कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

खुसी हुन कति पैसा चाहिन्छ ?

जीवनलाई सहज रूपमा चलाउन यति नै पैसा चाहिन्छ भन्ने ठोकुवा गर्न गाह्रो भए पनि आम्दानीको कति प्रतिशत केमा खर्च गर्ने भन्नेबारे ‘५०–३०–२० नियम’ छ । यसअनुसार आम्दानीको आधा आवश्यकताका वस्तुमा, २० प्रतिशत बचत/लगानीमा र बाँकी ३० प्रतिशत रमाइलोलगायतमा खर्च गर्नुपर्छ । 
मैना धिताल

संसारमा दुःख गर्न नखोज्नेहरू असंख्य होलान् । तर, पैसा कमाउन नचाहनेहरू भने विरलै भेटिएलान् । नेपाली मात्रै हैन, संसारभरि नै मानिस पैसाकै लागि धर्तीका कुनाकाप्चा पुगेका छन् । यसो हेर्दा लाग्छ, पैसा बढ्नु भनेको मान्छेको खुसी बढ्नु हो । तर के आम्दानी बढ्दै जाँदा खुसीको मात्रा पनि बढ्दै जान्छ ? अझ भनूँ, कति पैसा भयो भने मान्छे खुसी होला ? 

खुसी हुन कति पैसा चाहिन्छ ?

सन् ७० को दशकयता पैसा र खुसीबीचको सम्बन्धबारे भएका अध्ययनहरूले मानिसलाई बढ्दो आयले केही खुसी बनाए पनि त्यो एउटा तहमा पुगेपछि घट्दै जाने देखाएका छन् । प्रिन्स्टन युनिभर्सिटीका, नोबेल पुरस्कार विजेता एंगस डिटन र ड्यानियल क्यानेमनले सन् २०१० मा गरेको अध्ययनले वार्षिक ७५ हजार डलर आयमै व्यक्तिमा खुसीको तह उच्चतम बिन्दुमा पुग्ने देखाएको थियो । त्योभन्दा बढी आम्दानी हुनेको खुसी आम्दानीको अनुपातमा नबढ्ने उक्त अध्ययनका क्रममा पाइयो ।

यस्तै, पर्डु युनिभर्सिटीका एन्ड्र्यु जेब र उनको समूहले सन् २०१८ मा गरेको अर्को अध्ययनले खुसी हुनका लागि संसारमा एक व्यक्तिलाई वार्षिक ९५ हजार अमेरिकी डलरको आम्दानीलाई आदर्श मानिएको छ । यो रकम संसारभरि फरक–फरक छ । जस्तो कि, उत्तर अमेरिकामा १ लाख ५ हजार डलर र पश्चिम युरोपका लागि १ लाख डलर छ । यस्तै, क्यारेबियन मुलुकका लागि वार्षिक ३५ हजार डलरलाई आदर्श आय मानिएको छ । उक्त अध्ययनले दक्षिण एसियालाई नसमेटे पनि नेपालजस्ता मुलुकको आम्दानीस्तरलाई अफ्रिकी मुलुकसँग दाँज्न सकिन्छ । अध्ययनले अफ्रिकी मुलुकमा वार्षिक प्रतिव्यक्ति आम्दानी ४० हजार डलर हुँदा खुसीको तह अधिकतम हुने देखाएको छ ।

ग्यालप वर्ल्ड पोलको तथ्यांकमा आधारित भएर १६४ देशका १७ लाख मानिसबीच उक्त अध्ययन गरिएको थियो । क्रयशक्ति, जीवन सन्तुष्टि र स्वास्थ्यस्थितिसम्बन्धी प्रश्नका आधारमा तथ्यांक निकालिएको थियो । उक्त अध्ययनले भावनात्मक रूपमा स्वस्थ रहन ६० हजारदेखि ७५ हजार डलरसम्मको आम्दानीलाई आदर्श मानेको छ । १ लाख ५ हजार डलरभन्दा माथिको आम्दानी गर्ने व्यक्तिमा भने पैसा बढेको अनुपातमा खुसीको मात्रा घटेको अध्ययनले देखाएको छ ।

नर्डिक देशहरू किन बढी खुसी ?

