प्रकृतिसँग बालबालिका- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रकृतिसँग बालबालिका

यमुना पराजुली अधिकारी

मेरी साथीकी छोरी गाउँमा बस्ने आफन्तकहाँ गएकी थिइन् । फर्केपछि उनले ‘मामु, मैले चिउरा फल्ने रूख देखें नि !’ भनिछन् । यो प्रसंग मलाई सुनाउँदै गर्दा, साथी निकै मज्जाले हाँसेकी थिइन् । त्यस्तै, केही दिनअघि मेरी दिदीकी छोरी तराई घुम्न गएकी थिइन्, उनले मलाई भिडियो कल गर्दै ‘मैले भैंसीले स्विमिङ गरेको देखें नि !’ भनिन् । उनको कुरा सुन्नासाथ म पनि हाँसें । 

तर, यी दुवै प्रसंगमा हाँस उठ्नु एक ठाउँमा होला, अर्कोतिरबाट हेर्दा यसले हाम्रो अभिभावकत्व र विद्यालय शिक्षालाई गिज्याइरहेको छ । उनीहरूलाई न विद्यालयको पढाइले यस्ता विषय सिकाउन सक्यो, न त अभिभावकले नै यसबारे व्यावहारिक ज्ञान दिए । यस्ता विषयलाई हाँसोमा उडाउनु हुन्न, अब यसबारे चर्चा हुनुपर्छ । यी छोरीहरू यस्तो हुनुमा विद्यालयको दोष छ कि अभिभावकको ? चिउरा केबाट कसरी बन्छ र भैंसी आहाल बस्छ भन्नेसम्म कृषिप्रधान देशका नानीहरूलाई हामीले बुझाउन सकेका रहेनछौं । यस्ता छोरीहरू अहिले धेरैका घरमा छन् । हामीले हाम्रा बालबच्चालाई प्रकृति र जीवजन्तुबारे खासै बुझाउन सकेका छैनौं, न जंगली र घरपालुवा जनावरको फरक नै सम्झाउन सकेका छौं । त्यस्तै हाम्रा परम्परा, रहनसहनबारे कति नै ज्ञान होला र नानीबाबुलाई ?

बन्द कोठामा बालबालिकालाई प्रकृतिबारे पढाइन्छ; पशुपक्षी, बालीनाली आदि चित्रकै भरमा चिनाइन्छन् । उनीहरू प्रकृतिसँग टाढिइरहेका छन् । उनीहरूको पठनपाठन पुस्तकको पानामा मात्र सीमित पारिनु हुन्न । नत्र बालबालिका कस्ता हुन्छन् भन्ने त माथिकै प्रसंगबाट थाहा हुन्छ ।

मानिसले प्रकृतिसँगै नजिक भएर प्रगति गरिरहेको छ । बालबालिकालाई सानैदेखि प्रकृतिसँग नजिक्याउनुपर्नेमा उल्टो हामीले अनि हाम्रो विद्यालय शिक्षाले उनीहरूलाई टाढा पुर्‍याइरहेको छ । प्रकृतिसँगै खेल्दै, रमाउँदै सिक्नुपर्ने बालबालिका अहिले पुस्तकमा मात्र सीमित छन् । कतिपय अवस्थामा यो बाध्यता पनि होला । तर आधुनिकताका नाममा हामीले बालबालिकालाई केही हदसम्म प्रकृतिबाट टाढा राखेको वास्तविकतालाई कुनै बाध्यता देखाएर छोप्न मिल्दैन । यसरी प्रकृतिबाट टाढा राखेर बालबालिका हुर्काउनु साँच्चिकै उनीहरूमाथिको अन्याय हो । यसरी हेर्दा गाउँघरकै बालबालिकालाई बरु अन्याय भएको छैन ।

सहरिया बालबालिकालाई भने परिवार र विद्यालयले पनि प्रकृतिसँग नजिक गराउन चाहँदैनन् । हात–खुट्टामा अलिकति माटो लाग्न हुँदैन, ‘छिःछिः, फोहोरी’ भनिन्छ अनि उनीहरूलाई माटो फोहोर कुरा हो भन्ने पर्छ । सहरका बालबालिकाले खाली खुट्टा हिँड्न पाउँदैनन्, अलिकति हावा लाग्दा पनि बाहिर निस्कन पाउँदैनन् । भन्छौं, ‘अहिले चिसो लागेर बिरामी भइएला, जरो आउला ।’ पानी पर्न लाग्दा पनि उनीहरू बाहिर ननिस्किए हुन्थ्यो भन्ने ठान्छौं । अनि कसरी चिनून् माटो, हावा र पानी ? हाम्रा नानीबाबु पुस्तकमै पढ्छन्, हावा सरसर चलेको, पानी सिमसिम परेको, चराहरू चिरबिराएको ! उनीहरूको दैनिक जीवनमा प्रकृति यसरी नै आइपुग्छ ।

