नेपाली सिनेमाका दुःख

राम्रा कथा खोज्नुपर्ने, अभिनयमा कुशलता थप्नुपर्ने अनि मिहिनेतपूर्वक निर्देशन र निर्माणमा लाग्नुपर्ने नेपाली सिनेमाका प्रसिद्ध मान्छेहरू दर्शकका बौद्धिक चेतनालाई छुनै नसक्ने हालतमा छन् । पटकपटक बेतुक सावित भइसकेको ‘को महानायक ?’ जस्तो सर्वथा ढोंगी बहसमा निमग्न छन् ।
उज्ज्वल प्रसाई

कोरोना महाव्याधिले दस कक्षाको ‘सेकेन्ड्री एजुकेसन इक्जामिनेसन’ (एसईई) को जग हल्लाइदियो । फलामे ढोका जस्ता विशेषण जडित महिमा गाएर आम विद्यार्थीलाई हावाकावा खेलाउने उहिलेको एसएलसीभन्दा एसईई यसै पनि भिन्न थियो ।

नेपाली सिनेमाका दुःख

महाव्याधिले बचेखुचेको रापतापमा पानी खन्याइदिएपछि कथित फलामे ढोकाको गीत कसैले गाएन । संक्रमणको सन्त्रासमा शैक्षिक क्यालेन्डरको अन्योल थपिएको भए पनि ठूलो मानसिक दबाब बनेर एसईई आउन छोडेको छ । परीक्षा लिने र मूल्यांकन गर्ने काममा उत्पन्न समस्या अनदेखा गर्न नसकिएला तर अतिरिक्त बोझका रूपमा आउने परीक्षा होलो हुनु आफैंमा एउटा उपलब्धि हो ।

ठूलो चटारोबिना एसईई सम्पन्न भएकाले मेचीनगर निवासी परीक्षा थाम्सुहाङ लिम्बू थकित भइनन् । एघार कक्षामा मानविकी विषय चयन गर्ने योजना बनाएकी परीक्षाले पढाइ सुचारु नहुन्जेलको समयलाई सिर्जनात्मक बनाइन् । ‘ब्रिज कोर्स’ जस्ता बेतुक रनाहामा लाग्नु थिएन । नृत्यमा रुचि भएकाले मन परेका गीत छानेर मस्त अभ्यास गरिन् । आत्मविश्वास बढेपछि क्यामेराअघिल्तिर नाचिन् । कहिले घरनजिकैको चिया बगानको खुला चौरमा, कहिले साजसज्जासहितको कोठामा धक फुकाएर नाचिन् । प्रतिभा लुकाएर राखिँदैन; मोबाइलले खिचेर बनाएका भिडियो उनले आफ्नै युट्युब च्यानलमा अपलोड गरिन्, फेसबुकमा राखिन् । आफन्त र साथीले प्रशंसा गरे, हौसला दिए ।

नृत्य मात्रै होइन, उनलाई अभिनयमा उत्तिकै रुचि छ । स्थानीय थिएटरसँग केही समयअघिदेखि उनी नजिक थिइन्, नाटकमा अभिनय गरिसकेकी थिइन् । त्यसो त एउटा नेपाली सिनेमाले पनि उनलाई छोटो अभिनयको अवसर दिएको थियो । सीमित स्रोतसाधनका भरमा बामे सर्न खोजेको स्थानीय नाट्य समूहले महाव्याधिमा नाटक बनाउन र प्रदर्शन गर्न सक्दैनथ्यो । मसिना प्रयत्नहरू अवरुद्ध भए । थिएटरमा रमाउन थालेका परीक्षा जस्ता किशोरकिशोरीलाई चुपचाप बस्न मन भएन । बरु छोटा कथा लेखे, कथालाई नाट्य रूपान्तरण गरे, थोरै अभ्यास गरे अनि भिडियो–नाटक बनाउने प्रयत्न गरे । नाम चलेका लेखक या निर्देशक नगुहारी आफ्नै यत्नमा बनाएका उनीहरूका नाटकमा जात व्यवस्था, महिला उत्पीडन र हिंसा मुख्य विषय छन् । अनेक सीमितताका बाबजुद उनीहरूले सराहनीय प्रयास गरेका छन् ।

परीक्षाकै उमेर समूहका पाँच जनाले काम गरेर बनाएको पछिल्लो भिडियोमा तीन कलाकारले अभिनय गरेका छन् । पृष्ठभूमिमा संगीतसँग मिसिएर महिला आवाजमा संवाद बज्छ, शैली मोनोलगको छ । परीक्षाले मुख्य भूमिका निर्वाह गरेको सो भिडियोमा दुई किशोर अस्मित आचार्य र नवराज पाठक मास्क लगाएर नृत्यमग्न छन् । नाटकघर जस्तो ठाउँमा भिडियो छायांकन गरिएको छ ।

