थुनुवा मृत्युको उचित अनुसन्धान होस्- विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

थुनुवा मृत्युको उचित अनुसन्धान होस्

सम्पादकीय

प्रहरी हिरासतभित्र शृंखलाबद्ध रूपमा थुनुवाको मृत्यु भइरहनु दुःखद मात्र होइन, चिन्ताको विषय पनि हो । कतिपय घटनामा थुनुवाले आत्महत्या गरेको दाबी प्रहरीको भए पनि मृतकका आफन्तहरू यसलाई स्विकार्दैनन् । चरम यातनाका कारण उनीहरूको मृत्यु भएको र ढाकछोपका लागि प्रहरीले आत्महत्याको ताना बुनेको उनीहरूको आरोप छ ।

तसर्थ, यस्ता घटनाहरूले गम्भीर अनुसन्धान माग गर्छन् । चाहे कुनै घटनाको शंकास्पद व्यक्ति होस् या अभियुक्त, राज्यको नियन्त्रणमा भएको व्यक्तिको सुरक्षाको जिम्मा सरकारको हुन्छ । उनीहरूको स्वास्थ्य अवस्थालगायतको उचित रेखदेख गर्नु सम्बन्धित प्रहरी कार्यालयको दायित्व हो, आत्महत्या वा अरू यस्तै बहानामा प्रहरी त्यसै उम्कन पाउँदैन । त्यसैले यस्ता घटनामा सरकारले यथोचित अनुसन्धान गरी कोही दोषी पाइएकालाई कारबाहीको दायरामा ल्याउनुपर्छ । र, थप कोही थुनुवाले अनाहकमा ज्यान गुमाउनु नपर्ने अवस्था सृजना गर्नुपर्छ ।

हिरासतभित्र शृंखलाबद्ध रूपमा भइरहेको थुनुवाको मृत्युबारे छानबिन गर्न अघिल्लो आइतबार गृह मन्त्रालयले सहसचिव थानेश्वर गौतमको नेतृत्वमा छानबिन समिति त बनाएको छ, तर यसप्रति पीडित परिवार र मानव अधिकारीवादीहरू विश्वस्त हुन सकेका छैनन् । गृह अधिकारी नेतृत्वको समितिले आफूअन्तर्गतको निकायमा भएका मृत्युका घटनाको स्वतन्त्र छानबिन गर्न नसक्ने/नचाहने उनीहरूको आशंका छ । यस अवस्थामा कसैको दबाब र प्रभावमा नपरीकन सत्य–तथ्य पहिल्याएर यो समितिले पीडित परिवार र अधिकारकर्मीहरूलाई पनि विश्वासमा लिन सक्नुपर्छ । यस्तो समितिले प्रभावकारी अनुसन्धान गर्न नसकेमा अधिकारवादीहरूको मागबमोजिम हिरासतमा भएका गम्भीर मानवअधिकार उल्लंघनका घटनाको अनुसन्धान गर्न छुट्टै संयन्त्रको खाँचो स्वतः सिद्ध हुन्छ ।

गत असोज २४ र २५ दुई दिनमा मात्रै तीन जनाको ‘शंकास्पद मृत्यु’ भएपछि गृहले छानबिनको तत्परता देखाएको हो । असोज २४ मा सुनसरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा २२ वर्षीय मोहम्मद हकिब मियाँ, र भोलिपल्ट कैलालीको टीकापुर इलाका प्रहरी कार्यालयको हिरासतमा २५ वर्षीय धनबहादुर राना र जिल्ला कारागार कार्यालय पर्वतमा ५९ वर्षीय दुर्गाराज पाण्डेको ‘शंकास्पद मृत्यु’ भएको थियो । मृतकले आत्महत्या गरेको प्रहरी दाबी भएका यी सबै घटनामा परिवारजनले स्वतन्त्र अनुसन्धानको माग गरेका छन् । पीडित परिवारको आवाजलाई छानबिन समितिले स्वतन्त्र र प्रभावकारी अनुसन्धान गरी यथार्थ पत्ता लगाउनका निम्ति आफ्नो बलका रूपमा प्रयोग गर्नुपर्छ ।

