हाबी हुँदै छ टपर्टुइयाँवाद !

टपर्टुइयाँवाद अरू केही होइन, हुँदो–नहुँदो सबै खाले गफ हाँकेर निश्चित लाभ साध्ने काइदा हो । पछिल्ला दिनमा राजनीतिक नेतृत्वसमेत यही काइदाले आफूलाई टिकाउने र पार्टीदेखि सरकारसम्मका सत्ताको मियो बन्ने दाउमा देखियो ।
सरिता तिवारी

हालै ‘मर्निङ कन्सल्ट’ नामक अमेरिकी अनुसन्धान संस्थाले गरेको सर्वेक्षणअनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदी विश्वका सर्वाधिक लोकप्रिय नेतामध्ये पहिलो भए रे ! सर्वेक्षणको सत्तरी प्रतिशत अंकसहित पहिलो स्थानमा आइपुग्दा उनले जर्मन चान्सलर एन्जेला मर्केल र अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पनि उछिनेका रहेछन् !

हाबी हुँदै छ टपर्टुइयाँवाद !

नरेन्द्र मोदी जसको मुख्यमन्त्रीय कार्यकालमा मुस्लिमहरूमाथि भएको भयावह गुजरात नरसंहार (सन् २००२) को रक्तपातमय कलंकले उनलाई दशकभन्दा बढी समयसम्म स्वयं अमेरिकी भूमिमा टेक्न वर्जित गरायो ! जसको प्रधानमन्त्रीय कार्यकालका चालु आठ वर्षभरिमा सीमान्त गरिब–दलित, अल्पसंख्यक र विधर्मीहरूमाथिको हिंसा चरममा छ । यसको प्रतिरोध गर्ने जनसामान्यहरू सत्तासंरक्षित हिन्दुत्ववादी उग्रताको सिकार भई मारिएका छन् । प्रगतिशील तप्काका कतिपय लेखक, पत्रकार, अधिकारकर्मी र बुद्धिजीवीहरू खुलेआम मारिएका छन्Ù कतिपय जेलमा छन् । जेलभित्रै समेत तिनको बेहाली कहालीलाग्दो छ ।

मानवअधिकारकर्मी स्टेन स्वामी जेलभित्रै उपचार नपाएर मारिए र उनीसँगै मुद्दा चलाइएका अधिकारकर्मीहरू उपचार अभावले दिन–प्रतिदिन गलिरहेका छन् । समाजमा उपल्लो जातको अहंकार र शासना यति चर्को छ, त्यहाँ ‘लभ जिहाद’ र ‘अनर किलिङ’ का नाममा प्रेमीहरूको हत्या हुनु, भीडको आक्रमण (मोब लिन्चिङ) का नाममा कीरा–भुसुनाझैं दलित र विधर्मीहरू मारिनु मुख्य धाराका सञ्चारमाध्यमका लागि सामान्य घटना मानिन्छन् ।

दलित वा मुसलमान बालिका/महिलामाथिका बलात्कार र हत्यामा राज्यको गैरजवाफदेही भयंकर डरलाग्दो छ । हिन्दु धर्मका ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः,’ र ‘वसुधैव कुटुम्बकम्’ जस्ता सर्वग्राह्य उदारतालाई लत्याएर हिन्दुत्व रक्षाका लागि हिंसा र रक्तपातलाई प्रवर्द्धन गर्ने राष्ट्रिय स्वयंसेवक संघको राजनीतिक हाँगो भारतीय जनता पार्टी (भाजपा) को मियोसमेत रहेका उनै मोदी यतिखेरै विश्वकै सबैभन्दा लोकप्रिय नेता बन्न सम्भव छ ?

