१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

कतिन्जेल बनिरहने सुतुरमुर्ग ?

अर्बौं मूल्यको देशको स्वच्छ हरित ऊर्जा खेर फालेर खर्बौंको पेट्रोलियम आयात गर्ने पागलपनबाट नेपाल मुक्त हुनुपर्छ । खाना पकाउने चुलोदेखि यातायातका साधनसम्मलाई विद्युतीय बनाउन हामीले युद्धस्तरमा काम गर्नुपर्छ ।

एउटा चर्चित उखान छ— सुतुरमुर्गले झैं बालुवामा टाउको लुकाउनु । अर्थात्, कुनै विपत्ति आइलाग्दा त्योसित जुध्नुको सट्टा देखेको नदेख्यै गरेर टार्न खोज्नु । यथार्थमा कुनै पनि चराले त्यसरी सिकारी देखेपछि बालुवामा टाउको लुकाएर बस्दैन । तर चरालाई त्यसरी खिसीटिउरी गर्ने मानिस जाति अहिले आफैं बालुवामा टाउको लुकाएर बसिराखेको छ । त्यसो गर्दा आसन्न जलवायु संकट त टर्नेछैन नै, वायु प्रदूषणजस्ता तत्कालका समस्याका कारण ठूलो संख्यामा मानिसहरू निसासिएर मरिहाल्ने अवस्था छ, जसरी बालुवामा टाउको धस्ने काल्पनिक चरा निसासिने गर्छ ।

कतिन्जेल बनिरहने सुतुरमुर्ग ?

अर्को साताको सुरुआतदेखि स्कटल्यान्डको ग्लास्गोमा कोप–२६ भनिने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघको बृहत् सम्मेलन हुँदै छ । यसअगाडि सन् २०१५ को पेरिस जलवायु सहमतिका बेला जुटेका झन्डै दुई सय देशका प्रतिनिधिहरूले यसपल्ट पनि भेला भएर जलवायु परिवर्तनको गति कम गर्ने र संकट रोक्ने प्रयोजनका लागि विभिन्न प्रस्ताव पेस गरेर छलफल गर्नेछन् । त्यसको निचोड यसै होला भन्न गाह्रो छ, तर धेरै कार्बन उत्सर्जन गर्ने देशका सरकारहरूको रवैया हेर्दा एउटा कुरा निश्चित छ— कागजमा जे लेखिए पनि व्यवहारमा कार्बन उत्सर्जन व्यापक कटौती हुने र भयावह जलवायु संकट रोकिने निश्चित छैन ।

परिणाम, पृथ्वीमा वातावरणको तापमान निरन्तर बढेर पेरिस सहमतिले तोकेको २ डिग्री सेन्टिग्रेडभन्दा निकै धेरैले वृद्धि हुनेछ । अहिले नै देखा परिसकेका जलवायु संकटजन्य विपत्तिहरू झन् धेरै र झन् विध्वंसकारी हुनेछन् । हिमाल र ध्रुवहरूको हिउँ निख्रिँदै जानेछ अनि समुद्रतटका सहरहरू पानीमुनि धसिँदै जानेछन् । इतिहासमै ठूलो संख्यामा मानिसहरू थातथलोबाट विस्थापित हुनेछन् । यसै द्वन्द्वग्रस्त विश्वमा नयाँ द्वन्द्वका शृंखला आउनेछन् । मानव अधिकार र विधिको शासनमा ठूलो धक्का लाग्नेछ । मानिसहरूको खाद्य सुरक्षामा गम्भीर आँच आउनेछ । दशकौंदेखि ओरालो लागेको भोकमरीको ग्राफ उकालो लाग्नेछ । कुपोषण फेरि व्यापक हुनेछ । उच्च तापक्रममा हुने रोगदेखि महामारीहरूले विकराल रूप लिनेछन् । अरू प्रजातिको लोप हुने अहिलेकै डरलाग्दो दर झनै आकासिएर जैविक विविधतामा अभूतपूर्व ह्रास आउनेछ । पृथ्वी बिस्तारै हरियो–भरिलो जीवनदायी ग्रहबाट अन्य ग्रहजस्तै अनुर्वर स्थल बन्नेछ । र, मानव सभ्यता लोप हुने संघारमा पुग्नेछ ।

