१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

विचारभन्दा माथि पञ्चायत

‘विचारभन्दा माथि देश’ भन्नुभन्दा सरल भाषामा रवीन्द्र मिश्रले आफ्नो सैद्धान्तिक जगलाई व्यक्त गर्न सक्ने सम्भावना छैन । करिब एक दशकदेखि उनले लेखेका लेख, गरेका भाषण, गरेको राजनीति सबैको समष्टि पनि यही सरलतम नारा हो ।
उज्ज्वल प्रसाई

आफ्नै नेतृत्वमा राजनीतिक दल दर्ता गर्नुअघि रवीन्द्र मिश्र कांग्रेस, एमाले र माओवादीभन्दा भिन्न पार्टी किन आवश्यक छ भनेर शृंखलाबद्ध लेख लेख्थे । मौजुदा कुनै दलले देशको हितमा काम नगरेकाले नयाँ पार्टी आवश्यक छ भन्ने उनको आशय हुन्थ्यो । उनले बनाउन खोजेको नयाँ पार्टीको वैचारिक आधारबारे सोधिएका प्रश्नमा प्रतिप्रश्न गर्दै उनले २०७० चैत २७ को कान्तिपुरमा लेखेका थिए— ‘नरेन्द्र मोदीले गुजरातको विकास नीतिमार्फत गरे कि सिद्धान्तको सहाराले ?’

विचारभन्दा माथि पञ्चायत

विकास गर्न कुनै नामको सिद्धान्त वा स्पष्ट वैचारिक धरातल चाहिँदैन भन्नका लागि उनले मोदीको उदाहरण दिएका थिए । सोही लेखमा उनले अरविन्द केजरीवाल र आम आदमी पार्टी पनि कुनै खास सिद्धान्तमा आधारित छैनन् भन्ने दाबी गरेका थिए । ऊ बेला ‘सिद्धान्तभन्दा नीति माथि’ भन्ने आशय व्यक्त गरेका थिए ।

मिश्रको लेख प्रकाशित भएको तीन दिनपछि, चैत ३० गते मोदी कसरी हिन्दुत्ववादी राष्ट्रवाद र नवउदारवादजस्ता सिद्धान्त र सोहीअनुसारको राजनीति, नीति र कार्यक्रमप्रति प्रतिबद्ध छन् भनेर सोदाहरण मैले जवाफी लेख लेखेँ । सो लेखमा उनले प्रशंसा गरेको विकासको गुजराती ढर्राको सीमितताबारे पनि उल्लेख थियो । गुजराती रवैया पछ्याउनकै लागि पनि मोदीजत्तिकै सिद्धान्तमा स्पष्ट हुनु र इमानदारीपूर्वक आफ्नो नियत बताउनु उपयुक्त हुन्छ भन्ने सुझाव पनि पेस गरेको थिएँ । तिनताक मेरो जवाफी लेखलाई सम्बोधन गर्न मिश्रले जरुरी ठानेनन् होला, केही लेखेनन् ।

आठ वर्षपछि आफ्नो वैचारिक धरातल र सिद्धान्तमा कसैलाई सन्देह नहुने गरी स्पष्ट बनाउँदै उनले भने— ‘विचारभन्दा माथि देश’ । लामो समयपछि नै सही, मैले पनि जवाफ पाएको छु । योभन्दा सरल भाषामा उनले आफ्नो सैद्धान्तिक जगलाई व्यक्त गर्न सक्ने सम्भावना छैन । कसैलाई यो वाक्य जटिल, अबोधगम्य वा सतही लागेको भए, त्यो सम्भवतः भाषा स्वयंको सीमितता हो । अर्थात्, मिश्रले धेरै लामो समयदेखि मनमा राखेको राजनीतिक अभीष्ट अभिव्यक्त गर्न नेपाली भाषामा योभन्दा सरल वाक्य बन्न सक्दैन । करिब एक दशकदेखि उनले लेखेका लेख, गरेका भाषण, गरेको राजनीति सबैको समष्टि पनि यही सरलतम नारा हो ।

मिश्रका लागि देश आम मानिसको विचारको उपज होइन; तिनका सम्बन्धका घर्षणले र तिनैले समयक्रममा उत्पादन गरेका अनेक संस्कृति र राजनीतिका काकतालीले पनि देशको उत्पत्ति भएको होइन । नेपाल देश त आम मान्छेभन्दा धेरै माथि उठेका (हिन्दु) भगवान्ले आफ्नो अद्वितीय प्रतिभा एवं चाहनाबाट उत्पन्न गरेको अमूल्य कृति हो । मिश्रका अनुसार पृथ्वीनारायण शाह हामीजस्ता आम मान्छे होइनन्, उनी कि महामानव हुन्, कि देश बनाउन सक्ने शौर्य एवं ज्ञान भएका एक मात्र मानवरूपी भगवान् हुन् । मिश्रले बुझेका छन्, नेपाल पृथ्वीनारायण शाहको बाहुली–निःसृत एक अमूल्य कृति हो ।

