छुकछुके रेल - विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छुकछुके रेल 

के यो जुनीमा नेपालमा रेल कुद्ला ? हाम्रो नेतृत्वसँग न सपना छ, न त संकल्प । हाम्रो राजनीति सिर्फ एउटा चुनावदेखिअर्को चुनावसम्मको छलछाम हो । जबसम्म भ्रष्ट राजनीति, सपनाविहीन नेतृत्व र संकल्पविहीन प्रशासनले बालुवाटार र सिंहदरबारमा रजगज गर्छन्, हुने यस्तै हो ।
केशव दाहाल

कल्पनाको उडान

कल्पना गरौं, धूलोमैलो हटेको शरदको कञ्चन मौसम । टिङ टिङ टिङ... घडीले बिहानको पाँच बजायो । अर्थात्, एक सुखद दिनको सुरुआत भयो । तपाईं उठ्नुभयो र मेची किनारतिर मर्निङवाकमा निस्किनुभयो ।

तपाईंसँगै काँकरभिट्टा बजार पनि आङतान्दै उठ्यो र चहलपहल गर्नथाल्यो । त्यही चहलपहलमा झुम्दै, रम्दै र गुनगुनाउँदै तपाईं मर्निङ वाकबाट फर्किनुभयो । फ्रेस हुनुभयो । चिया खानुभयो । पत्रिका पढ्नुभयो । तपाईंको घरमा सानो बगैंचा छ, फूल गोड्नुभयो । तरकारी टिप्नुभयो । खाना पाक्यो, खाना खानुभयो । त्यसपछि ठाँटसँग तपाईं जागिरमा निस्कनुभयो ।

मानौंतपाईंको अफिस छ २४० किलोमिटर टाढा, सिरहा बजारमा । त्यो दिन तपाईंले अफिसमा कुनै महत्त्वपूर्ण प्रस्तुति दिनु छ । बाटामा त्यसको तयारी गर्नुभयो । र, घर छोडेको एकघण्टा नहुँदै तपाईं सिरहा पुग्नुभयो । टिङ टिङ टिङ... घडीले बिहानको दस बजाउँदा तपाईं आफ्नो कार्यकक्षमा हुनुहुन्थ्यो । हातमा कफी थियो र थियो त्यो दिन केही नयाँगर्ने अथाह उत्साह । के यस्तो सम्भव छ ?तपाईंको घरछेउमै बुलेट ट्रेनको अत्याधुनिक स्टेसन हुन सम्भव छ । त्यो ट्ेरन ३५० किलोमिटर प्रतिघण्टा दौडिन सम्भव छ । र, तपाईं जहाँ हुनुहुन्छ त्यहाँबाट लगभग एक–दुई घण्टामा देशको आधाभागमा जहाँकहीँ यात्रागर्न सम्भव छ ।

कल्पना गरौं, मातातीर्थ औंसीको दिन । इटहरी बस्ने आफ्नी आमालाई खाना पकाउँदैगर्न विद्यार्थी छोराले काठमाडौंबाट फोनगर्छ । नयाँ सडकमा ताजा पुष्टकारी र गुँदपाक किन्छ । र, हिँड्छ इटहरी । दुईघण्टा नबित्दै ऊ आमाको काखमा पुग्छ । आमालाई दर्शन गर्छ । आमाले पकाएको तात्तातो खाना खान्छ र साँझ पुन: काठमाडौं आइपुग्छ । कल्पना गरौं, आफ्नी प्रेमिकालाई भेट्न भ्यालेन्टाइन्स डेमा कुनै चञ्चल युवाप्रेमी वीरगन्जबाट नेपालगन्ज जान्छ । त्यहाँ उनीहरू सिनेमा हेर्छन्, डुल्छन्, सँगै खाना खान्छन् र युवक राति आफ्नै घर फर्कन्छ । कल्पना गरौं, इलामको जाँगरिलो किसान ताजा अकबरे बोकेर बिहानै काठमाडौं पुग्छ, हाटबजारगर्छ र बेलुका आफ्नै पखेरामा फर्किन्छ । जादुजस्तै के यस्तो जीवन सम्भव छ ? छ, किनभने कतिपय देशमा अहिले मान्छे हिँड्दैनन्, गुड्दैनन्, उड्दैनन्; बुलेट ट्ेरनमा हुइँकिन्छन् । हजुर, त्यसैले यो सबै सम्भव छ ।