निष्पक्ष ढंगले अनुसन्धान भएन र सत्यतथ्य पहिल्याइएन भने पीडित परिवारको आन्दोलन थामथुम गर्न मात्रै समिति गठन गरिएको पुष्टि हुनेछ । यसबाट पीडितहरूमाथि थप अन्याय त हुने नै छ, गृह मन्त्रालयले गठन गर्ने यस्ता समितिहरूको विश्वसनीयता पनि गुम्नेछ । त्यसो भएमा प्रकारान्तरले राज्यप्रतिको नागरिक भरोसा नै कमजोर बन्नेछ । त्यसैले घटनाहरूको गाम्भीर्य र संवेदनशीलता बुझेर समितिले अनुसन्धान गर्नुपर्छ । र, मूलतः भोलिका दिनमा यस्ता घटना नै हुन नदिनेतर्फ गृह तथा प्रहरी प्रशासन सचेत रहनुपर्छ ।

यातनाबाट मृत्यु भएको हो भने दोषीउपर कानुनी कारबाही हुनुपर्छ नै, कसैले आत्महत्या नै गरेको रहेछ भने पनि कोही किन हिरासतमा आफ्नै ज्यान लिने अवस्थामा पुग्छ भन्ने पाटो खोतलिनुपर्छ र यस्तो आवृत्तिलाई घटाउने उपायहरू पहिल्याउनुपर्छ । उल्लिखित घटनालाई नै लिऔं न— सुनसरीको इनरुवा नगरपालिका–९ की खत्वे समुदायकी १९ वर्षीया युवतीलाई लिएर भागेपछि पक्राउ परेका हकिब मियाँमाथि ‘अभद्र व्यवहार’ मा मुद्दा चलाउन प्रहरीले थुनामा राखेको थियो । टीकापुर इलाका प्रहरी कार्यालयमा धनबहादुर राना भैंसी चोरेको आरोपमा थुनिएका थिए । प्रहरी दाबीअनुसार क्रमशः गम्छा र गन्जीको पासो लगाई हिरासतभित्रै झुन्डिनुपर्ने आवश्यकता उनीहरूलाई किन पर्‍यो होला ? तसर्थ, यी घटनाहरूको बहुकोणबाट अनुसन्धान गरिनुपर्छ ।

प्रहरी हिरासतमा यसअघि पनि बारम्बार यस्ता घटना भएका छन् । धनुषाको सबैलास्थित इलाका प्रहरी कार्यालयको थुनुवा कक्षमा २०७७ जेठ २७ मा सबैला–१२, बरकुवाका २२ वर्षीय शम्भु सदाको मृत्यु भएको घटनाले दलित समुदायलाई आन्दोलितै तुल्यायो । समस्या के छ भने, प्रहरीको नियन्त्रणमा रहेका बखत ज्यान गएका यस्ता थुप्रै घटनामा प्रभावकारी अनुसन्धान हुने गरेकै छैन । अनुसन्धान नै नभएपछि न त घटनाबारे सत्यतथ्य खुल्न सकेको छ, न सम्बन्धित सुरक्षाकर्मीहरू जवाफदेह नै हुनुपरेको छ । यी घटनामा यातनाको सम्भावना अस्वीकार गर्न किन सकिन्न भने, एड्भोकेसी फोरमले वार्षिक रूपमा गर्ने कारागार अनुगमनका क्रममा २० प्रतिशतभन्दा बढी थुनुवा तथा कैदीमाथि कुनै न कुनै प्रकारको यातना हुने गरेको पाइएको छ । मुलुकी अपराध संहिताले नै यातनालाई अपराध मान्दामान्दै यस्तो अवस्था विद्यमान रहनु दुर्भाग्यपूर्ण छ ।

तसर्थ, पहिलो त प्रहरीले यातना दिन बन्द गर्नुपर्छ । दोस्रो, यस्ता घटनाको उचित अनुसन्धान भई दोषीमाथि कारबाही हुनुपर्छ, दण्डहीनता कायम राखिराख्नु हुन्न । तेस्रो, प्रत्यक्ष दोषी कोही नभए पनि थुनुवाको सुरक्षाबारे सम्बन्धित सुरक्षाकर्मीहरू जवाफदेह हुनुपर्छ । हिरासतमा रहेका व्यक्तिको जीउज्यानको सुरक्षाको जिम्मा प्रहरीको हो, उनीहरू संवेदनशील बन्नुको उपाय छैन । र चौथो, संविधानबमोजिम यस्ता घटना रोक्ने अधिकार पाएको महान्यायाधिवक्ताको कार्यालयले पनि हिरासतमा रहेको व्यक्तिलाई मानवोचित व्यवहार गरे–नगरेको ख्याल गर्नुपर्छ । जसरी हुन्छ, सबैको प्रयासबाट थुनुवाको मानवअधिकारको रक्षा गर्नुपर्छ ।