बेलायती भौतिकशास्त्री ब्रायन कक्सले हालै यो भावनालाई एउटा वाक्यमा उतारेका थिए— यदि (जलवायु संकटका कारण) पृथ्वी मर्ने हो भने सिंगो आकाशगंगा अर्थहीन बन्नेछ । अर्थात्, यहाँबाट मानव सभ्यता र उन्नत किसिमको जीवन नास भयो भने तारा र ग्रहहरू त रहनेछन् तर तिनबारे मनन, मन्थन र अन्वेषण गर्नेÙ तिनको अर्थ खोज्ने चेतनशील प्रजाति बाँकी रहनेछैन ।

जलवायु परिवर्तनबारे विज्ञानले यस खाले चेतावनी दिन थालेको दशकौं भइसक्यो । अब त जलवायु संकटजन्य विपत्तिहरूले नछुने देशहरू पाउन कठिन भइसक्यो । बाढीपहिरोदेखि खडेरीसम्म, भीषण आगलागी र आँधीदेखि शीतलहर र लुसम्म अनि अन्न उत्पादनमा ह्रासदेखि नयाँ रोग–कीराको प्रकोपसम्मले संसारका हरेकजसो समाजलाई प्रभावित गरेका छन् । तर पनि मूलतः सबैजसो सरकारहरूको जलवायु नीति अहिले पनि पिलोमाथि पट्टी लगाउनेजस्तो छ । पृथ्वीलाई तताउने कार्बन डाइअक्साइड, मिथेन, नाइट्रस अक्साइड र हाइड्रोफ्लोरोकार्बनजस्ता ग्यास उत्सर्जनमा कटौती गर्ने काममा पेरिस सहमतिपछि समेत खासै प्रगति भएको छैन । सफा र हरित ऊर्जा विकासमा उल्लेख्य प्रगति भएर सौर्य र वायु ऊर्जाको मूल्य घट्दै गए पनि अझै विश्वव्यापी रूपमा झन्डै ८५ प्रतिशत ऊर्जाको स्रोत कार्बन उत्सर्जन गर्ने खनिज तेल, ग्यास वा कोइला छन् । परिणाम, हरित ऊर्जातिर संक्रमणको कुरा गर्दागर्दै वायुमण्डल डरलाग्दो गरी तातिसकेको छ ।

यो अवस्थामा नागरिकका रूपमा हामीसित दुई विकल्प छन् । एक, सरकारहरूको नालायकी र निकम्मापनको रमिते भएर भयावह विपत्तिहरूको प्रतीक्षा गर्ने । दुई, आआफ्ना ठाउँबाट यथास्थिति बदल्न यस्तो आवाज उठाउने जुन सुनेर व्यवहार परिवर्तन गर्न सरकारहरूसमेत बाध्य होऊन् र धेरै ढिला नहुँदै कार्बन उत्सर्जनमा अर्थपूर्ण कटौती गर्न सकियोस् । विश्वस्तरमा हेर्दा प्रतिव्यक्ति वा समग्र कार्बन उत्सर्जनका हिसाबले पनि नेपाल धेरै पछाडि छ । हामीले नेपालमा मात्र कार्बन उत्सर्जन कटौती गर्दैमा त्यसले वायुमण्डल तात्नबाट रोक्न पनि सक्नेछैन । तर पाँच कारणले नेपालमा जलवायु परिवर्तनको एजेन्डा केन्द्रमा आउनु र हामी त्यसलाई लिएर आन्दोलित हुनु जरुरी छ ।

