ढक ढक चाल
काठमाडौँ — अवसरको कुरा पुराना मान्छेहरू भन्छन्— जिन्दगीमा भाग्यले एकपटक ढोका ढकढकाउँछ । ढोका खुल्यो, भाग्य चम्कियो । कथंकदाचित् अल्छी गरेर समयमै ढोका खोलिएन भने, निमेषमै भाग्य अर्को ढोका ढकढकाउन पुगिसक्छ । त्यसपछि सायदै त्यो क्षण फर्किएर आउला । यसैलाई शास्त्रमा भाग्यको खेल भनिन्छ । यहाँ भाग्यलाई अवसर भन्ने बुझौं । जसलाई राजनीतिमा भनिन्छ— ऐतिहासिक अवसर ।
मान्छेको जस्तै हुन्छ देशको भाग्य । अर्थात्, देशको मूलद्वारमा चाल गर्न आउने अवसरहरू पनि उस्तै चञ्चल हुन्छन् । जो मात्र एकपटक आउछन्, एक युगमा । गुमेपछि गुम्यो–गुम्यो । गुमेको भाग्य फर्किएर आउन अनेकौं दिन, महिना र वर्ष कुर्नुपर्ने हुनसक्छ । अर्थात्, पटक–पटक भाग्यले ढोका ढकढकाउँदैन । हेर्दा प्रस्ट देखिन्छ, जुनजुन देशहरू आज सफलताको शिखरमा छन् तिनीहरूले समयमै भाग्यको चालसुने, ढोका खोले र विकासको शिखर चुमे । चीन । मलेसिया । सिंगापुर । जापान । अमेरिका । अर्थात्, विकसित अनेकौं मुलुक ।
सफलताका कथाहरू
इतिहास रोचक हुन्छ, जस्तो अमेरिका । सन् १७७६ सम्म अमेरिका स्वयं उपनिवेशमा थियो । स्वतन्त्रतासँगै अमेरिकाले अनेक अप्ठ्यारालाई विरासतमा पायो । उसका सामु राज्य निर्माणका युगीन चुनौतीहरू थिए । थिए, शासकीय संरचना र चरित्र निर्माणगर्ने दायित्वहरू । त्यहाँ संघीयता, गणतन्त्र, धर्मनिरपेक्षतालाई मान्छेको जीवनसँग जोड्नु त थियो नै, साथमा थिए आर्थिक–सामाजिक चुनौतीका पत्रपत्र । जस्तो दास विद्रोह, आर्थिक संकट र निराशा ।
सन् १८६१–६५ मा अमेरिकाले ठूलो गृहयुद्धनै बेहोर्यो । तर संकट र निराशालाई अमेरिकी नेतृत्वले आशा र अवसरमा बदल्यो । जर्ज वासिङ्टन, थोमस जेफर्सन, फ्रयान्कलिन रुजवेल्ट र अब्राहम लिंकनजस्ता नेताहरूले चुनौतीको चिसो सुरुङभित्र अवसरको उज्यालो देखे । अर्थात्, अँध्यारोमा दियोझैं बलिरहेको उज्यालो । भाग्यले ढोकामा सुस्तसुस्त चाल मारिरहेको थियो । त्यो संगीत उनीहरूले सुने । परिणाम, एकशताब्दीमै अमेरिका शक्तिशाली अर्थतन्त्रमा रूपान्तरित भयो । ऊ शून्यबाट शिखरमा पुग्यो । दुईशताब्दीपछि आज अमेरिकाको इतिहास पढ्दा लाग्छ— ‘असम्भव केही पनि छैन ।’
सफलताका कथाहरू यत्रतत्र छन्, जस्तो चीन । अध्यक्ष माओले जनवादी क्रान्ति सम्पन्नगर्दा चीन निकै जर्जर थियो । आन्तरिक युद्ध, गरिबी, भोकमरी र वैदेशिक आक्रमण । सांस्कृतिक क्रान्तिताका चीनको जनजीवन अझ विशृंखलित र निराश थियो । तर जसै नेतृत्वमा देङस्याओपिङ आए, उनले आफ्ना अगाडि अवसरका थाकहरू देखे । विस्तारै कुरा फेरिँदै गयो । र, सांस्कृतिक क्रान्तिपछिका बीस वर्षमा चीनको आर्थिकवृद्धि लगभग तीन गुणाले बढ्यो । अर्को तीसवर्षमा चीन संसारको दोस्रोठूलो अर्थतन्त्र बन्यो । चीनसँग आज रफ्तार मात्र छैन, उसका चालहरू कलात्मक र सशक्त पनि छन् । आजकल चीन विकासका परियोजनाहरू बनाउँदैन । ऊ विकासको रचनागर्छ । जस्तो कि पृथ्वी नाम गरेको ठूलो क्यानभास छ । त्यो क्यानभासमा चीन छ । र, चीनका इन्जिनियरहरू त्यहाँ विकासका चित्रहरू कोर्दै छन् । कतै रेखा कोरिँदैछ । कतै रंग भरिँदैछ । कतै जग हालिँदै छ । त्यसैले आज चीनसँग छ विकासको भव्यतम बगैंचा ।
