‘मिसन जिरो हंगर’ र सप्पा नेपाली- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘मिसन जिरो हंगर’ र सप्पा नेपाली

संरचनाको पीँधमा परेका र राज्यशक्तिबाट सबभन्दा पर रहेका क्षेत्र, वर्ग, समुदाय र लिंगको भोक र बाँच्न पाउने हकको रक्षा गर्न नसक्ने हो भने संविधानका धारा ३६ (खान पाउने हक), ४२ र ४३ (सामाजिक न्याय र सामाजिक सुरक्षा) जस्ता व्यवस्थालाई खारेज गरिदिए हुन्छ ।
सरिता तिवारी

भोक निम्नवित्तीय आम नेपालीजनको साझा रोग हो । हामी नेपालीका दुःख कतिसम्मका छन् भने, सस्तो र अदक्ष श्रम बेच्नै सही, कसै गरी खाडी मुलुकसम्म भए पनि जान सकियो भने कम्तीमा भोकै मर्नुपर्दैन भन्नुपर्ने अवस्था छ ।

त्यता नसके भारतका विभिन्न सहर र देशकै अन्य ठाउँमा पुगेर दिहाडी–बनिहारीसम्म गर्न सके परिवार पालिन्थ्यो भन्ने पेच बोकेर भौंतारिनु आफैंमा सानो दुःख होइन । आफ्नो थातथलोमै बसेर सानोतिनो उद्यम गर्ने पुँजीसम्म नभएका, कमाइ खाने अति कम मात्र जमिनको स्वामित्व भएका वा धनीजनको जमिन कमाएर बनिबुतो गर्ने भूमिहीन किसान र ज्यामी–मजदुरका लागि भोक कुनै महामारीभन्दा कम होइन । तर रोचक के भने, विश्वव्यापी भोक उन्मूलनको अभियान ‘जिरो हंगर’ को सहभागी राष्ट्रका रूपमा नेपाल सन् २०३० सम्म मुलुकबाट भोक लखेट्न ‘प्रतिबद्ध’ पनि छ । यो विरोधाभासको भयावह खाल्डो पुर्ने विषयमा सरकार र सम्बन्धित निकायले नै सोच्दैनन् भने कसले सोच्ने होला ?

संयुक्त राष्ट्र संघ, विश्व खाद्य कार्यक्रमको अघिल्लो वर्षको तथ्यांकअनुसार नेपालमा दैनिक आधा डलर (उनन्साठी रुपैयाँ त्रिहत्तर पैसा) मात्र कमाइ गर्ने, राष्ट्रिय गरिबी रेखामुनि रहेका जनताको संख्या नै २५ प्रतिशत हाराहारी छ । यो जनसंख्या आफू र परिवारका लागि खानेकुरा, आवास र लुगाको आधारभूत व्यवस्थासम्म गर्न नै हम्मे पर्ने हालतमा छ । जनताको भोक उन्मूलनको इमानदार प्रयत्न गर्न न संघीय सरकार तयार देखिन्छ, न प्रदेश, न स्थानीय तह नै । यी तीनै तहसँग आमजनलाई भोकले मर्न नदिने कार्यक्रम नै छैन । यस्तो मुलुकमा बसेर जिरो हंगर (भोक शून्यता) को गफ कि त कुनै अन्तर्राष्ट्रिय दातृ निकायको विकासे ‘कर्ता’ ले गर्छ कि चाहिँ कहिल्यै पूरा नहुने स्वैर–कथाजस्तो नीति–कार्यक्रम पढ्ने राष्ट्रप्रमुख र बजेट भाषणकर्ता मन्त्रीले । झुक्किएर कुनै नेता वा सरकारी लेबल भिरेको मान्छेले सार्वजनिक भाषण वा औपचारिक वार्तामा ‘अब कसैले आँसु खसाउनुपर्दैन, कोही भोकै मर्नुपर्दैन’ भनेछ भने त्यसलाई एउटा ‘डार्क कमेडी’ वा ‘विलास–कविता’ मात्र ठाने हुन्छ ।

