संस्थामा समेत विद्यार्थी भर्ना लिन प्रधानमन्त्री शेरबहादुर देउवासम्म लबिइङ गरिएको थियो । १ सय ९ वटै शिक्षण संस्थामा एकमुष्ट विद्यार्थी भर्ना लिन मापदण्ड पूरा गरेका शिक्षण संस्थाको पनि प्रवेश परीक्षा र भर्ना रोकेर राखिएको थियो ।

एचए, फार्मेसी, ल्याबलगायत प्रमाणपत्र र त्यससरहका स्वास्थ्यसम्बन्धी कार्यक्रममा भने चालु शैक्षिक सत्रका लागि प्रवेश परीक्षा सकेर विद्यार्थी भर्ना भइसकेका छन् ।

सय बेडको अस्पताल भएका नर्सिङका लागि पनि छिट्टै प्रवेश परीक्षाको सूचना जारी गरिने सीटीईभीटीले जनाएको छ । विश्वविद्यालय तहमा सञ्चालन हुने स्नातक तहको नर्सिङ कार्यक्रममा पनि आफ्नै अस्पताल नभएका १७ कलेजले चालु शैक्षिक सत्रमा विद्यार्थी भर्ना गर्न पाएका छैनन् ।

प्रकाशित : कार्तिक २४, २०७८ ०७:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×