भारतीय मूलधार मिडिया र प्रभुत्ववादी हिन्दुत्व राजनीतिका पक्षधर पत्रकार, बुद्धिजीवी, सिनेकर्मीलगायतले पछिल्लो दशकभर निरन्तर भाजपा र नरेन्द्र मोदीको नायकीकरण गर्दै आएको स्पष्टै देखिन्छ । नायकीकरणको यो सिलसिला ‘श्रीराम’ र हनुमानमा मात्र सीमित रहेन, गाईको पिसाब र गोबरसम्मै विस्तार भएर गयो । गौमूत्र र गौमलबाटै कोरोना निको हुन्छ भन्नेसम्मका मूर्ख अभ्यास पनि भारतमै भए । अस्पतालहरूमा हजारौं बिरामी मरिरहँदा, कोरोनाका मृतकहरूका सयौं लास खुल्लमखुला गंगामा बगाएकाले सरकारको आलोचना भइरहँदा शंख–घण्ट र थाल–चम्चा बजाएर कोरोना भगाउने मोदी आइडियाको अनुशीलन अमिताभ बच्चन र अक्षय कुमारलगायतका सिनेकर्मीसम्मले गरे ।

‘अच्छे दिन’ र ‘मोदी है तो सबकुछ मुमकिन (सम्भव) है’ जस्ता बहुप्रचारित नाराका पछाडि कति कोलाहल र रक्तपातका कथा छन्, पछिल्लो भारत जान्नेले नजान्ने कुरै छैन । माउ संगठन राष्ट्रिय स्वयंसेवक संघ स्थापनाको पुग–नपुग सय वर्षमा जुन गतिले भाजपाको धर्म–राजनीति स्थापित भयो’ त्यसको कारक भारतीय हिन्दु मध्यमवर्गको धार्मिक रुझान मात्र पक्कै होइन, त्यसमा मिसिएको पछिल्लो भाजपा नेतृत्वको टपर्टुइयाँवादसमेत हो । मोदी दुनियाँका एक नम्बरका टपर्टुइयाँ हुन् । उनको सत्तारोहणपछि ‘कालाधन’ उत्खनन गर्ने नीति भनिएको नोटबन्दीदेखि यस्ता अनेक घोषणा शब्दजालका गलैंचामुनि पुरिएका छन् जसले आमजनलाई दुःख र सास्ती मात्र दिए तर सारमा ती पूर्णतः असफल ठहरिए ।

मोदी सरकारकी वित्तमन्त्री निर्मला सीतारमणले दाबी गरेका कैयौं तथ्यांक झूटा र ‘फेक’ भएका विषयमा उनैका पति तथा अर्थशास्त्री पी प्रभाकरसहित सत्ताइतरका धेरैले सार्वजनिक रूपमै आलोचना गरे । मोदीको दलका कपिल मिश्रजस्ता साम्प्रदायिक नेताहरूका भड्काउपूर्ण भाषणका कारण दिल्लीकेन्द्री आन्दोलनका क्रममा पचासौंको संख्यामा निर्दोष मुसलमानहरू मारिएको दुई वर्ष पनि पुगेको छैन । मुम्बई, दिल्लीलगायतका ठूला सहरबाट कोरोनाले लखेटिएर घर फर्कन हजारौं किलोमिटर पैदल हिँडेका लाखौं श्रमिकलाई टेलिभिजनबाट भाषणको ओखती दिने मोदीको टपर्टुइयाँपनको थप पुस्ट्याइँ त नेपालको संसद्मा उनले गरेको भाषण र त्यसपछिको उनैको नेपाल सम्बन्धले नै गर्छ । रोचक छ, तिनै मोदी विश्वका ‘सर्वप्रिय’ नेता बने !

