१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

राजनीतिमा ‘ब्रान्डिङ’ को प्रहसन

हामी नेपाली अयोग्य नेताहरूबाट शासित हुन बाध्य छौं । जनताको मन जित्न नसकेपछि उनीहरू आफूलाई पोस्टरजस्ताअनेक माध्यमबाट ‘ब्रान्डिङ’ गर्न खोज्दैछन् ।
उमेशप्रसाद मैनाली

निजी क्षेत्रका उत्पादनहरूले आफ्ना प्रतिस्पर्धीहरूको भन्दा विशिष्ट गुणको प्रचार गरेर बजार लिने व्यापारिक शैली नयाँ होइन । यसमा विशेष नाम, संकेत, चिह्न, डिजाइन वा यी सबैको मिश्रित प्रयोगद्वारा ग्राहकहरूको धारणा सकारात्मक बनाउन खोजिन्छ । यस्ता खाले‘ब्रान्डिङ’ ले सांकेतिक रूपमा दिएको सन्देशले साँच्चै उपयोगिता बढेको महसुस भएमा ग्राहकहरू आकर्षित हुन्छन् भने विपरीत स्थितिमा ‘काउन्टर ब्रान्डिङ’ को खतराले बजार गुम्न थाल्छ ।

राजनीतिमा ‘ब्रान्डिङ’ को प्रहसन

निजी क्षेत्रको यही रणनीतिको अनुसरण गर्दै राजनीतिमा पनि यसको नक्कल गर्ने प्रवृत्ति बढ्दै गएको छ । राजतन्त्र र तानाशाही व्यवस्था भएका देशहरूमा शासकलाई ‘सुपरम्यान’का रूपमा प्रस्तुत गर्नु वा देवत्वकरण गर्नु सामान्य नै भए पनि आफूलाई लोकतान्त्रिक व्यवस्थाको पक्षपाती मान्नेहरूले पनि विविधखाले ‘ब्रान्डिङ’ मा रुचि राखेको देखिन्छ । राजनीतिमा विशेष गरी सहर वा स्थानविशेषको, नेताको, दलविशेषको, शासन प्रक्रियाको ‘ब्रान्डिङ’ गरेर राजनीतिक लाभ लिने प्रयास गरिन्छ । यस्तो किन गरिन्छ भने, नागरिकहरूको बिस्तारै राजनीतिप्रतिको चाख कम हुँदैछ, नेता र व्यवस्थाप्रतिको मोहभंग भइरहेको छ ।जनतामा हास्यकलाकारलाई मन पराउने र नेताहरूलाई व्यंग्यको विषय बनाउने रुचि बढ्दै गएको देखिन्छ । लोकतान्त्रिक प्रणालीमा आएको यो संकटको दोस्रो लहर(सेकेन्ड वेभ क्राइसिस) ले गर्दा आकर्षक ‘ब्रान्डिङ’ द्वारा जनताको धारणा परिवर्तन गराउने प्रयास गरिन्छ ।

