१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

एक जन्मजात सहजकर्ता

२०४६ सालमा नेपाली कांग्रेस र वामपन्थीहरूलाई एकै ठाउँमा राखेर संयुक्त जनआन्दोलन गर्ने वातावरण बनाउन पद्मरत्न तुलाधरले खेलेको मध्यस्थकर्ताको भूमिका पनि नेपालको इतिहासमै एक अद्वितीय घटना हो ।
सुरेश किरण

नेकपा माओवादीद्वारा सञ्चालित दस वर्ष लामो सशस्त्र द्वन्द्वलाई शान्तिको मार्गमा ल्याउन पद्मरत्न तुलाधरले एक सहजकर्ताका रूपमा खेलेको गहन भूमिका अब सबैका सामु प्रस्ट भइसकेको छ । यो इतिहासमा पनि अंकित भइसकेको एउटा महत्त्वपूर्ण तथ्य हो । तर उनले यस्तो जटिल भूमिकालाई पनि सहजतापूर्वक सम्पन्न गर्न सक्नुको पृष्ठभूमिबारे चर्चा गर्नु सान्दर्भिक नै होला ।

एक जन्मजात सहजकर्ता

कुनै पनि प्रकारको द्वन्द्व अथवा समस्याभित्र प्रवेश गरी त्यसलाई समाधानको बाटोसम्म पुर्‍याउने कौशल उनले धेरैअघि नै देखाइसकेका थिए । राष्ट्रिय सन्दर्भमा मात्र होइन, आफ्नो परिवारभित्रका र साथीभाइ एवं संस्थाहरूका द्वन्द्वमा पनि उनले सहजकर्ता भई समाधान निकालेका उदाहरणहरू धेरै छन् ।

उनको आफ्नै परिवारमा त त्यस्तो कुनै ठूलो समस्या थिएन तैपनि कहिले काकाहरूका बीचमा, कहिले दाजुभाइहरूका बीचमा उत्पन्न हुने घरेलु समस्याहरू पनि समाधानका लागि घुमीफिरी उनकै इजलासमा आउने गर्थे । कुनै समस्या आइपर्दा परिवारका सदस्यहरू सबैभन्दा पहिले उनैलाई सुनाउने गर्थे । उनी त्यसको चित्तबुझ्दो समाधान निकालिदिन्थे । परिवारभित्रका द्वन्द्वहरू समाधान गरिरहने यही बानीकै कारण हुनुपर्छ, राष्ट्रियस्तरका अनेक विवाद समाधान गर्न पनि उनी सफल भए ।

...

२०३६ सालतिरको कुरा हो । त्यति बेला उनी आफ्नै छापाखाना चलाउने गर्थे । उनको छापाखानामा विभिन्न विद्यार्थी संगठनका पर्चा, पोस्टर, पुस्तक आदि छापिइरहेका हुन्थे । आफैंमा पनि वाम झुकाव भएका कारण खास गरी अखिलका विद्यार्थीहरूसँग अक्सर उनका कुरा मिल्थे । पर्चा, पोस्टर छपाइ गर्ने क्रममा विद्यार्थी नेताहरू पनि उनको छापाखानामा पुगिरहेका हुन्थे । एक समयको कुरा हो, विद्यार्थी युनियनको चुनाव हुन लाग्दै थियो । अखिलका विद्यार्थीहरूबीच आफ्नो अधिवेशनलाई ‘पाँचौं’ भन्ने कि ‘छैटौं’ भन्ने विषयमा विवाद उत्पन्न भयो । कति वार्ता भयो, तर अहँ, समाधान निस्केन ।

ती विद्यार्थीका वाम नेताहरू पनि धेरैजसो जेलमै थिए । कतिचाहिँ भूमिगत थिए । उनीहरूसँग तत्काल सम्पर्क गर्न सकिने सम्भावना थिएन । आफूहरूको विवाद समाधान गरिदिनुपर्‍यो भनी झगडिया विद्यार्थी नेताहरू उनको छापाखानामा पुगे । उनले खिचापोखरीका किसान साथीको घरमा सबै झगडिया विद्यार्थीहरूलाई भेला गरी त्यो विवाद टुंग्याइदिए । त्यसमा पनि उनी आफैं ‘सहजकर्ता’ थिए ।

...

सन् १९८६ मा संयुक्त राष्ट्र संघद्वारा आयोजित अन्तर्राष्ट्रिय शान्ति वर्षको कार्यक्रममा सहभागी हुन अन्य व्यक्तिसँगै उनी डेनमार्क जाँदै थिए । सोभियत संघ हुँदै जाने भएकाले भ्रमण टोलीका सदस्यहरूले मस्को घुम्ने योजना बनाउन थाले । उनी पनि घुम्न जानै लागेका थिए, त्यही बेला मस्कोमा अध्ययनरत वाम विचारधाराका नेपाली विद्यार्थीहरूका दुइटा समूह अकस्मात् उनी बसिरहेको होटलमा आइपुगे । उनीहरू मस्कोमा एउटा नेपाली पत्रिका निकाल्ने तयारीमा रहेछन्, तर त्यसैबारे केही कुरामा विवाद परेछ र त्यो विवाद मिलाइदिनुपर्‍यो भन्दै विद्यार्थीहरू उनलाई भेट्न आएका रहेछन् । अब गर्ने के, साथीहरू त सबै जना मस्कोको ‘साइट सिइङ’ गर्न गइहाले !