जापानको कुरापनि उस्तै रोचक छ । दोस्रो विश्वयुद्धमा जापान तहसनहस भयो । सन् १९४५ अगस्टमा लिटिल ब्वाईहरूले हिरोसिमा र नागासाकीलाई खरानी बनाए । जुन त्रासदीमा दुईलाख बीसहजार मान्छेहरू मारिए । तर जापान त्यही खरानीको जगमा उठ्यो । त्यसपछिका बीस वर्षभित्रै जापानले आफ्नो अर्थतन्त्र पुनर्निर्माण गर्यो ।
एसियाकै मलेसिया, सिंगापुर र भियतनाम समृद्धिका थप उदाहरणहरू हुन् । जोसँग सुनाउन अनेकौं उत्प्रेरक कथा छन् । केही दशकअगाडिसम्म विदेशी हस्तक्षेप, आन्तरिक टकराव र गरिबीको चपेटामा फसेको मलेसियालाई महाथिर मोहम्मदले बीस वर्षमा विकासको नयाँ उचाइ दिए । आज मलेसिया लाखौं नेपालीको श्रम गन्तव्य बनेको छ । स्वराज प्राप्त गरेको तीस वर्षमै भारत विश्वको महत्त्वपूर्ण आर्थिक शक्ति बन्यो । सन् १९६५ मा स्वतन्त्र हुँदाको कमजोर र परित्यक्त सिंगापुर बीसवर्षमा बाघझैं जुरुक्क उठ्यो र अगाडि बढ्यो । उता भियतनाम छ, जसले कुनैबेला (सन् १९४५–७५) अमेरिकासँग कठिनतम युद्ध लडेको थियो । तर युद्धपछि उसले ठूलो सावधानीसाथ आफूलाई उठायो । आज भियतनाम धानको उत्पादनमा विश्वमै अग्रणी मानिन्छ ।
विकासको कुरागर्दा स्वयं युरोप अर्को आश्चर्य हो । सन् १६८९ देखि १८१५ सम्म भएका बेलायत र फ्रान्सबीचका युद्धहरूले युरोपलाई तहसनहस पारेका थिए । तथ्यहरूले भन्छन्— सन् १९१४ देखि १९१८ सम्म भएको पहिलो विश्वयुद्धमा युरोपका एक करोड तीस लाख मान्छेहरू मारिए । दोस्रो विश्वयुद्ध पहिलोभन्दा अझ भयंकर थियो । तर आफ्ना सहस्र प्रियजन गुमाएको युरोपले शोकलाई शक्तिमा बदल्यो । भनिन्छ— युरोपको समृद्धि रगत र आँसुको पोखरीमा फुलेको कमलजस्तै हो ।
निश्चयनै हाम्रो परिवेश फरक छ । हाम्रा सपनाहरू फरक छन् । तर इतिहासमा हामीले पनि त रगत र आँसु बगाएकै हौं । हाम्रो पोखरीमा चाहिँ कमल किन फुलेन ? प्रश्न स्वाभाविक हुन्छ । फरक राजनीतिक व्यवस्था, फरक संस्कृति र फरक परिवेशका उल्लिखित देशहरूको विकासको रहस्य के होला ? कुनैबेला काठमाडौंमा एउटा कार्यक्रमलाई सम्बोधनगर्दै महाथिरले भनेका थिए, ‘राजनीतिक स्थायित्व, परिवर्तनप्रतिको प्रतिबद्धता, नेतृत्वको मिहिनेत र संकल्प ।’
जवाफ खोजौं
चीनमा जनवाद (सन् १९४९), भारतमा स्वतन्त्रता (सन् १९४७) र नेपालमा प्रजातन्त्र (सन् १९५१) लगभग उस्तै समयमा भएका ऐतिहासिक बदलावहरू थिए । भनिन्छ, कुनैबेला एसियामै चीन, भारत, सिंगापुर, मलेसिया, दक्षिण कोरिया र नेपालको अवस्था उस्तै थियो । तर राजनीतिक परिवर्तनसँगै तिनीहरू कहाँ पुगे, हामी कहाँ छुट्यौं† किन हाम्रो भाग्यको ढोका खुलेन ?