नेपालको राजनीतिमा पनि ‘ब्रान्डिङ’को रहर बढ्न थालेको देखिन्छ । यसको पछिल्लो उदाहरण नेकपा एमालेको विधान अधिवेशनमा देखियो । पार्टी अध्यक्षको ‘डमी’ को व्यापक प्रयोग मात्र गरिएन, सडकका पोलहरूमा र मिनरल वाटरका बोतलमा समेत उनको फोटो राखिएको देखिन्थ्यो । यसअघि पनि सामाजिक सुरक्षा कार्यक्रमको घोषणाका बेला, प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीका फोटा पोलहरूमा व्यापकरूपमा झुन्ड्याइएका थिए । तर, नेताहरूको ‘ब्रान्डिङ’ गर्ने काम यसपहिले पनि भएको थियो । संविधानसभाको निर्वाचनकाबेला नेकपा माओवादीका अध्यक्षको फोटो ‘नेपालको प्रथम राष्ट्रपति’ भनेर पर्खालका भित्ताहरूमा टाँसिएको धेरै भएको छैन । केहीअघि ‘मलाई शेरबहादुर देउवा मन पर्छ’ भन्दै सामाजिक सञ्जालमा व्यापकरूपमा प्रचार गरेर वर्तमान प्रधानमन्त्रीको ‘ब्रान्डिङ’ गर्न खोजिएको थियो ।दलभित्रै आलोचना भएपछि स्वयं प्रधानमन्त्रीले यसलाई हटाउन निर्देशन दिएको खबर बाहिर आयो ।राजनीतिक दल र यिनका नेताहरूमा आफ्ना सफलताहरू जनतामा लगेर जनविश्वास आर्जन गर्न सकिनेमा किन यो बेतुकको ‘ब्रान्डिङ’ को रहर जागेको हो, बुझिनसक्नु भएको छ । यसको कारण खोतल्दा निचोडमा के बुझिन्छ भने,आफ्नो दल वा आफ्नो नेतृत्वले जनताको मन जित्न नसकेपछि यो रणनीति लिइन्छ वा कुनै ठूलो सफलतापश्चात् आफूलाई ‘स्वयम्भू’ नेताका रूपमा स्थापित गराउन यसो गरिन्छ । फ्रान्सेली क्रान्तिपछि सत्तामा आएका नेताहरूले आफूलाई महान् देखाउन ‘ब्रान्डिङ’को सहारा लिएका थिए ।

फ्रान्सेली क्रान्तिकारी हेबर्टले ‘बुद्धिको उपासना’ भनिने नयाँ धर्म चलाएका थिए ।यस क्रममा गिर्जाघरका सबै शिखर भत्काइए र त्यसमा बुद्धिका प्रतीकहरू राखिए । उनीपछिका रोब्सपियरले भने यसलाई उल्टाएर ‘सर्वशक्तिमानको पूजा’ को नारा दिए । यी दुवै आफूलाई सर्वोच्च नेतामा स्थापित गराउन चाहन्थे । बंगलादेश (तत्कालीन पूर्वी पाकिस्तान) र पाकिस्तानबीचको युद्धमा सफलतापछि इन्दिरा गान्धीले ‘इन्दिरा इज इन्डिया’ को नारासाथ यो सफलताको जस लिएर आफूलाई चामत्कारिक नेताका रूपमा ‘ब्रान्डिङ’ गर्न खोजेकी थिइन् । पोल्यान्डका ‘सोलिडारिटी मुभमेन्ट’ का नेता ज्याकेकले आफ्नो दलले सफलता हासिल गर्न नसकेपछि आफूलाई एकदलीय व्यवस्थाको समर्थक र योग्यतातन्त्रको विरोधीका रूपमा ‘ब्रान्डिङ’ गर्न खोजेका थिए । नेपालमा भने असफलतालाई छोपेर जनताको ध्यान अन्यत्र मोड्न यसको प्रयोग हुन थालेको छ ।आफ्नो दलको पूर्ण बहुमत र गठबन्धनको दुईतिहाइ मत संसद्मा हुँदाहुँदै बहुमतसमेत गुमाएर दलको विभाजन गराएको सन्दर्भबाट जनताको ध्यान अन्यत्र मोड्न ओलीलाई ‘ब्रान्डिङ’ गर्ने प्रयास भइरहेको छ । उनकै दलको समर्थनमा नभई उग्र समर्थकहरूले चलाएको अभियानकारूपमा यो आएको देखिन्छ । यस्तो ‘ब्रान्डिङ’ ले राजनीतिक दल र यिनका नेतालाई कति फाइदा पुग्ने हो, थाहा छैन; तर यसले जनतालाई दिग्भ्रमित भने अवश्य गराउँछ । किनकि ‘ब्रान्ड’ ले वास्तविक तथ्यको प्रतिनिधित्व गर्दैन । तानाशाहहरूले गर्ने ‘प्रोपगान्डा’ र ‘ब्रान्डिङ’ बीच झिनो अन्तर मात्र छ । जनताले ‘ब्रान्डिङ’ बाटसृजित नेताको प्रतिमा होइन, उसको स्थापित प्रतिमामा विश्वास गर्छन् । यो तथ्य वुझेर पनि हाम्रा नेताहरूलाई किन ‘ब्रान्डिङ’को सहारामा प्रचार गर्ने भूत जागेको हो, बुझ्न कठिन छ ।