सपना र विपना

मान्छेले रेलको सपना कहिले देख्यो ? इतिहासमा मान्छेका सपनाहरू अभिलेखन हुनुभन्दा धेरै अगाडि मान्छेले रेलको सपना देखेको हुनुपर्छ । घाँसे मैदानमा लामा र चिप्ला सर्पजस्ता रेलगाडीहरू कुदेको सपना । काँस फुलेका सेताम्य पाखाहरूमा सुलुलु रेलगाडी कुदाएका सपना । मैले भेटेका अभिलेखहरूले भन्छन्— इंग्ल्यान्डमा ३८०० बीसी र ग्रीसमा ६०० बीसीतिरै मान्छेले रेल कुदाएका थिए । चीनमा २२०० वर्षअगाडि नै रेल गुडेको थियो । तर ती थिए काठबाट बनेका साधारण रेलहरू, जसमा आधुनिक इन्जिन थिएन, धेरै डिब्बा थिएनन् । र, ती रेलहरूलाई घोडा वा दासहरूले तान्ने गर्थे । भनिन्छ, छोटो दूरीको यात्रा, रामरमाइलो र खानीहरूमा त्यस्ता रेल प्रयोग हुन्थे ।

अठारौं शताब्दीको मध्यबाट बिस्तारै काठका रेलहरू धातुका रेलमा रूपान्तरित हुनथाले । जसै जेम्स वाटले वाष्प इन्जिनको आविष्कार गरे, त्यसपछि रेलमा क्रान्ति आयो । परिणाम, उत्तरी इंग्ल्यान्डले सन् १८२५ देखि रेललाई सार्वजनिक यातायातका रूपमा चलाउन थाल्यो । केहीपछि रेलले ग्रेटब्रिटेनलाई आयरल्यान्डसँग जोड्यो । अर्को वर्ष लिभरपुलबाट म्यानचेस्टरतिर रेल छुट्यो । छिमेकी भारतले पनि सन् १८३८ देखि इन्जिन रेल कुदाउन थाल्यो । र, त्यसको लगभग नब्बे वर्षपछि सन् १९२७ मा नेपालमा रेल सञ्चालनगर्न पहिलो कम्पनी खोलियो ।

रेलमाथि अनेक प्रयोग, अनुसन्धान र आविष्कारहरू हुँदैगए । मान्छे वाष्प इन्जिनमा अडिएन । फलस्वरूप सन् १८३७ मा बिजुली रेलको पहिलो परीक्षण भयो । दोस्रो, तेस्रो हँुदै अनेक परीक्षण हुँदैगए । सन् १८४१ मा पहिलो पटक बिजुली रेल सार्वजनिक गरियो, जुन प्रतिघण्टा ६ किमिकुदेको थियो । यसै क्रममा डिजेल इन्जिनको पहिलो सफल परीक्षण भयो सन् १९१२ मा, जसले छुकछुके रेलमा अर्को क्रान्ति ल्याइदियो ।

अहिले रेलमा लम्बाइमात्र थपिएको छैन, गतिपनि जोडिएको छ । अहिले रेल कुद्दैन, हुइँकिन्छ । तपाईंले आँखा झिमिक्क गर्दा रेल आइपुग्छ र अर्कोपटक आँखा झिम्क्याउँदा डाँडो काटिसक्छ । कस्तो चमत्कार † यस्तो तीव्रगतिको रेल सन् १९६४ मा जापानले बनायो, जसले पहिलो वेग मारेको थियो टोकियोबाट ओसाकातिर । त्यसको गति थियो ३०० किमि प्रतिघण्टा । आज यस्ता रेलहरू धेरै देशमा चल्छन्, जसमध्ये सबैभन्दा तीव्र गतिको रेल छ चीनसँग, जो ३५० किमि प्रतिघण्टा हुइँकिन्छ । पछिल्लोपटक यस्तो रेल भारतले समेत बनाउन सुरुगरेको छ । सन् २०१७देखि सुरुभएको भारतीय परियोजनाले पहिलोपटक मुम्बईलाई अहमदाबादसँग जोड्नेछ, जुन रेलको गति हुनेछ ३२० किमि प्रतिघण्टा ।

अर्थराजनीति

आज धेरै देशले रेलसञ्जालमा अथाह लगानी गरेका छन् । भारतसँग आज १,२६,३६६ किमि लामो रेल सञ्जाल छ । चीनसँग १,४६,००० किमि; अमेरिकासँग २,५०,००० किमि; पाकिस्तानसँग ११,८८१ किमि रेल सञ्जाल छ । रमाइलो के भने, आज रेलहरू जमिनमाथि मात्र कुद्दैनन् । समुद्रमुनि, लामालामा पुलमाथि र सुरुङभित्र पनि हुइँकिन्छन् । जस्तो, फ्रान्सबाट इंग्ल्यान्ड जाने रेल समुद्रमुनि ५० किमिलामो ‘च्यानल टनेल’ हुँदै चिप्लिन्छ । चीनमा रेलमार्गभित्र पर्ने सुरुङहरूको लम्बाइ नै १८,०४१ किमि छ ।