हो, मोदी अमेरिकालगायत बाहिरी विश्वमा बस्ने बहुलांश हिन्दु भारतीयहरूका लागि प्रिय छन् । किनभने उनीहरूका विचारमा मोदीले भारतीय पहिचानको प्रवर्द्धन गरिदिएका छन् । राष्ट्रवाद र हिन्दुत्वलाई अन्तर्राष्ट्रिय प्रतिष्ठा दिलाएका छन् । तर आर्थिक र समग्र राजनीतिको पाटोबाट हेर्दा यो विषय त्यति सजिलो छैन जसरी गैरआवासीय हिन्दु भारतीयहरू ठान्छन् या मान्छन् ।

***

टपर्टुइयाँवाद अरू केही होइन, हुँदो–नहुँदो सबै खाले गफ हाँकेर निश्चित लाभ साध्ने काइदा हो । यसको उपयोग अन्य–अन्य क्षेत्रमा त हुँदै आएको हो तर पछिल्ला दिनमा राजनीतिक नेतृत्वसमेत यही काइदाले आफूलाई टिकाउने र पार्टीदेखि सरकारसम्मका सत्ताको मियो बन्ने दाउमा देखियो । लोकप्रियता र सार्वजनिक खपतका लागि जेजे भन्न र गर्न सकिन्छ, त्यो–त्यो भनेर वा गरेर सकेसम्मको फाइदा लिने यो तरिका वास्तवमा राजनीतिकर्मीले गर्ने बौद्धिक ठगी हो । अपराध हो । यो ठगीमा मोदीले महारथ नै हासिल गरेका छन् । शासक पक्षधर दल र सामाजिक समूहले गरेका अपराध र जनजीवनका वास्तविक टड्कारा सत्यलाई छल्न या विषयान्तर गरेर मानिसहरूको ध्यान विकेन्द्रित गरी सरकारका अक्षमता लुकाउन मोदीले जे गरिरहेका छन्, त्यसको व्यापक आलोचना हुँदै आएको पनि छ ।

छिमेकका प्रधानमन्त्रीकै काइदाले सुर्रिएर होला, स्वभावजन्य पुराना (अव)गुणमा पाइन लगाउँदै नेपालमा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली टपर्टुइयाँवादको नेपाली संस्करण बनेर देखा परे । फरक के मात्रै छ भने, मोदी हिन्दु वर्चस्ववादको विचारधारामा टेकेर विकास भएका संघ–सन्तति हुन् भने ओली कम्युनिस्ट ब्रान्ड र झन्डाको दुरुपयोग गर्दै शक्तिमा अडिएका कथित ‘कम्युनिस्ट’ । ‘फेक’ ज्ञान र उक्त ज्ञानमाथिको अहंकार प्रदर्शनमा भने ओली मोदीभन्दा पनि एक कदम अघि छन् । यस्ता प्रसंग र सन्दर्भको सूची यहाँ पेस गर्नै पर्दैन । भुक्तभोगी नेपाली जनलाई एकएक कुरा थाहै छ ।

स्वास्थ्य सामग्री ल्याउने क्रममा भएका भ्रष्टाचारको व्यापक आलोचना भइरहँदा आम जनताको स्वास्थ्यमाथि खेलबाड गर्दै कहिले बेसारविज्ञ बनेर, कहिले जलवायुविज्ञ बनेर त कहिले जडीबुटीविज्ञ बनेर कोरोनाकालभरि उनको टपर्टुइयाँवादले कसरी जगत् हँसायो, सबैलाई याद छ । महाकाली सन्धिदेखि नेकपा (एमाले) को विचलनका एक नम्बर सारथि बनिआएका उनै ओली सत्तामा रहँदा एक थान चुच्चे नक्सा बनाइदिएकैले कतिपय एमालेजनका लागि ‘परमपिता’, ‘फादर अफ नेसन’ भइसके तर त्यही चुच्चे नक्सालाई राष्ट्रिय–अन्तर्राष्ट्रिय स्वीकृति दिलाउन प्रयत्नसम्म नगरेर ‘सार्वजनिक प्रयोग नगर्नू’ भनी उनैले जारी गरेको ‘तुगलकी फरमान’ जनताको स्मृतिबाट लुप्त भइसकेको छैन ।