उनी चाहन्छन्, त्यस्ता महामानवले बनाएको देशमा विचारको खेल खेल्ने होइन, सिद्धान्तको दौड मच्चाउने हुँदै होइन, दाहिने र देब्रेपन्थी भनिहिँड्ने होइन, नानावली नामका विचार कोरल्दै देशजस्तो अमूल्य कृतिलाई ओझेल पार्ने पटक्कै होइन । उनको चाहना छ, पृथ्वीनारायण शाहको उचाइ छुन नसक्ने साधारण मान्छेले देश सम्झेर खुरुखुरु काम गर्ने हो । अठारौं शताब्दीमा यस सरहदभित्रका आम मान्छेले प्राप्त गरेको नेपाल नामको अमूल्य कृतिलाई नबिटुल्याउन सबै जनताले आफ्ना लैंगिक, क्षेत्रीय, जातीय र वर्गीय थान्कामा चुपचाप बसेर खुरुखुरु श्रम गर्नुपर्छ, अनि मात्रै यस कृतिको स्याहार हुन्छ भन्ने मिश्रको बुझाइ छ ।

‘विचारभन्दा माथि देश’ जस्तो सम्प्रेष्य नाराले बताउँछ— धर्म र परम्परा, संस्कार र सत्ताले आफूमाथि अन्याय गरेकाले जात उन्मूलनका लागि लड्छु भन्नु दलितलाई वाञ्छनीय छैन । त्यसो गर्दा देशभन्दा माथि पुग्न सक्छ विचार । संविधानले दोस्रो दर्जाको नागरिकमा खुम्च्याएका कारण आन्दोलित भएको भन्दै हल्ला गर्ने महिलाले देशभित्र परचक्रीहरूको बगाल लगाइदिन सक्छन् । त्यस्तो विचारले देशकै अस्तित्व मेटिदिन सक्छ भन्ने उनलाई डर छ । थारूले आफ्नो अस्तित्व खोज्दा थारू मात्रको हित हुने र देशको अहित हुने देख्छन् उनी, मधेसीले समानता खोज्दा मधेसीको मात्रै जय हुने र देशको अस्तित्व संकटग्रस्त बन्ने भान पर्छ उनलाई । निमुखाले आधारभूत आवश्यकता खोजेर आन्दोलित हुँदा देशले दुःख पाउला भनेर उनलाई हदै डर लाग्छ ।

खासमा अहिलेसम्मका सबै क्रान्तिले देश बिटुल्याए भन्ने लाग्छ उनलाई । संविधान लेखनका लागि भएको रस्साकस्सी नै देशभन्दा विचार माथि पुर्‍याउन खोज्दाको परिणाम हो भन्ने उनको निष्कर्ष छ । संविधान स्वयं विचारकै उपज भएकाले, त्यसले पनि पृथ्वीनारायण शाहको यो अमूल्य कृतिलाई बिटुल्याउने काम गरेको उनको बुझाइ हुन सक्छ । त्यत्रो हम्मे गरेर संविधान बनाइसकेपछि फेरि समाजवादभन्दा उनलाई सहनै नसक्ने गरी भाउन्न हुन्छ । राज्य र बजार होइन, समाज र समुदायलाई प्रधान बनाउन खोज्दा देश कतै विलुप्त हुन सक्छ भनेर उनी भयग्रस्त हुन्छन् ।

विचार र आन्दोलन, क्रान्ति र परिवर्तन भनेर हिँडिरहेका मान्छेले उत्पन्न गरेका सबै डरलाई परास्त गर्नका लागि उनले रचना गरेको मन्त्र नै ‘विचारभन्दा माथि देश’ हो । यो नारा उनका लागि कुनै विचार र सिद्धान्त होइन, बरु देशको स्तुति हो । पृथ्वीनारायण शाहले छोडेर गएको त्यो अमूल्य कृतिको सम्मानमा उनले नतमस्तक भएर सृजना गरेको प्रार्थना हो । त्यसैले विचार वा सिद्धान्त भनेर यस नारालाई नबिटुल्याइदिऊन् भन्ने उनको चाहना छ ।

