कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

ढक ढक चाल

जुनजुन देश आज सफलताको शिखरमा छन्, तिनको विकासको रहस्य के होला ?मलेसियालाई बीस वर्षमा विकासको नयाँ उचाइ दिएका महाथिर मोहम्मदले कुनै बेला काठमाडौंमा भनेका थिए, ‘राजनीतिक स्थायित्व, परिवर्तनप्रतिको प्रतिबद्धता, नेतृत्वको मिहिनेत र संकल्प ।’
केशव दाहाल

काठमाडौँ — अवसरको कुरा पुराना मान्छेहरू भन्छन्— जिन्दगीमा भाग्यले एकपटक ढोका ढकढकाउँछ । ढोका खुल्यो, भाग्य चम्कियो । कथंकदाचित् अल्छी गरेर समयमै ढोका खोलिएन भने, निमेषमै भाग्य अर्को ढोका ढकढकाउन पुगिसक्छ । त्यसपछि सायदै त्यो क्षण फर्किएर आउला । यसैलाई शास्त्रमा भाग्यको खेल भनिन्छ । यहाँ भाग्यलाई अवसर भन्ने बुझौं । जसलाई राजनीतिमा भनिन्छ— ऐतिहासिक अवसर ।

ढक ढक चाल

मान्छेको जस्तै हुन्छ देशको भाग्य । अर्थात्, देशको मूलद्वारमा चाल गर्न आउने अवसरहरू पनि उस्तै चञ्चल हुन्छन् । जो मात्र एकपटक आउछन्, एक युगमा । गुमेपछि गुम्यो–गुम्यो । गुमेको भाग्य फर्किएर आउन अनेकौं दिन, महिना र वर्ष कुर्नुपर्ने हुनसक्छ । अर्थात्, पटक–पटक भाग्यले ढोका ढकढकाउँदैन । हेर्दा प्रस्ट देखिन्छ, जुनजुन देशहरू आज सफलताको शिखरमा छन् तिनीहरूले समयमै भाग्यको चालसुने, ढोका खोले र विकासको शिखर चुमे । चीन । मलेसिया । सिंगापुर । जापान । अमेरिका । अर्थात्, विकसित अनेकौं मुलुक ।

सफलताका कथाहरू

इतिहास रोचक हुन्छ, जस्तो अमेरिका । सन् १७७६ सम्म अमेरिका स्वयं उपनिवेशमा थियो । स्वतन्त्रतासँगै अमेरिकाले अनेक अप्ठ्यारालाई विरासतमा पायो । उसका सामु राज्य निर्माणका युगीन चुनौतीहरू थिए । थिए, शासकीय संरचना र चरित्र निर्माणगर्ने दायित्वहरू । त्यहाँ संघीयता, गणतन्त्र, धर्मनिरपेक्षतालाई मान्छेको जीवनसँग जोड्नु त थियो नै, साथमा थिए आर्थिक–सामाजिक चुनौतीका पत्रपत्र । जस्तो दास विद्रोह, आर्थिक संकट र निराशा ।

सन् १८६१–६५ मा अमेरिकाले ठूलो गृहयुद्धनै बेहोर्‍यो । तर संकट र निराशालाई अमेरिकी नेतृत्वले आशा र अवसरमा बदल्यो । जर्ज वासिङ्टन, थोमस जेफर्सन, फ्रयान्कलिन रुजवेल्ट र अब्राहम लिंकनजस्ता नेताहरूले चुनौतीको चिसो सुरुङभित्र अवसरको उज्यालो देखे । अर्थात्, अँध्यारोमा दियोझैं बलिरहेको उज्यालो । भाग्यले ढोकामा सुस्तसुस्त चाल मारिरहेको थियो । त्यो संगीत उनीहरूले सुने । परिणाम, एकशताब्दीमै अमेरिका शक्तिशाली अर्थतन्त्रमा रूपान्तरित भयो । ऊ शून्यबाट शिखरमा पुग्यो । दुईशताब्दीपछि आज अमेरिकाको इतिहास पढ्दा लाग्छ— ‘असम्भव केही पनि छैन ।’