एक, अहिले पृथ्वीमा यस्तो आगलागीजस्तो अवस्था छ जहाँ दमकलदेखि गाग्रीसम्म हरेक आकारको भाँडाबाट पानी खन्याउनु जरुरी छ । दुई, नेपाल कार्बन उत्सर्जनमा जति पछाडि छ, जलवायु संकटका विपत्तिहरूबाट उति धेरै जोखिममा छ । हाम्रो अन्न उत्पादनदेखि जलविद्युत् र पर्यटनसम्म जलवायु परिवर्तनजन्य विपत्तिहरूको प्रत्यक्ष जोखिममा छन् । त्यसैले जलवायु संकट मत्थर पार्न हामीले हरसम्भव काम गर्नुपर्छ । तीन, कार्बन उत्सर्जन कम गरे मात्रै हामी यस विषयको अन्तर्राष्ट्रिय रस्साकस्सीमा आफू नैतिक रूपमा माथि उभिन सक्छौं । अनि अरू देशसितको जलवायु कूटनीतिमा हाम्रो हात माथि पर्छ । चार, कार्बन उत्सर्जन कटौतीका लागि गरिने ऊर्जा संक्रमण हाम्रा लागि चुनौती मात्रै नभई आर्थिक विकासको अवसरसमेत हो । जलविद्युत्को अपार सम्भावना बोकेको नेपालमा हरित ऊर्जातिरको संक्रमण अरू धेरै देशमा भन्दा निकै सहज पनि छ । पाँच, खनिज ऊर्जाको खपत कम गरेर हरित ऊर्जाको प्रयोग व्यापक बनाउनु भनेको वायु प्रदूषणजस्ता प्राणघातक स्वास्थ्य समस्याबाट राहत पाउने एउटा मात्रै प्रभावकारी उपाय हो ।

त्यसैले नेपालका लागि जलवायु परिवर्तनको मुद्दा केन्द्रीय महत्त्वको विषय हुनुपर्छ । हामीले संयुक्त राष्ट्रसंघको पछिल्लो महासभामा योलगायत द्वन्द्वको अन्त, सबैलाई कोभिड भ्याक्सिनको पहुँचलगायत शिक्षा र स्वास्थ्य क्षेत्रका एजेन्डाहरूसमेत राखेर राष्ट्रसंघको मुख्यालयअगाडि प्रदर्शन गरेका थियौं । अब भने नेपालको नागरिक समाज जागेर अन्य विषयजस्तै यसलाई पनि हरेक तहमा प्राथमिकतासहित उठाउनु जरुरी छ । अहिलेको सरकारले नेपालको मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्र सुधारसम्बन्धी हामीसित भएको समझदारी अहिलेसम्म कार्यान्वयन नगरेको हुँदा हामीले त्यस विषयमा निरन्तर खबरदारी गरिरहेका छौं । अब भने जलवायु संकटको मुद्दामा पनि सरकारलाई जवाफदेह बनाउनैपर्ने समय आएको छ ।

प्रधानमन्त्री देउवा संयुक्त राष्ट्रसंघको ग्लास्गो बैठकका लागि जाने भन्ने समाचारहरू अहिले आइरहेका छन् । तर त्यो यात्रा आसेपासेहरूलाई स्कटल्यान्ड घुमाउने मौका मात्रै नबनोस् तथा बैठकमा नेपालले बलियोसित आफ्ना सरोकारहरू राखेर आफैं पनि कार्बन उत्सर्जन कटौतीका लागि हरसम्भव उपाय अपनाओस् भन्ने सुनिश्चित गर्न नागरिक खबरदारी अपरिहार्य छ । त्यो कामको नेतृत्व स्वभावतः विभिन्न तहका सरकारहरूले गर्नुपर्छ तर हामी नागरिक निष्क्रिय रहने हो भने कुनै पनि काम हुनेछैन । त्यसैले जिम्मेवार नागरिकका रूपमा हामी वातावरण जोगाउने अभियानमा विधिवत् लाग्नु आवश्यक छ ।

कम्तीमा नेपालका हकमा जलवायु संकट मत्थर पार्न गर्नुपर्ने कामहरूबारे कुनै द्विविधा छैन । पहिलो, अहिलेको जस्तो अर्बौं मूल्यको देशको स्वच्छ हरित ऊर्जा खेर फालेर खर्बौंको पेट्रोलियम आयात गर्ने पागलपनबाट नेपाल मुक्त हुनुपर्छ । खाना पकाउने चुलोदेखि यातायातका साधनसम्मलाई विद्युतीय बनाउन हामीले युद्धस्तरमा काम गर्नुपर्छ । त्यसका लागि सरकारले नीतिगत काम गर्नुपर्छ भने हामीले हाम्रा व्यवहार परिवर्तन गर्नुपर्छ ।