रेलमा लगानीको महत्त्व के छ ? सयौं मान्छे बोकेर वेगले हुइँकिने रेल आज यातायातको सबैभन्दा बलियो साधन भएको छ । खर्च कम, छिटो, सुरक्षित र आरामदायी यात्रा । पुस्तक पढ्दै, कविता लेख्दै, अफिसको रिपोर्ट बनाउँदै र नयाँ सोचहरूलाई टिपोटगर्दै हिँड्न पाइने जादुजस्तो रोमाञ्चक यात्रा । समृद्धिको प्रतीक । त्यसोत रेलले मान्छेलाई बोक्नेमात्र हैन, जोड्ने पनि काम गर्छ । जस्तो, पहिलो र दोस्रो विश्वयुद्धले छियाछिया पारेको युरोपको मनलाई रेलले यसरी जोड्यो कि उनीहरूमा युरोपेली भावना प्रबल बन्दैगयो । त्यसैको परिणाम हो— युरोपियन युनियन ।

रेलको आर्थिकपक्ष अझ सशक्त छ । औद्योगिक क्रान्तिका मुख्यआधारहरूमध्ये रेल एक हो, जसले यातायातलाई बृहत्तर बनाउने मात्र काम गरेन, सहरहरू जोड्ने, ढुवानीलाई सहज बनाउने र बन्दरगाहहरूलाई चलायमान बनाउने कामपनि गर्‍यो । रेलले औद्योगिक क्रान्ति र विश्वबजारलाई गतिदियो । रेलले मान्छेमा आत्मविश्वास जागृत गराइदियो । यसैका कारण आज समयको गति बढेको छ । जीवन सहज भएको छ । अर्थात्, आज रेलले गजब गरेको छ ।

नेपालमा रेल

हामीले रेल कुदाउने तारतम्य मिलाएको सयवर्ष (विसं १९८४) नाघ्न आँट्यो । इस्टइन्डिया सरकारको सहयोगमा रक्सौलदेखि अमलेखगन्जसम्म कुनैबेला नेपालमा रेल चल्थ्यो । कथाजस्तो लाग्ने कुरा । तर त्यो रेल २०२२ सालमा बन्द भयो ।पहिलो रेल कुदेको १० वर्षपछि जयनगरबाट जनकपुर हुँदै महोत्तरीको बिजलपुरासम्म नेपालमा दोस्रो रेल कुद्यो । खासमा त्यो रेल नेपालको वनपैदावार भारततर्फ ओसार्न निर्माण गरिएको मालवाहक रेल थियो । पछि त्यसैलाई यात्रुवाहक बनाइयो । यद्यपि अनेकौं दिशाहीनता र कमजोरीका कारण कालान्तरमा त्यो पनि बन्द भयो । अहिले त्यही रेलसेवालाई पुनर्निर्माणगरी सञ्चालनमा ल्याइँदै छ, जसका लागि गत वर्ष ठूलो तामझाम गर्दै दुलही भित्र्याएजस्तो गरेर नयाँ रेल ल्याइएको थियो । यद्यपि त्रिपाल च्यातिएको छ, रेलमा खिया लागेको छ र त्यो रेल कहिले कुद्ने हो, अझै ठेगान छैन ।

नेपालमा रेलको अर्को महत्त्वाकांक्षी परियोजना छ— काँकरभिट्टा–कञ्चनपुर (९४५.२४ किमि) रेल परियोजना । तर परियोजनाको गति, यसको ढंग, संरचना र प्रभाव निकै सुस्त छ । जस्तो कि, यो परियोजना सन् २००७ मा बनाइयो । २०११ मा परियोजना सञ्चालनगर्न मन्त्रालयले विभाग गठनगर्‍यो । तर २०२१ सम्म आइपुग्दा पनि धेरैलाई यो परियोजनाबारे या थाहा छैन या त विश्वास छैन । समन्वयको अभाव, मुआब्जा विवाद, प्रशासनिक सुस्तता, नेतृत्वको अकर्मण्यता, पर्यावरणको मुद्दा र युनेस्कोको असहमति आदि कारण यो परियोजना सायदै केही दशकमा पनि बन्ला ।