हुन त यो मुलुकमा भोकविरुद्ध विद्रोहका कविता लेख्ने कविहरू पनि प्रशस्तै छन् तर उनीहरूसँग आफ्नै कविताको भाष्यलाई आत्मसात् गर्ने नैतिकता छ भन्नेमा चाहिँ विश्वस्त हुन मुस्किल छ । कारण, समकालमा कविहरू पनि आँसु र त्रासदीका कारोबारीभन्दा बढी हुन सकेको महसुस हुँदैन । यो समयमा गोकुल जोशी वा युद्धप्रसाद मिश्र मार्का जनकविको अपेक्षा गरिँदा मात्रै पनि बात लाग्ने डर छँदै छ । कठोर वैश्य–चिन्तनले ढपक्क ढाकेको जुगमा कोठे–कविता लेख्न र मौकाले देश–विदेशमा टिकट कविता सुनाउन छोडेर भोकलगायत आमजनका दैनन्दिन चुनौतीको घेराभित्र पस्ने रहर पनि त महँगै हुँदो हो !

यस्तो बेला दैनिक राजनीतिका तमाम शीर्षकभन्दा धेरै पर छ भोकमाथिको चिन्ता । देशमा सरकारहरूले ‘विकास’ बोकेर सयर गर्ने तिलस्मी जहाजबाट पैसैपैसा उडिरहेको फराकिलो नीलगगन त देखिँदो हो (कुनै सरकारी/गैरसरकारी मान्छेले यो कुराको इमानदार बयान गर्नेवाला भने छैन), तर रातोखैरो–मटमैलो जनसाधारण बाँच्ने भुइँ त्यहाँबाट देखिन्न । कंकालजस्ता पहाडका उदांगा खप्परहरू देखिन्नन् । भोकको कोपले भयाक्रान्त मैदानहरू देखिन्नन् । यस्तो देशका शासक–आँखाबाट टाढाका सप्तरी, बाजुरा वा ताप्लेजुङको भोक त कता हो कता छेलिन्छ नै । सरकारको नजरमा आफ्नो नाकैमुनि, राजधानी सहरमै नाम्लोले पेट कस्दै भोक थिचेर मर्ने मान्छेसुद्द देखिन्न ।

यस लेखोटमा संघीय र प्रदेश सरकार मात्र होइन, स्थानीय सरकारका आँखाबाट समेत छलिएको एउटा चूडान्त भोक–कथा छ जसले भोकशून्यताको सत्ताकथनलाई नांगो उपहास गर्छÙ भोकलाई सम्बोधन गरेर मन्त्रालयका राता किताब लेख्ने, तारे होटेलमा डिनरसहितका रंगीन बहस चलाउने तर भुइँमा ओर्लेर जनताको भोकसँग कहिल्यै एकाकार नहुने साहेबजीहरूका गालामा तमाचादार झापड बजार्छ ।

०००

गत वर्ष असोज १६ गते बाजुराकी सप्पा नेपालीले आफ्ना चार सन्तानसहित कवाडी खोलामा हामफालेर जीवन समाप्त पारिन् । १ वर्षदेखि ५ वर्षबीचका तीन छोरी र एक छोरासहित एकैसाथ हेलिएर मृत्युको बाटो रोजिसक्दा कवाडी खोलाको छालसँगै उनको जीवनमाथिका सबै प्रश्न र गुनासाहरू अनन्तमा विलीन भए । आम भाषामा भन्दा, उनले जीवनका सम्पूर्ण दुःख लुकाइन् । तर बाँचिबस्नेका लागि, समाज व्यवस्था र राज्यप्रणालीका लागि भने उनीहरूको सामूहिक मृत्युले अनेकौं प्रश्न छोडेर गएको छ ।