पेट्रोलियम कार, स्कुटर र मोटरसाइकललाई विस्थापित गर्दै भरपर्दो सार्वजनिक यातायात, साइकल र विद्युतीय साधनहरूको प्रयोग व्यापक बनाउने हो भने त्यसबाट कार्बन उत्सर्जन मात्रै कम हुँदैन, प्रदूषण र ट्राफिक जाम कम भएर हाम्रा सहरहरू बस्न र सास फेर्न योग्य बन्छन् अनि देशको व्यापार घाटा खर्बौंले कम हुन सक्छ । त्यसका लागि सरकारले विद्युत्को महसुल घटाउनेदेखि चार्जिङ स्टेसनहरूको नेटवर्क बनाउनेजस्ता काम गर्नुपर्ने हुन्छ । नीतिगत रूपमा विद्युतीय साधनहरूमा कर छुटदेखि मिनाहासम्म गर्नु आवश्यक हुन्छ ।

दोस्रो, नेपालको वनक्षेत्रको संरक्षण र विस्तारले हाम्रो खुद कार्बन उत्सर्जन कम मात्रै गर्दैन, अमूल्य जैविक विविधताको समेत संरक्षण गर्छ । साथै विश्वव्यापी कार्बन व्यापारअन्तर्गत जंगलमा सञ्चित कार्बनको ‘कार्बन क्रेडिट’ बेचेर नेपालले ठूलो आर्थिक लाभ हासिल गर्न सक्छ । त्यसका लागि निजगढमा जंगल मासेर सहर बसाउनेजस्ता उडन्ते र आत्मघाती परियोजनाहरू तत्काल रद्द गर्नुपर्छ । रूख काटेर चुनाव खर्च उठाउने अनि त्यसैलाई विकास भन्ने अवस्थाको अन्त हुनुपर्छ ।

तेस्रो, पेट्रोलियमबाट बन्ने अनि सयौं वर्षसम्म पृथ्वीको जल, जमिन र वायु प्रदूषित गर्ने प्लास्टिकको प्रयोगमा भारी कटौती गर्नु आवश्यक छ । त्यसका लागि जैविक विकल्प खोजेर एकपल्ट मात्र प्रयोग हुने प्लास्टिकको झोला निषेध गर्नु अनिवार्य भइसकेको छ । करको दर दसौं गुणा बढाई महँगो बनाइदिएर पनि मानिसहरूलाई प्लास्टिक प्रयोगबाट निरुत्साहित गर्न सकिन्छ । प्लास्टिक प्रयोग कम हुनासाथ भयावह भइसकेको नेपालका नदीहरूको प्रदूषणलगायत धेरै वातावरणीय समस्याहरू स्वतः कम हुनेछन् । साथै सबैखाले प्लास्टिकबाट निस्कने माइक्रोप्लास्टिकका कारण हुने क्यान्सरलगायतका स्वास्थ्य समस्याहरू कम भएर जानेछन् ।

चौथो र सबैभन्दा महत्त्वपूर्ण, पृथ्वीलाई हाम्रो असीमित दोहनका लागि बनेको वस्तुका रूपमा हेर्ने हाम्रो नजर बदलिनुपर्छ । असीमित उपभोगको लालसाका कारण सिंगो मानव सभ्यता संकटमा परेको यथार्थलाई मनन गर्दै हामीले फेरि यो चराचरलाई प्रेम गर्न सिक्नु अनिवार्य छ । त्यसका लागि हाम्रा भड्किला जीवनशैलीहरू परिवर्तन हुनु अनिवार्य छ । त्यसो भएमा मात्र हामीले अहिले बालुवामा गाडिराखेको टाउको बाहिर निकालेर चारैतिर हेर्न, मनन गर्न र उपयुक्त कदम चाल्न सक्नेछौं ।

प्रकाशित : कार्तिक ११, २०७८ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?