सफलताका कथाहरू यत्रतत्र छन्, जस्तो चीन । अध्यक्ष माओले जनवादी क्रान्ति सम्पन्नगर्दा चीन निकै जर्जर थियो । आन्तरिक युद्ध, गरिबी, भोकमरी र वैदेशिक आक्रमण । सांस्कृतिक क्रान्तिताका चीनको जनजीवन अझ विशृंखलित र निराश थियो । तर जसै नेतृत्वमा देङस्याओपिङ आए, उनले आफ्ना अगाडि अवसरका थाकहरू देखे । विस्तारै कुरा फेरिँदै गयो । र, सांस्कृतिक क्रान्तिपछिका बीस वर्षमा चीनको आर्थिकवृद्धि लगभग तीन गुणाले बढ्यो । अर्को तीसवर्षमा चीन संसारको दोस्रोठूलो अर्थतन्त्र बन्यो । चीनसँग आज रफ्तार मात्र छैन, उसका चालहरू कलात्मक र सशक्त पनि छन् । आजकल चीन विकासका परियोजनाहरू बनाउँदैन । ऊ विकासको रचनागर्छ । जस्तो कि पृथ्वी नाम गरेको ठूलो क्यानभास छ । त्यो क्यानभासमा चीन छ । र, चीनका इन्जिनियरहरू त्यहाँ विकासका चित्रहरू कोर्दै छन् । कतै रेखा कोरिँदैछ । कतै रंग भरिँदैछ । कतै जग हालिँदै छ । त्यसैले आज चीनसँग छ विकासको भव्यतम बगैंचा ।

जापानको कुरापनि उस्तै रोचक छ । दोस्रो विश्वयुद्धमा जापान तहसनहस भयो । सन् १९४५ अगस्टमा लिटिल ब्वाईहरूले हिरोसिमा र नागासाकीलाई खरानी बनाए । जुन त्रासदीमा दुईलाख बीसहजार मान्छेहरू मारिए । तर जापान त्यही खरानीको जगमा उठ्यो । त्यसपछिका बीस वर्षभित्रै जापानले आफ्नो अर्थतन्त्र पुनर्निर्माण गर्‍यो ।

एसियाकै मलेसिया, सिंगापुर र भियतनाम समृद्धिका थप उदाहरणहरू हुन् । जोसँग सुनाउन अनेकौं उत्प्रेरक कथा छन् । केही दशकअगाडिसम्म विदेशी हस्तक्षेप, आन्तरिक टकराव र गरिबीको चपेटामा फसेको मलेसियालाई महाथिर मोहम्मदले बीस वर्षमा विकासको नयाँ उचाइ दिए । आज मलेसिया लाखौं नेपालीको श्रम गन्तव्य बनेको छ । स्वराज प्राप्त गरेको तीस वर्षमै भारत विश्वको महत्त्वपूर्ण आर्थिक शक्ति बन्यो । सन् १९६५ मा स्वतन्त्र हुँदाको कमजोर र परित्यक्त सिंगापुर बीसवर्षमा बाघझैं जुरुक्क उठ्यो र अगाडि बढ्यो । उता भियतनाम छ, जसले कुनैबेला (सन् १९४५–७५) अमेरिकासँग कठिनतम युद्ध लडेको थियो । तर युद्धपछि उसले ठूलो सावधानीसाथ आफूलाई उठायो । आज भियतनाम धानको उत्पादनमा विश्वमै अग्रणी मानिन्छ ।

विकासको कुरागर्दा स्वयं युरोप अर्को आश्चर्य हो । सन् १६८९ देखि १८१५ सम्म भएका बेलायत र फ्रान्सबीचका युद्धहरूले युरोपलाई तहसनहस पारेका थिए । तथ्यहरूले भन्छन्— सन् १९१४ देखि १९१८ सम्म भएको पहिलो विश्वयुद्धमा युरोपका एक करोड तीस लाख मान्छेहरू मारिए । दोस्रो विश्वयुद्ध पहिलोभन्दा अझ भयंकर थियो । तर आफ्ना सहस्र प्रियजन गुमाएको युरोपले शोकलाई शक्तिमा बदल्यो । भनिन्छ— युरोपको समृद्धि रगत र आँसुको पोखरीमा फुलेको कमलजस्तै हो ।

निश्चयनै हाम्रो परिवेश फरक छ । हाम्रा सपनाहरू फरक छन् । तर इतिहासमा हामीले पनि त रगत र आँसु बगाएकै हौं । हाम्रो पोखरीमा चाहिँ कमल किन फुलेन ? प्रश्न स्वाभाविक हुन्छ । फरक राजनीतिक व्यवस्था, फरक संस्कृति र फरक परिवेशका उल्लिखित देशहरूको विकासको रहस्य के होला ? कुनैबेला काठमाडौंमा एउटा कार्यक्रमलाई सम्बोधनगर्दै महाथिरले भनेका थिए, ‘राजनीतिक स्थायित्व, परिवर्तनप्रतिको प्रतिबद्धता, नेतृत्वको मिहिनेत र संकल्प ।’