प्रकाशित : कार्तिक ८, २०७८ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्

सपनाको एउटा सफर

माछाको दुनियाँबाट संसारलाई चियाउने एउटा आँखीझ्याल हो नाटक ‘जिजीविषा’, आफूले पाएको भेउ अर्को पुस्तालाई दिनुपर्छ भन्ने चेतनाको यात्रा पनि हो
दीपक सापकोटा

काठमाडौँ — माछाहरूले आफ्नो कथा भन्नुपरे कसरी भन्लान् ? माछाका दृष्टिबाट मनुष्यका कर्तुत देखाउन मण्डला थिएटरमा मञ्चित नाटक ‘जिजीविषा’ ले भन्छ– मान्छेको मगजमा माछाको अनुभूति निसास्सिँदो छ । 

बाढी–पहिरोको गर्जन ! मानिसहरूको चीत्कार ! पशुपक्षीको पुकार ! खोलाको बगरमा मानिस, पशुपक्षी र माछाका लास छरिएका छन् यत्रतत्र । प्राकृतिक प्रकोपको अत्यासलाग्दो आवाजले मञ्च गुञ्जायमान् छ । पुन्टियस माछा घाइते छ । लासहरूबीच ऊ आफन्त खोज्छ । सेती असला रगतपच्छे छिन् र आफ्नो अन्तिम सास लिइरहेकी छन् । ‘जिजीविषा’ नाटकको अन्तिम दृश्य हो यो । नाटकमा माछाहरू पात्र छन् ।

नाटक ‘जिजीविषा’ एउटा सपनाको सफर हो । एक दृश्यमा अक्वारियममा पुन्टियस पौडिरहेको छ । उसलाई त्यस अक्वारियमभन्दा बाहिर बगिरहेको खोलाको ताजा पानीमा पौडिन मन छ । ऊ पौडीका विभिन्न तौरतरिका अपनाउँछ, मज्जाले उफ्रिन्छ, तर सानो अक्वारियमबाट बाहिर जान सक्दैन । अक्वारियम बाहिरबाट उसलाई हेरिरहेकी एउटी बालिका खुसीले हाँस्छे । पुन्टियस भन्छ– ‘अरूलाई सास्ती हुँदा हाँस्दा रैछन् मान्छेहरू ।’ ‘जिजीविषा’ फराकिलो संसार चाहनेहरूको कथा हो । पुन्टियस माछा र उसका साथीहरूको एउटा लामो यात्रा–कथा हो । शनिबार साँझ पहिलोपटक मञ्चन भएको यो नाटक माछाहरूको दुनियाँबाट संसारलाई चियाउने एउटा आँखीझ्याल हो ।

एक दृश्यमा रजबाम माछा भन्छ, ‘जतिजति मान्छेको बस्ती आउँदै जान्छ, माछाको वरिपरि काल घुम्छ । हामीले तैरिएपिच्छे होस राख्नुपर्छ । कतै बल्छी, कतै बम र कतै जाल हाम्रो काल पर्खेर बसेका हुन्छन् ।’ मान्छेहरूको संसार कति भयंकर छ र उसले आफ्नै प्रजातिलाई कसरी सिध्याइरहेको छ– ‘जिजीविषा’ ले नाटकमार्फत भन्न खोजेको छ ।

हिमालको फेदमा पानी सुक्दै गरेको एउटा तलाउ छ । तलाउभित्र भ्यागुताहरू ट्वार्रट्वार्र कराएको आवाज सुनिन्छ । पात्रहरू छन्– टिकुली, बुच्चे असला, बुदुना, चुच्चे असला, जलकपुर, तिल्के असला, धामी असला, रजबाम, भ्यागुताहरू, साइबेरियन चराहरू । बिस्तारै उनीहरूको आवाजले एउटा गति समात्छ । र, त्यो गति गीत बन्छ ।