संवादबाट बुझिन्छ, कथाकी मुख्य पात्र नुमा जनजाति समुदायकी त्यस्ती युवती हुन् जसले दलित युवकसँग विवाह गर्ने निर्णय लिएकी छन् । वर्ण व्यवस्थामा नबाँधिएको समुदाय जात व्यवस्थाको फन्दामा फसेकाले युवतीले विवाहका लागि चयन गरेको साथीलाई परिवारले अस्वीकार गर्छ । ‘पढेर, बुझेर, देशदुनियाँ थाहा पाएर, पूरा होसहवासमा आफ्ना लागि लिइएको स्वतन्त्र निर्णय’ मा बाधा हाल्न जातको तगारो खडा गरेपछि युवतीले भोगेको सकस कथामा वर्णित छ । सकसमै कथा सकिँदैन । नुमाले जातको खाल्डोबाट फुत्केर आफ्नो निर्णयमा अडिग रहने संकल्प व्यक्त गरेपछि त्यो अन्त्य हुन्छ । करिब तीन मिनेट अवधिको नाटकको अन्तिम संवाद यस्तो छ— ‘मेरो जीवनका महत्त्वपूर्ण निर्णयहरूमा यो जातलाई म एक पाइला पनि ठाउँ दिन्नँ, बस ।’

यसैबीच स्थानीय एक संस्थाले युवालक्षित ‘सिनेमा र समाज’ शीर्षकको पठन गोष्ठी आयोजना गर्‍यो । छानिएका सिनेमा हेर्ने, सिनेमाबारे लेखिएका प्राज्ञिक आलेख पढ्ने र तिनैका आधारमा साताको एकपटक गरेर पाँच हप्तासम्म विमर्श गर्ने । रुचि अनुसारको कार्यक्रम भएकाले परीक्षा र उनका केही साथी गोष्ठीमा सहभागी भए । उनको भागमा सत्यजित रे निर्देशित ‘पाथेर पाञ्चाली’ हेर्ने र त्यसबारे प्रस्तुति दिने जिम्मा पर्‍यो । सो सिनेमाबारे लेखिएका लेखहरूसमेत आयोजकले उनलाई दिएका थिए । जीवनमा पहिलो पटक मूल भाषा बंगाली भएको पुरानो ‘आर्ट फिल्म’ हेरेको अनुभव उनका लागि अनौठो थियो । सिनेमाबारे पढ्नु र धेरैबेर सोचेर बस्नु अर्को अनौठो घटना । प्रस्तुतिका क्रममा भनिन्, ‘हामी जस्तै साधारण मान्छेको कथा पनि यति राम्रो फिल्म बन्न सक्दो रहेछ । मैले आफ्नै बाबा र परिवारलाई सम्झें ।’

गोष्ठीमा उनीसँगै एसईई दिएकी सहपाठी प्रेनिजा ढकालले विक्रमादित्य मोटवानी निर्देशित ‘उडान’ बारे बोल्दै कठोर बाबु बनेको पात्रलाई साह्रै सपाट र एकोहोरो देखाउनुको अर्थ खोतल्ने कोसिस गरिन् । अर्की सहभागी संस्कृति रिजालले ‘छक्का पञ्जा’ का अनेक संस्करणले महिला निर्देशक र महिला कलाकार प्रयोग गरेर महिलाकै पेचिला सवाललाई हलुका बनाउन कसरी सघाउँछन् भनेर व्याख्या गरिन् । सहभागीमध्ये कसैले नवीन सुब्बा निर्देशित र लिम्बू समुदायबारे बनेको सिनेमा ‘नुमाफुङ’ मा एउटा दलित जस्तो देखिने पात्रबाहेक अन्य समुदायको कोही पनि नदेखिनु कति उचित भनेर प्रश्न गर्‍यो । पञ्चायतले ‘आमा’ सिनेमा बनाएर पूरा गर्न खोजेको उद्देश्यबारे अर्को कसैले बतायो । बहुचर्चित हिन्दी फिल्म ‘लगान’ ले दलित पात्रमाथि गरेको ज्यास्ती दलनबारे अर्का सहभागीले श्रीयावन आनन्द लिखित निबन्धका आधारमा बोल्यो । परीक्षाले सबै मतलाई ध्यानसँग सुनेर सिनेमामार्फत आफू बाँचेको समाज र दुनियाँलाई बुझ्ने प्रयत्न गरिन् ।

परीक्षा र उनका साथीहरू आफ्नै समाज र इतिहाससँग संवाद गर्दै कलाशिल्प तिख्खर बनाउन खोज्दै छन् । यसैबीच युवा मथिंगलमा विचलन पैदा गर्ने एकपछि अर्को घटना घट्छन् समाजमा । सडक र पसलहरूमा उनीहरूले सधैं देखिरहेकी दिदी कमला राजवंशी मध्यरातमा दस किलो सुपारी बोकेर मेची खोला तर्न खोज्दा खोलामै हेलिइन् । यो घटनाको स्मृति धूमिल भइनसक्दै उता बाँकेका रुबी खान र अरू दिदी खुट्टामा जिलजिलाउँदा फोका उठाउँदै न्याय माग्न नेपालगन्जबाट काठमाडौंसम्म पैदल आइपुगे । उनीहरूले न्याय पाएको सुखद खबर सुन्न नपाउँदै चितवनका भीमबहादुर विकको कुटेर हत्या गरियो ।