जवाफ खोजौं

चीनमा जनवाद (सन् १९४९), भारतमा स्वतन्त्रता (सन् १९४७) र नेपालमा प्रजातन्त्र (सन् १९५१) लगभग उस्तै समयमा भएका ऐतिहासिक बदलावहरू थिए । भनिन्छ, कुनैबेला एसियामै चीन, भारत, सिंगापुर, मलेसिया, दक्षिण कोरिया र नेपालको अवस्था उस्तै थियो । तर राजनीतिक परिवर्तनसँगै तिनीहरू कहाँ पुगे, हामी कहाँ छुट्यौं† किन हाम्रो भाग्यको ढोका खुलेन ?

ठीकैछ, २००७ र २०१५ सालमा हाम्रा आफ्नै सीमा थिए । अनुभवको सीमा थियो । स्रोतको सीमा थियो । परिवर्तनको चेतना सुदृढ थिएन । २०१७ सालमै पञ्चायत आयो र स्वतन्त्र सपनाहरूमाथि बलात् बन्देज लाग्यो । तर २०४६ र २०६३ सालमा प्राप्त अवसरहरू किन अलमलमा परे ? लोकतान्त्रिक परिवर्तनपछिका युगीन महिना र वर्षहरू किन सत्यानाश हुँदै छन् ? कतिपय मान्छेको मत छ, ती आन्दोलनहरू आफैंमा सफल आन्दोलन थिएनन् । अत: आन्दोलन अझै बाँकी छ । त्यसैले अलमल भयो । वस्तुत: यो बहानामात्र हो । सत्य के भने, संसारको कुनैपनि आन्दोलन त्यो समयको विशिष्ट सम्झौता हो । कुनैपनि आन्दोलनका परिणामहरू सर्वसम्मत, सार्वकालिक र शाश्वत हुँदैनन् । समाजमा अनेक स्वार्थको एकता र संघर्ष चलिरहन्छ । अत: आन्दोलन सकिएको अर्कोदिन फेरि नयाँ मुद्दाहरू आउँछन् । यसको अर्थ हो, प्रत्येक आन्दोलनले अवसरसँगै नयाँ मुद्दाको उत्खनन गर्छ । अत: सबैकुरा ठीकठाक भएपछि विकास गरौंला वा सबै द्वन्द्व सकिएपछि अघि बढौंला भन्नु बहाना मात्र हो ।

राजनीतिले प्रत्येक आन्दोलनलाई अवसरमा बदल्नुपर्छ । नेतृत्वको कामनै त्यही हो । अमेरिकामा जसले स्वतन्त्रताको दियो बाल्यो, उसले अमेरिका बनाउन आधारहरू खडागर्‍यो । चीनमा सांस्कृतिक क्रान्तिपछिको लाल अराजकतालाई सम्हाल्न तत्कालीन नेताहरूले कडा मिहिनेत गरे । परित्यक्त सिंगापुरलाई चम्काउन कुनैबेला ली क्वान युले जग हाले । तर हाम्रा बीपी, कृष्णप्रसाद, गणेशमान, गिरिजाप्रसाद, मनमोहन, माधव, शेरबहादुर, प्रचण्ड, बाबुराम र खड्गप्रसादहरू कहाँ चुके ? हाम्रा नेताहरू नेपाली सन्दर्भका जर्ज वासिङ्टन, अब्राहम लिंकन, देङस्याओपिङ, मोहम्मद महाथिर र ली क्वान यु किन भएनन् ?

समीक्षा गरौं

आजको प्रसंगमा विचारगर्दा, हाम्रो नेतृत्व (राजनीति) मा मुख्यत: चारखाले समस्या देखिन्छन् । पहिलो, सपना र संकल्पको सीमा । अर्थात्, हाम्रा नेताहरूमा समाजलाई रचनात्मक नेतृत्व दिने, देशको सपनासँग एकाकार हुने, समयको संगीत सुन्ने र परिवर्तनका पाइलाहरू चाल्ने क्षमता र संकल्प देखिएन । आफू सत्तामा पुग्ने सूत्र र षड्यन्त्रलाई नेताहरूले राजनीति बुझे । उनीहरूमा आन्दोलन र इतिहासलाई न्यायगर्ने कुनै उत्सुकता रहेन । सिर्जना कतै देखापरेन । सर्वत्र सत्यानाश हुँदा पनि चेत नखुल्ने बोधो ज्ञानले हाम्रा नेताहरूलाई अर्थहीन बनाइदियो ।