यस घटनामाथि बाजुरा र धनगढीका अनलाइनहरूले खबर छापे । त्यहीँका स्रोतबाट प्राप्त समाचारहरूको अध्ययन गरेर त्यति बेलै यही स्तम्भमा एउटा प्रतिरोध–लेख लेख्दा र त्यसयता पंक्तिकारलाई बारम्बार लागिरह्यो, यो त आत्महत्या होइन बरु राज्यसंरक्षित संस्थागत सामूहिक हत्या हो । यो त तहैपिच्छेका राज्यसंयन्त्रको घोर गैरजिम्मेवारीले चलाएको हत्यातन्त्रको अर्को शृंखला हो । यसलाई ‘आत्महत्या’ नाम दिएर बिर्सने छुट राज्यलाई त छैन–छैन, सचेत वर्गलाई पनि छैन ।

सप्पा नेपाली बाजुराको उपल्लो भेगअन्तर्गत रुगिन गाउँकी ३० वर्षीया कर्मठ श्रमजीवी महिला थिइन् । बाजुराको सदरमुकाम मार्तडीदेखि एक दिनको बाटो हिँडेर कोल्टी बजार पुगिन्छ । त्यहाँबाट फेरि अर्को एक दिन लगाएर पुगिन्छ रुगिन गाउँ । कोल्टीदेखि धुलाचौर हुँदै पुगिने सबभन्दा माथिल्लो गाउँ गुम्बा र पारि हुम्लासमेत जोड्ने कच्ची सडक बनेपछि उनको परिवार नजिकैको कवाडी खोला किनारको बस्तीमा झरेको थियो । यसलाई कवाडी बजार पनि भनिन्छ । कमाइखाने आफ्नै जमिन नभएकाले सिजनमा गरिने खेतीपातीको कामबापत पाइने ‘खलो’ र लुगा सिउने ‘लगिदार’ हरूबाट पाइने नगद वा अन्नपातका भरमा यिनको परिवार पालिन्थ्यो । श्रीमान् धर्म नेपालीले आर्थिक उपार्जनको काम नगरी बेकार बसिदिनाले श्रीमान्सहित सम्पूर्ण परिवारको पेट पाल्ने जिम्मा उनैको थियो । माइतीमा बाबु मरिसकेका र आमाले अर्को बिहे गरेको स्थितिमा हारगुहार–सरसहयोग माग्नलाई पनि कोही थिएन ।

स्थानीयका अनुसार, खोलामा हेलिने अघिल्लो दिन काम गरेबापत खलो (अन्न) लिन रुगिन पुगेकी सप्पा घरधनीले चित्तबुझ्दो गरी खलो नदिएकाले त्यहाँ केही बेर भनाभन भएपछि रित्तै हात घर फर्केकी थिइन् । कथित उपल्लो जातका साहू, लगिदारको यस्तो हेपाइविरुद्ध प्रतिकार गर्ने सप्पाको भर आफ्नै पाखुराबाहेक केही थिएन । श्रीमान् थिए तर उनीबाट कुनै सहयोग थिएन बरु उल्टो उनको अपमान र हिंसाले सप्पालाई घरभित्रै थप असहाय बनाउँथ्यो ।

एक, विजेता गोर्खा राज्यका पालादेखिको पूर्वाग्रहको बाछिटाले आजसम्मै अपहेलित बाजुराको पनि सुदूर उत्तरी भेगको बसाइ । दुई, साँझबिहान खानै नपुग्ने हदैसम्मको आर्थिक बेहाली । तीन, जात व्यवस्थाको सबभन्दा पीँधको समुदायको पनि महिला भएर बाँच्नुका चुनौती । र चार, बेकारीमा दिन गुजार्ने लोग्नेका रातदिनका कुण्ठा र प्रताडनाको सिकार भइरहने दैनिक जीवन । सप्पाको जीवनलाई हेर्न मिल्ने हरेक कोणले बताउँछन्, उनी कुन हालतमा कसरी बाँचिरहेकी थिइन् !