परीक्षा र उनका साथीहरू कमला राजवंशी र रुबी खानहरू कसरी सिनेमा र नाटकका नायिका बन्न सक्छन् भनेर छलफल गर्दै छन् । कोही मुस्लिम केटी वा राजवंशी महिला भएर उँचो प्रतिष्ठासाथ बाँच्न सम्भव नभएको यथार्थलाई कसरी चित्रण गर्ने भनेर सोच्दै छन् । चितवनका भीमबहादुर दलित हुँदैनथे भने ठूलो स्वरमा बोल्दैमा कसैले उनलाई पाइपले पिट्ने आँट गर्थ्यो ? कसैले बलपूर्वक झापड हानेर भुइँमा बजार्न सक्थ्यो ? रक्सी खाएर बोलेको भन्दै कोही जाइ लागेर ज्यानै लिन सक्थ्यो ? यसरी अनाहकमा मारिएका भीमबहादुरहरू हाम्रो सिनेमा र नाटकका नायक हुन सक्छन् वा सक्दैनन् ? हाम्रो साहित्यमा भीमबहादुरहरू कहाँ छन् ? परीक्षा र उनका साथीहरू विमर्श गर्दै छन् । गफ गर्न, फेला परेका किताब पढ्न, सिनेमा हेर्न र सम्भव भएसम्म आफैं नाटक लेख्न, निर्देशन र अभिनय गर्न उनीहरू स्वतन्त्र ‘स्पेस’ को खोजीमा छन् ।

एघार कक्षाको पढाइ सुरु गर्ने तरखरमा रहेका परीक्षा र उनका साथीहरू राम्रा अभिनेता र निर्देशक बन्ने सपना देख्छन् । सपना, ऊर्जा र सामान्य महत्त्वाकांक्षासमेत भएका यी किशोरकिशोरी हाललाई सिनेमाका पारखी हुन् । रहरले केही राम्रा कामका प्रयत्न गरिरहे पनि खासमा अहिले यी सिनेमाका संवेदनशील दर्शक हुन् । यस्ता दर्शकका लागि राम्रा कथा खोज्नुपर्ने, अभिनयमा कुशलता थप्नुपर्ने, मिहिनेतपूर्वक निर्देशन र निर्माणमा लाग्नुपर्ने नेपाली सिनेमाका प्रसिद्ध मान्छेहरू भने यी दर्शकका बौद्धिक चेतनालाई छुनै नसक्ने हालतमा छन् । बरु पटकपटक बेतुक सावित भइसकेको ‘को महानायक ?’ जस्तो सर्वथा ढोंगी बहसमा निमग्न छन् ।

महाव्याधिले सिनेमा हल बन्द छन्, समग्र कला क्षेत्रमा दूरगामी असर परेको छ । यो यथार्थलाई कसैले पनि अनदेखा गर्न सक्दैन । राज्यले चासो नदिएका सयौं जरुरी कामका चाङमा नाटक, सिनेमा र समग्र कलाक्षेत्र पनि पक्कै पर्छन् । यसमा दोस्रो मत राख्नुपर्ने कुनै कारण छैन । तर यो बेहाल अलापेर रोइकराइ गर्ने र बचेको समय राजेश हमाल महानायक हुन् वा होइनन् भन्नेमै व्यस्त रहने ? महानायकको गन्थनको दुई संस्करणपछि उठाउनुपर्ने सवाल को नायक, को छोटा नायक र को महाखलनायक भन्ने होला । यी अर्थहीन बहसको एक मात्रै उपादेयता नेपाली सिनेमा क्षेत्रमा बोलवाला भएका मानिसहरूको खोक्रोपन सावित गर्नु हो ।

लामो कथा हालेर उठाउन खोजिएको सवाल जम्मा यति हो— परीक्षा थाम्सुहाङ लिम्बू जस्ता आम किशोरकिशोरीले सोचेजति पनि नेपाली समाज र दुनियाँबारे स्थापित कलाकारले सोच्न जरुरी छैन ? सिनेमासम्बन्धी मोफसलको सानो सहरमा बसेर गरेको जस्ता पेचिला र आवश्यक विमर्श गर्ने जाँगर पनि नहुनेले संकटग्रस्त समयमा कसरी खोज्छ नयाँ बाटो ? सिनेमा हल राम्रोसँग खुल्ने वातावरण आगामी पाँच वर्ष पनि बनेन भने के सिनेमा बनाउन रोकिन्छ ? कि नयाँ बाटोको खोजी हुनुपर्छ ? अनि ‘को महानायक’ जस्ता स्वाङ पारेर समय कटनी गर्नेले कसरी खन्छ नयाँ गोरेटो ? कसरी बचाउँछ सिनेमा र कला ? अनि कसले के ‘सेलिब्रेट’ गरिदिएपछि यी बन्छन् ‘सेलेब्रिटी’ ? कम्तीमा परीक्षाहरूले ‘सेलिब्रेट’ गर्नका लागि केही पाउनेछैनन् ।

प्रकाशित : कार्तिक ५, २०७८ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?