थरीथरीका ‘ब्रान्डिङ’

नेपालमा यो नौलोजस्तो लागे पनि युरोप र अमेरिकाका नेताहरूले ‘ब्रान्डिङ’ लाई आफ्नो जनसमर्थन बढाउने औजारका रूपमा प्रयोग गर्न थालेको धेरै अघिदेखि नै हो । बर्लुस्कोनी, निकोलास सार्कोजी, एन्जेला मर्केल, टोनी ब्लेयर, डेभिड क्यामरुन आदि युरोपेली नेताहरूले आकर्षक नारा, प्रतीक चिह्न (लोगो), कर्णप्रिय र सन्देशमूलक शब्दहरूबाटआफू र आफ्नो दलको ‘ब्रान्डिङ’ गरेका थिए । टोनी ब्लेयरले ‘न्यु लेबर न्यु ब्रिटेन’ को नारासाथ पुराना नेताहरू थ्याचर र लेबर पार्टीकै अन्य नेताभन्दा आफूलाई फरक देखाउन ‘थर्ड वे’ का नाममा ‘ब्रान्डिङ’ गरेका थिए । डेभिड क्यामरुनले आफ्नो फोटोसाथ ‘इअर फर चेन्ज’ का नाममा यसको व्यापक प्रयोग गरेका थिए । इटालीका पूर्वप्रधानमन्त्री बर्लुस्कोनीले आफूलाई आकर्षक र युवा देखाउन अनुहारको प्लास्टिक सर्जरी नै गरेका थिए । पहिले प्रख्यात पत्रकार रहेका उनी ‘विश्वलाई म्याक डोनाल्ड र डिज्नेजस्तै खुसी, सुखी र रमाइलो बनाउने’ नारा दिएर चर्चामा आएका थिए । फ्रान्सका पूर्वराष्ट्रपति सार्कोजीले आफूपछाडि मजदुरहरूको ‘मानव वालपेपर’ राखेर भाषण गर्थे ।यसो गर्नुको अर्थ मजदुरहरूको प्रिय नेताका रूपमा ‘ब्रान्डिङ’ गर्नु थियो ।

संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति जर्ज डब्लु बुस यसमा बढी नै रुचि राख्नेमा पर्थे । इराक युद्धपछि उनले आफूलाई आतंकवादविरुद्धको सफल योद्धाका रूपमा प्रचार गरेका थिए । उनले सैनिक पोसाकमा हेल्मेट हातमा लिएर फाइटरजेट अब्राहम लिंकनबाट ओर्लिंदै इराकसँगको युद्ध जितेको घोषणा गरिरहेको फोटो व्यापक प्रचार गरिएको थियो ।पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामाको ‘ब्रान्डिङ’ शैली निकै फरक थियो ।आफूलाई चामत्कारिक नेताकारूपमा देखाउन उनले आफ्नै नामको ‘ओ’ अक्षरको आधा भाग रातो र आधा भाग नीलो बनाएका थिए । रिपब्लिकनबहुल ‘रेड स्टेट’ र डेमोक्राट्सको प्रभाव क्षेत्रलाई ‘ब्लु स्टेट’ भन्ने गरिएकाले ओबामा यी दुवैको साझा नेता भएको देखाउन यो ‘ब्रान्डिङ’ गरिएको थियो ।

नेताहरू र राजनीतिक दलबाहेक सहर, संगठन र शासन प्रक्रियालाई समेत ‘ब्रान्डिङ’ गर्ने लहर चलेको देखिन्छ । न्युयोर्क सहरको नकारात्मक छविलाई सुधार गर्न ‘आई लभ न्युयोर्क’ को नारासहित ‘ब्रान्डिङ’ गरिएको धेरै पहिलेदेखि हो । स्कटल्यान्डको ग्लास्गो सहरलाई ‘ग्लास्गो–स्कटल्यान्ड विथ स्टाइल’ को नारामा र हङकङलाई ‘एसियाज वल्र्ड सिटी’ का नाममा ‘ब्रान्डिङ’ गरेर पर्यटक र लगानीको आकर्षण बढाउन खोजिएको देखिन्छ । संगठनको पनि ‘ब्रान्ड’ वनाउन थालिएको उदाहरण डच ट्याक्स अफिसलाई लिन सकिन्छ । यस संगठनले ‘हामी अझ बढी आनन्दित त बनाउन सक्दैनौं, तर यसलाई सरल बनाउन सक्छौ’ भन्ने मन छुने नारा दिएको थियो ।