रुगिन गाउँबाट ओर्लने मात्र नभई बिच्छ्याँ, गुम्बालगायत बाजुराकै गाउँहरूतिर सोझिने वा कवाडी तरेर ताँजाकोट, हुम्लातर्फ मोडिने यात्रुहरूको ट्रान्जिट बन्न लागिरहेको कवाडी बस्ती हुम्ला, मुगु र बाजुरा तीन जिल्लाको सीमा छोएर बसेको साँघुरो खोंच हो । वरिपरि रूखपातबिनाका दर्फर्‍याउँदा अग्ला–अग्ला पहाडले घेरिएको यो बस्तीमा पुराना घर कम र टिनले छाएका टिनैले बारेका एकतले नवनिर्मित घर ज्यादा छन् । बजार भनिए पनि गाउँ–पहाडकै बजार भन्नसम्म मिल्ने अझै बनिसकेको छैन यो, बन्ने क्रममा मात्रै छ ।

घरको चरम आर्थिक संकट र कमाई ल्याउने आफू एक्लो मान्छे, जतिखेरै रूखो हावा चलिरहने र धूलो उडिरहने, खानेपानीकै समेत अभाव भएको अव्यवस्थित बस्ती अनि उदास–उतुंग चट्टानी पहाडहरूबीच बाँचेकी सप्पाको मथिंगल मर्नुअघि कतिसम्म विचलित हुँदो हो ! कल्पना गर्दा पनि कहाली लाग्छ । बस्तीलाई पश्चिम पारेर बगिरहेको कवाडी खोला दुई सय मिटर दक्षिणमा पुगेपछि हुम्ला र मुगुबीचबाट बग्दै आउने कर्णालीमा मिसिन्छ । विकट गाउँका बासिन्दा, गरिब र दलितप्रति हुनसम्मको हेपाहा राज्य व्यवस्था, जात व्यवस्थाका तहैतहले विषाक्त समाज र क्रूर पारिवारिक पितृसत्तासमेतको तेहरो कोपले लखेटिएकी सप्पा यिनै कवाडी र कर्णालीको भेलमा हुत्तिँदै यिनैका काखमा गुटमुटिँदै निद्रालीन हुन पुगिन् !

उनी कसरी हामफालिन् ? प्रत्यक्षदर्शी कोही छैन तर अनुमान गर्नेहरू भन्छन्— त्यसरी बच्चैसमेत खोलामा फालेर त मर्ने खाले मान्छे त्यो होइन ! स्थानीय हिमाली गाउँपालिका प्रमुख गोविन्द मल्लसहित धेरैको बुझाइ छ, सप्पा पारिवारिक तनावका कारण मरिन् । मृत्युको धरापजस्तो कवाडी खोला देखाउँदै सप्पाका ससुरा लालमनि दमाई बताउँछन्, ‘खोलामा नुहाउन भनेर बच्चा बोकेर आएकी मेरी बुहारी भवितव्यले मरेकी हो हजुर ! त्यो लडेर खाने मान्छे हो, यसरी मरी भनेर मन मान्दैन ।’

नुहाउन मिल्ने ठाउँसम्म नभएको यस्तो धरापमा पसेर नुहाउनुपर्ने स्थितिचाहिँ किन आयो ? यहाँ पानीका धाराहरूको उचित व्यवस्थापन किन भएन ? गाउँपालिका प्रमुख भन्छन्, ‘त्यहाँबाट कुनै माग नै आएन त कसरी धारा बनाउने !’ यसरी प्रत्यक्ष खट्केको विषयमा माग नआएसम्म काम नगर्नू भनेर कहाँ भनिएको छ ? तै माग नै हुनुपर्ने भए किन भएन ? वडाध्यक्षलाई भेट्न कोसिस गरियो तर सम्पर्क हुन सकेन । गाउँमै पुगेको सरकारले समेत कसैलाई पनि धरापमा पर्न छोडिदिएर ‘भवितव्य’ को मृत्युदान दिन्छ भने यी सरकारहरूको के काम ? कसका लागि हो स्थानीय तह, कसका लागि बनेका हुन् वडा प्रतिनिधि ?