हामी सबैलाई सहरमा बस्नु छ, कमाउनु छ । छोराछोरीलाई ठूला विद्यालयमा पढाउनु छ । यो आजको आवश्यकता पनि हो । तर हामीले सहरमै बसेर पनि छाराछोरीको पढाइलाई प्रकृतिमैत्री बनाउन धेरै काम गर्न सक्छौं । प्रायः अभिभावकले छोराछारीलाई महिनाको एक–दुई पटक होटल, रेस्टुराँ त लिएर गएकै हुन्छौं । यसको सट्टा उनीहरूलाई महिनाको एकचोटि मात्र भए पनि हाइकिङ लैजान सकिन्छ नि ! होटल नै लैजानुपर्दा पनि सहरभन्दा थोरै पर प्रकृतिको समीप लगे बालबालिकाले बोटबिरुवा, रूखपातबारे थाहा पाउन सक्छन् ।

विद्यालयभित्रका ठूलठूला कृत्रिम पौडीपोखरी, झरनामा रमाए पनि बालबालिकालाई प्रकृतिनजिक पुगेको महसुस हुन्न । उनीहरूलाई विद्यालयले पनि बेलाबेला प्रकृतिको नजिक पुर्‍याउन प्रयास गर्नुपर्छ । त्यसका लागि विभिन्न कार्यक्रम ल्याउन सकिन्छ । यसले उनीहरूको सिकाइलाई नै मद्दत पुग्छ । आफ्ना कोमल हातले प्रकृतिको स्पर्श गरेमा पुस्तकबाट भन्दा धेरै फाइदा उनीहरूलाई मिल्छ । यसबाट सृजनशीलतासमेत बढ्छ । प्रकृतिमैत्री शिक्षण सिकाइका लागि विद्यालय र अभिभावकले समन्वय गर्नु जरुरी छ ।

बालबालिकाले समूहमा चाँडै घुलमिल भएर धेरै विषयमा सिक्न सक्ने भएकाले विद्यालयहरूले शैक्षिक भ्रमणमा लैजानु बढी प्रभावकारी हुन्छ । केही विद्यालयले यस्ता कार्यक्रम नगरेका होइनन् तर वर्षमा निकै कम हुने गर्छ । कम्तीमा महिनामा एउटा यस्तो कार्यक्रम हुनु जरुरी छ जसले बालबालिकालाई प्रकृतिसँग नजिक पुर्‍याउन र जीवजन्तुबारे प्रत्यक्ष जानकारी गराउन सकोस् । यसो गर्न सके अहिलेका बालबालिका मेरी साथी र दिदीका छोरीजस्ता हुने थिएनन् । यसलाई सम्भव तुल्याउन विद्यालय तथा अभिभावकबीच समन्वय हुनुपर्छ र प्रकृतिमैत्री पठनपाठनका लागि हरेक परिवारले ध्यान दिनुपर्छ । यसो गर्न सके मात्र हाम्रा बालबालिकाको फढाइ व्यावहारिक र सृजनशील हुन सक्छ ।

yamunaadhikari127@gmai.com

प्रकाशित : कार्तिक ८, २०७८ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्

बलात्कार आरोपित ८ पक्राउ

कान्तिपुर संवाददाता

सिन्धुली — तीन जना किशोरीको सामूहिक बलात्कार आरोपमा ८ जना पक्राउ परेका छन् । बलात्कारपछि आरोपितलाई भगाउन सघाएको भन्दै थप ६ जनालाई समेत पक्राउ गरी सिन्धुली प्रहरीले आइतबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्ने आरोपितमा कमलामाई–५ बोजेका २० वर्षीय दीपक मगर, २३ वर्षीय अर्जुन मगर, २३ वर्षीय धनबहादुर बम्जन, २१ वर्षीय मिलन लामा र आकाश मगर छन् । बलात्कार गरेर फरार रहेका उनीहरूलाई महोत्तरीको बर्दिबासबाट पक्राउ गरिएको सिन्धुली एसपी गोविन्द थपलियाले बताए । अन्य आरोपितहरू हेम लामा, शिव मगर र विवेक मगर यसअघि नै पक्राउ परेका थिए । विश्व राई भने फरार छन् ।

किशोरीका आफन्तले प्रहरीमा दिएको जाहेरीअनुसार आफन्तकहाँ दसैंको टीका लगाएर फर्किने क्रममा असोज ३० को राति कमलामाई–५ को लब्दाहखोला पुलमुनि किशोरीहरू बलात्कृत भएका थिए । उनीहरूको उमेर १५, १६ र १७ वर्ष रहेको थपलियाले बताए ।

‘एक किशोरीलाई पाँच जनासम्मले लगातार बलात्कार गरेको पाइएको प्रहरीको भनाइ छ ।

आरोपितलाई भगाउन मतियार भई सहयोग गर्ने कमलामाई–५ बोजेकै सञ्जीव मगर, प्रेम श्रेष्ठ, शिव देवकोटा, सुमन थापा, मेघबहादुर श्रेष्ठ र ईश्वर आलेलाई समेत पक्राउ गरिएको थपलियाले जानकारी दिए । उनीहरूलाई भगाउन प्रयोग भएको स्कार्पियो गाडी र दुई वटा मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : कार्तिक ८, २०७८ ०७:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×