‘काउन्टर ब्रान्डिङ’ को जोखिम

‘ब्रान्डिङ’ले प्राय: अवास्तविक विशेषता र गुणहरूको प्रदर्शन गरेरजनतामा प्रायोजित सन्देश सञ्चार गर्न खोज्छ । व्यक्ति वा नेताविशेषको असाधारण चित्र प्रस्तुत गरेर जनतालाई उल्लु बनाउन खोजिने भएकाले ‘ब्रान्ड’ भन्नु नै वास्तविकताको विकृत रूप हो भनिन्छ । यसको सकारात्मकभन्दा नकारात्मक प्रभाव बढी परेका उदाहरणहरू देखिन्छन् । जनताले नयाँ सृजना गरिएको ‘ब्रान्ड’ को ऐनाबाटभन्दा अहिलेको वास्तविक छविमा हेर्ने गर्छन् । यदि सकारात्मक प्रभाव पार्न सकियो भने पनि यो अति क्षणिक र अस्थायी हुने गर्छ । त्यसैले लिस–मार्समेन्टले भनेका छन्, ‘ब्रान्डले दिएको सन्देश वा गरेको वाचाअनुरूप काम नभएको आभास जनतालाई भयो भने यसप्रतिको विश्वास घट्न गई महत्त्व पनि कम हुन्छ ।’ यो औजार सफल र अर्थपूर्ण तब हुन्छ जब यसले शासन प्रक्रियामा साँच्चैको ठोस नतिजा देखाउँछ ।त्यसैले ‘ब्रान्डिङ’ ले जनधारणामा सकारात्मक परिवर्तन कमै ल्याएको देखिन्छ । यसको विपरीत ‘ब्रान्ड’ ले ‘इनकोड’ गरेको कुरा जनताले फरकरूपमा ‘डिकोड’ गर्ने सम्भावना बढी हुन्छ ।

जर्ज डब्लु बुसको ‘ब्रान्ड’ गरिएको चित्रलाई सञ्चार माध्यममा बाँदरका रूपमा देखाइयो । भारतमा ‘इन्दिरा इज इन्डिया’ भनिएकी इन्दिरा गान्धी त्यसपछिको संसदीय निर्वाचनमा आफू मात्रै हारिनन्, उनको दल पनि पराजित भयो । टोनी ब्लेयरको ‘ब्रान्डिङ’ रणनीतिलाई सञ्चार माध्यमहरूले यसरी विरोध गरे कि, उनले पछि त्यहाँको प्रख्यात पत्रिका ‘द सन’ सँग एक किसिमको सम्झौतै गर्नुपरेको थियो । यस्तो किन हुन्छ भने, ‘ब्रान्ड’ ले न यसको निर्माण चरणमा जनतालाई संलग्न नत सूचित नै गर्छ, बरु गलत सन्देश दिएर जनताको भावना र संवेगमाथि खेलबाड गर्न खोज्छ । त्यसैले यसका आलोचकहरू नाओमी क्लाइन र मेरी डगलसले ‘ब्रान्डिङ’ लाई अति षड्यन्त्रात्मक औजार भनेका छन् । अर्को तर्क के छ भने, यो निजी क्षेत्रबाट आएको हो, तर सरकार त व्यापार होइन; त्यसैले राजनीतिमा यसको प्रयोग प्रत्युत्पादक हुने गर्छ ।