सप्पा कुनै घटनाकी पात्र मात्र होइनन्, बरु सिंहदरबार र प्रदेशहरूमा बसेर ‘विकास’ का ग्राफ मात्रै खिच्ने तर लक्षित वर्गलाई छुँदै नछोई तिनका नामको धनराशि झ्वाम पार्ने व्यवस्थाको परिणामसमेत हुन् । विकास भनेको भ्यु टावरलगायतका भौतिक संरचना र डोजरले खन्ने बाटो मात्रै हो भनेर बुझ्ने तर मानवीय विकासलाई भने पूर्णतया उपेक्षा गर्ने स्थानीय सरकारको भयंकर त्रुटिपूर्ण बुझाइको सूचकसमेत हुन् ।

०००

सप्पा एक दृष्टान्त मात्रै हुन् । उनी एक व्यक्ति ‘महिला’ मात्रै होइनन् आमासमेत हुन् जसले एक्लै मरेर आफ्नो मात्र दुःख लुकाउन सकिनन्, सन्तानलाई समेत आफूसँगै लगेर तिनका पनि दुःख लुकाइदिइन् । यदि यो अपराध हो भने यस्तो अपराधको जड यो पद्धति हो जसले गरिब, दलित र महिला हुनुको मूल्यमा उनीहरूलाई मान्छेको स्वाभिमानसहित दुई छाक पेटभर खानसम्म दिँदैन । सप्पाले जस्तै दैलेखको राकमकी सुकी बडुवालले पनि चार सन्तानसहित कर्णालीकै भेलमा हेलिएर गत चैतमा जीवनलीला समाप्त गरिन् । यही दैनिकमा दैलेखबाट रिपोर्टिङ गर्दै चाँदनी कठायत र ज्योति कटुवाल लेख्छन्, ‘यस्ता आत्महत्याका कारक घरेलु हिंसा हुन् । सुकी बडुवाललगायत धेरै महिलाले घरेलु हिंसाकै सिकार हुनुपरेकाले आत्महत्या रोजेका हुन् ।’

सप्पा नेपाली र सुकी बडुवालको मृत्यु प्रकरणमा तात्त्विक भिन्नता त छ तर मूल कारण भने एउटै हो । पितृसत्तात्मक आर्थिक प्रणालीको परिणामस्वरूप भोग्नुपर्ने संरचनागत बहिष्करणÙ शासन, सूचना र शक्तिका स्रोतमाथि उनीहरूको पहुँच पुग्नै नसक्ने अवस्था अनि बाँच्नका लागि आधारभूत खाद्यान्नसम्मको डरलाग्दो अभाव । राज्यका तीनै तहले होसियारी र जिम्मेवारीपूर्वक यी कारणलाई आत्मसात् नगरेकैले राज्य नै सप्पा र सुकीहरूको संस्थागत हत्याको कर्ता बन्न पुगेको छ । संरचनाको पीँधमा परेका र राज्यशक्तिबाट सबभन्दा पर रहेका क्षेत्र, वर्ग, समुदाय र लिंगको भोक र बाँच्न पाउने हकको रक्षा गर्न नसक्ने हो भने संविधानका धारा ३६ (खान पाउने हक), ४२ र ४३ (सामाजिक न्याय र सामाजिक सुरक्षा) जस्ता व्यवस्थालाई खारेज गरिदिए हुन्छ । त्यसमाथि जिरो हंगरजस्ता मिसनका गफचाहिँ नदिएकै राम्रो !

