चुलीदेखि चुलोसम्म

केदार कार्की

हरितगृह ग्यासले गर्दा औसत तापमानमा बढोत्तरी भइरहेको छ । यो जलवायु परिवर्तनको मुख्य कारण हो । अनि यसको प्रत्यक्ष असर मानव स्वास्थ्यमा पर्नेछ । विश्व स्वास्थ्य संगठनअनुसार तापमान वृद्धिका कारण श्वास तथा हृदयसम्बन्धी रोगमा वृद्धि हुनेछ । रोगवाहकहरूको विस्तारमा तापमान एवं वर्षाको महत्त्वपूर्ण भूमिका हुन्छ ।

चुलीदेखि चुलोसम्म

दक्षिण अमेरिका, अफ्रिका तथा दक्षिणपूर्व एसियामा लामखुट्टेहरूबाट लाग्ने रोगहरूको प्रकोपमा बढोत्तरीका कारण मृत्युदरमा पनि वृद्धि हुनेछ । लामखुट्टेजनित रोगहरूको विस्तार उत्तरी अमेरिका तथा युरोपका चिसो देशहरूमा पनि हुनेछ । विश्व स्वास्थ्य संगठनको यस्तो आकलन हाम्रो परिवेशमा अहिल्यै मिलिसक्यो । विगतमा तराईमा बढी देखिने डेंगु, मलेरिया अचेल पहाडी, मध्यपहाडी तथा हिमाली क्षेत्रमा पनि देखिन थाल्नुले यसलाई पुष्टि गर्छ ।

जलवायु परिवर्तनको प्रभावले ठूलो जनसंख्या विस्थापित हुनेछ, जसलाई पर्यावरणीय शरणार्थी भनिनेछ । यसैका कारण रोगाणुहरूमा बढोत्तरीका साथै यिनका नयाँ प्रजातिहरू विकसित हुनेछन्, परिणामस्वरूप बालीनालीको उत्पादकतामा विपरीत प्रभाव पर्नेछ । कीरा–फट्याङ्ग्रा, नाशी जीवहरू तथा रोगाणुहरूबाट सुरक्षाका लागि जीवनाशकहरूको उपयोग मात्रामा बढोत्तरी हुनेछ, जसले वातावरण प्रदूषित हुनेछ साथै मानवीय स्वास्थ्यमा पनि प्रतिकूल प्रभाव पर्नेछ ।

जलवायु परिवर्तनको परिणामस्वरूप मनसुनी क्षेत्रहरूमा वर्षामा वृद्धि हुनेछ, जसले बाढी, भूस्खलनजस्ता समस्या पैदा हुनेछन् । पानीको गुणस्तरमा गिरावट आउनेछ । जलवायु परिवर्तनले जलस्रोतहरूको वितरणमा पनि प्रभाव पर्नेछ । उच्च अक्षांश भएका देशहरूमा तथा दक्षिणपूर्व एसियाका जलस्रोतहरूमा पानीको अधिकता हुनेछ, मध्यएसियामा भने कमी । ध्रुवीय हिउँ पग्लिनाले विश्वको औसत समुद्री जलस्तर एक्काइसौं शताब्दीको अन्त्यसम्म ९ देखि ८८ सेमिसम्म बढ्ने सम्भावना छ, जसबाट समुद्र्रबाट ६० किमिको दूरीमा अवस्थित जनसंख्याको दैनिकी कठिन हुनेछ । विश्वका अनेक ससाना द्वीप तथा समुद्रछेउका देशहरूको अस्तित्व नै समाप्त हुनेछ ।

जलवायु परिवर्तनले कृषि उत्पादनलाई पनि असर गर्नेछ । संयुक्त राज्य अमेरिकामा बालीनालीहरूको उत्पादकत्वमा कमी आउनेछ, अर्कातिर उत्तरी र पूर्वी अफ्रिकाका देशहरूमा गर्मी तथा चिस्यानले गर्दा बालीनालीको उत्पादकतामा बढोत्तरी हुनेछ ।

वातावरणमा ज्यादा ऊर्जाको संलग्नताले वैश्विक वायु पद्धतिमा पनि परिवर्तन हुनेछ । परिणामस्वरूप वर्षा असमान हुनेछ । भविष्यमा मरुभूमिहरूमा बढी वर्षा हुनेछ, यसको विपरीत पारम्परिक कृषि हुने क्षेत्रहरूमा कम वर्षा । यस किसिमको परिवर्तनले ठूलो मात्रामा मानवीय बसाइँसराइलाई प्रोत्साहित गर्नेछ जसले मानव समाजको आर्थिक तथा राजनीतिक ढाँचालाई प्रभावित गर्नेछ ।

बाढी, खडेरी तथा आँधीजस्ता प्राकृतिक आपत्हरूको वृद्धिका कारण अन्न उत्पादनमा गिरावट आउनेछ । र, यो भोकमरी र कुपोषणको कारण बन्नेछ, जसबाट स्वास्थ्यमा दीर्घकालीन प्रभाव पर्नेछ । खाद्यान्न र पानीको कमीबाट प्रभावित क्षेत्रहरूमा समुदायहरूबीच द्वन्द्व हुनेछ । जलवायु परिवर्तनको प्रभाव जैविक विविधतामा पर्नेछ । कुनै पनि प्रजातिको अनुकूलनका लागि समयको आवश्यकता पर्छ । वातावरणमा आकस्मिक परिवर्तनले अनुकूलनको अभावमा विभिन्न प्रजातिको नाश हुनेछ । जलवायु परिवर्तनको सर्वाधिक प्रभाव समुद्रका तटीय क्षेत्रहरूमा पाइने दलदल क्षेत्रका वनस्पतिहरूमा पर्नेछ, जसले तटलाई स्थिरता प्रदान गर्नुका साथसाथै समुद्री जीवहरूलाई प्रजननका लागि स्थान पनि उपलब्ध गराउँछ । यसले तटीय क्षेत्रहरूलाई समुद्री तुफानबाट बचाउँछ पनि ।

अब पनि जलवायु परिवर्तनलाई कसरी कम गर्ने भन्नेबारे बेलैमा सोचिएन भने भोलिका दिनमा पृथ्वीका सबै प्राणीको जीवन मुस्किल हुन्छ । त्यसैले यसलाई कम गर्न हामीले आफ्नोतर्फबाट सक्दो काम गर्नुपर्छ । सरकारले पनि देशैभरि वातावरण जोगाउने कार्यक्रमहरू युद्धस्तरमा सञ्चालन गर्नुपर्छ । जलवायु परिवर्तनमा ‘धनी र औद्योगिक मुलुकहरूको मात्र योगदान छ, हाम्रो छैन’ भनेर सरकार चुपचाप बस्नु हुन्न । यसको प्रभाव न्यूनीकरणका उपायहरूमा अहिलेदेखि नै नलाग्ने हो भने हाम्रो आर्थिक हैसियतले यसबाट पर्न सक्ने खाद्यान्न र पानीको संकटबाट बचाउन सक्दैन ।

प्रकाशित : कार्तिक ११, २०७८ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?