ठीकैछ, २००७ र २०१५ सालमा हाम्रा आफ्नै सीमा थिए । अनुभवको सीमा थियो । स्रोतको सीमा थियो । परिवर्तनको चेतना सुदृढ थिएन । २०१७ सालमै पञ्चायत आयो र स्वतन्त्र सपनाहरूमाथि बलात् बन्देज लाग्यो । तर २०४६ र २०६३ सालमा प्राप्त अवसरहरू किन अलमलमा परे ? लोकतान्त्रिक परिवर्तनपछिका युगीन महिना र वर्षहरू किन सत्यानाश हुँदै छन् ? कतिपय मान्छेको मत छ, ती आन्दोलनहरू आफैंमा सफल आन्दोलन थिएनन् । अत: आन्दोलन अझै बाँकी छ । त्यसैले अलमल भयो । वस्तुत: यो बहानामात्र हो । सत्य के भने, संसारको कुनैपनि आन्दोलन त्यो समयको विशिष्ट सम्झौता हो । कुनैपनि आन्दोलनका परिणामहरू सर्वसम्मत, सार्वकालिक र शाश्वत हुँदैनन् । समाजमा अनेक स्वार्थको एकता र संघर्ष चलिरहन्छ । अत: आन्दोलन सकिएको अर्कोदिन फेरि नयाँ मुद्दाहरू आउँछन् । यसको अर्थ हो, प्रत्येक आन्दोलनले अवसरसँगै नयाँ मुद्दाको उत्खनन गर्छ । अत: सबैकुरा ठीकठाक भएपछि विकास गरौंला वा सबै द्वन्द्व सकिएपछि अघि बढौंला भन्नु बहाना मात्र हो ।
राजनीतिले प्रत्येक आन्दोलनलाई अवसरमा बदल्नुपर्छ । नेतृत्वको कामनै त्यही हो । अमेरिकामा जसले स्वतन्त्रताको दियो बाल्यो, उसले अमेरिका बनाउन आधारहरू खडागर्यो । चीनमा सांस्कृतिक क्रान्तिपछिको लाल अराजकतालाई सम्हाल्न तत्कालीन नेताहरूले कडा मिहिनेत गरे । परित्यक्त सिंगापुरलाई चम्काउन कुनैबेला ली क्वान युले जग हाले । तर हाम्रा बीपी, कृष्णप्रसाद, गणेशमान, गिरिजाप्रसाद, मनमोहन, माधव, शेरबहादुर, प्रचण्ड, बाबुराम र खड्गप्रसादहरू कहाँ चुके ? हाम्रा नेताहरू नेपाली सन्दर्भका जर्ज वासिङ्टन, अब्राहम लिंकन, देङस्याओपिङ, मोहम्मद महाथिर र ली क्वान यु किन भएनन् ?