भर्खरै योजना आयोगको कमान थाम्न पुगेका अर्थविद् विश्व पौडेल र कांग्रेस नेतृत्वको सरकारका हितैषी बाजुरेली बौद्धिक अंगराज तिमल्सिना (जो हिमाली गाउँपालिकाकै मूलवासी हुन्) हरू कम्तीमा यतिखेर, यस्ता विषयमा कसरी सोच्छन् होला ? के यी ‘बडा’ मानिसहरूसँग यस्ता ‘ससाना’ विषयमा चिन्ता गर्ने फुर्सद होला ?

प्रकाशित : कार्तिक ९, २०७८ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्

नासिर, अनुसिया र उपास्ती छनोट

कान्तिपुर संवाददाता

काठमाडौँ — पौडीवाज नासिर हुसेन राष्ट्रिय कीर्तिमानसहित अबुधाबीमा हुने १५ औं फिना विश्व च्याम्पियनसिप २०२१ का लागि छनोट भएका छन् ।

नेपाल पौडी संघले आइतबार सातदोबाटोस्थित २५ मिटरको पौडी पोखरीमा आयोजना गरेको छनोट प्रतियोगितामा नासिर २०० मिटर फ्रिस्टायलमा १ मिनेट ५७.८५ सेकेन्डको राष्ट्रिय कीर्तिमान कायम गर्दै ५९९ फिना अंकसाथ विश्व च्याम्पियनसिपलाई छनोट भएका हुन् । यसअघि २५ मिटर दूरीमा ओलम्पियन एलेक्स शाहको नाममा २ मिनेट ००.०४ सेकेन्डको कीर्तिमान रहेको थियो । शाहले उक्त कीर्तिमान दुई वर्षअघि भएको १३ औं दक्षिण एसियाली खेलकुदमा कायम गरेका थिए ।

दुई पुरुष र दुई महिलाका लागि भएको छनोट प्रतियोगितामा ओलम्पियन शाह पनि छनोट भएका छन् । ओलम्पिकमा सहभागी दुई खेलाडी एलेक्स शाह र गौरिका उच्च शिक्षा अध्ययनका लागि विदेशमा रहेकाले उनीहरूको निरन्तर प्रशिक्षण र प्रतियोगितामा सहभागिता जनाइरहेको र फिना अंकको निकट समयलाई कायम राखेको आधारलाई मापदण्ड बनाई विश्व च्याम्पियनसिपमा छनोट गर्ने निर्णय भएको संघले जनाएको छ । तर गौरिका भने उच्च शिक्षा अध्ययनका क्रममा रहेका कारणले यसपालि भाग लिन नसक्ने जनाइएको छ ।

महिलातर्फ दुई खेलाडीमा अनुसिया तण्डुकार र उपास्ती महर्जन विश्व च्याम्पियनसिपलाई छनोट भएका छन् । अनुसियाले १०० मिटर फ्रिस्टायलमा १ मिनट २.६० सेकेन्डसाथ ५१७ फिना अंक तथा उपास्तीले ५० मिटर ब्रेस्टस्ट्रोकमा ३६.२६ सेकेन्डसाथ ४८९ फिना अंकका साथ छनोट हुन सफल भएका हुन् ।

सोही छनोटमा पुरुष १०० मिटर बटरफ्लाईमा अनुभव सुब्बाले पनि राष्ट्रिय कीर्तिमान कायम गरे । उनले उक्त दूरी ५९.१० सेकेन्डमा पुरा गरेका थिए । यसअघि उक्त दूरीको कीर्तिमान सैयद हम्जा शाहको नाममा १ मिनेट ००.२५ सेकेन्डको थियो । शाहले उक्त कीर्तिमान आठौं राष्ट्रिय खेलकुदमा बनाएका थिए ।

प्रकाशित : कार्तिक ९, २०७८ ०७:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×