सन् २०१२ यता खुसीको मापन गर्दै वार्षिक रूपमा ‘वर्ल्ड ह्याप्पिनेस रिपोर्ट’ (डब्लूएचआर) पनि सार्वजनिक हुँदै आएको छ । यो सूचकांकले कुल गार्हस्थ्य उत्पादन (जीडीपी), औसत आयु, उदारता, सामाजिक सहयोग, स्वतन्त्रता र भ्रष्टाचारबाट आर्जित आम्दानीलाई मुख्य आधार मान्ने गरेको छ ।

प्रतिवेदन सार्वजनिक भएयता पाँच नर्डिक मुलुक फिनल्यान्ड, डेनमार्क, नर्वे, स्विडेन र आइसल्यान्ड उत्कृष्ट १० भित्र पर्दै आएका छन् । लोकतन्त्रको अवस्था, राजनीतिक अधिकार, भ्रष्टाचार, नागरिकबीचको विश्वास, सुरक्षाको अनुभूति, सामाजिक सद्भाव, लैंगिक समानता, आयको समान वितरण र मानव विकास सूचकांक सबैमा नर्डिक मुलुकहरू अगाडि छन् ।

निःशुल्क स्वास्थ्य सेवा, शिक्षा, न्यून अपराध, बाबुआमाले बच्चाको हेरचाह गर्न पाउने बिदा, वार्षिक भईपरी बिदालगायतका कारण उनीहरू खुसीको माथिल्लो कोटिमा पर्दै आएका हुन् । पेसागत र व्यक्तिगत तथा पारिवारिक जीवनबीचको सन्तुलन (वर्कलाइफ ब्यालेन्स) नै खुसीको मुख्य कारक भएको अध्ययनहरूले देखाएका छन् ।

कम खुसीको श्रेणीमा पर्ने मुलुकमा धेरैजसो कम विकसित देश नै छन् । खासगरी युद्ध, राजनीतिक अस्थिरता र प्राकृतिक प्रकोप भोगेका मुलुक यस्तो श्रेणीमा पर्ने गरेका छन् । सन् २०२१ मा डब्लूएचआरको सबैभन्दा पुछारमा अफगानिस्तान छ । औसत आयु, कुल गार्हस्थ्य उत्पादन अति न्यून भएका आधारमा अफगानिस्तान पुछारमा परेको हो । यस्तै, जिम्बावे, रुवान्डा, बोत्स्वाना, लेसेथो, मालावी, तान्जानिया, बुरुन्डी र हैटी पनि कम खुसी हुने १० मुलुकमा परेका छन् । यो वर्ष उक्त सूचकांकमा नेपाल भने दक्षिण एसियामा खुसी हुने राष्ट्रमध्ये सबैभन्दा अगाडि देखियो । तर, विश्वका अरू देशका तुलनामा नेपाल अझै ८७ औं स्थानमा छ ।

खुसी शब्दलाई पैसासँग दाँज्न नहुने तर्कहरू पनि पर्याप्त छन् । अनुसन्धानकर्ताहरूले हेरेको ‘खुसी’ भनेको व्यक्तिको जिन्दगी जुन प्रकारले अघि बढेको हुन्छ, त्यसमा ऊ कति सन्तुष्ट छ भन्ने हो । डब्लूएचआरका सह–सृजनाकर तथा कोलम्बिया युनिभर्सिटीका प्राध्यापक जेफ स्याक्सले सीएनबीसीसँग भनेका छन्, ‘खुसी भनेको हिजो कसैले कति मुस्कायो वा कति धेरै हाँस्यो भन्ने हैन, आफ्नो जिन्दगीको यात्राका क्रममा उसले कस्तो महसुस गरेको छ भन्ने हो ।’

के अर्बपतिहरू साँच्चिकै खुसी छन् ?