नाटकमा मान्छेहरूले माछाको रूप धरेका छन् । रंगीविरंगी अनेक माछाहरू पौडिरहेका छन् मञ्चमा । पानीभित्रको विश्व देखाउँछ, मञ्चमा प्रयोग गरिएको मल्टिमिडिया र प्रोजेक्टरको उज्यालोले । तलाउको डिलमा लहरै भ्यागुताहरू देखिन्छन् । अलि परै माछा खान पर्खिएर बसेका साइबेरियन चराहरू चनाखो भएर तलाउनजिक आउँछन् । गीत बज्छ–

अक्काशैमाथि बादल छ दूर/म गाउँछु चिर्बिर

भाग्यको रेखा चरीपञ्जैमा/लेखेको किर्मिर

उडेर आएँ घरदेशबाट जानु छ परदेश

सपना थियो सुन्दर तर भैसक्यो अब शेष

साइबेरियन चराहरू गीत गाएर आफूहरूलाई घर फर्किन ढिला भएको कथा सुनाउँछन् । भ्यागुताहरू गीत गाएर माछाहरूले भोग्नुपरेका समस्या भन्छन् । भ्यागुताहरू मधुरो भाकामा गीत गाइरहन्छन्–

उडी आयौ कहाँबाट/कहाँ जान्छौ चरी

तिमी गएपछि मेरो/मन रुन्छ चरी

हिमाली फेदको कुनै मुहानमा पानी सुक्दै गएपछि पोखरीका जलचरमा भयानक संकट उत्पन्न हुन्छ । र, उनीहरू समुद्रसम्मको यात्रा गर्छन् । उर्लंदो खोलाको प्रवाहमा माछाहरू अनौठो यात्रा गरिरहेका छन् । नाटकमा ऋतु परिवर्तन भएको छ, खोलामा बाढी आएको छ । केही माछा औधी रमाएका छन्, केही असाध्यै आत्तिएका छन् । रूखका पहेंला पातजस्ता पातला देखिने ती माछा सफा पानीमा सैसला खेलिरहेझैं लाग्छन् । जमेको पोखरीबाट बगेको पानीमा पुगेका ती रंगीविरंगी माछाहरू जीवनको प्रवाह देखेर विस्मित हुन्छन् । यहाँ किरगिजस्तानी लेखक चिनगिज आइतमातोभको एउटा लाइन सम्झना हुन्छ, ‘सबै जीवित वस्तुको आ–आफ्नै वसन्त र शरद् हुन्छ ।’

सामान्य रूपमा हेर्दा नाटक माछाहरूको कथा भए पनि यो मान्छेहरूको जीवनको कथाहरूसँग गाँसिन्छ । माछाहरूको तलाउमा पानी सुक्नु भनेको मान्छेहरूको तलाउको पानी सुक्नु हो । हाम्रो शक्ति गुम्नु हो । पर्यावरणका तत्त्व सुक्नु हो । पानी मान्छेको जीवनमा पनि नभई नहुने, माछाको जीवनमा पनि नभई नहुने ! पानीको महत्त्व पनि कहन्छ नाटकले । यात्रा गरिरहनुपर्छ, एकै ठाउँमा जमेर बस्नुहुँदैन भनेर पनि भनिरहन्छ नाटकले । नाटकको मध्यतिर एउटा प्रेरणादायी गीत गुन्जिन्छ–

आशाका ती मसाल बोकी अघिअघि बढ्दै छन्

सपनाका यात्रीहरू, हेर समयलाई जित्दै छन् ।

जिन्दगीको रहस्य पत्ता लाग्नेवाला छैन, तर त्यसको रहस्य बुझ्ने यात्रा रोक्नु हुँदैन भन्छ नाटकले । आफूले पाएको भेउ अर्को पुस्तालाई दिनुपर्छ भन्ने चेतनाको यात्रा पनि हो नाटक– जिजीविषा । तर, यात्रामा हिँडेका माछाहरूले भने अनेक संकटको सामना गर्छन् । संकट तलाउमा बस्नेहरूलाई मात्र होइन, यात्रा गर्नेहरूलाई पनि छ भन्छ माछाहरूको यात्राले । मान्छे गाउँमा संकट भोगेर सहर पस्छ, तर सहरमा झनै संकटहरू थपिएका छन् । यात्रा गरिरहेका माछाहरूलाई मानिसहरूले जाल हान्छन् । यसले भन्छ, बजारले मान्छेलाई जाल हानिरहेको छ । अक्वारियममा माछाहरू छन् । मान्छेहरू पनि अक्वारियममा बन्द छन्, देश र पासपोर्टका नाममा हामी अक्वारियममा बन्द छौं भन्ने कथा नाटकले भन्छ । नाटकमा संकट छ, संकटलाई पार लगाउने शक्ति छ, अनि नाटकको यात्रामा खराब माछा छन्, असल पनि भेटिन्छन् ।