यिनको टपर्टुइयाँवाद कहिले रेल चढेर पूर्व–पश्चिम कुद्यो, कहिले भान्साभान्सामा पाइपबाट पठाइने ग्यास बनेर भररर बल्यो । समृद्धिको अपार लिस्नो लगाएर बालुवाटारको सन्देशकक्षबाट छुटेको नेपाली ध्वजावाहक पानीजहाज र काठमाडौं मोनोरेलको व्यापक ‘सफलता’ पछि यिनले माडीमा भव्य अयोध्याधाम बनाउने भए ! पशुपतिको जलहरी र चितवनको रामधाम रथयात्राजस्ता कार्यक्रम सम्पन्न गरेयता विधान महाधिवेशन, हुकुम प्रमांगी शैलीमा एकैसाथ देशैभर गरिएका वडा भेला र पालिका सम्मेलन हुँदै आजका दिनसम्म कुनै ‘ज्यूँदो’ एमालेले ओलीका हर्कतमा प्रश्न गरेको सुनिएको छैन । यसको अर्थ आफूलाई नेकपा भन्न नछोडेको एमालेले धर्म–राजनीतिको पुच्छर गाँसिएको यही टपर्टुइयाँवादलाई शिरोपर गरिसकेको छ । भोट राजनीतिका लागि न्यूनतम प्रगतिशील मूल्यसम्म भस्म पारेर दक्षिणपन्थी बाटो रोजिसकेका यी पात्रलाई ‘राजनेता’ मान्ने एमालेजनले कुनै दिन माडीमा अयोध्याधाम बनाउन देशैभरबाट कलशयात्रा अभियान गरेछन् भने अनौठो नमाने हुन्छ । गणतन्त्र र संघात्मक प्रणालीका समेत मुखर विरोधी रहेका ओलीले नेपाली समाजमा भोटका लागि धर्मजस्तो संवेदनशील विषय भजाएर थप कति क्षति गर्न सक्छन्, त्यो भने हेर्न बाँकी नै छ ।

यतिखेरै रोचक के हुँदै छ भने, टपर्टुइयाँवादको ‘मिनी संस्करण’ का रूपमा वैकल्पिक शक्तिको दुहाइ दिँदै राजनीतिमा पदार्पण गरेका पूर्वपत्रकार रवीन्द्र मिश्रसमेत देखिए । हिन्दु बहुलांश जनताको मनोभाव समात्ने र घुमाउरो शब्दले धर्म–राजनीति च्यापेर संसदीय अभ्यासमा हस्तक्षेप गर्ने उनको दाउ लहैलहै र देखासिकीमा अडिएको भने छैन । ‘विकृत वामपन्थी’ भन्दै कम्युनिस्टहरूको दोहोलो काढ्ने मिश्र किन विचारबिनाको देश बनाउन चाहन्छन् भन्ने बुझ्न गाह्रो पनि छैन ।

विचारहीन देश भन्नु प्राणहीन मान्छे भन्नुजस्तै हो । देशसँग इतिहास हुन्छ । इतिहासमा समाजहरू थिए, भाषाहरू र सभ्यताहरू थिए र छन् । ती सबैको एकमुस्ट अभिव्यक्ति विचार हो । प्रभुत्वशाली र शासकीय विचारले अँठ्याएका दमित, शोषित समाज (राष्ट्र) हरूका आत्मसम्मान र परिचयका प्रश्न पनि विचार हुन् । यो राज्यमा तिनको समानुपातिक सहभागिता र अधिकारको सुनिश्चितता पनि विचार हो । जो यी विचारहरूबिनाको देश बनाउँछु भन्छ, त्यो टपर्टुइयाँ हो । मिश्र र उनका पछाडि कुदिरहेका ‘क्लोन’ मिश्रहरूले थाहा पाऊन्, जति वक्रभाषामा भने पनि विचारहीनता भनेको सामाजिक र सांस्कृतिक विविधताको अस्वीकार हो । एकतन्त्रीय केन्द्रीकृत शासनको पक्षपोषण हो । दशकौंको प्रयत्न र बलिदानले गणतन्त्र र ‘सेक्युलर’ राज्यको फ्रेमभित्र प्रवेश गरिसकेको आजको नेपाललाई विचारहीनता अर्थात् टपर्टुइयाँवाद स्वीकार छैन ।