पैसाले खुसी बढाउन सक्ने भए संसारमा अर्बपतिहरूभन्दा बढी खुसी अरू हुन नपर्ने हो । तर अनुसन्धानले त्यसो भन्दैन । बिजनेस इन्साइडरमा ३१ अगस्ट २०१९ मा प्रकाशित लेखमा रफायल बजियग भन्छन्, ‘मैले २१ जना अर्बपतिहरूसँग ६ वर्ष लगाएर अन्तर्वार्ता गर्दा १ प्रतिशत अर्बपति मात्रै आम मान्छेभन्दा खुसी भएको पाएँ ।’ उनले ‘द बिलियन डलर सिक्रेट’ पुस्तकका लागि उनीहरूसँग अन्तर्वार्ता गरेका थिए । पैसाले मान्छेको खुसी हुने क्षमतामा खासै फरक नपारे पनि यसले उसको व्यक्तित्वमा भने निखार ल्याउने उनको अध्ययनको निष्कर्ष छ । ‘खुसी मान्छे धनी हुँदा झन् खुसी हुने र बेखुसी मान्छेहरू धनी हुँदा झन् दयनीय अवस्थामा पुग्छन्,’ उनको अध्ययनले भन्छ । पैसाले मान्छेलाई खुसी दिँदैन । तर, छनोट भने पक्कै दिन्छ । धेरै पैसा हुँदा व्यक्तिसँग धेरै कुरा गर्ने छनोट हुन्छ । यद्यपि, सबै व्यक्तिमा ती छनोटको विकल्पको व्यवस्थापन क्षमता भने हुँदैन ।

धनाढ्यमा पनि पुर्ख्यौली विरासत भएका वा धनीसँग बिहे गरेर अर्बपति भएकाहरूभन्दा आफ्नै बलबुताले धनी भएकाहरू बढी खुसी देखिन्छन् । आफ्ना लागि खर्च गर्नेहरूभन्दा अरूका लागि खर्च गर्नेमा खुसीको मात्रा बढी हुने गरेको अध्ययनहरूले देखाएका छन् । सायद त्यसैले होला, पछिल्लो समय अर्बपतिहरूले समाजसेवाका लागि ठूलो रकम दान गर्न थालेका छन् । एन्ड्र्यु कार्नेगीले जीवनको उत्तरार्द्धमा आफ्नो सम्पत्तिको ठूलो हिस्सा च्यारिटी, फाउन्डेसन र युनिभर्सिटीहरूलाई दान गरे । बिल गेट्स र वारेन बफेटलगायत १ सय ७० जनाभन्दा बढी डलरवाला धनाढ्यले कार्नेगीकै पथ अनुसरण गरिरहेका छन् । फोर्ब्सका अनुसार, अमेरिकामा २५ अर्बपतिहरूले १ सय ४९ अर्ब डलर बराबरको रकम आफ्नो जीवनकालमा दान गरिसकेका छन् ।

बफेटले झन्डै ४३ अर्ब डलर दिइसकेका छन् भने बिल र मेलिन्डा गेट्सले ४३ अर्ब डलर । पछिल्लो समय आफ्नो कमाइको सबै हिस्सा दान दिएर कंगाल बनेका पूर्वअर्बपति हुन्— चक फिनी । फोर्ब्सले १५ सेप्टेम्बर २०२० मा प्रकाशित गरेको लेखअनुसार विगत चार दशकमा उनले ८ अर्ब डलरभन्दा बढी रकम विश्वभरिका च्यारिटी, विश्वविद्यालय र फाउन्डेसनलाई दान गरे ।

अरूसँग तुलना गर्ने प्रवृत्तिले बेखुसी ?

सी चेनको ‘रिलेटिभ डिप्राइभेसन एन्ड इन्डिभ्युजल वेलबिइङ’ अध्ययनले देखाएअनुसार, जब हामी आफ्ना समकालीनसँगको जीवनस्तर दाँज्न थाल्छौं र आफ्नो जीवनस्तर उनीहरूको हाराहारीमा कायम गर्न सक्दैनौं तब असन्तुष्टि बढ्न थाल्छ । निरपेक्ष गरिबीमा उल्लेख्य सुधार आउँदा पनि अरूसँग तुलना गर्ने बानीले मानिसहरू असन्तुष्ट हुन पुग्ने त्यसले औंल्याएको छ ।

पछिल्लो समय फेसबुकलगायतका सामाजिक सञ्जालमा पोस्ट गर्न घुमघाम, लवाइखवाइ र जीवनशैलीसम्बन्धी ‘आकर्षक’ तस्बिरहरूमा हुने प्रतिस्पर्धाले पनि त्यसलाई पुष्टि गर्छ । समुद्र वा सहरका गगनचुम्बी भवनलाई पृष्ठभूमिमा पार्दै खिचिएका तस्बिर होऊन् वा साथीभाइसँगको जमघट । फेसबुकलगायत सामाजिक सञ्जालमा सेयर भएका तस्बिरहरू ईर्ष्या बढाउने कारक पनि बनेका छन् । तर एउटा क्षणमा खिचेका तस्बिरहरूले व्यक्तिको पूरै जीवनको वास्तविकता देखाउन सक्दैनन् । जस्तो कि, विदेशमा दैनिक बाह्र–तेह्र घण्टा ड्युटी गरेर लखतरान परेको कुनै व्यक्तिले एक दिनको छुट्टीमा समुद्रछेउमा मुस्काउँदै फोटो खिच्ला । फोटो हेर्नेलाई लाग्न सक्छ— अहो, फलानोको जीवन त गज्जब छ ! मोज छ !