एउटा दृश्यमा ह्याट लगाएको सुकिलो मान्छेले सुटकेसमा ल्याएर बियरको क्यान र प्लास्टिकका खोलहरू खोलामा फालिदिन्छ । बियरको क्यानलाई टोपी बनाउँछ एक माछाले । यस दृश्यले मान्छेलाई कसरी मल्टिनेसनल कम्पनीहरूले दास बनाइरहेका छन् भन्ने संकेत दिन्छ । मान्छेमा भएको विचलनको यात्रा पनि हो यो कथा । यात्राको बीचमा लुटेरा माछा मिसिन्छ, अन्य माछाहरूलाई लुट्छ । सुनौला माछाहरूले यात्रा गरिरहेका माछाहरूलाई बन्धक बनाउँछन्, कुनै बेला माछाहरू भुमरीमा पर्छन् । बगेका अण्डाहरू भुमरीभित्र होलान् भनेर खोज्छन् । ठूलो महासेर माछा भेटिन्छ, जसले सबै साना माछाहरू खान मुख बाउँछ । तर, यात्रारत माछाहरू एकजुट भएर ऊसँग संघर्ष गर्छन्– अनेक सास्ती भोग्दै समुद्र पुग्छन् । तर, सागरमा पनि माछाहरूले शान्ति भेट्दैनन् । त्यहाँ पनि संकट देख्छन्, विचलन देख्छन्, महासागर पनि अशान्त देख्छन् । तैपनि कोही समुद्रमै बस्छन् । र, कोही आफ्नै पुरानो तलाउ फर्किन्छन् । साझा उद्देश्य बोकेर गरिएको यो यात्राले मानिसकै अनेक यात्रा र संघर्षको कथा भनिरहेको हुन्छ ।

२०७७ असोजदेखि सुरु गरिएको ‘सामाजिक रूपान्तरणका लागि रंगमञ्च’ कार्यक्रमअन्तर्गत मण्डला ड्रामा स्कुलको पहिलो शैक्षिक सत्रको अन्तिम नाट्य प्रस्तुति हो यो नाटक । कलाकारहरू आकाश नेपाली, आदित्य मिश्र, अनिल कुर्मी, सुस्मिता पोख्रेल, सुस्मिता गुरागाईं, विष्णुमाया परियार, शिव परियार, सञ्जय विश्वकर्मा, समृद्धि नेपाल, सरिता कठायत, पासाङ ल्हामु शेर्पा, सुमित्रा पेहिम, हाङ ओ हाङ राई, दीक्षा चौधरी, प्रदीप ढुंगाना, नीरज चौधरीको अभिनय जीवन्त छ । सोमनाथ खनालको लेखन र राजन खतिवडाको निर्देशन रहेको नाटकमा संवाद र गीत लेखेका छन्– कवि/आख्यानकार विप्लव प्रतीकले । संगीत उत्सव बुढाथोकीको छ ।

‘जिजीविषा’ बोकेका माछाहरूले गरेको समुद्रको यात्रा नै नाटक जिजीविषा हो, जहाँ कोही नायक छैनन्, न छन् सहायक पात्र । नाटकको अन्त्यमा सेती असला माछाले प्राण त्याग गर्छिन् । धमिलो हुँदै गएको मञ्चको सेतो, नीलो र खैरो प्रकाशमा उदास पुन्टियस चिच्याएर रुन्छ । तर, निर्जन किनारमा उसको विलाप बिलाएर जान्छ । रुँदारुँदै थाकेपछि पुन्टियस खोलाको किनारमा आइपुग्छ, एकाग्र दृष्टिले खोला अनि आफू आएको बाटोतिर हेरिरहन्छ । र, जारी राख्छ आफ्नो यात्रालाई । अन्तिम गीत बज्छ–

एउटा यात्रा हो जिन्दगी

यहाँ बस्नुको के काम

एउटा खोज हो जिन्दगी

यहाँ अड्नुको के काम ?

प्रकाशित : कार्तिक ८, २०७८ ०७:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×