समीक्षा गरौं
आजको प्रसंगमा विचारगर्दा, हाम्रो नेतृत्व (राजनीति) मा मुख्यत: चारखाले समस्या देखिन्छन् । पहिलो, सपना र संकल्पको सीमा । अर्थात्, हाम्रा नेताहरूमा समाजलाई रचनात्मक नेतृत्व दिने, देशको सपनासँग एकाकार हुने, समयको संगीत सुन्ने र परिवर्तनका पाइलाहरू चाल्ने क्षमता र संकल्प देखिएन । आफू सत्तामा पुग्ने सूत्र र षड्यन्त्रलाई नेताहरूले राजनीति बुझे । उनीहरूमा आन्दोलन र इतिहासलाई न्यायगर्ने कुनै उत्सुकता रहेन । सिर्जना कतै देखापरेन । सर्वत्र सत्यानाश हुँदा पनि चेत नखुल्ने बोधो ज्ञानले हाम्रा नेताहरूलाई अर्थहीन बनाइदियो ।
दोस्रो समस्या, परिवर्तनको औचित्य स्थापितगर्नमा देखिन्छ । २०४६ सालमा प्राप्तभएको प्रजातन्त्रलाई किन जोगाउन सकिएन ? कारण एउटै छ— प्रजातन्त्रले राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरण सुनिश्चित गर्न सकेन । तत्कालीन कांग्रेस र कम्युनिस्ट नेतृत्व जनताका सपनाहरू पूरागर्न असमर्थ रह्यो । यद्यपि २०४६ साललाई २०६३ सालमा अझ समुन्नत गरियो । तर संघीय लोकतान्त्रिक गणतन्त्रले पनि किन परिणाम दिइरहेको छैन ? किनभने नेतृत्वले पछिल्ला परिवर्तनहरूको स्वामित्व लिन सकेन । उल्टो आफ्नै दुष्कर्मले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बदनाम गर्ने काम पो हँुदैगयो । परिवर्तनको स्वामित्व लिने र जनताको अवस्था बदल्ने सचेत प्रतिबद्धता कतै देखिएन ।
तेस्रो समस्या, राजनीतिक नैतिकताको स्खलन हो । आज सत्ता, शक्ति र सम्पत्ति नेतृत्वको कमजोरी बन्दैछ । राजनीतिमा सांस्कृतिक उन्नयन, उदारता, निष्ठा र सरलता हरायो । लोकतन्त्र आसेपासेहरूको कुत्सित स्वार्थमा फस्यो । राज्य अंगमा दलालहरू हाबीभए । दलाल पुँजीवाद । नेताहरूले राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनको एजेन्डालाई बिर्सिए । पार्टी कार्यालयहरू लोकतन्त्रका मन्दिर बन्नुपर्ने, जारशाही दरबार बन्नपुगे ।
चौथो समस्या, राजनीति गतिशील भएन । गतिशील हुनुको अर्थ युगको नेतृत्वगर्नु हो । गतिशील हुनुको अर्थ विचार, संगठन, मुद्दा, संस्कृति र सपनाहरूको पुनर्गठन गर्नु हो । गतिशील हुनुको अर्थ अग्रगामी हुनु हो । तर यहाँ समय–चेतना, संकल्प र गति कतै देखिएन । उही आग्रह–पूर्वाग्रह । उही तथ्यहीन तर्क । उही ढिपी । व्यवस्था बदलियो तर राजनीति बदलिएन । शासकीय संरचना बदलियो, तर चरित्र बदलिएन । अनेक रंग र रूपमा पात्र र प्रवृत्तिको पुनरावृत्ति भइरह्यो । या त नयाँ राजाहरू देखा परे या पुराना राजाका सेवकहरू । ढोकामा अवसरहरू आए र गए, तिनको सुस्त चाल र लय कसैले सुनेन ।
त्यसैले अब समीक्षागर्ने बेला भयो ? अब प्रश्नगर्ने बेला भयो ? प्रश्नगर्नु पछाडि फर्किनु होइन । वस्तुत: जानु अगाडि नै छ । तर राजनीतिको यही चालामालाले हाम्रो यात्रा अगाडि बढ्ला ? हामीले लोकतन्त्र र समृद्धिका लागि तीन पुस्ता संघर्ष गर्यौं । व्यवस्था फेरियो, लोकतन्त्र आयो । तर भुइँमा परिवर्तन किन आएन ? भुइँ जनताको जीवनको प्रतीक हो । भुइँश्रमको प्रतीक हो । भुइँ गरिब, दलित, महिला, सीमान्त समुदाय र दु:खको प्रतीक हो । भुइँको जीवन कहिले फेरिएला ? ढोकामा अवसरले लगातार चाल गर्दै छ । ढकढकढक । संघीय लोकतान्त्रिक गणतन्त्र अनेक अवसरहरू बोकेर हाम्रो ढोकामा उपस्थित छ । त्यसलाई सुनौं । भनिन्छ— हजार माइलको यात्रा एक पाइलाबाट सुरुहुन्छ । त्यसैले पाइला चाल्न ढिलो नगरौं । अन्यथा इतिहास निर्मोही हुन्छ, यसले कसैलाई पर्खिबस्दैन ।
प्रकाशित : कार्तिक २२, २०७८ २१:४१