१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

हाम्रा चाडपर्व र वातावरण

मञ्जु भट्ट

दिनदिनै बढ्दो वातावरण प्रदूषणका कारण समस्त विश्व आतंकित छ । वातावरण प्रदूषणकै कारण विश्व तापमानमा वृद्धि भई विभिन्न रोगव्याधि देखा पर्न थालेका छन् । विभिन्न आविष्कारले मानव जीवनलाई सजिलो बनाए पनि वातावरणमा पर्दै गएका विकासका नकारात्मक असरहरूले आम मानिसको निद्रा नै खलबल्याउने गरेका प्रशस्त संकेत देखिन थालेका छन् ।

हाम्रा चाडपर्व र वातावरण

विश्वव्यापी तापक्रममा वृद्धि, बाढी, पहिरो, सुक्खा, खडेरी, ठूलठूला आगलागी, रूखबिरुवाको नास, बेमौसमी वर्षाजस्ता समस्याहरू देखा पर्नु वातावरण असन्तुलनका ज्वलन्त उदाहरण हुन् ।

हाम्रो देश चाडपर्वमा धनी छ । चाडपर्वले देश–विदेशमा रहेका नेपालीमाझ एकता ल्याउन मुख्य भूमिका खेलेका हुन्छन् । चाडपर्वले कुनै नकारात्मक प्रभावबिना वातावरणको सुरक्षा गरी जीव र बोटबिरुवाबीच सन्तुलन कायम गरेका हुन्छन् । चाडपर्वले मनोरञ्जन मात्रै दिँदैनन्, नजानिँदो तरिकाले मानिस, पशुपन्छीलगायत जीवजन्तुको सुरक्षासमेत गरेका हुन्छन् । हाम्रा केही यस्ता चाडपर्व छन् जसले वातावरण सन्तुलनमा भूमिका निर्वाह गरेका छन् ।

तिहार : यो पर्वमा काग, कुकुर, गाई र गोरुको पूजा गरेर अबोध जनावहरूप्रति माया दर्साइन्छ । यसले मानवका विभिन्न काममा प्रयोग हुने र वातावरण सन्तुलनमा सहयोग पुर्‍याउने यी जनावरहरूको रक्षा गर्न प्रेरित गर्छ । यो पर्वले घरका कुनाकाप्चादेखि गल्ली–बाटासम्म सफा राख्न सबैलाई हौसला दिन्छ । यसले भाइबहिनीबीचको सम्बन्धलाई झन् गहिरो बनाउँछ । यो पर्वमा फूलहरू अनिवार्य चाहिने हुँदा त्यसका लागि निकै पहिलेदेखि फूल रोप्ने गरिन्छ । फूलका बिरुवा रोप्नाले वातावरणमा हरियाली थपिन्छ । फूलहरूबाट माहुरी, भमरा, पुतलीजस्ता परागसेचनका लागि महत्त्वपूर्ण मानिएका कीरा–फट्यांग्राहरूले आफ्नो खाना बनाउँछन् ।

छठ : छठ पर्व विशेष गरी तराईमा मनाइने गरेको भए पनि बिस्तारै देशैभरि विस्तार भएको छ । यो पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ र यसका लागि पूजा गर्न खोला, नदीनालालाई सफा गरी सजाइन्छ । यसबाट वर्षमा एकचोटि भए पनि पानीका मुहानहरू सफा हुन्छन् । यो पर्वले पानीका मुहानहरूको संरक्षण गर्नुपर्छ भन्ने चेतना जगाइदिन्छ । यसले खोलानदीनजिक बस्नेहरूलाई प्रत्यक्ष फाइदा पुर्‍याउँछ । जस्तो, काठमाडौंको गौरीघाट क्षेत्रमा छठमा वाग्मतीको सफाइ गरिने भएकाले, हिउँद सुरु भएसँगै पानीको कमी हुन थालेदेखि जेठ–असारसम्म स्थानीय बासिन्दाहरू त्यहाँ नुहाउन र लुगा धुन जाने गरेको देख्न सकिन्छ ।

तुलसी पूजा : हाम्रा धर्मग्रन्थअनुसार तुलसीलाई जति पटक प्रयोगमा ल्याए पनि बासी मानिँदैन । भगवान् विष्णुको प्रियका रूपमा तुलसीलाई लिइन्छ । घरमा तुलसी विवाह हुनु भनेको विवाह, व्रतबन्धजस्ता शुभ कार्यको थालनी हुनु मानिन्छ । यही दिन भगवान् विष्णु चार महिना लामो निद्राबाट जागेर लक्ष्मी रूपमा रहेकी तुलसीसँग विवाह गर्छन्, अनि मात्र चार महिनादेखि बाँकी रहेका शुभ कार्यको थालनी भएको मानिन्छ । वैज्ञानिक रूपमा पनि तुलसीलाई औषधिको भण्डारका रूपमा लिइन्छ । रातदिनै अक्सिजन दिने यो सानो बिरुवा सानै ठाउँमा पनि रोप्न मिल्छ । प्रत्येक घरको आँगन वा छतमा रोपिने तुलसीले वातावरणमा अक्सिजनको मात्रा पूर्ति गर्न र घरका सदस्यहरूलाई स्वच्छ अक्सिजन उपलब्ध गराउन महत्त्वपूर्ण भूमिका खेल्ने गर्छ । शरीरलाई चिसोबाट जोगाइराख्न पनि हाम्रो समाजमा औषधिका रूपमा तुलसीको अत्यधिक प्रयोग गरिन्छ ।

वटवृक्ष पूजा : तरार्ईमा वटवृक्ष (वर) लाई भगवान्को रूप मानेर पूजा–आराधना गर्ने गरिन्छ । वरको फेदलाई ब्रह्मा, मध्यभागलाई महादेव र टुप्पोलाई विष्णु भगवान्को रूप मानेर पूजा गरिन्छ । धर्म– संस्कृतिका नाममा चलिआएको यो परम्पराले विशाल तथा हरियालीको भण्डार वटवृक्ष संरक्षणमा टेवा पुर्‍याएको छ ।

माघे संक्रान्ति : यो पर्वमा खोलानदीमा नुहाउन जाने चलन छ, जसले तिनको महत्त्व झल्काउने गर्छ । त्यस्तै, यस दिन बजारका पत्रु र विषादीयुक्त खानाभन्दा तरुल, पिँडालु, सखरखण्ड, चाकु, तिलको लड्डुजस्ता घरमा पकाइएका ताजा परिकार खाने परम्परा छ । यसबाट जाडोमा स्वस्थ रहन मद्दत मिल्छ । तिहार, छठजस्ता चाडपर्वले मानव, जीवजन्तु र बोटबिरुवाबीच सन्तुलन मिलाउन भूमिका खेल्ने गर्छन् । यी चाडपर्व मानव जीवनको हितमा छन् ।

प्रकाशित : कार्तिक १८, २०७८ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?