उनीचाहिँ होटलको कोठामा बसेर विद्यार्थीहरूको झगडा मिलाउनमै लागिहाले । घुम्न पाएनन् ।

...

पञ्चायतकालमा धेरैजसो कम्युनिस्ट नेताहरू जेलमै थिए । कतिपय भूमिगत । जेलभित्र बसिरहेका र बाहिर रहेका नेताहरूबीच कहिलेकाहीँ संवाद र सूचनाको अभावले गर्दा नदेखिने गरी द्वन्द्व चलिरहेको हुन्थ्यो । त्यस्तो द्वन्द्वले गर्दा कहिलेकाहीँ पार्टी नै विभाजनको अवस्थासमेत आइपर्थ्यो । त्यस्तो बेला पनि उनले जेलभित्र र बाहिर रहेका नेताहरूबीच सहजकर्ता बनेर धेरै द्वन्द्व सल्टाइदिएका थिए ।

...

२०४६ सालमा नेपाली कांग्रेस र वामपन्थीहरूलाई एकै ठाउँमा राखेर संयुक्त जनआन्दोलन गर्ने वातावरण बनाउन उनले खेलेको मध्यस्थकर्ताको भूमिका पनि नेपालको इतिहासमै एक अद्वितीय घटना हो । कांग्रेससँग मिलेर आन्दोलन गर्ने हो भने बाह्र टुक्रामा विभाजित वामपन्थी पार्टीहरूलाई पहिले एकै ठाउँमा ल्याउने काम गर्नुपर्छ भन्ने कुरा उठ्यो । तर वाम नेताहरू भने एकआपसमा असाध्यै नमिल्ने, एकै ठाउँमा बस्नु त टाढाकै कुरा भयो ! त्यस्तो अवस्थामा आफैं मध्यस्थकर्ता भई उनले आफ्नै घरमा सबै भूमिगत वामपन्थी पार्टीका नेताहरूको बैठक डाके । त्यही बैठक निरन्तर अघि बढ्दै अन्ततः ‘संयुक्त वाममोर्चा’ गठन हुन पुग्यो जसले नेपाली कांग्रेससँग मिलेर पञ्चायतविरुद्ध संयुक्त आन्दोलन गर्‍यो । त्यही आन्दोलन सफल भई देशमा प्रजातन्त्रको पुनर्बहाली भयो ।

...

२०५२ साल माघ २९ गते प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री पीभी नरसिंह रावले महाकाली सन्धिमा हस्ताक्षर गरे । त्यसलाई नेकपा (एमाले) ले समर्थन गरेपछि पार्टीमा विवाद चर्केर अन्ततः पार्टी नै विभाजन हुने अवस्थामा पुग्यो । सन्धिविरोधी वामदेव गौतमलगायतका नेताहरू पार्टी फोडेर जान तयार भए । त्यस्तो बेला पनि पार्टी विभाजन गर्नु हुँदैन भनी दुवै पक्षसँग वार्ता गर्ने काममा तुलाधर नै खटेका थिए । डा. महेश मास्के, श्याम श्रेष्ठलगायत उनकै नेतृत्वमा कहिले मनमोहन अधिकारी, कहिले माधव नेपाल त कहिले वामदेव गौतमका घरघरमै गएर वार्ता गरे । तर दुवै पक्ष टसको मस नभएपछि वार्ता व्यर्थ भयो ।

नेकपा (एमाले) विभाजित भई वामदेव गौतमको नेतृत्वमा नेकपा (माले) नामक नयाँ पार्टी

अस्तित्वमा आयो । तर कालान्तरमा त्यसका अध्यक्षलगायत अधिकांश मुख्य नेताहरू पुनः नेकपा (एमाले) मै फर्के ।

...

एक पटक काठमाडौंको एउटा ठूलो व्यावसायिक परिवारमा ठूलै विवाद पर्‍यो । त्यसमा पनि समाधानका लागि आइदिनुपर्‍यो भनेर उनलाई नै बोलाए । विवाद सम्पत्तिसम्बन्धी थियो । त्यहाँ पनि विवाद लामो हुँदै थियो । अतः विवाद समाधान नभएसम्म परिवारका कुनै पनि सदस्यले छुन पाइँदैन भन्दै सुनलगायतका बहुमूल्य वस्तुहरू राखिएको सेफको साँचो उनलाई राख्न दिइयो ।

सामान्यस्तरको पारिवारिक होस् वा राष्ट्रियस्तरको राजनीतिक, कुनै पनि द्वन्द्व समाधान गर्ने काममा उनको यो कुशलतादेखि एउटा अंग्रेजी पत्रिकाले उनलाई ‘बोर्न नेगोसिएटर (जन्मजात सहजकर्ता)’ भन्ने उपमा दिई लेख छापेको थियो । यो उपमा उनले गरेका सहजकर्ताका कामहरूका लागि सुहाउँदो पनि देखिन्छ ।

पद्मरत्न तुलाधर यसरी हरेक विवादमा सहजकर्ता भई समाधान गर्न सफल हुन सक्नुका पछाडि उनको सरलता, पूर्वाग्रही नभई कुरा राख्न सक्ने क्षमता र इमानदारीको प्रमुख भूमिका रहेको पाइन्छ ।

२०७५ कात्तिक १६ मा दिवंगत मानव अधिकारवादी पद्मरत्न तुलाधरको प्रकाशोन्मुख जीवनीबाट ।

प्रकाशित : कार्तिक १६, २०७८ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?