नेपालमा ‘ब्रान्डिङ’को लहड

नेपालका नेताहरूमा ‘सेलेब्रिटी’ हुने रहर बढी नै देखिँदैछ । त्यसैले त भित्तादेखि पानीका बोतलसम्ममा आफ्ना फोटो राख्ने लहड जाग्दैछ ।नेपाली जनताले अहिलेका सबै नेताको क्षमता र काम देखेकै छन् । नेताहरूमा नवीन सोच हुनुपर्छ जसबाट उनीहरूले अरूलाई सतत विकासतर्फ डोर्‍याउन सकून् । केनेडी, चर्चिल, गान्धीमा यस्तै सोच थियो जसले गर्दा उनीहरूले लाखौं अनुयायी बनाउन सके । हाम्रा नेताहरूमा यस्तो सोच र करिश्मा देखिएको छैन जसले नेपालीहरूको साँच्चै मनमस्तिष्क जित्न सकोस् । यी नेताहरू त आफ्नै दलभित्र पनि एउटा गुटकोमात्र नेता बन्न सकेका छन् । यहाँ संयुक्त राज्य अमेरिकाका संविधाननिर्माताहरूले कार्यकारी प्रमुख (चिफ मजिस्ट्रेट) मा कस्तालाई पुर्‍याउनु हुँदैन भन्नेबारेदिएको सुझाव मननीय छ ।म्याडिसनले अक्षमता, लापरबाही र विश्वासघातको जोखिमबारे सचेत गराएका थिए । इलब्रिज गेरीले ‘भ्रष्ट,षड्यन्त्रकारी, अयोग्य, उत्तेजक व्यक्तिलाई सार्वजनिक पदबाहिर राख्नुपर्छ’ भनेका थिए । जनताले नेतालाई हेर्ने आधारहरूयिनै हुन् । हामी भाग्यमानी भए कल्पनाशील, पूरै देशलाई विकासपथमा डोर्‍याउने नेता पाउने थियौं । नेपालीहरू अभागी छौं र गेरीले भनेजस्तै अयोग्य नेताहरूबाट शासित हुन बाध्य छौं ।जनताको मन जित्न नसकेपछि उनीहरूलाई अन्योलमा राख्न सक्नुपर्छ भन्ने सूत्रमा नेताहरूले काम गर्न थालेका छन् ।

त्यसैले पोस्टरजस्ता अनेकमाध्यमबाटआफूलाई ‘ब्रान्डिङ’ गर्न खोज्दैछन् ।हाम्रा एकथरी नेता ‘युफोरिया’ अर्थात् उन्मादमा जथाभावी बोल्ने छन् ।अर्काथरी नहुने बोल्ने र जनतालाई धोका दिने छन् । हाम्रो आशामाथि धोका दिने अनि ठूला कुरा गर्ने नेताहरू कसरी ‘सेलेब्रिटी’ हुन सक्छन्† असम्भव सपना बाँड्ने यी नेताहरूको ‘ब्रान्डिङ’ लाई जनताले हाँसोका रूपमा लिने गरेका छन् । होइन भने आफूले सरकारको नेतृत्व गर्दा आफ्नै वाचाहरू किन पूरा गर्न नसकेको? भान्सामा सिलिन्डर होइन, अब पाइपबाट ग्यास आउँछ, छ महिनापछिको रेलको टिकट बुक गरे हुन्छ, पानीजहाज हाम्रै कार्यकालमा आउँछ आदि वाचा खोइ त पूरा भएको? नेपालीहरूको दोस्रो जनआन्दोलनको उर्लंदो आकांक्षा बिस्तारै निराशाको मौन क्रान्तिमा बदलिँदैछ । चोकचौतारीदेखि हरेक जमघटमा नेताहरूबारे नकारात्मक कुरा मात्र सुन्न पाइन्छ । सरकार निकम्मा छ, विपक्षी दलहरू गैरजिम्मेवार छन् र नागरिक समाज ‘डोनर्स डार्लिङ’ हुँदैछ भने जनताले कसको भर पर्ने? यस्तो अवस्थामा चरम निराशालाई हटाउन जनताको मन जित्ने कामहरू गरेमा जनताले उच्चसम्मान दिनेछन्, यसका लागि ‘ब्रान्डिङ’ को सहारा लिनैपर्दैन । अन्यथा यो एउटा प्रहसनको विषय मात्र बन्ने निश्चित छ ।

प्रकाशित : कार्तिक १२, २०७८ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?