खर्च गर्न जाने बढ्छ खुसी

युनिभर्सिटी अफ ब्रिटिस कोलम्बियाकी एलिजाबेथ डन, हार्वर्ड युनिभर्सिटीका ड्यानियल गिलबर्ट र युनिभर्सिटी अफ भर्जिनियाका टिमोटी विल्सनको अनुसन्धानले पैसा खर्च गर्ने तरिकाले पनि खुसीको तह निर्धारण गर्ने औंल्याएको छ । उनीहरूले पैसाबाट बढी खुसी हासिल गर्न आठ पक्ष सुझाएका छन्— १. भौतिक वस्तु कम र अनुभव बढी किन्न खर्च गर्ने, २. धेरै महँगो पर्ने थोरै चीजमा मात्रै पैसा खन्याउनुभन्दा ससाना खुसी दिने चीजमा खर्च गर्ने, ३. आफ्ना लागि मात्रै नभई अरूको लाभका लागि पनि खर्च गर्ने, ४. महँगो बिमा र थप वारेन्टी लिन पैसा धेरै खर्च नगर्ने, ५. उपभोगमा ढिलाइ गर्ने, ६. दैनिक जीवनमा आफूले गरेका खरिदले पार्ने असरबारे विचारविमर्श गर्ने, ७. तुलना गरीगरी किनमेल गर्ने प्रवृत्तिबाट जोगिने, ८. खर्च गर्दा अरूको खुसीका लागि बढी ध्यान दिने ।

जीवनलाई सहज रूपमा चलाउन यति नै पैसा चाहिन्छ भन्ने ठोकुवा गर्न गाह्रो भए पनि आम्दानीको कति प्रतिशत केमा खर्च गर्ने भन्नेबारे ‘५०–३०–२० नियम’ छ । सिनेटर एलिजाबेथ वारेनले आफ्नो पुस्तक ‘अल योर वर्थ : दी अल्टिमेट लाइफ प्लान’ मार्फत लोकप्रिय बनाएको यो नियमअनुसार आम्दानीको आधा रकम आवश्यकताका वस्तुमा, २० प्रतिशत बचत तथा लगानीमा र बाँकी ३० प्रतिशत रमाइलोलगायतका चाहना पूरा गर्नमा खर्च गर्नु उपयुक्त हुन्छ ।

राज्यको लगानी

जनताको खुसी बढाउन सरकार र नीतिनिर्माताले पनि ध्यान दिन जरुरी छ । खास गरी जनताको भावनात्मक, शारीरिक, मानसिक र सामाजिक स्वास्थ्यका लागि लगानी हुनुपर्छ । थ्राइभग्लोबलडटकममा ३० मार्च २०१८ मा प्रकाशित केली गिभन्सको लेख अनुसार, संयुक्त राष्ट्रसंघमा १ सय ९३ सरकारमध्ये २२ मुलुकले मात्रै खुसीसम्बन्धी नीति कार्यान्वयनमा ल्याएका छन् । नेपालले पनि यतातिर ध्यान दिन आवश्यक छ ।

खास गरी भ्रष्टाचार न्यूनीकरण, सामाजिक समावेशीकरण, स्वास्थ्य र शिक्षाजस्ता सार्वजनिक सेवामा जनताको पहुँच, कानुनमा समान व्यवहारका लागि सरकारको लगानी केन्द्रित हुनुपर्छ । परिवार र कामबीच सन्तुलन ल्याउन खास गरी काम गर्ने अवधि र समयमा लचकता, पारिवारिक तलबी बिदाजस्ता कुरा पनि यसमा महत्त्वपूर्ण छन् । यसले कर्मचारीमा खुसी बढ्ने मात्रै हैन, उसले गर्ने कामको उत्पादकत्व र प्रतिफल पनि बढाउँछ ।

प्रकाशित : कार्तिक १०, २०७८ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?