दोस्रो समस्या, परिवर्तनको औचित्य स्थापितगर्नमा देखिन्छ । २०४६ सालमा प्राप्तभएको प्रजातन्त्रलाई किन जोगाउन सकिएन ? कारण एउटै छ— प्रजातन्त्रले राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरण सुनिश्चित गर्न सकेन । तत्कालीन कांग्रेस र कम्युनिस्ट नेतृत्व जनताका सपनाहरू पूरागर्न असमर्थ रह्यो । यद्यपि २०४६ साललाई २०६३ सालमा अझ समुन्नत गरियो । तर संघीय लोकतान्त्रिक गणतन्त्रले पनि किन परिणाम दिइरहेको छैन ? किनभने नेतृत्वले पछिल्ला परिवर्तनहरूको स्वामित्व लिन सकेन । उल्टो आफ्नै दुष्कर्मले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बदनाम गर्ने काम पो हँुदैगयो । परिवर्तनको स्वामित्व लिने र जनताको अवस्था बदल्ने सचेत प्रतिबद्धता कतै देखिएन ।

तेस्रो समस्या, राजनीतिक नैतिकताको स्खलन हो । आज सत्ता, शक्ति र सम्पत्ति नेतृत्वको कमजोरी बन्दैछ । राजनीतिमा सांस्कृतिक उन्नयन, उदारता, निष्ठा र सरलता हरायो । लोकतन्त्र आसेपासेहरूको कुत्सित स्वार्थमा फस्यो । राज्य अंगमा दलालहरू हाबीभए । दलाल पुँजीवाद । नेताहरूले राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनको एजेन्डालाई बिर्सिए । पार्टी कार्यालयहरू लोकतन्त्रका मन्दिर बन्नुपर्ने, जारशाही दरबार बन्नपुगे ।

चौथो समस्या, राजनीति गतिशील भएन । गतिशील हुनुको अर्थ युगको नेतृत्वगर्नु हो । गतिशील हुनुको अर्थ विचार, संगठन, मुद्दा, संस्कृति र सपनाहरूको पुनर्गठन गर्नु हो । गतिशील हुनुको अर्थ अग्रगामी हुनु हो । तर यहाँ समय–चेतना, संकल्प र गति कतै देखिएन । उही आग्रह–पूर्वाग्रह । उही तथ्यहीन तर्क । उही ढिपी । व्यवस्था बदलियो तर राजनीति बदलिएन । शासकीय संरचना बदलियो, तर चरित्र बदलिएन । अनेक रंग र रूपमा पात्र र प्रवृत्तिको पुनरावृत्ति भइरह्यो । या त नयाँ राजाहरू देखा परे या पुराना राजाका सेवकहरू । ढोकामा अवसरहरू आए र गए, तिनको सुस्त चाल र लय कसैले सुनेन ।

त्यसैले अब समीक्षागर्ने बेला भयो ? अब प्रश्नगर्ने बेला भयो ? प्रश्नगर्नु पछाडि फर्किनु होइन । वस्तुत: जानु अगाडि नै छ । तर राजनीतिको यही चालामालाले हाम्रो यात्रा अगाडि बढ्ला ? हामीले लोकतन्त्र र समृद्धिका लागि तीन पुस्ता संघर्ष गर्‍यौं । व्यवस्था फेरियो, लोकतन्त्र आयो । तर भुइँमा परिवर्तन किन आएन ? भुइँ जनताको जीवनको प्रतीक हो । भुइँश्रमको प्रतीक हो । भुइँ गरिब, दलित, महिला, सीमान्त समुदाय र दु:खको प्रतीक हो । भुइँको जीवन कहिले फेरिएला ? ढोकामा अवसरले लगातार चाल गर्दै छ । ढकढकढक । संघीय लोकतान्त्रिक गणतन्त्र अनेक अवसरहरू बोकेर हाम्रो ढोकामा उपस्थित छ । त्यसलाई सुनौं । भनिन्छ— हजार माइलको यात्रा एक पाइलाबाट सुरुहुन्छ । त्यसैले पाइला चाल्न ढिलो नगरौं । अन्यथा इतिहास निर्मोही हुन्छ, यसले कसैलाई पर्खिबस्दैन ।

प्रकाशित : कार्तिक २२, २०७८ २१:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?