रवीन्द्र मिश्रले कतिको थाहा पाएका छन् कुन्नि, उनको यो स्तुतिलाई विचार एवं ऐतिहासिक खोजको नाम दिएर पहिल्यै धेरै मान्छे र समूहले लेखेका छन्, बोलेका छन् र राजनीति गरेका छन् ! खासमा उनको यो पवित्र नारा पहिल्यै बिटुलिइसकेको छ । उनलाई नयाँ र वैकल्पिक लागेको भए पनि उनकै ‘विचार’ मा धेरै पहिलेदेखि अलमलिएको छ नेपाली समाज । पहिले उनीसँगै देश बनाउन हिँडेर बीचैमा छोडेकामध्ये एक जनाले धेरै पहिले पनि उस्तै आशय व्यक्त गर्ने गरेका थिए । कांग्रेस र कम्युनिस्ट नेतालाई औंलो ठड्याएर कडक स्वरमा उनी भन्ने गर्थे— ‘विकासमा राजनीति बन्द गर्नुस्, तुरुन्तै । विकास मात्रै गर्नुस् ।’

पञ्चायत स्थापनालगत्तै राजा महेन्द्रले दुई विद्वान्लाई पञ्चायतको दर्शन तयार गर्न अह्राए— पशुपतिशमशेर राणा र मोहम्मद मोहसिन । यी दुवैले विदेशी विश्वविद्यालयबाट समाज विज्ञानको जटिल तालिम पाएकाले मिश्रले जति सरल शब्दमा पञ्चायतको दर्शन लेख्न सकेनन् । विज्ञानी भाषामा व्यक्त गर्न खोज्दा जटिल बनाउन पुगे । मोहसिनले देश भनेनन्, व्यवस्था भने । आफ्ना विचारभन्दा माथि राखेर यो ‘शाही उपहार’ लाई ग्रहण गर भनेर अपिल गरे । संसदीय लोकतन्त्र आयातित ‘माल’ हो, पञ्चायत ‘सहजातीय वनस्पति’ हो भन्ने दाबी पेस गरे । पशुपतिशमशेरले विदेशी नृविज्ञानीले गरेका अध्ययनको सहारा लिँदै नेपालका गाउँहरू आफैंमा लोकतान्त्रिक भएकाले आयातित प्रजातन्त्र थोपर्न जरुरी नभएको र पञ्चायत माटोसुहाउँदो भएको दाबी गरे ।

अर्थात्, पृथ्वीनारायणका सन्तान करिब उही उचाइ भएका राजा महेन्द्रको सृजनाभन्दा अब्बल अरू कसैले सोच्नै सक्दैन भन्ने उनीहरूको दाबी थियो । महेन्द्रको सृजनासँग मत बझाउनु भनेको पृथ्वीनारायणले उपहारस्वरूप दिएको अमूल्य कृति अर्थात् देशलाई बिटुल्याउनु हो भनेर दुई पञ्चायती समाज विज्ञानीले दुनियाँलाई खबरदारी गर्न खोजेका थिए ।

रवीन्द्र मिश्रको ‘विचारभन्दा माथि देश’ भन्ने आशयलाई आफ्नै भाषामा व्यक्त गर्ने र ‘ऐतिहासिक खोज’ का आधारमा पुष्टि गर्ने उपक्रम गणतन्त्रपछि पनि द्रुतगतिमा जारी छ । खासमा राज्य पुनःसंरचनाका लागि उठाइएका समावेशिता, संघीयता, धर्मनिरपेक्षताजस्ता मुद्दाले सकसमा पारेका बुद्धिजीवी, समूह र पार्टीसमेतले फरक भाका, बान्की र भाषामा उही आशय व्यक्त गरेका अनेक उदाहरण भेटिन्छन् । केही वर्षपहिले मात्रै खोजमूलक ऐतिहासिक वृत्तान्त भनेर प्रकाशित एक चर्चित किताबको निष्कर्ष थियो— पद्मशमशेरको सुधार कार्यक्रमभन्दा यता ‘नेपालको हित गर्ने’ कुनै आन्दोलन र क्रान्ति भएको छैन । यो हित गर्न खोजिएको नेपाल कसको हो ? उत्तर सरल छ— दलित, मधेसी, महिला, निमुखाको पटक्कै होइन । स्थायी सत्तामा सदैव विराजमान शाह र मिश्रहरूको हो ।

नेपाली राजनीतिमा विकल्पको खोजीसमेत असफलसिद्ध राजनीतिको अर्थहीन पुनरावृत्ति मात्रै बन्नु दुःखद छ । वैकल्पिक राजनीतिका नाममा गरिएका उद्यम अवधारणा स्वयंको फुर्माइसीमा पतित हुनु उत्तिकै त्रासदीपूर्ण पनि छ ।

प्रकाशित : कार्तिक १९, २०७८ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?