किन यस्तो हुन्छ नेपालमा ? सयवर्ष घस्रिँदा पनि हाम्रो रेल किन ५० किमिभन्दा अगाडि बढेन ? यहाँ रेल एक विम्ब हो, मुख्यकुरा हो— विकास । किन सयवर्ष पुरानो हाम्रो रेलकम्पनी बामे नसर्दै लड्यो र उठ्न सकेन ? यी यस्ता प्रश्न हुन् जसको उत्तर हाम्रा नेताहरूको अनुहार, प्रधानमन्त्री र मन्त्रीको क्षमता एवं रेलकम्पनीको नियतमा खोजी गरे अवश्य भेटिनेछ । त्यसोत गत निर्वाचनमा विद्यासुन्दरले काठमाडौं महानगरमा मोनोरेल कुदाउने गफ दिएका थिए । उनको मौनता हेरे हाम्रो दुर्भाग्य कहाँ छ, स्पष्ट हुन्छ । प्रश्न पुरानै छ, के यो जुनीमा नेपालमा रेल कुद्ला ? हाम्रो नेतृत्वसँग न सपना छ, न त संकल्प । हाम्रो राजनीति सिर्फ एउटा चुनावदेखि अर्को चुनावसम्मको छलछाम हो । जालझेल, षड्यन्त्र र दलाली । जबसम्म भ्रष्ट राजनीति, सपनाविहीन नेतृत्व र संकल्पविहीन प्रशासनले बालुवाटार र सिंहदरबारमा रजगज गर्छन्, हुने यस्तै हो । शून्यता । अँध्यारो । घोर निराशा । अर्थात्, कुरा स्पष्टछ— विकासको युगीन चेतना, सृजना र संकल्प जागृत नहुँदासम्म जतिसुकै परियोजना बनाए पनि त्यो भ्रष्टाचारको अखडा मात्र हुन्छ । न त्यो पूराहुन्छ, न त त्यसले बदलाव ल्याउँछ ।

अन्त्यमा, तपाईं यो लेख जापानमा बसेर पढ्दै हुनुहुन्छ भने, पढिसक्दा त्यहाँका मान्छेहरू ५० किमि अगाडि बढिसकेका हुनेछन् । चीनमा हो भने, अझ धेरै । तर यदि तपाईं नेपालमा हुनुहुन्छ र जडीबुटीबाट कोटेश्वर जाँदै हुनुहुन्छ भने यो लेख पढिसक्दा तपाईं १ किमि पनि काट्नुहुन्न ? सांकेतिक प्रश्नगरौं, यस्तो किन हुन्छ ? यस्तो चालले यो जुनीमा हामी कहाँ पुगौंला ? हाम्रा सिद्धान्तका ठेलीहरू, निर्वाचन घोषणापत्र, पार्टीका दस्तावेज र नेतृत्वको सपनामा कहाँ भूलचूक भयो ? खोजी गरौं । खोजी गरौं, हामी किन अझै घस्रिन बाध्य छौं ? अन्यथा, यस्तै पारा हो भने हामीले पूर्वपश्चिम रेल चढ्न कतिवर्ष कुर्नुपर्ला ? मान्छेहरू भन्छन्, सिद्धान्तले मात्र देश बन्दैन । मुख्य कुरा हो संकल्प । मुख्य कुरा हो काम । कृपया सिद्धान्तलाई परिणामसँग जोडौं महोदय, अन्यथा हाम्रो राजनीति मात्र भ्रमको एउटा पुलिन्दा हुनेछ ।

dahal.keshab@gmail.com

प्रकाशित : कार्तिक ६, २०७८ २०:३६
प्रतिक्रिया
पठाउनुहोस्

वैशाखयताका विपद्जन्य घटनामा ३५३ को मृत्यु

रासस

काठमाडौँ — यही वर्षको वैशाखयता विपदजन्य घटनामा परेर ३५३ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उक्त अवधिमा ८० जना हराइरहेका छन् ।

सबैभन्दा बढी पहिरामा परेर १६१ को मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ । त्यसपछि बाढीबाट ५२ र चट्याङ लागेर ४९ जनाको मृत्यु भएको छ । भारी वर्षाले १८, सर्पले टोकेर २०, आगलागीबाट १८, जनावरको आक्रमणबाट २८, डढेलो, हावाहुरी र महमारीबाट सात जनाले ज्यान गुमाएका छन् । बेपत्ता भएका ८० मध्ये पहिरामा ४२ र बाढीमा ३७ जना परेका छन् ।

प्राधिकरणका अनुसार उक्त अवधिमा दुई हजार ९० वटा विपद्का घटना भएका छन् । कूल एक हजार २८४ जना घाइते भएको विवरण छ । कूल तीन हजार ४४३ घर परिवार प्रभावित भएका छन् भने एक अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ । पछिल्लो वर्षाका कारण मात्रै १११ जनाले ज्यान गुमाएका छन् भने ३५ बेपत्ता रहेका छन् । मनसुनको अवधिमा १३६ जनाले ज्यान गुमाएका थिए । यसपाली बेमौसमको वर्षाले झन ठूलो क्षति गराएको छ ।

मनसुनको समयमा समेत १५ प्रतिशत बढी पानी परेको थियो । अहिलेको वर्षाले भने लगाएको धानखेतीमा ठूलो क्षति गराएको छ । सबै क्षतिको विवरण सङ्कलनको क्रममै रहेको गृह मन्त्रालयले जनाएको छ ।

प्रकाशित : कार्तिक ६, २०७८ २०:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×