***

राजनीतिक ‘मकसद’ बिनाको (धार्मिक मात्रै) हिन्दु भावना र संस्कृतिलाई किनारीकरण गरी आर्थिक भूमण्डलीकरणको नवउदारवादी पुनःरचनाभित्र भारत (माता) को भाष्य विस्तार गर्ने हिन्दुत्ववादी कसरत अब वैश्विक भइसकेको छ । यसमा भारत एक्लैको चाहना छैन, अमेरिकालगायत पश्चिमी संसारको समेत चाहना छ । एक प्रकारले यो भाजपा सत्तारोहणको ‘सफलता’ पनि हो । केही वर्षअघिसम्म वर्जित गरेकै भूमिका मोदीलाई ‘ग्लोबल लिडर’ किन बनाइँदै र प्रचार गरिँदै छ, त्यसको सीधा अर्थ खोज्नु त मूर्खता नै हुन्छ । बरु यसको अर्थ आजको विश्वशक्तिका दुई मुख्य ध्रुव अमेरिका र चीनबीचको शक्तिसंघर्षमा भारतको ‘स्पेस’ का अर्थराजनीतिक व्याख्याभित्र खोज्नुपर्छ । र शंकै छैन, यसभित्र मोदीको देशभित्र एक र देशबाहिर एक छवि स्थापित गर्न सक्ने बहुरूपी टपर्टुइयाँपनको पनि उत्तिकै भूमिका छ ।

घोर जातव्यवस्थावादी स्त्रीद्वेषी हिन्दु संस्कारहरूलाई मिसाएर टेलिभिजनदेखि फिल्म र छ्यापछ्याप्ती खुलेका ठूला सञ्चारगृहका समाचार र बहसहरूमार्फत भगवान्को बजार चलाउने उद्यमबाट एकै तीरले अर्थतन्त्र, सेक्युलर लोकतन्त्रको बहस र अल्पसंख्यक मुसलमानलगायत सबैलाई नियन्त्रण गर्ने मोदी–संरक्षित सरकार र भाजपाको दाउ अनि यहाँका केपी ओली वा रवीन्द्र मिश्रका दाउमा समानताभन्दा भिन्नता बढी छन् ।

भाजपाको असहिष्णुतावादी धर्म–राजनीति निष्कण्टक हिन्दु राजका लागि लक्षित छ । यता ओली भने आत्मकेन्द्री राजनीतिमा टिकिरहन एउटा न एउटा कार्ड फ्याँक्नुपर्ने क्रममा हिन्दुत्वको कार्ड समात्न थालेका छन् । मिश्रको नियतचाहिँ कम्युनिस्ट ‘सेन्टिमेन्ट’ मा प्रहार गर्दै सनातन राजावादी र गैरगणतान्त्रिक वृत्तका कांग्रेसीजनसमेतको एकमुस्ट ‘हिन्दु’ भोट तानेर एक बारको जुनीमा देशको कार्यकारी बन्ने ताकतर्फ सोझिएको प्रतीत हुन्छ । यस अर्थमा उनी ‘सुधारिएको पञ्च’ नै हुन् ।

गुरु मोदी र तिनका नेपाली सिकारु सबैको साझा गुणचाहिँ टपर्टुइयाँवाद हो । नेपालमा जसरी यो टपर्टुइयाँवाद हाबी हुँदै छ, यसले आमजनको राजनीति र विचारको बहसलाई कमजोर बनाउने निश्चित छ । यसबाट धार्मिक अतिवाद, बहुसंख्यकको मनोमानी र अल्पसंख्यकको अन्यकरण बढ्दै जाने भय छँदै छ । यसतर्फ प्रगतिशील र उदार प्रजातान्त्रिक तप्काहरू जतिखेरै चनाखो हुनुपर्ने, बहस र छलफल मात्रै होइन निरन्तर प्रतिरोधसमेत गरिरहनुपर्ने देखिन्छ ।

प्रकाशित : कार्तिक २३, २०७८ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?